बज्जिकाञ्चल संवाददाता,०६ गते
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियाधलाई ४-० गोल अन्तरले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा अल नासरले दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।
अल नासरका लागि अब्दुल्लाह अल अम्री, जोआओ फेलिक्स, आन्जेलो गाब्रिएल र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । रोनाल्डोका लागि यो सिजनको पहिलो गोल हो । रोनाल्डो खेल सुरु हुँदा बेन्चमा थिए र दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । मैदानमा आएपछि उनले करिब २१ मिनेटमै गोल गरेका हुन् । यससँगै उनको व्यावसायिक खेल जीवनमा कुल गोल संख्या ९७७ पुगेको छ । अब उनी एक हजार गोलको ऐतिहासिक लक्ष्यभन्दा २३ गोल टाढा छन् । रोनाल्डोको यो नयाँ सिजनको पहिलो खेल पनि हो ।
यस जितसँगै अल नासरले नयाँ सिजनमा लगातार दुई खेल जित्दै बलियो सुरुवात गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०६ गते
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ अनुुसार यस्तो केन्द्र स्थापना गर्न लागिएको हो । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक मर्मतसम्भार गरी सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाउन केन्द्र स्थापनाको तयारी भइरहेको कार्यालयले जानकारी दिएको छ । समितिले केन्द्रको नीति तथा कार्यक्रम निर्धारण, आवश्यक मार्गदर्शन तथा समन्वय गर्ने र केन्द्रबाट सञ्चालन हुने सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारसम्बन्धी कामको सुपरीवेक्षण गर्ने जिम्मेवारी पनि समितिको हुने बताइएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिवको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको छ भने साथै, केन्द्रको प्रशासकीय प्रमुखका रूपमा एक जना कार्यकारी निर्देशक रहने व्यवस्था गरिएको छ । केन्द्रमा विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीसहित कुल ३० जना कर्मचारी रहने व्यवस्था गरिएको छ । केन्द्रको मुख्य कार्यालय काठमाडौँ उपत्यकामा रहने र केन्द्रले सार्वजनिक निकायबाट माग भए बमोजिम सफ्टवेयर विकास, स्तरोन्नति र मर्मत सम्भारसम्बन्धी काम गर्ने, केन्द्र आफैले निर्माण गरेका सफ्टवेयर प्रणाली वा सार्वजनिक निकायबाट माग भइ आएका विभिन्न लिगेसी सफ्टवेयर प्रणालीको स्तरोन्नति र मर्मत सम्भारसम्बन्धी काम गर्ने व्यवस्था आदेशमा उल्लेख छ । त्यसैगरी केन्द्रबाट विकास गरिएका विभिन्न सफ्टवेयर प्रणालीहरुका लागि चौबिसै घण्टा प्राविधिक सहायता उपलब्ध गराउने, सूचना प्रविधि प्रणालीको सफ्टवेयर रिक्वायरमेन्ट स्फेसिफिकेशन (एसआरएस) तथा डिजिटल पूर्वाधारको प्राविधिक स्पेसिफिकेशन तयार गर्न सेवा उपलब्ध गराउने, सफ्टवेयर विकासको क्रममा आवश्यक सुरक्षा मापदण्ड लगायत असल अभ्यासको अनुसरण गर्ने काम केन्द्रले गर्नेछ । यस्तै, केन्द्रले सफ्टवेयर विकास, मर्मत सम्भार र स्तरोन्नतिको क्रममा डाटाको सुरक्षित होस्टिङ, प्रशोधन, ब्याकअप, पहुँच नियन्त्रण तथा प्राविधिक संरक्षणको उचित व्यवस्थापन गर्नुपर्ने आदेशमा उल्लेख छ ।
२- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित सर्वोच्च अदालतमा पेश गरेको रिट फिर्ता ल्याएको छ । शुक्रबार देउवाले वारेसमार्फत सर्वोच्चमा रिट पेस गरेपनि दर्ता भएको थिएन । सर्वोच्च प्रशासनले निवेदन अध्ययनको क्रममा रहेको र यस बारे सोमबार निर्णय गर्ने भनेपछि साँझ देउवा पक्षले निवेदन फिर्ता ल्याएको छ । सर्वोच्च प्राशासनका अनुसार देउवा पक्षले सच्याउने भन्दै निवेदन फिर्ता लागेको छ । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेर महाधिवेशनको प्रक्रिया शुरु गरेपछि संस्थापन इतर पक्ष पुन: सर्वोच्च पुगेको थियो । सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएपछि सो मुद्धाको सुनुवाई हुन बाँकी रहेको छ ।
३- कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै बमले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । टोलीले धनगढी उपमहानगरपालिका–१ बाट बमलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ । बमविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । विशेष अदालतको आदेशअनुसार भदौ ५ गते उनलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ । आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले जनप्रतिनिधिलाई निर्वाचित कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउन सकिने व्यवस्था अर्थात् राइट टु रिकलसम्बन्धी दस्तावेज तयार गर्न महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
५- नेपाल ए ले अस्ट्रेलिया जारी टप एन्ड सिरिजमा खराब शुरुवात गरेको छ । शुक्रबार सम्पन्न पहिलो खेलमा नेपाल ए एनटी स्ट्राइकसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको १२३ रनको लक्ष्य पछाएको एनटी स्ट्राइकले १५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । नेपाल ए का लागि पवन सराफले ४१ रन बनाएका थिए भने लोकेश बमले १६, नारायण जोशीले १५, कप्तान अनिल शाहले १४, तृतराज दासले १३ रन बनाएका थिए । त्यस्तै एनटी स्ट्राइकका बलर हमिश मार्टिनले सर्बाधिक ३ विकेट लिएका थिए । अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।
६- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे प्रदेश सभामा विश्वासको मत लिने तयारी प्रदेश सभाले गरेको छ । उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ । राप्रपाले दिएको सर्मथनप्रति विवाद भएको छ । राप्रपाको केन्द्रले आफ्नो निर्देशन विपरित एमालेलाई सरकार बनाउन समर्थन गरेको भन्दै संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यसहित प्रदेश सभाबाट हटाउने निर्णय गरेको छ । त्यस्तै राप्रपाले मन्त्री बनेकालाई पनि कारवाही गर्ने बताएको छ । राप्रपाबाट विहिबारनै गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ ।
