काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल देशका पहाडी र हिमाली भू-भाग, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना छ । मधेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोश प्रदेशको तराई भू-भागका केही , मधेश प्रदेशको थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ असोज २३ गते शुक्रबार ईस २०२६ अक्टोबर ९ नेपाल सम्बत ११४६ ञलागा चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, ब्रह्मा योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०१ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ४३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा आफ्नो सक्रियता देखाउनेभन्दा सम्बन्धित व्यक्तिसँग तालमेल मिलाउनु बढी उपयोगी हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा फरक प्रकृतिको काम सम्हाल्ने अवसर आउन सक्छ। व्यापारमा ग्राहकको व्यवहार बुझेर सेवा सुधार्दा राम्रो प्रतिक्रिया पाइनेछ। आर्थिक रूपमा आम्दानीको अवस्था सामान्य रहे पनि मनोरञ्जन वा व्यक्तिगत चाहनामा खर्च बढ्न सक्छ। परिवारमा तपाईंको व्यस्तताका कारण समय कम दिनुपरे पनि साँझतिर आत्मीय कुराकानीको अवसर मिल्नेछ। प्रेममा आकर्षण बढ्नेछ र मन मिल्ने व्यक्तिसँग नजिकिने वातावरण बन्न सक्छ। शारीरिक थकान भए कामको बीचमा पर्याप्त विश्राम लिनुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुक्रको प्रभाव तपाईंका लागि विशेष अनुकूल रहनेछ। आज व्यक्तित्वमा आत्मविश्वास र आकर्षण बढ्ने भएकाले सामाजिक वा व्यावसायिक भेटघाटबाट फाइदा लिन सकिनेछ। काममा लामो समयदेखि प्रतीक्षा गरिएको सहमति बन्न सक्छ। व्यापारमा नयाँ ग्राहकसँग सम्बन्ध विस्तार गर्ने राम्रो अवसर छ। आर्थिक रूपमा विलासिताका वस्तु खरिद गर्ने चाहना बढे पनि बजेट नबिगार्नुहोस्। परिवारमा खुसीको वातावरण रहनेछ र घरसँग सम्बन्धित कुनै योजना अघि बढ्न सक्छ। प्रेम सम्बन्धमा सँगै समय बिताउने अवसरले आत्मीयता बढाउनेछ। खानपानमा स्वादभन्दा सन्तुलनलाई प्राथमिकता दिनुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध र शुक्रको प्रभावले आज संवाद र सामाजिक सम्पर्कबाट अवसर सिर्जना गर्न सकिनेछ। कार्यक्षेत्रमा आफ्नो विचार आकर्षक ढंगले प्रस्तुत गर्न सक्दा अरूको समर्थन प्राप्त हुनेछ। लेखन, सञ्चार, व्यापार वा सिर्जनात्मक काममा राम्रो प्रगति हुन सक्छ। कारोबारमा नयाँ सम्पर्क बने पनि आर्थिक सम्झौता गर्दा कागजी प्रक्रिया स्पष्ट राख्नुहोस्। सानो रकमको धेरै खर्च हुन सक्ने भएकाले हिसाब राख्नु राम्रो हुनेछ। साथीभाइसँगको भेटले मन प्रसन्न बनाउनेछ। प्रेममा रमाइलो संवादसँगै भविष्यका विषयमा गम्भीर कुराकानी पनि हुन सक्छ। अत्यधिक सामाजिक व्यस्तताले थकान ल्याउन सक्ने भएकाले केही समय आफ्नै लागि छुट्याउनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज घर र व्यक्तिगत सम्बन्धका विषयले बढी ध्यान खिच्नेछन्। चन्द्रमाको प्रभावले संवेदनशीलता बढाउने भएकाले अरूको सामान्य व्यवहारलाई पनि गम्भीर रूपमा लिन सक्ने अवस्था रहन सक्छ। कार्यक्षेत्रमा भने भावनालाई अलग राखेर तथ्यका आधारमा निर्णय लिनु राम्रो हुनेछ। व्यापारमा नियमित ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाउन सकिनेछ। आर्थिक रूपमा घरायसी सामान वा परिवारका आवश्यकतामा खर्च हुने देखिन्छ। परिवारमा आत्मीयता बढ्नेछ। प्रेम सम्बन्धमा मनमा रहेको कुरा नरम ढंगले व्यक्त गर्दा गलत बुझाइ हट्नेछ। पर्याप्त आराम र शान्त वातावरणले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको आत्मविश्वाससँग शुक्रको प्रभाव जोडिँदा आज व्यक्तित्व प्रभावशाली बन्न सक्छ। काममा आफ्नो प्रस्तुति, व्यवहार वा नेतृत्व शैलीबाट अरूलाई प्रभावित गर्ने अवसर मिल्नेछ। नयाँ जिम्मेवारी वा सार्वजनिक रूपमा देखिने काममा सफलता प्राप्त गर्न सकिनेछ। व्यापारमा ब्रान्ड, प्रचार वा ग्राहक सम्बन्ध सुधार्ने विषयमा काम गर्न उपयुक्त