काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ। प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट हुने रकमसमेत कुल राजस्व परिचालनमा समावेश गरिएको छ ।
कुल सरकारी राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत, प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ ।
भदौ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ थियो । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ ।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले यस अवधिमा २४ अर्ब ५४ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको रकम १६ अर्ब ३८ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोत तथा अन्य प्राप्ति ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सहयोगका नयाँ सम्भावना अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं, २९ असोज २०८३ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् ।
सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको एउटा सर्किट यसअघि नै चार्ज गरिसकिएको छ ।
काठमाडौं उपत्यकाको विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक आसपासको बढ्दो विद्युत् माग सम्बोधन गर्दै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन चोभार सबस्टेसन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।
अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सबस्टेसन चार्ज गर्न निर्देशन दिए । उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्दै दुवै संरचनालाई उच्च प्राथमिकतामा राखी यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए ।
चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन् । फिडर लाइन विस्तारको काम अन्तिम चरणमा रहेको र उक्त काम सम्पन्न भएपछि दशैंलगत्तै सबस्टेसन चार्ज गरिनेछ ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण कार्य अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।
एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो । एभरेष्ट न्यूज एजेन्सी,
धनुषा । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र ९ ) का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन् । नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले २३३ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
जग्गाधनी प्रमाण पुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको स्वामित्व स्थापित भएको छ । स्ववासी जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पुर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन् ।
लालपुर्जा प्राप्त भएपछि जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिन सहज हुनेछ । त्यस्तै, जग्गाको स्वामित्व स्पष्ट भएपछि भूमिसम्बन्धी विवाद निरुपण गर्नसमेत सहज हुनेछ ।एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ ।
यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो।
नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने १०/१० वटा मापदण्ड निर्धारण गरेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा सुनिश्चित गर्दै आमा र नवजात शिशुको स्वास्थ्य, अधिकार र आवश्यकताअनुसार सेवा प्रवाह गर्नु यसको मुख्य उद्देश्य रहेको छ।
निर्देशिकाअनुसार प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था गर्नुपर्नेछ। यसले प्रसवका बेला आमाको मनोबल बढाउनुका साथै बच्चाको सुरक्षामा समेत सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ।