७- नेपाल-भारतबीच सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सम्पन्न भएको छ । बैठक भदौ ४ र ५ गते अर्थात् अगस्ट २० र २१ मा सम्पन्न भएको हो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको गृह मन्त्रालयकी सहसचिव पौसुमी बासुले गरेकी थिइन् । बैठकमा गत वर्ष चैतमा पोखरामा सम्पन्न १३औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो । सीमापार अपराध, लागुऔषध, मनोद्वीपक पदार्थ, प्रतिबन्धित तथा नियन्त्रित औषधि, वन्यजन्तु तथा मानव बेचबिखन, जाली नोटलगायत आर्थिक अपराध तथा हातहतियार र खरखजानासहितका गैरकानुनी गतिविधि नियन्त्रणका लागि दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र तत्काल सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । नेपाली पक्षले साइबर अपराध तथा सीमापार डिजिटल ठगीलगायत नयाँ सुरक्षा चुनौतीका विषयसमेत बैठकमा उठाएको थियो । त्यसैगरी, दशगजा क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग तथा पारस्परिक कानुनी सहायता लगायतका महत्वपूर्ण सीमा व्यवस्थापनका विषयमा पनि विस्तृत छलफल भएको थियो । बैठकमा दुवै देशका नागरिकको सीमापार आवागमनलाई सहज बनाउने, नेपाल र भारतका सीमा नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकको सहजीकरण तथा निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । विपद् व्यवस्थापन तथा नेपाल–भारत जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो। सीमा क्षेत्रका संवेदनशील स्थानमा अत्याधुनिक प्रविधि तथा निगरानी उपकरणको प्रयोग गरी सुरक्षा निगरानी बढाउने विषयमा समेत सहमति भएको छ । कार्यदलको आगामी बैठक दुवै पक्षका लागि अनुकूल मितिमा नेपालमा आयोजना गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
८- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १०.६७ अंकले घटेर २६१८.७२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका एक करोड २२ हजार ७६५ कित्ता शेयर ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने पन्चकन्या माई हाइड्रोको शेयर १३.८६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी धौलागिरि लघुवित्तको शेयर ५.२६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २६ करोड ३७ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको २४ करोड ५३ लाख बराबरको कारोबार भएको छ ।
९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयमा सदस्य थप गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयमा ११ सदस्य थप गरेको हो । जसमा शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, दीपक बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव सचिवालय सदस्यमा मनोनित भएका छन् । यस्तै, बैठकले जगदिश खरेललाई पार्टी प्रवक्ता र डा. मनोहर प्रधानलाई कोषाध्यक्षमा मनोनयन गरेको छ । त्यसैगरी, पार्टीका विभिन्न विभाग प्रमुखहरु पनि टुंगाएको छ । जसअनुसार संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु र अर्थ विभागको प्रमुखमा लीमा अधिकारीलाई चयन गरिएको छ ।
१०- विदेशमा रहेका नेपालीले अबदेखि नेपाली दूतावासबाट नेपाल सरकारले जारी गरेको सवारी चालक लाइसेन्स प्रमाणीकरण गर्नसक्ने भएका छन् । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले सूचना जारी गर्दै विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारी दिएको हो । विभागले भनेको छ- ‘विदेशमा रहेका नेपाली नागरिकहरूले नेपाल सरकारबाट जारी भएको सवारी चालक अनुमतिपत्रको प्रमाणीकरण सेवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट लिन सकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ ।’
११- आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो । मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ । पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् । स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
१२- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको खम्पा गुम्बा दर्शन गर्न गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले प्रधानमन्त्री शाह निजी भ्रमणका क्रममा मुस्ताङस्थित खम्पा गुम्बा दर्शन गर्न गएको बताउदै उनले निजी भ्रमणमा प्रधानमन्त्रीले ठूलो संख्यामा सुरक्षाकर्मीको टोली लिएर हिँड्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री सुरक्षाकर्मीबिना मुस्ताङ गएको विषयमा चर्चा भइरहेको भन्दै शाहीले कम्तीमा केही समय प्रधानमन्त्रीलाई आफ्नो निजी समय र व्यक्तिगत जीवनमा स्वतन्त्र रूपमा हिँडडुल गर्न दिन आग्रह गरेका छन् । उनले हरेक विषयलाई राजनीतिक रंग दिएर हल्ला गर्नु आवश्यक नरहेको बताएका छन् ।
१३- बारामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । साथै उनीहरुले बलात्कारीलाई फाँसी हुने कानुन बनाउन समेत माग गरेका छन् । प्रदर्शनकारीहरूले बालबालिका तथा महिलाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कानुन निर्माण, विद्यमान कानुनको संशोधन तथा अपराधीमाथि कडा कारबाहीको माग गरेका छन् । भदौ २ गते बाराको भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन् । बालिका साउन ३१ गते बिहान करिब ८: ३० बजे घरबाट हराएकी जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने करिब १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको यात्रुवाहक गाडीका सहचालक रहेका १६ वर्षीय बालक र उक्त गाडीका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ ।