दिन हो। आर्थिक रूपमा प्रतिष्ठा कायम राख्ने नाममा अनावश्यक खर्च नगर्नुहोस्। परिवारमा खुसीको अवसर सिर्जना गर्न सकिनेछ। प्रेममा प्रशंसा र सानो ध्यानले सम्बन्धमा ठूलो सकारात्मक प्रभाव पार्नेछ। शरीरमा ऊर्जा राम्रो भए पनि निद्राको समय घटाउन उचित हुँदैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज व्यवस्थित काम गर्ने तपाईंको क्षमता अझ उपयोगी बन्नेछ। कार्यक्षेत्रमा अधुरा विवरण मिलाउने, कागजात तयार गर्ने वा आगामी योजनाको खाका बनाउने काम पूरा गर्न सकिनेछ। सहकर्मीको गल्ती सुधार्दा आलोचना गर्ने शैलीभन्दा सहयोगी व्यवहार अपनाउनु राम्रो हुनेछ। व्यापारमा खर्च र आम्दानीको अनुपात पुनरावलोकन गर्नुपर्नेछ। आर्थिक रूपमा सानो बचतलाई निरन्तरता दिन सके भविष्यमा राम्रो आधार बन्नेछ। परिवारमा तपाईंको व्यावहारिक सल्लाहको आवश्यकता पर्न सक्छ। प्रेममा अत्यधिक विश्लेषण नगरी भावनालाई सहज रूपमा स्वीकार गर्नुहोस्। पाचन प्रणालीमा असहजता भए खानपानको समय नियमित राख्नु राम्रो हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुक्रको प्रभावका कारण आज तपाईंका लागि सम्बन्ध र सामाजिक सम्पर्क विशेष महत्वपूर्ण रहनेछन्। नयाँ व्यक्तिसँगको भेट भविष्यमा उपयोगी बन्न सक्छ। कार्यक्षेत्रमा सहकार्यबाट कठिन काम पनि सहज रूपमा पूरा हुनेछ। व्यापारमा साझेदार वा ग्राहकसँग राम्रो समझदारी बन्नेछ। आर्थिक रूपमा आम्दानी बढाउने अवसर देखिए पनि आकर्षक प्रस्तावको वास्तविकता जाँचेर मात्र अघि बढ्नुहोस्। परिवारमा तपाईंले मिलाउने भूमिका निर्वाह गर्नुपर्ने अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ र मनका कुरा साझा गर्ने अवसर मिल्नेछ। मानसिक रूपमा खुसी रहने दिन भए पनि अरूलाई खुसी पार्ने क्रममा आफ्नै आवश्यकतालाई बेवास्ता नगर्नुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगलको दृढता र शुक्रको सम्बन्धमुखी प्रभावबीच सन्तुलन कायम गर्नुपर्ने दिन हो। काममा कसैले चुनौती दिए पनि तत्काल प्रतिक्रिया नदिई आफ्नो परिणामबाट जवाफ दिनु राम्रो हुनेछ। व्यापारमा प्रतिस्पर्धा रहे पनि ग्राहकसँगको विश्वास कायम राख्न सके आफ्नो पक्ष बलियो हुनेछ। आर्थिक रूपमा ठूलो जोखिम लिनुभन्दा हालको आम्दानी सुरक्षित राख्नु उपयुक्त हुन्छ। परिवारमा आफ्नो बोली नरम राख्दा अनावश्यक तनाव टार्न सकिनेछ। प्रेममा अधिकार जमाउने प्रवृत्तिले समस्या ल्याउन सक्छ, त्यसैले विश्वासलाई प्राथमिकता दिनुहोस्। शरीरमा चोटपटक लाग्ने सम्भावनाबाट बच्न खेलकुद वा शारीरिक काम गर्दा सावधानी अपनाउनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बृहस्पतिको प्रभावले आज तपाईंलाई दीर्घकालीन सोच राखेर निर्णय गर्न प्रेरित गर्नेछ। काममा नयाँ जिम्मेवारीभन्दा आफ्नो क्षमता विस्तार गर्ने अवसरलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। अध्ययन, प्रशिक्षण वा नयाँ सीप सिक्ने योजना अघि बढाउन सकिनेछ। व्यापारमा टाढाका ग्राहक वा बाहिरी क्षेत्रसँग जोडिएको सम्भावना देखिन्छ। आर्थिक रूपमा भविष्यका लागि बचत वा लगानीको योजना बनाउन राम्रो समय हो। परिवारसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक सोच र सम्मानले सम्बन्धलाई अझ बलियो बनाउनेछ। लामो समय यात्रा वा दौडधुप गर्नुपर्ने भए शरीरलाई आवश्यक विश्राम दिनुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शनिको अनुशासन र शुक्रको सहज प्रभावले आज जिम्मेवारी तथा व्यक्तिगत जीवनबीच सन्तुलन मिलाउन सहयोग गर्नेछ। कार्यक्षेत्रमा धैर्यपूर्वक गरेको प्रयासको परिणाम देखिन थाल्नेछ। व्यापारमा नियमित कारोबार कायम रहनेछ, तर नयाँ लगानीको निर्णय विस्तारै गर्नु राम्रो हुन्छ। आर्थिक रूपमा अनावश्यक दायित्व थप्नुभन्दा पुराना दायित्व व्यवस्थित गर्नु लाभदायक हुनेछ। परिवारमा तपाईंको जिम्मेवारी बढे पनि सहयोग प्राप्त हुनेछ। प्रेममा भावना व्यक्त गर्न समय निकाल्दा सम्बन्धमा न्यानोपन बढ्नेछ। लामो समय काम गर्दा कम्मर वा