त्यस्तै, बच्चा जन्मिएपछि नवजात शिशुलाई आमाबाट अलग नराखी आमाकै बेडमा राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई प्राथमिकता दिइएको छ। निर्देशिकाले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन २०४९ को प्रभावकारी कार्यान्वयनमा सहयोग गर्दै आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री, वितरण र प्रवर्द्धनलाई नियमन गरी स्तनपानको संरक्षण , प्रवर्द्धन र सहयोग गर्नेछ।
सुत्केरी आमा र नवजात शिशु स्वास्थ्य संस्थाबाट डिस्चार्ज भएर घर फर्किएपछि पनि उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने र सम्भावित समस्याको पहिचान गर्न स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्ने व्यवस्था गरिएको छ।
निर्देशिकाले स्तनपानका लागि अनुकूल वातावरण निर्माण गर्ने, आमालाई आवश्यक सहयोग उपलब्ध गराउने तथा आमा र नवजात शिशुको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने कुरामा जोड दिएको छ।
नयाँ निर्देशिकामार्फत प्रसवदेखि सुत्केरीपछिको अवस्थासम्म मातृ तथा नवजात शिशुमैत्री सेवाको निरन्तरता सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई थप व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । एभरेष्ट न्यूज एजेन्सी,
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–८, मोतीपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
बुधबार बिहान १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको म.प्र. ०३–००१ क २८७८ नम्बरको मुन लाइट एकेडेमीको बसले स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सरकारले गठन भएको पहिलो ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको नीतिगत सुधार, विद्युत् प्रसारण विस्तार, सिँचाइ सुविधा वृद्धि र विपद् पूर्वसूचना प्रणाली सुदृढीकरणमा काम गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक संसद्मा पुगेको छ भने जलस्रोतसम्बन्धी विधेयक अघि बढाइएको छ। विद्युत् विकास नीति, विद्युत् विधेयक र सिँचाइ विधेयकको प्रारम्भिक मस्यौदासमेत तयार गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना गरी विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारका लागि छुट्टाछुट्टै कम्पनी बनाउने कार्ययोजना तयार भइरहेको मन्त्रालयले जनाएको छ। विद्युत् अनुमतिपत्र र विद्युत् खरिद सम्झौताको समीक्षा सम्पन्न गरी प्रतिवेदन प्राप्त भएको छ। सरकारले विद्युत् नियमन तथा उपभोक्ता सेवामा सुधार गर्न नयाँ निर्देशिका र मापदण्डसमेत जारी गरेको छ।
नेपाल र भारतबीच विद्युत् आदानप्रदान क्षमता बढाउने सहमति भएको छ। ढल्केबर–मुजफ्फरपुर र ढल्केबर–सीतामढी ४०० केभी प्रसारण लाइनबाट नेपालले भारतबाट आयात गर्न सक्ने विद्युत् क्षमता १ हजार मेगावाटबाट १ हजार ४०० मेगावाट र निर्यात क्षमता १ हजार १०० मेगावाटबाट १ हजार ६५० मेगावाट पुर्याउने सहमति भएको छ। नयाँ बुटवल–गोरखपुरसहित विभिन्न अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा क्षमता विस्तारका योजना पनि अघि बढाइएका छन्।
सिँचाइतर्फ सिक्टा आयोजनामा ६ महिनामा १३ किलोमिटर नहर निर्माण गरी थप १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। बबई सिँचाइ आयोजनाबाट थप ६०० हेक्टर, महाकाली आयोजनाबाट १ हजार १५५ हेक्टर, बड्कापथ आयोजनाबाट ६१० हेक्टर र रानी जमरा कुलरिया आयोजनाबाट १५० हेक्टर जमिनमा सिँचाइ सुविधा थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ। सरकारले बबई र भेरी–बबई आयोजना आगामी दुई आर्थिक वर्षभित्र तथा अन्य राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ।
विद्युत् प्रसारण र वितरणतर्फ विभिन्न आयोजना निर्माण तथा सञ्चालनमा ल्याइएका छन्। बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ भने बाह्रबिसे र नयाँ खिम्ती सबस्टेसन आंशिक सञ्चालनमा ल्याइएको छ। मस्र्याङ्दी करिडोरअन्तर्गत मार्कीचोक–भरतपुर प्रसारण लाइन र काठमाडौँको चोभार सबस्टेसन सञ्चालनमा आएका छन्। हेटौँडा–ढल्केबर प्रसारण लाइनका लामो समयदेखि अवरुद्ध टावर निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ।