१४- ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो एक दशकभन्दा बढी समयपछि फेरि व्यावसायिक फुटबलमा फर्किएका छन् । ४६ वर्षीय रोनाल्डिन्होले इटालीको तेस्रो श्रेणीको क्लब राभेन्नासँग सम्झौता गरेका हुन् । बिहीबार राभेन्नामा उनको भव्य स्वागत गरिएको थियो । समुद्र किनारमा आयोजित कार्यक्रममा करिब ६ हजार समर्थक सहभागी भएका थिए । रोनाल्डिन्होले आफू राभेन्नामा साथीहरूको आग्रह र मित्रताका कारण आएको बताउँदै टोलीलाई सहयोग गर्न चाहेको बताए । तर उनले मैदानमा कहिले उत्रिने भन्ने विषयमा भने क्लबका अध्यक्ष र प्रशिक्षकमा निर्भर रहने बताएका छन् । रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सबाट अन्तिम पटक व्यावसायिक फुटबल खेलेका थिए । यसअघि उनले इटालीको एसी मिलानबाट सन् २००८ देखि २०११ सम्म खेलेका थिए । ब्राजिललाई सन् २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डिन्होले सन् २००५ मा विश्वकै उत्कृष्ट खेलाडीको पुरस्कारसमेत जितेका थिए । राभेन्नाका अध्यक्ष इग्नाजियो सिप्रियानीले रोनाल्डिन्होले क्लबबाट आफ्नो खेल जीवनको अन्तिम गोल गरून् भन्ने आफ्नो सपना रहेको बताएका छन् । यद्यपि, रोनाल्डिन्होले नयाँ सिजनको पहिलो खेलमा भने सहभागिता नजनाउने भएका छन् ।
१५- इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रमा करिब १ हजार २०० नयाँ बस्तीका घर निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेपछि प्रमुख पश्चिमा देशहरूले विरोध जनाएका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको निर्णयलाई ‘अस्वीकार्य’ भन्दै योजना तत्काल फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले यसबाट शान्ति प्रक्रियामा थप क्षति पुग्ने र इजरायलको अन्तर्राष्ट्रिय प्रतिष्ठामा समेत असर पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिवले पनि पूर्वी जेरुसेलम नजिकको ‘ई–१’ क्षेत्रमा बस्ती विस्तार गर्ने योजना निरन्तर र एकीकृत प्यालेस्टिनी राज्य निर्माणका लागि अस्तित्वगत खतरा भएको बताएका छन् । इजरायलको आवास मन्त्रालयले बुधबार ३ हजार ४०१ घर निर्माणका लागि स्वीकृत योजनामध्ये १ हजार २३४ घरका लागि बोलपत्र आह्वान गरेको हो । उक्त क्षेत्र पूर्वी जेरुसेलम र माले अदुमिम बस्तीबीच करिब १२ वर्ग किलोमिटरमा फैलिएको छ । प्यालेस्टिनी तथा इजरायलका शान्ति समर्थक समूहले योजनाविरुद्ध अदालतमा चुनौती दिएका छन् । उनीहरूको दाबीअनुसार उक्त क्षेत्रमा बस्ती निर्माण भए पश्चिम किनाराको उत्तर र दक्षिण भाग छुट्टिने र पूर्वी जेरुसेलमलाई समेत अलग पारिनेछ । यसले दुई राज्यको समाधानको सम्भावना कमजोर बनाउने उनीहरूको भनाइ छ । सन् १९६७ को युद्धपछि इजरायलले वेस्ट बैंक र पूर्वी जेरुसेलममा करिब १६० बस्ती निर्माण गरिसकेको छ, जहाँ करिब ७ लाख इजरायली बसोबास गर्छन् । अन्तर्राष्ट्रिय समुदायले यी बस्तीलाई अन्तर्राष्ट्रिय कानुनविपरीत मान्दै आएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलाको ३ हजार ३ सयले बढेर तोलाको ३ लाख १६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३० रुपैयाँले बढेर तोलाको ४९८५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८५५ मा कारोबार भएको थियो ।
१७- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणपछि पुनः अदियाला जेल पठाइएको छ । शिफा अन्तर्राष्ट्रिय अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गरेपछि उनलाई तत्काल अस्पतालमै भर्ना गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च अदालतले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई दुई दिनभित्र अस्पतालमा परीक्षण तथा उपचारका लागि लैजान आदेश दिएको थियो । सरकारले उक्त आदेशविरुद्ध पुनरावलोकन निवेदन दिए पनि सर्वोच्च अदालतको रजिस्ट्रार कार्यालयले आपत्ति जनाउँदै निवेदन फिर्ता गरिदिएको थियो । इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । उनीविरुद्ध विभिन्न मुद्दामा सजाय सुनाइएको छ । उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफले भने जेलको अवस्थाले उनको स्वास्थ्यमा असर गरिरहेको दाबी गर्दै आएको छ ।
१८- राष्ट्रिय प्रजातन्त्र पार्टीमा देखिएको विवादबारे पूर्वअध्यक्ष कमल थापाले पार्टीभित्र संवादहीनता र गुटबन्दी बढ्दै गएको बताएका छन् । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव आएपछि आफू असन्तुष्ट भएको कमल थापाले बताएका छन् । उनले आफू, पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेलगायत नेताले हतारमा कारबाही नगरी अध्ययन तथा छानबिन गर्न आग्रह गरेको बताए । थापाले बैठकमा पार्टीभित्र सरकारमा सहभागी हुने वा नहुने नीति, प्रदेश सभामा सभामुख र उपसभामुख पद लिएको विषय तथा आन्दोलनपछि सांसदहरूले राजीनामा दिने भनिएको निर्णय कार्यान्वयन नभएको विषयमा समेत समीक्षा गर्न आग्रह गरिएको बताएका छन् । उनले भने- ‘यस सम्बन्धमा म लगायत पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा र कार्यसम्पादन समितिका सदस्य अर्जुन राई लगायतले पटक-पटक विनम्रतापूर्वक अनुरोध गर्यौँ, हतारमा कारबाही गरेर जनताबाट निर्वाचित सांसदलाई निष्कासन गर्ने जस्तो कठोर निर्णय नगरौँ। पार्टीको विधि र पद्धतिअनुसार पहिले अध्ययन तथा छानबिन गरौँ, अनि मात्र आवश्यक निर्णयमा पुगौँ ।’ थापाले कुनै पनि तहको सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे स्पष्ट नीतिगत समीक्षा गर्न र पार्टीको निर्देशनविपरीत विगतमा प्रदेश सभामा सभामुख र उपसभामुख पद लिएको विषयमा समीक्षा गर्न बैठकमा आग्रह गरेको भएपनि नेतृत्वले नसुनेको गुनासो गरेका छन् । कमल थापाले कम्तीमा तीन दिन समय दिएर प्रदेश सभा सदस्यहरूसँग परामर्श गर्नुपर्ने सुझाव दिए पनि त्यसलाई बेवास्ता गर्दै उद्धव थापालाई एकपक्षीय रूपमा निष्कासन गरिएको दाबी गरेका छन् । उनले ‘कारबाही र निष्कासन मात्र समस्याको समाधान होइन’ भन्दै पार्टीभित्र गम्भीर संवादहीनता रहेको बताए । थापाले ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी मान्यता पार्टीभित्र हाबी हुँदै गएको बताउदै यसै पनि पार्टी कमजोर बन्दै गइरहेको अवस्थामा दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्ने बताएका छन् । विहिबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयमा थापाले असहमति जनाएका थिए ।
१९- अमेरिकाको कुल राष्ट्रिय ऋण ४० खर्ब डलरभन्दा माथि पुगेको छ । विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक रहेको अमेरिकाका लागि यो केवल एउटा आर्थिक तथ्यांक नभई सरकारमाथि बढ्दै गएको वित्तीय दबाबको संकेतसमेत हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा राष्ट्रिय ऋण अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसपछि पनि अमेरिकी ऋण निरन्तर बढ्दै गयो । अहिले उनको दोस्रो कार्यकालमा राष्ट्रिय ऋण त्यस समयको तुलनामा झन्डै दोब्बर पुगेको छ । ऋण बढ्दै जाँदा सरकारी आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न अमेरिकालाई थप कठिनाइ भइरहेको छ । अमेरिकाको राष्ट्रिय ऋण बढ्नुमा लामो समयदेखिको उच्च सैन्य खर्च, सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रमका लागि हुने बढ्दो खर्चलगायत कारण छन् । सन् २०२५ मा लागू गरिएका कर कटौतीका कारण सरकारी आम्दानीमा परेको दबाबले पनि ऋण बढाउन योगदान गरेको छ । इरानसँगको युद्ध र त्यससँग सम्बन्धित सैन्य अभियानले पनि सरकारको वित्तीय भार थप बढाएको छ । उपलब्ध विवरणअनुसार, यस वर्ष मात्रै अमेरिकी सरकारले आफ्ना दायित्व पूरा गर्न २० खर्ब डलरभन्दा बढी ऋण लिनुपर्ने अवस्था आएको छ । चिन्ताको विषय के छ भने कुल घाटाको झन्डै आधा रकम ऋणदातालाई तिर्नुपर्ने ब्याजमा खर्च भइरहेको छ । राष्ट्रिय ऋणसँगै त्यसको ब्याज तिर्नुपर्ने रकम पनि अमेरिकी सरकारका लागि ठूलो चुनौती बन्दै गएको छ । पुरानो ऋणमा ब्याज तिर्नुपर्ने भएकाले ऋणको आकार बढ्दै जाँदा ब्याज खर्च पनि निरन्तर बढ्छ । यसले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य आवश्यक क्षेत्रमा खर्च गर्न सरकारसँग उपलब्ध रकम सीमित पार्न सक्छ । जिम्मेवार संघीय बजेटसम्बन्धी समितिका वरिष्ठ नीति निर्देशक मार्क गोल्डवेनले अमेरिका ऋणको चक्रमा फस्दै गएको चेतावनी दिएका छन् । उनका अनुसार ऋण घटाउन नीतिनिर्माताहरू असफल भइरहेकाले दीर्घकालीन जोखिम बढिरहेको छ । ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि सरकारी खर्च घटाउने उद्देश्यले एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग गठन गरेका थिए । उक्त विभागलाई सरकारी खर्चमा १० खर्ब डलरसम्म कटौती गर्ने लक्ष्य दिइएको थियो । तर, उपलब्ध विवरणअनुसार विभागले अपेक्षा गरिएअनुसार खर्च बचत गर्न सकेन । आगामी निर्वाचन नजिकिँदै जाँदा सरकारले ठूलो खर्च कटौती गर्ने कडा निर्णय लिन राजनीतिक कठिनाइसमेत सामना गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले खर्च घटाउने र राष्ट्रिय ऋण नियन्त्रण गर्ने चुनौती अझै कायमै छ । अमेरिकी सरकारले आफ्नो खर्च धान्न सरकारी ऋणपत्र तथा अन्य वित्तीय साधन बिक्री गरेर लगानीकर्ताबाट पैसा उठाउछ । सरकारी आम्दानीभन्दा खर्च बढी हुँदा यस्तो ऋण लिनुपर्ने हुन्छ । अमेरिकी वित्त विभागले यस्ता ऋणपत्र बिक्री गरेर आवश्यक रकम जुटाउछ । यसरी अमेरिकाको राष्ट्रिय ऋण मुख्यतः अमेरिकी सरकारी ऋणपत्र खरिद गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ता र संस्थाबाट आएको हुन्छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले अहिले लिइएको ऋण भविष्यमा उत्पादनशील क्षेत्रमा प्रयोग हुने भएकाले त्यसबाट आर्थिक लाभ हुने तर्क गर्दै आएका छन् । तर, वित्तीय बजारमा सरकारको यस्तो रणनीतिप्रति चिन्ता भने कायमै छ । अमेरिकी सरकारको आम्दानीको प्रमुख स्रोत कर हो । तर, सन् २०२५ मा लागू गरिएको कर कटौतीका कारण सरकारी आम्दानीमा कमी आएको छ । अर्कोतर्फ सरकारी खर्च भने निरन्तर बढिरहेको छ । आम्दानी र खर्चबीचको यही अन्तर पूरा गर्न सरकारले थप ऋण लिनुपरेको हो । स्वास्थ्य कार्यक्रम र सामाजिक सुरक्षा खर्च बढ्दै जानुले पनि सरकारमाथि वित्तीय दबाब थपेको छ । एकातिर नागरिक तथा व्यवसायमाथि करको भार कम राख्नुपर्ने दबाब छ भने अर्कोतर्फ बढ्दो बजेट घाटा र राष्ट्रिय ऋण नियन्त्रण गर्नुपर्ने चुनौती छ । ट्रम्प प्रशासनले आयातमा लगाइने करमार्फत सरकारी आम्दानी बढाउने योजना अघि सारेको थियो । तर, उपलब्ध विवरणअनुसार अमेरिकी सर्वोच्च अदालतले ती आयात करलाई अवैध ठहर गरेपछि सरकारलाई कम्पनीहरूलाई करिब १६ खर्ब डलर फिर्ता गर्नुपर्ने अवस्था आएको छ । यसबाट सरकारको आम्दानी बढाउने योजनामा धक्का पुगेको छ भने अर्कोतर्फ सैन्य अभियान, सामाजिक सुरक्षा, स्वास्थ्य कार्यक्रम तथा पुरानो ऋणको ब्याज भुक्तानीमा हुने खर्च भने निरन्तर छ । यसले अमेरिकी सरकारलाई एकैपटक बढ्दो खर्च र घट्दो आम्दानीको दबाबमा पारेको विश्लेषण गरिएको छ । अमेरिका अझै पनि विश्वकै ठूलो अर्थतन्त्र हो र अमेरिकी सरकारी ऋणपत्रलाई विश्व वित्तीय प्रणालीमा अत्यन्त महत्वपूर्ण मानिन्छ । तर, ऋण निरन्तर बढ्दै गएमा ब्याज भुक्तानीको बोझले सरकारको वित्तीय क्षमता कमजोर बनाउन सक्छ । दीर्घकालमा यसले अमेरिकी अर्थतन्त्रको विश्वसनीयतामाथि समेत प्रश्न उठाउन सक्ने जोखिम छ । अहिले अमेरिकासामु सैन्य तथा सामाजिक खर्च कायम राख्दै सरकारी आम्दानी बढाउने र ऋण बढ्ने गति नियन्त्रण गर्ने चुनौती छ ।