मांसपेशीमा थकान हुनसक्ने भएकाले शरीरलाई आराम दिनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ विचारलाई आकर्षक ढंगले प्रस्तुत गर्ने क्षमता रहनेछ। कार्यक्षेत्रमा तपाईंको फरक सोचले ध्यान खिच्न सक्छ। नयाँ परियोजना वा सहकार्यको प्रस्ताव आएमा उत्साहित हुनुभन्दा पहिले त्यसको व्यावहारिक पक्ष हेर्नुहोस्। व्यापारमा सामाजिक सम्पर्क र प्रचारबाट फाइदा लिन सकिनेछ। आर्थिक रूपमा व्यक्तिगत चाहनामा खर्च बढ्न सक्छ, त्यसैले प्राथमिकता छुट्याउनु राम्रो हुन्छ। साथी वा परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। प्रेममा अप्रत्याशित भेट वा सन्देशले खुसी बढाउन सक्छ। मानसिक रूपमा स्वतन्त्र समयको आवश्यकता महसुस हुन सक्छ, त्यसलाई सम्मान गर्नुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
आज चन्द्रमा र बृहस्पतिको प्रभावले भावनात्मक समझ र अन्तर्ज्ञानलाई बल दिनेछ। अरूको मनस्थिति बुझेर काम गर्न सक्दा कार्यक्षेत्रमा राम्रो सम्बन्ध बनाउन सकिनेछ। सिर्जनात्मक काम, कला वा लेखनमा नयाँ प्रेरणा मिल्न सक्छ। व्यापारमा विश्वासिलो व्यक्तिबाट आएको सुझाव उपयोगी बन्न सक्छ, तर आर्थिक निर्णय आफैंले जाँचेर मात्र लिनुहोस्। घरपरिवारसँग सम्बन्धित कुनै आवश्यक खर्च आउन सक्छ। परिवारमा आत्मीय वातावरण रहनेछ। प्रेम सम्बन्धमा मनका कुरा खुलेर राख्दा भावनात्मक दूरी कम हुनेछ। मनलाई शान्त राख्न ध्यान, संगीत वा प्रकृतिमा केही समय बिताउनु उपयोगी हुनेछ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ।
भेटमा रसुवालगायत बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक विकासका क्षेत्रमा नेपाल–अमेरिका सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको थियो।
कार्यवाहक राजदूत बोल्डिनले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित समुदायको पुनर्स्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
मन्त्री बादीले बाढीबाट महिला, किशोरी तथा बालबालिकाको सुरक्षा र शिक्षामा थप चुनौती सिर्जना भएको भन्दै पुनर्स्थापना तथा पुनर्निर्माणमा अमेरिकी सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्।
भेटमा मानव बेचबिखन नियन्त्रण, पीडितको संरक्षण, अनुसन्धान तथा पुनर्स्थापनाका क्षेत्रमा समेत सहकार्य बढाउने विषयमा छलफल भएको थियो। अमेरिकी पक्षले मानव बेचबिखन नियन्त्रण तथा पीडित संरक्षणमा नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएको थियो। एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । अमेरिकाको न्युयोर्क सहरको नगर प्रमुखमा जोहरान ममदानीको जितपछि उनको चुनावी अभियानमा उठाइएका महँगी, महँगो भाडा र दैनिक जीवनयापनको खर्चका मुद्दा युरोपेली राजनीतिमा समेत चर्चामा आउन थालेका छन् ।
गत वर्ष नोभेम्बरमा न्युयोर्कको नगर प्रमुखमा निर्वाचित ममदानीले सहरलाई आम नागरिकका लागि सस्तो बनाउने विषयलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएका थिए । अहिले जर्मनी, बेलायत, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सका वामपन्थी नेताहरूले पनि आवासको बढ्दो मूल्य, भाडा र जीवनयापनको खर्चलाई राजनीतिक मुद्दाका रूपमा अघि सारेका छन् ।
जर्मनीमा सस्तो घरको मुद्दाले दिलायो सफलता
युरोपमा ममदानीको राजनीतिक शैलीसँग सबैभन्दा बढी तुलना जर्मनीकी एलिफ एराल्पसँग भइरहेको छ । ४५ वर्षीया एराल्प वकिल हुन् । उनका अभिभावक सन् १९८० को टर्कीको सैनिक सत्ता परिवर्तनपछि जर्मनी आएका थिए । उनी सन् २०१७ मा वामपन्थी दल ‘द लिंक’मा आबद्ध भएकी थिइन् । गत महिना भएको निर्वाचनमा एराल्पको दलले महँगो सहर र बढ्दो घरभाडालाई मुख्य मुद्दा बनाएको थियो । एराल्पले बर्लिनमा निजी कम्पनीको स्वामित्वमा रहेका करिब २ लाख २० हजार घरलाई सार्वजनिक नियन्त्रणमा ल्याउनुपर्ने माग गरेकी थिइन् । निर्वाचनमा उनको दलले करिब २५ दशमलव ७ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यद्यपि सरकार गठनका लागि उसले अन्य दलसँग गठबन्धन गर्नुपर्नेछ ।