जलविद्युत् विकासतर्फ २३ आयोजनालाई कुल १ हजार ६२३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र र चार आयोजनालाई ३०.५९ मेगावाट क्षमताको उत्पादन अनुमतिपत्र जारी गरिएको छ। ३९ जलविद्युत् आयोजनाको कुल ९५१.३४२ मेगावाट क्षमताको ग्रिड प्रभाव अध्ययन सम्पन्न भएको छ। माथिल्लो अरुण, उत्तरगङ्गा, तनहुँ, बुढीगण्डकी र किमाथाङ्का अरुणलगायत आयोजना अघि बढाउन अनुमति, अध्ययन, जग्गा अधिग्रहण तथा निर्माणसम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।
वैकल्पिक ऊर्जातर्फ ग्रामीण क्षेत्रमा लघु तथा साना जलविद्युत् र सौर्य प्रणालीमार्फत विद्युत् पहुँच विस्तार गरिएको छ । ३१५ सौर्य सिँचाइ पम्प जडान भएका छन् भने घरायसी बायोग्यास, विद्युतीय चुलो र सुधारिएको चुलो गरी १ लाख १९ हजार ५०० स्वच्छ खाना पकाउने प्रविधि जडान तथा वितरण गरिएको छ। विभिन्न संस्थामा १८ हजार ५७५ किलोवाटभन्दा बढी क्षमताको छानामाथि जडान गरिने सौर्य विद्युत् प्रणाली स्थापना भएको विवरणमा उल्लेख छ।
बाढी तथा मौसम पूर्वसूचना प्रणालीमा पनि सुधार गरिएको छ। भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका बेला प्रभावित क्षेत्रका बासिन्दालाई करिब ७ लाख सन्देश पठाएर सतर्क गराइएको थियो। त्यसपछि थप ७ लाख सन्देश पठाइएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्रमुख नदीको बाढी पूर्वानुमान अवधि तीन दिनबाट पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि २४ घण्टाबाट ४८ घण्टा पुर्याइएको छ। मौसमसम्बन्धी सूचना दिन चौबीसै घण्टा सेवा सञ्चालन गरिएको छ।
मन्त्रालयले नागरिक सहायता, डिजिटल सेवा र जलवायु वित्तका क्षेत्रमा पनि काम अघि बढाएको जनाएको छ। नागरिकका गुनासा सम्बोधन गर्न निःशुल्क टेलिफोन नम्बर ११५१ र कृत्रिम बुद्धिमत्तामा आधारित ‘एआई साथी’ सञ्चालनमा ल्याइएको छ। जलवायु परिवर्तनबाट हुने क्षति सम्बोधन तथा ऊर्जा रूपान्तरणका लागि अन्तर्राष्ट्रिय कोषमा विभिन्न परियोजना प्रस्ताव पेस गरिएका छन्। यी उपलब्धि मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको प्रगति विवरणमा आधारित छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेकपाका सांसद बर्षमान पुनले साउदी अरेबियाका लागि प्रस्तावित राजदुत गिरीबहादुर सुनारलाई आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन् ।
संसदीय सुनुवाईका क्रममा पुनले सुनारविरुद्ध लागेका आरोप गम्भीर भएकाले आफैले नाम फिर्ता लिन सुझाव दिएका हुन् ।
पुनले अभियन्ताकै पहिचान बनाएका व्यक्तिमाथि महिलाविरुद्ध हिँसाको आरोप लाग्नु गम्भीर भएको बताए ।
त्यस्तै एमाले सांसद पदमा अर्यालले पनि सुनारमाथि लागेको आरोप गम्भीर भएको बताउदै राजदुतको मापदण्ड अनुसार नभएको उल्लेख गर्दै महिलाको कुरा सुन्दा र निवेदनमा उल्लेख भएको विषय गम्भीर भएको बताएकी थिइन् । सुनारमाथि लागेका आरोपको अध्ययन नै गर्नुपर्ने भन्दै सुनारले दिने प्रमाण पनि आफुहरुका लागि सहयोगी हुने बताएकी थिइन् ।
सुनारले भने आफूमाथि लागेका आरोप निराधार भएको दाबि गर्दै आफुसँग सबै प्रमाण भएको बताएका थिए ।
सुनारमाथिको सुनुवाई र उनीमाथि लागेका आरोपमा छलफल जारी रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’को पहिलो चरणको छायांकन सकिएको छ । असोज २ गतेबाट काभ्रेको धुलिखेलमा सुरु भएको सिनेमाको पहिलो चरणको छायांकन सकिएको हो ।
पहिलो सेड्युलको छायांकनका क्रममा कलाकार मदनकृष्ण श्रेष्ठ आफैँ सेटमा बसेका छन् । उनले सेटमा बसेर प्रत्येक सिनको अवलोकन गरेका छन् । आवश्यक सुझाव समेत उनले दिएका छन् ।
“उहाँ आफ्नो जीवनीमा बनेको सिनेमाको छायांकन हेरेर निकै भावुक पनि हुनु भएको छ । उहाँ सिनेमाको काम देखेर सन्तुष्ट पनि हुनुहुन्छ,” निर्देशक मिलन चाम्सले भने, “जसको कथामा सिनेमा बनिरहेको छ, उहाँ स्वयं सेटमा हुँदा हामीलाई थप सहज पनि भएको छ ।”