२०- सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ । उपसमितिमा विद्युत विकास विभागका उप महानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् । सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत खरिद सम्झौता (पीपीए) को मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ ।’एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०६ गते
काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै बमले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
टोलीले धनगढी उपमहानगरपालिका–१ बाट बमलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
बमविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । विशेष अदालतको आदेशअनुसार भदौ ५ गते उनलाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०६ गते
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भाग तथा गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०६ गते
आजको राशिफल बिस २०८३ भाद्र ६ गते शनिबार ईस २०२६ अगस्त २२ नेपाल सम्बत ११४६ गुलाथ्व दशमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विश्कुम्भ योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज केही समयदेखि अल्झिएको कामले गति लिनेछ। नयाँ योजना बनाउनेभन्दा सुरु भइसकेका कामलाई पूरा गर्न ध्यान दिनु फलदायी हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको प्रशंसा हुन सक्छ। व्यापार–व्यवसायमा पुरानो कारोबारबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा आम्दानी र खर्चबीच सन्तुलन कायम राख्न सकिनेछ। परिवारका सदस्यसँगको सम्बन्धमा आत्मीयता बढ्नेछ। प्रियजनसँग रमाइलो कुराकानी हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वास बढ्ने भएकाले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आजको दिन स्थिर भएर अघि बढ्नेहरूका लागि अनुकूल रहनेछ। कार्यक्षेत्रमा लामो समयदेखि गरेको प्रयासको परिणाम प्राप्त हुन सक्छ। वरिष्ठ व्यक्तिबाट उपयोगी सुझाव पाउनुहुनेछ। व्यापारमा नयाँ अवसर देखिए पनि निर्णय लिनुअघि राम्रोसँग विचार गर्नुहोस्। आर्थिक रूपमा रोकिएको रकम प्राप्त हुने सम्भावना छ। घरपरिवारमा खुसीको वातावरण रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यभन्दा राम्रो रहनेछ। आज धैर्यलाई आफ्नो बल बनाएर अघि बढ्नुहोस् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नयाँ विचार र उत्साहका साथ दिनको सुरुवात हुनेछ। अध्ययन तथा नयाँ कुरा सिक्ने काममा विशेष रुचि बढ्नेछ। कामका क्रममा तपाईंले दिएको सुझावलाई अरूले पनि महत्त्व दिनेछन्। व्यापार–व्यवसायमा नयाँ ग्राहक वा कारोबार जोडिन सक्छ। आर्थिक रूपमा सानो तर लाभदायक अवसर प्राप्त हुन सक्छ। साथीभाइसँगको भेटघाट सुखद रहनेछ। परिवारमा तपाईंको योजनालाई समर्थन मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो सिर्जनशीलतालाई सही ठाउँमा प्रयोग गर्न सके आजको दिन निकै उपयोगी बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरपरिवारको वातावरण आज तपाईंको मन खुसी बनाउने खालको रहनेछ। परिवारका सदस्यसँग मिलेर कुनै महत्त्वपूर्ण निर्णय लिन सकिनेछ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्नुपर्ने भए पनि सहयोगी व्यक्तिको साथ मिल्नेछ। आर्थिक रूपमा घरायसी खर्च बढ्न सक्छ, त्यसैले बजेटमा ध्यान दिनुहोस्। घर वा सम्पत्तिसँग सम्बन्धित काममा प्रगति हुने सम्भावना छ। आफन्तबाट राम्रो समाचार आउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। प्रियजनसँग बिताएको समयले मानसिक सन्तुष्टि दिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज आफ्नो क्षमता र आत्मविश्वास देखाउने अवसर प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंले लिएको निर्णयले सकारात्मक परिणाम दिन सक्छ। कुनै महत्त्वपूर्ण जिम्मेवारीको नेतृत्व गर्ने मौका मिल्नेछ। व्यापारमा नयाँ सम्भावना देखिनेछ र कारोबारबाट लाभ प्राप्त हुन सक्छ। आर्थिक अवस्था मजबुत बन्ने संकेत छ। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव बढ्न सक्छ। परिवारका सदस्यबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आफूले चाहेको काम पूरा गर्न आजको उत्साहलाई सही दिशामा प्रयोग गर्नुहोस् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज कामलाई प्राथमिकताअनुसार मिलाएर अघि बढ्दा सहज हुनेछ। कार्यक्षेत्रमा सानो विवरणमा ध्यान दिनु आवश्यक छ। पुरानो काम पूरा गर्ने अवसर मिल्नेछ। व्यापारमा नियमित कारोबारबाट लाभ प्राप्त हुन सक्छ। आर्थिक रूपमा अनावश्यक खर्च रोक्न सकिनेछ। परिवारमा आवश्यक विषयमा शान्तिपूर्वक छलफल गर्दा समाधान निस्कनेछ। कुनै छोटो यात्रा वा भेटघाट उपयोगी बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। शरीरलाई आराम दिन र खानपानमा ध्यान दिनु आवश्यक हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाईंका लागि सम्बन्ध र सहकार्य महत्त्वपूर्ण बन्नेछ। कार्यक्षेत्रमा अरूको सहयोग लिएर अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ कामका लागि उपयोगी व्यक्तिसँग परिचय हुन सक्छ। व्यापार–व्यवसायमा कारोबार विस्तार हुने सम्भावना छ। आर्थिक रूपमा लाभदायक अवसर प्राप्त हुन सक्छ। परिवारमा