बेलायतमा वातावरणसँग जोडियो महँगो घरको मुद्दा
बेलायतमा ममदानीसँग सबैभन्दा बढी तुलना हरित दलका नेता ज्याक पोलान्स्कीसँग हुने गरेको छ । वातावरण र जलवायु परिवर्तनका विषयमा केन्द्रित रहँदै आएको उक्त दलको राजनीतिक मुद्दालाई पोलान्स्कीले थप विस्तार गरेका छन् । उनले महँगी, महँगो घर, बढ्दो भाडा, दैनिक खर्च र धनी वर्गमाथि बढी कर लगाउने विषयलाई वातावरणीय राजनीतिसँग जोड्दै आएका छन् । उनले यसलाई वातावरण केन्द्रित जनमुखी राजनीति भन्दै आएका छन् । पोलान्स्कीले ममदानीको जस्तै सामाजिक सञ्जाललाई चुनावी अभियानको महत्वपूर्ण माध्यम बनाएका छन् । उनका अनुसार उनको प्रचार टोलीले ममदानीको प्रचार सामग्री बनाउने टोलीबाट समेत सुझाव लिइरहेको छ । पोलान्स्की अहिले लन्डनको होलबोर्न क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पूर्वप्रधानमन्त्री कियर स्टार्मरले सांसद पद छाडेपछि अक्टोबर ८ मा त्यहाँ उपनिर्वाचन हुँदैछ । दुई वर्षअघि भएको निर्वाचनमा हरित दलले उक्त क्षेत्रमा १० प्रतिशत मत मात्र पाएको थियो । तर केही सर्वेक्षणले यसपटक उक्त दलले ४० प्रतिशतसम्म मत पाउन सक्ने देखाएका छन् ।
स्पेनमा आवास संकटले बढायो राजनीतिक दबाब
स्पेनमा महँगो घर र बढ्दो भाडा अहिले प्रमुख राजनीतिक मुद्दा बनेको छ । गत महिना म्याड्रिडमा ८७ वर्षीया मारिकर्मेन अबास्कललाई ७० वर्षदेखि बस्दै आएको घरबाट निकालिएपछि देशभर विरोध प्रदर्शन भएका थिए । यो घटना स्पेनमा देखिएको आवास संकटको प्रतीक बनेको थियो । आवास समस्यालाई सम्बोधन गर्न सरकारमाथि दबाब बढ्दै गएपछि संसदमा सरकारको आवाससम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो ।
त्यसपछि प्रधानमन्त्री पेद्रो सान्चेजले नोभेम्बर २९ मा समयअगावै आमनिर्वाचन गर्ने घोषणा गरेका थिए । यससँगै स्पेनमा घर र भाडाको विषय सामाजिक समस्याबाट अघि बढेर प्रत्यक्ष चुनावी मुद्दा बनेको छ ।
फ्रान्समा ६० हजार सस्ता घर बनाउने योजना
फ्रान्सको राजधानी पेरिसका समाजवादी दलसँग आबद्ध नगर प्रमुख इमानुएल ग्रेगोयरले पनि सस्तो आवास र बढ्दो भाडालाई प्राथमिकतामा राखेका छन् । ग्रेगोयरले पेरिसमा थप सस्ता घर निर्माण गर्ने, खाली रहेका घरलाई आवासका रूपमा प्रयोग गर्ने र भाडा नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषय अघि सारेका छन् ।
उनको नेतृत्वमा पेरिसमा ६० हजार नयाँ सस्ता घर निर्माण गर्ने योजना अघि बढाइएको छ । ममदानीको जितअघि नै फ्रान्सका केही वामपन्थी नेताले उनको चुनावी अभियानबाट सिक्नुपर्ने बताएका थिए । ममदानीले आम नागरिकलाई बुझिने गरी सिधा रूपमा उठाएका मुद्दा र प्रचार शैलीप्रति पनि युरोपेली वामपन्थी नेताहरूको चासो बढेको छ ।
नेदरल्यान्ड्समा आवास अभाव प्रमुख चुनावी मुद्दा
नेदरल्यान्ड्समा भने ममदानीको जितअघि नै घर र भाडाको समस्या चुनावी राजनीतिमा प्रमुख विषय बनिसकेको थियो । सन् २०२५ को राष्ट्रिय निर्वाचनमा डि६६ दलका नेता रोब येतनले आवास संकटलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । त्यतिबेला नेदरल्यान्ड्समा करिब ४ लाख घरको अभाव रहेको थियो। घर खरिद महँगो हुँदै गएको र भाडासमेत लगातार बढिरहेका कारण ठूलो संख्यामा नागरिक आवासको समस्यासँग जुधिरहेका थिए । येतनको दलले हरेक वर्ष १ लाख नयाँ घर निर्माण गर्ने र १० वटा नयाँ बस्ती विकास गर्ने प्रस्ताव अघि सारेको थियो। निर्वाचनमा उक्त दलले उल्लेख्य सफलता हासिल गर्दै सन् २०२३ मा रहेको ९ सिटबाट बढेर सन् २०२५ मा २६ सिट पुर्याएको थियो र सबैभन्दा ठूला दलमध्ये एक बनेको थियो । यसरी नेदरल्यान्ड्समा सस्तो घर र कम भाडाको विषय ममदानीको जितअघि नै प्रमुख राजनीतिक मुद्दा बनिसकेको थियो ।