दोस्रो चरणको छायांकन दसैँ लगत्तै सुरु हुने निर्देशक चाम्सले जानकारी दिएका छन् । ‘म मदनकृष्ण’मा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । उनले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
अरुण क्षेत्री हरिवंश आचार्यको रोलमा देखिनेछन् । हरिवंश मदनकृष्णको कलाकारिताको जोडी हुन् । यो जोडीलाई मह जोडीको नाम दिइएको छ । अरुणको अपोजिटमा वर्षा राउत देखिनेछिन् । उनले हरिवंश आचार्यको श्रीमतीको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन संघर्ष र आरोह–अवरोहलाई समेटेर निर्माण हुने बायोपिक सिनेमा ‘म मदनकृष्ण’लाई मिलन चाम्सले निर्देशन गरिरहेका छन् । चलचित्रको कथा तथा पटकथा यम थापाले लेखेका छन् । चलचित्र ‘म मदनकृष्ण’ चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाहलगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रमेश बुढाथोकी, विनोद न्यौपाने, रुषा न्यौपाने, विनोद न्यौपाने, देशभक्त खनाल, दिनेश डिसी, कृष्णभक्त महर्जन, सुरज तमु, दीया जिसी, सिर्जना अधिकारी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहनेछ । बाल कलाकारमा जेविस र जेविन श्रेष्ठ छन् ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘मदनकृष्ण’लाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् । पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ)को डीओपी रहेको चलचित्रमा मिलन श्रेष्ठ सम्पादन, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक, भरत कँडेल साउन्ड डिजाइन रहेका छन् ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र काठमाडौं बाहिर रोहित कट्टले र रत्न श्रेष्ठको आरआर फिल्म्सले वितरण गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन् ।
साउदी ऊर्जा मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार राति भएको आक्रमणपछि भवनमा सीमित आगलागी भएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।
समाचार संस्था रोयटर्सका अनुसार कम्पनीको मुख्यालय परिसरमा रहेको एउटा कार्यालय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो । त्यसबाट भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताइएको छ । साउदी नेतृत्वको गठबन्धनले धहरानमा अवरोध गरिएको क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ । राजधानी रियादमा पनि हुथी विद्रोहीका क्षेप्यास्त्र र ड्रोन अवरोध गरी नष्ट गरिएको साउदी अधिकारीहरूले बताएका छन् ।
क्षेप्यास्त्रका टुक्रा खस्दा रियादमा चार जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । घटनामा राजधानीका १५ घरमा सामान्य क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा साउदी अरेबिया र हुथी विद्रोहीबीच आक्रमण तीव्र बनेको छ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाले सरकारी सेनालाई समर्थन गरेको भन्दै क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्दै आएका छन्।
यसअघि हुथी प्रवक्ता याह्या सारीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा गरेको आक्रमणको जवाफ कडा हुने चेतावनी दिएका थिए । उनले धहरानस्थित अरामको मुख्यालय र रियादको तेल प्रशोधन केन्द्र सम्भावित निशानामा रहेको बताएका थिए ।
साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको आक्रमण क्षमता कमजोर बनाउने उद्देश्यले सानानजिकैको इन्धन भण्डारण केन्द्रसहित विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
यमनको द्वन्द्व क्षेत्रीय तनावसँग पनि जोडिएको छ। साउदी अरेबियाले हुथी विद्रोहीविरुद्धको सैन्य अभियानलाई तीव्र बनाएको छ भने इरानले रियाद र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ । एभरेष्ट न्यूज एजेन्सी,