खुसी र आत्मीयता कायम रहनेछ। साथीभाइसँगको भेटघाटले पुराना सम्झना ताजा बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। अरूको विचार सुनेर निर्णय लिनु आज विशेष लाभदायक हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज दृढ इच्छाशक्तिका कारण कठिन काम पनि पूरा गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको राम्रो उपयोग हुनेछ। पुरानो जिम्मेवारी सफलतापूर्वक पूरा गरेर प्रशंसा पाउन सक्नुहुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। आर्थिक रूपमा पहिले गरिएको कामबाट फाइदा मिल्न सक्छ। परिवारमा विश्वास र आत्मीयता बढ्नेछ। प्रियजनसँग भविष्यका विषयमा सकारात्मक कुराकानी हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो लक्ष्यमा ध्यान केन्द्रित राख्दा दिन उपलब्धिमूलक बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज नयाँ ठाउँ, नयाँ व्यक्ति वा नयाँ विचारसँग जोडिने अवसर मिल्न सक्छ। यात्रा वा अध्ययनसँग सम्बन्धित काममा सकारात्मक परिणाम आउनेछ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र उत्साहको प्रशंसा हुनेछ। व्यापारमा नयाँ कारोबारको सम्भावना छ। आर्थिक रूपमा आम्दानी बढ्ने संकेत देखिन्छ। परिवारसँग रमाइलो समय बित्नेछ। साथीभाइबाट उपयोगी सहयोग प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। आगामी दिनका लागि बनाएको योजनालाई अघि बढाउने प्रेरणा आज प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्नुपर्ने दिन रहेको छ। कार्यक्षेत्रमा तपाईंको अनुशासन र मेहनतको मूल्यांकन हुनेछ। वरिष्ठ व्यक्तिसँगको कुराकानीबाट महत्त्वपूर्ण सुझाव प्राप्त हुन सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। खर्च बढ्न सक्ने भएकाले अनावश्यक किनमेलबाट जोगिनुहोस्। परिवारमा तपाईंको सहयोग आवश्यक पर्नेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ। पर्याप्त आराम गरेमा दिन सहज रहनेछ। साँझतिर मन खुसी बनाउने समाचार प्राप्त हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज नयाँ योजना बनाउने र त्यसलाई व्यवहारमा उतार्ने उत्साह बढ्नेछ। कार्यक्षेत्रमा तपाईंको फरक सोचले राम्रो परिणाम ल्याउन सक्छ। नयाँ जिम्मेवारी वा सहकार्यको अवसर प्राप्त हुनेछ। व्यापार–व्यवसायमा विस्तारका लागि सकारात्मक संकेत देखिन्छ। आर्थिक अवस्था क्रमशः सुधार हुँदै जानेछ। परिवारमा पुराना असमझदारी हट्नेछन्। साथीभाइसँगको सम्बन्ध अझ बलियो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो क्षमता र समयलाई सही ढंगले प्रयोग गर्न सके भविष्यका लागि महत्त्वपूर्ण उपलब्धि हासिल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज मनलाई शान्त राखेर अघि बढ्दा धेरै कुरा सहज हुनेछन्। कार्यक्षेत्रमा अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ। तपाईंको धैर्य र व्यवहारिक सोचले कठिन परिस्थिति समाधान गर्न सहयोग गर्नेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र रोकिएको रकम प्राप्त हुन सक्छ। परिवारका सदस्यबाट सहयोग तथा सुखद समाचार प्राप्त हुनेछ। प्रियजनसँगको सम्बन्धमा विश्वास अझ गहिरो बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। साँझको समय परिवार वा नजिकका व्यक्तिसँग बिताउँदा मनमा नयाँ उत्साह र सकारात्मक सोच बढ्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौँ । पेटभित्र सुन लुकाएर नेपाल आएका एक बंगलादेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ ।
दुबईबाट फ्लाई दुबईको उडानमार्फत साउन ३१ गते बिहान १०: ३० बजे काठमाडौँ आएका ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दरलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फ भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेर नियन्त्रणमा लिएका थिए ।
सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन पेटभित्र लुकाएर ल्याएको स्वीकार गरेका थिए । त्यसपछि उनको काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा एक्सरे गर्दा पेटभित्र शंकास्पद धातु देखिएको थियो । तत्काल शौच गराउँदा उक्त वस्तु बाहिर ननिस्किएपछि पेटमै अड्किएर बसेको पाइएको थियो । उनको स्वास्थ्यमा भने कुनै प्रतिकूल असर नदेखिएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पाँच दिन अस्पतालमा राखिएको थियो ।
भदौ ५ गते शौच गर्ने क्रममा अन्दाजी १५० ग्राम तौलका सुनजस्तो देखिने पहेँलो रङका दुईवटा क्याप्सुल आकारका धातु फेला परेका छन् ।
पक्राउ परेका हल्दरलाई आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौं । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तह मातहतका स्वास्थ्य संस्थामा निःशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो ।
मन्त्रालयले स्थानीय तह मातहतका स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क वितरण गर्ने तथा वर्षभरि औषधिको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संलग्न सूचीअनुसार सम्बन्धित तहको जिम्मेवारीअनुसार औषधि तथा औषधिजन्य सामग्रीको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक विभिन्न औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूचीसमेत संलग्न गरिएको छ । सूचीमा औषधिका साथै स्वास्थ्य संस्थामा आवश्यक पर्ने विभिन्न मेडिकल सामग्रीसमेत समेटिएका छन् ।