ममदानीको सफलताले भने युरोपभरि महँगी, आवास र दैनिक जीवनयापनको खर्चलाई केन्द्रमा राखेर चुनावी राजनीति गर्ने बहसलाई थप बल दिएको देखिएको छ। एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाल प्रहरीले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायत चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, ठगी, लुटपाट, जुवातास, अनलाइन ठगी, सट्टेबाजी, नक्कली नोटको कारोबार तथा अवैध ओसारपसार नियन्त्रणका लागि देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ ।
सुरक्षा योजनाअन्तर्गत काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा सहायता कक्ष स्थापना गरी थप ७०५ प्रहरी परिचालन गरिएको छ । लामो दूरीका सवारीसाधनमा यात्रुको सुरक्षा तथा सडक सुरक्षालाई प्राथमिकता दिँदै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, यात्रु क्षमता, दुई चालक भए–नभएको र सवारीको यान्त्रिक परीक्षणसमेत जाँच गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले सुरक्षा निगरानीका लागि सिसीटिभी, शरीरमा लगाउने क्यामेरा, ड्रोन, तालिमप्राप्त कुकुर तथा सञ्चार प्रणालीको प्रयोग गर्ने जनाएको छ। मुख्य बजार, बैंक तथा वित्तीय संस्था, बसपार्क, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल र सीमा नाकामा विशेष निगरानी गरिनेछ ।
प्रहरीले अनलाइन ठगीबाट जोगिन गोप्य संकेत, व्यक्तिगत परिचय संकेत तथा पासवर्ड कसैलाई नदिन, शंकास्पद विद्युतीय सम्पर्क तथा संकेतमा विश्वास नगर्न र अपरिचित व्यक्तिका सन्देश तथा मागप्रति सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै, चाडपर्वमा घर छाडेर जाँदा झ्यालढोका, ग्यास र विद्युत् जाँच गर्न तथा घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रहरीले अनुरोध गरेको छ । मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र कुनै शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन आज बिहान १० बजेदेखि हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले यसअघि आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम तय गरिएको भए पनि वर्षा र केही प्राविधिक कारणले १० बजेदेखि शुरू गर्न लागिएको जानकारी दिएका छन् ।
उनका अनुसार मतदानका लागि काठमाडौंका तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको खड्काले बताए ।
निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । जसअनुसार राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ ।
सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचय तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने भएका छन् एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जानकारी दिएको छ ।
हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको सबै भू-भागमा तथा कोशी र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी रलुम्बिनी प्रदेशको केही ठाँउ तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई ठाँउमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र असिना सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति कोशी प्रदेशका सबै भू-भाग तथा देशको बाँकी हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने छ। देशको तराई भु-भागमा आंशिक बादल लाग्नेछ। कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ एभरेष्ट न्यूज एजेन्सी,
आजको राशिफल बिस २०८३ असोज २२ गते विहिबार ईस २०२६ अक्टोबर ८ नेपाल सम्बत ११४६ ञलागा त्रयोदशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शुल्क योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजे र सूर्यास्त साँझ ५ बजेर ४४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बृहस्पतिको प्रभावले आज तपाईंलाई ठूलो लक्ष्यतर्फ केन्द्रित हुन प्रेरित गर्नेछ। काममा नयाँ जिम्मेवारी पाउन सकिन्छ र त्यसले भविष्यमा प्रगतिको बाटो खोल्ने सम्भावना छ। वरिष्ठ व्यक्तिको सुझावलाई बेवास्ता नगर्नुहोस्। व्यापारमा विस्तार गर्ने सोच आए पनि त्यसअघि बजार र लगानीको अवस्था बुझ्नु उचित हुनेछ। आर्थिक रूपमा आम्दानीसँगै भविष्यका लागि रकम सुरक्षित राख्ने अवसर मिल्नेछ। परिवारमा तपाईंको निर्णयलाई समर्थन प्राप्त हुन सक्छ। प्रेम सम्बन्धमा सकारात्मक संवादले आत्मीयता बढाउनेछ। अत्यधिक कामका कारण हुने थकानलाई बेवास्ता नगर्नुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धैर्यपूर्वक अघि बढ्दा अपेक्षित परिणाम प्राप्त गर्न सकिनेछ। काममा तत्काल सफलता नदेखिए पनि तपाईंले बनाएको आधार भविष्यका लागि उपयोगी हुनेछ। व्यापारमा ग्राहकको विश्वास कायम राख्नु सबैभन्दा महत्वपूर्ण हुनेछ। नयाँ कारोबारको प्रस्ताव आएमा त्यसको दीर्घकालीन फाइदा र जोखिम दुवै हेर्नुहोस्। आर्थिक रूपमा बचत र सम्पत्ति व्यवस्थापनतर्फ ध्यान जानेछ। परिवारमा महत्वपूर्ण विषयमा सहमति जुट्न सक्छ। प्रेममा व्यवहारिक सहयोगले भावनात्मक नजिकपन बढाउनेछ। खानपानमा नियमितता कायम राख्दा शरीर हलुका महसुस हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुध र बृहस्पतिको प्रभावले आज ज्ञान तथा संवादसँग सम्बन्धित काममा प्रगति गराउनेछ। लेखन, अध्ययन, शिक्षण, सञ्चार वा छलफलमा संलग्न व्यक्तिका लागि दिन विशेष उपयोगी हुन सक्छ। कार्यक्षेत्रमा आफ्नो विचार प्रस्तुत गर्ने अवसर आउँदा आत्मविश्वासका साथ बोल्नुहोस्। व्यापारमा नयाँ सम्पर्कबाट भविष्यको कारोबारको सम्भावना देखिन सक्छ। आर्थिक रूपमा सानो लाभ भए पनि त्यसलाई सही ढंगले व्यवस्थापन गर्न सकिनेछ। साथी वा आफन्तसँगको कुराकानीले नयाँ विचार दिनेछ। प्रेममा रमाइलो संवादले पुरानो दूरी घटाउन सक्छ। मानसिक रूपमा धेरै कुरा एकैपटक सोच्दा थकान बढ्न सक्ने भएकाले प्राथमिकता छुट्याउनुहोस् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चन्द्रमाको संवेदनशीलता र बृहस्पतिको विवेकबीच आज राम्रो सन्तुलन बनाउनुपर्नेछ। घरपरिवारको विषयमा भावनात्मक निर्णय लिनुभन्दा सबै पक्ष बुझेर अघि बढ्नु राम्रो हुन्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, तर त्यसलाई व्यवस्थित ढंगले सम्हाल्न सकिनेछ। व्यापारमा परिवार वा विश्वासिलो व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। आर्थिक रूपमा घर सुधार, शिक्षा वा आवश्यक सामग्रीमा खर्च हुने सम्भावना छ। परिवारका ज्येष्ठ सदस्यबाट महत्वपूर्ण सल्लाह मिल्न सक्छ। प्रेम सम्बन्धमा सुरक्षाको भावना बढ्नेछ। मन शान्त राख्न पर्याप्त निद्रा र आफ्नो रुचिको गतिविधिका लागि समय निकाल्नुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सूर्यको आत्मविश्वाससँग बृहस्पतिको विवेक जोडिँदा आज नेतृत्व क्षमता अझ प्रभावकारी बन्न सक्छ। कार्यक्षेत्रमा आफ्नो निर्णयले अरूलाई प्रभावित गर्ने अवस्था आउन सक्छ, त्यसैले निष्पक्षता कायम राख्नुहोस्। कुनै महत्वपूर्ण योजना स्वीकृत हुने सम्भावना पनि छ। व्यापारमा विस्तार वा नयाँ साझेदारीबारे सोच्न सकिनेछ, तर प्रतिष्ठाभन्दा वास्तविक लाभलाई प्राथमिकता दिनुहोस्। आर्थिक रूपमा ठूलो खरिद गर्ने इच्छा भए केही समय पर्खनु राम्रो हुनेछ। परिवारमा तपाईंको उपस्थितिले सकारात्मक वातावरण बनाउनेछ। प्रेममा आफ्नो भावनासँगै अर्को पक्षको इच्छालाई पनि महत्व दिनुहोस्। शरीरमा ऊर्जा राम्रो भए पनि आरामको समय कटौती नगर्नुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज बृहस्पतिको प्रभावले विगतका अनुभवबाट सिकेर अगाडि बढ्ने अवसर दिनेछ। काममा एउटै गल्ती दोहोरिन नदिनु तपाईंको प्रमुख उपलब्धि बन्न सक्छ। अध्ययन, अनुसन्धान वा सीप विकासका लागि समय निकाल्न सके भविष्यमा राम्रो परिणाम आउनेछ। व्यापारमा व्यवस्थापन सुधार्दा नाफा बढाउने सम्भावना देखिन्छ। आर्थिक रूपमा ऋण, किस्ता वा अन्य दायित्व व्यवस्थित गर्ने उपयुक्त समय हो। परिवारमा तपाईंको व्यावहारिक सहयोगको आवश्यकता पर्न सक्छ। प्रेममा आलोचना कम गरी प्रोत्साहन बढाउनु राम्रो हुनेछ। लामो समयसम्म काम गर्दा आँखाको थकान वा टाउको भारी हुनसक्ने भएकाले बीचमा विश्राम लिनुहोस् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज सम्बन्ध र अवसर एकअर्कासँग जोडिन सक्छन्। शुक्रको प्रभावले सामाजिक आकर्षण बढाउनेछ भने बृहस्पतिले सही व्यक्तिसँग सही समयमा सम्पर्क गराउने वातावरण बनाउन सक्छ। काममा सहकार्यबाट अपेक्षाभन्दा राम्रो परिणाम आउन सक्छ। व्यापारमा साझेदारी वा नयाँ सम्झौताको सम्भावना देखिए पनि सर्तहरू स्पष्ट पार्नुहोस्। आर्थिक रूपमा आम्दानी बढाउने सोच सफल हुन सक्छ, तर विलासिताका खर्च नियन्त्रण गर्नु आवश्यक छ। परिवारमा मेलमिलापको वातावरण रहनेछ। प्रेम सम्बन्धमा भविष्यका योजनाबारे खुलेर कुरा गर्न सकिनेछ। मानसिक सन्तुलनका लागि सामाजिक र व्यक्तिगत समयबीच तालमेल मिलाउनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मंगलको दृढता र बृहस्पतिको विवेकले आज कठिन परिस्थितिमा पनि सही निर्णय लिन सहयोग गर्नेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा भए पनि आवेगमा प्रतिक्रिया नदिई आफ्नो कामबाट क्षमता देखाउनुहोस्। व्यापारमा जोखिमपूर्ण विस्तारभन्दा पहिले अहिलेको कारोबार बलियो बनाउनु लाभदायक हुनेछ। आर्थिक रूपमा लगानीसम्बन्धी निर्णय गर्दा विश्वासका आधारमा मात्र अघि नबढ्नुहोस्। परिवारमा तपाईंको कठोर बोलीलाई नरम बनाउन सके विवाद टार्न सकिनेछ। प्रेममा शंका वा असुरक्षाभन्दा विश्वासलाई महत्व दिनु आवश्यक छ। शारीरिक ऊर्जा राम्रो भए पनि अत्यधिक श्रम वा असावधानीबाट जोगिनुहोस् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज तपाईंका लागि बृहस्पतिको प्रभाव विशेष बलियो रहनेछ। ज्ञान, अनुभव र आत्मविश्वासलाई सही दिशामा प्रयोग गर्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ। अध्ययन, परीक्षा, तालिम, यात्रा वा नयाँ योजना सुरु गर्न दिन उपयोगी छ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिबाट प्रशंसा वा महत्वपूर्ण अवसर प्राप्त हुन सक्छ। व्यापारमा नयाँ क्षेत्र विस्तार गर्ने सोच बन्न सक्छ। आर्थिक रूपमा दीर्घकालीन लगानी वा बचतका विषयमा राम्रो निर्णय लिन सकिनेछ। परिवारमा खुसीको समाचार आउन सक्छ। प्रेम सम्बन्धमा विश्वास र सम्मान बढ्नेछ। मानसिक उत्साह उच्च भए पनि आफ्नो क्षमताभन्दा धेरै जिम्मेवारी नलिनुहोस् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शनिको अनुशासन र बृहस्पतिको विस्तारवादी सोचबीच सन्तुलन मिलाउनु आजको मुख्य विषय हुनेछ। लामो समयदेखि मेहनत गरिरहेको कामले बिस्तारै परिणाम दिन थाल्नेछ। कार्यक्षेत्रमा वरिष्ठको विश्वास जित्ने अवसर आउन सक्छ। व्यापारमा तत्काल ठूलो नाफाभन्दा स्थिर कारोबारलाई प्राथमिकता दिनु उचित हुन्छ। आर्थिक रूपमा बचत, ऋण व्यवस्थापन वा भविष्यको सम्पत्तिसम्बन्धी योजना बनाउन राम्रो समय हो। परिवारमा जिम्मेवारी बढे पनि तपाईंले सहजै सम्हाल्न सक्नुहुनेछ। प्रेममा कम बोलेर व्यवहारबाट भावना देखाउने प्रवृत्ति रहन सक्छ, तर कहिलेकाहीँ शब्दमा पनि माया व्यक्त गर्नुहोस्। शरीरमा जकडन वा थकान भए आराम आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ विचारलाई ठूलो उद्देश्यसँग जोडेर अघि बढ्न सकिनेछ। कार्यक्षेत्रमा भविष्यमा उपयोगी हुने योजना बनाउन दिन अनुकूल छ। अनुभवी व्यक्तिसँगको भेटले तपाईंको सोचमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ। व्यापारमा नयाँ प्रविधि वा नयाँ बजारबारे जानकारी प्राप्त हुनेछ। आर्थिक रूपमा नयाँ आम्दानीको बाटो खोज्ने प्रयास सफल हुन सक्छ, तर अस्थिर योजनामा पैसा लगानी नगर्नुहोस्। परिवार र साथीभाइसँगको सम्बन्धमा सहजता आउनेछ। प्रेममा स्वतन्त्रता र विश्वासलाई ठाउँ दिँदा सम्बन्ध अझ राम्रो बन्नेछ। मानसिक रूपमा नयाँ कुरा सिक्ने चाहना बढ्नेछ, त्यसलाई सकारात्मक दिशामा प्रयोग गर्नुहोस् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)
चन्द्रमा र बृहस्पतिको प्रभावले आज संवेदनशीलता र अन्तर्ज्ञानलाई बल दिनेछ। अरूको भावनालाई बुझेर व्यवहार गर्न सक्दा व्यक्तिगत तथा व्यावसायिक दुवै सम्बन्धमा लाभ हुनेछ। सिर्जनात्मक काम, लेखन, कला वा अध्ययनमा प्रेरणा मिल्न सक्छ। कार्यक्षेत्रमा आफूलाई मन नपरेको जिम्मेवारी पनि धैर्यपूर्वक पूरा गर्दा पछि त्यसको लाभ प्राप्त हुनेछ। व्यापारमा विश्वासिलो सम्पर्कबाट नयाँ अवसर आउन सक्छ। आर्थिक रूपमा परिवार वा व्यक्तिगत आवश्यकतामा खर्च भए पनि त्यसलाई व्यवस्थित गर्न सकिनेछ। प्रेममा मनका कुरा लुकाएर नराख्दा सम्बन्ध अझ आत्मीय बन्नेछ। भावनात्मक थकान भए शान्त वातावरण, ध्यान वा प्रकृतिसँगको समयले मनलाई सहज बनाउनेछ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । प्यारामाउन्ट स्काइडान्सले ११० अर्ब अमेरिकी डलरमा वार्नर ब्रदर्स डिस्कभरीलाई आफ्नो स्वामित्वमा लिएको छ । दुई ठूला हलिउड स्टुडियोबीचको यो एकीकरणले विश्वको चलचित्र, टेलिभिजन र प्रवाहमा आधारित मनोरञ्जन उद्योगको स्वरूपमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
यो सम्झौतासँगै एचबीओ, सीबीएस, निकेलोडियन, शोटाइम, कमेडी सेन्ट्रल, डीसी स्टुडियो र फुड नेटवर्क एउटै कम्पनीअन्तर्गत आएका छन् । प्यारामाउन्टले ‘ह्यारी पोटर’, ‘गेम अफ थ्रोन्स’ र ‘द लर्ड अफ द रिङ्स’ जस्ता चर्चित श्रृंखलाको स्वामित्व पनि पाउनेछ । कम्पनीसँग यसअघि नै ‘इन्डियाना जोन्स’, ‘मिसन इम्पोसिबल’ र ‘श्रेक’ जस्ता लोकप्रिय श्रृंखला छन् ।
एकीकरणपछि नयाँ कम्पनीको नाम स्काइडान्स कर्पोरेसन राखिएको छ । स्काइडान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डेभिड एलिसनले सम्झौतालाई चलचित्र उद्योगका लागि ‘ऐतिहासिक’ क्षण बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौतालाई ‘उत्कृष्ट’ भन्दै नयाँ कम्पनी सफल हुने विश्वास व्यक्त गरेका छन् । यद्यपि, यो सम्झौता सहज रूपमा सम्पन्न भएको भने होइन । प्रतिस्पर्धा कमजोर हुने, उपभोक्तामाथि मूल्यको भार बढ्ने तथा चलचित्र हल र केबल वितरण क्षेत्रमा असर पर्ने भन्दै अमेरिकाका करिब एक दर्जन राज्यले सम्झौता रोक्न कानुनी प्रक्रिया अघि बढाएका थिए । पछि प्यारामाउन्ट र राज्य सरकारबीच सहमति भएपछि एकीकरणको बाटो खुलेको हो ।
सम्झौतापछि सीएनएन र सीबीएसको सम्पादकीय स्वतन्त्रताबारे पनि चासो बढेको छ । सहमतिअनुसार सीएनएन र सीबीएसमा स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित समाचार सुनिश्चित गर्न ‘समाचार सम्पादकीय स्वतन्त्रता बोर्ड’ गठन गरिनेछ । सीएनएनका अध्यक्ष तथा प्रधान सम्पादक मार्क थम्पसन र सीबीएस न्युजकी प्रधान सम्पादक बारी वाइसले आ–आफ्नो जिम्मेवारी कायम राख्नेछन् ।
नयाँ कम्पनीले ठूलो ऋणको सामना गर्नुपर्ने भएकाले खर्च कटौती र नाफा बढाउने दबाब रहने विश्लेषण गरिएको छ । साथै सम्झौताअनुसार प्यारामाउन्टले प्रत्येक वर्ष कम्तीमा ३० चलचित्र निर्माण गर्नुपर्नेछ र पहिलो दुई वर्षमा चलचित्र उत्पादनको कम्तीमा २० प्रतिशत अमेरिकामै गर्नुपर्नेछ । कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएका कम बजेटका सामग्रीमार्फत उत्पादन लक्ष्य पूरा गर्न नपाउने गरी समेत नियम राखिएको छ ।
एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा उम्मेदवारी फिर्ता लिन, उम्मेदवारीको सच्चाउन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यससम्बन्धी दाबी गर्न आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै उम्मेदवारको मनोनयन फिर्ता, उम्मेदवारीको सच्चाइ पाउने निवेदन तथा प्रकाशित नामावलीमा नाम छुटेको भए त्यसको दाबीसम्बन्धी प्रक्रिया अघि बढाएको हो ।
समितिका अनुसार निर्धारित समयभित्र सम्बन्धित उम्मेदवार वा प्रतिनिधि सदस्यले आवश्यक प्रक्रिया पूरा गरी दाबी वा निवेदन पेश गर्न सक्नेछन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यसअघि उम्मेदवारहरूको पहिलो नामावली प्रकाशित भइसकेको छ । उक्त नामावलीमाथि प्राप्त दाबी तथा निवेदनका आधारमा निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।
आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर विहिबार बिहान देखि नै मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ । एभरेष्ट न्यूज एजेन्सी