स्थानीय तहले आफ्ना मातहतका स्वास्थ्य संस्थामा आवश्यक औषधिको उपलब्धता,भण्डारण तथा निःशुल्क वितरणलाई व्यवस्थित गर्नुपर्ने मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १७ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा ७ जना घाइते भएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता (पीपीए) खोल्न प्रक्रिया अगाडि बढाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा विहीबार बेलुका बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए खोल्नका लागि आवश्यक मापदण्ड तयार गर्न उपसमिति गठन गरेको हो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उपसमितिले सात दिनभित्र मापदण्ड तयार पारेर बोर्डमा पेस गर्नेछ ।
उपसमितिमा विद्युत विकास विभागका उप महानिर्देशक, ऊर्जा मन्त्रालयका तर्फबाट सिडिइ शालिग्राम भण्डारी, विज्ञ रिवाज शर्मा सदस्य रहेका छन् भने व्यापार शाखाका निर्देशक सदस्य सचिव रहेका छन् ।
सञ्चालक समितिको निर्णयमा भनिएको छ, ‘आर्थिक ऐन, २०८३ मा व्यवस्था भएबमोजिम उत्पादन अनुमति प्राप्त उर्जा उत्पादकहरुसँग विद्युत खरिद सम्झौता (पीपीए) गर्ने सम्बन्धमा विद्यमान आधार र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट गठित समितिको सिफारिससमेतको अध्ययन विश्लेषण गरी विद्युत खरिद सम्झौता (पीपीए) को मापदण्ड ७ दिनभित्र तयार गर्न सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०५ गते
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्न सहमति भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिका सदस्यको कार्यकाल तीन वर्ष कायम गर्ने सहमति भएको हो । हाल गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको रहेको छ । समितिका सभापति कृष्णहरि बुढाथोकीका अनुसार सरकारको आर्थिक नीति तथा योजनाहरूसँग मौद्रिक क्षेत्रबीच सामञ्जस्यता कायम राख्न कार्यसम्पादनका आधारमा पदावधि थप गर्न सकिने व्यवस्थामाथि छलफल भएको छ । साथै डेपुटी गभर्नर र सञ्चालकको प्रारम्भिक पदावधि ३ वर्षको हुने र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सन्तोषजनक देखिएमा नेपाल सरकारले पुनः २ वर्ष पदावधि थप गर्न सक्ने व्यवस्था विधेयकको दफा १८ को उपदफा १ र २ मा कायम गर्ने निर्णय गरिएको छ । समितिले शुक्रबार पनि नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने जानकारी दिएको छ ।
२- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालय हेटौँडामा आयोजित समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई शपथ गराएका हुन् । नयाँ प्रदेश सरकारमा सात सदस्य रहेका छन्। नेकपा एमालेबाट मुख्यमन्त्री किरण थापा मगर, भौतिक पूर्वाधारमन्त्री भरतबहादुर केसी र बिनाविभागीय मन्त्री ज्ञानबहादुर तामाङ नियुक्त भएका छन् । त्यस्तै, नेकपाबाट सरल सहयात्रीलाई आर्थिक मामिला मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरबहादुर तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास, राजु विष्टलाई खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बनाइएको छ । बाँकी तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री थापाले नै सम्हाल्ने बताइएको छ । विवादका बीच समर्थन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन प्रदेशसभा सदस्य मन्त्री बनेका छन् । सरकारलाई समर्थन दिएको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारवाही गर्दै प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्ना सांसद मन्त्री बनेमा उनीहरुलाई पनि कारवाही गर्ने बताएका छन् ।
३- बंगलादेशमा भएको राष्ट्रपति निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर विजयी भएका छन् । उनी बंगलादेशको २३औँ राष्ट्रपति निर्वाचित भएका हुन् । संसदमा भएको मतदानमा आलमगीरले २५५ मत प्राप्त गरे भने विपक्षी गठबन्धनका उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३४९ सांसदले मतदान गरेका थिए । राष्ट्रपति निर्वाचनका लागि बिहीबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म संसद भवनमा मतदान भएको थियो । मतदान सकिएलगत्तै मतगणना गरी नतिजा सार्वजनिक गरिएको हो । बंगलादेशमा राष्ट्रपतिको निर्वाचन जनताबाट प्रत्यक्ष नभई संसद सदस्यले गर्ने व्यवस्था छ । संसदमा सत्तारूढ दलको दुईतिहाइ बहुमत रहेकाले आलमगीरको जित यसअघि नै लगभग निश्चित मानिएको थियो । उनका प्रतिस्पर्धी ओली अहमदलाई जमात ए इस्लामीको नेतृत्वमा रहेका ११ दलको गठबन्धनको समर्थन थियो ।
४- स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज डिफेन्डर जोआओ कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गरेको छ । कान्सेलोले बार्सिलोनासँग सन् २०२९ को जुनसम्मका लागि तीन वर्षको सम्झौता गरेका छन् । बार्सिलोनाले कान्सेलोलाई भित्र्याएको घोषणा गरेको हो । कान्सेलो यसअघि दुई पटक ऋणमा बार्सिलोनाबाट खेलिसकेका छन् । उनी पहिलो पटक म्यानचेस्टर सिटीबाट र दोस्रो पटक गत सिजनको दोस्रो चरणमा साउदी क्लब अल हिलालबाट बार्सिलोनामा ऋणमा आएका थिए । प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा उनले प्रभावशाली प्रदर्शन गर्दै एलेजान्द्रो बाल्डेलाई समेत पछि पारेर लेफ्ट ब्याकको पहिलो रोजाइमा स्थान बनाएका थिए । कान्सेलोलाई स्थायी रूपमा अनुबन्ध गर्न बार्सिलोनाले अल हिलालसँग लामो छलफल गर्नुपरेको थियो । अल हिलाल कम रकममा उनलाई छाड्न तयार नभएपछि कान्सेलोले उक्त क्लबबाट पाउने पारिश्रमिकसमेत त्यागेर सम्झौता अन्त्य गरेका थिए । त्यसपछि उनी स्वतन्त्र खेलाडीका रूपमा बार्सिलोना फर्किएका हुन् । कान्सेलो सोमबार बार्सिलोना पुगेका थिए भने मंगलबार क्लबको प्रशिक्षणस्थलमा पुगेर स्वास्थ्य परीक्षण र सम्झौतासम्बन्धी प्रक्रिया पूरा गरेका थिए । औपचारिक प्रक्रिया समयमा पूरा हुन नसकेका कारण उनलाई जोआन गाम्पर ट्रफी खेलअघि समर्थकमाझ सार्वजनिक गरिएको थिएन । तर, आज सम्झौता औपचारिक रूपमा पूरा भएपछि कान्सेलो अब स्थायी रूपमा बार्सिलोनाका खेलाडी बनेका छन् ।
५- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका नियमले प्रभावित गर्न सक्ने वा नसक्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ । व्यावसायिक तथा नियामकीय निर्णय र आपराधिक कार्यबीचको भिन्नता स्पष्ट नगरी अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रमा निर्णय क्षमता, नेतृत्वको मनोबल र जनविश्वासमा असर पर्न सक्ने भन्दै सिबिफिनले सचेत गराएको छ । सिबिफिनले स्पष्ट आपराधिक आधार नभएका देवानी तथा नियामकीय विवादलाई फौजदारीकरण नगरी सम्बन्धित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । अदालतको न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानून उल्लंघन प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने पनि उसले जनाएको छ ।
६- नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिँदै पदबहाली गरेका छन् । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष रावलले शपथ लिएका हुन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ समारोहमा गभर्नर पौडेलले रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए । रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए । उनी २०६८ मा उपनिर्देशक, २०७५ मा निर्देशक हुँदै २०८२ जेठ १५ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । कार्यकारी निर्देशक बनेपछि उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व गर्दै आएका थिए ।
७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधन गर्दा संविधानमै तोकिएको प्रक्रियालाई अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउदै प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने स्पष्ट गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँगको छलफलमा लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा तथ्य र प्रमाणका आधारमा विषय उठाउनुपर्ने बताए । उनले संवैधानिक निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थाको गरिमा र प्रतिष्ठामा आँच नपुग्ने गरी छलफल गर्नुपर्ने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर संवैधानिक निकायलाई राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखेका थिए । संविधानले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया स्पष्ट गरेको भन्दै लामिछानेले संवैधानिक व्यवस्थाप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताएका थिए ।
८- नेपाली काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्ष १५औं महाधिवेशनको कार्यतालिका स्थगन गर्न माग गर्दै अदालत जाने भएको छ । हाल देउवा पक्षको नेतृत्व गरिरहेका डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको बैठकले अदालत जाने निर्णय गरेको हो । काँग्रेसको विवाद सर्वोच्च अदालतमा रहेकै समयमा संस्थापन पक्षले वडा अधिवेशन २६ भदौबाट गर्दै असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्बजनिक गरेको छ । सर्वोच्च अदालतले कांग्रेस विवाद बारे पुनरावलोकनका लागि साउन २१ मा आदेश दिएको थियो । देउवा पक्षले शुक्रबार अदालतमा रिट दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
९- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ । विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यताबाट समेत हटाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका हुन् । बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको उनले बताएका छन् । अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन् । उनले सरकारमा सहभागी भएमा अन्य सांसदहरुलाई पनि कारवाही गर्ने बताए । राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी भएका छन् ।
१०- नेप्सेमा सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ९५ लाख ७६६ कित्ता शेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी धनवृद्धि योजनाको शेयर ९.७७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अग्रिकल्चरल बन्डको ५० करोड ६५ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ३० करोड ४ लाख बराबरको कारोबार भएको छ ।
११- युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । आक्रमणमा आवासीय भवन, गोदाम, बाल अस्पताल र विद्यालयमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणका कारण हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई प्रतिरक्षा क्षेप्यास्त्रको अभावका कारण ठूलो क्षति भएको बताएका छन् । उनले सहयोगी मुलुकसँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । युक्रेनका अनुसार रुसले १६८ वटा मानवरहित विमान र ४४ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये १४६ वटा मानवरहित विमान र ३९ वटा क्रुज क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ । रुसले भने आफ्ना सैन्य संरचना र गोदामलाई लक्ष्य बनाएर आक्रमण गरिएको जनाएको छ । पछिल्ला केही सातादेखि दुवै पक्षले एकअर्काको भूभागमा ठूलो हवाई आक्रमण गर्दै आएका छन् ।
१२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैदेशिक सहयोग र ऋणको दायरा घट्दै गएकोले चुनौती बढिरहेको बताएका छन् । प्रतिनिधि सभाको सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले वैदेशिक ऋण सहयोगको ब्याजदर बढ्दै गएको र अनुदानको दायरा सिमित हुदै गएकोले ठुला पूर्बाधारमा लगानी हुदै आएको रकमको विकल्प खोज्नुपर्ने अवस्था आएको बताएका हुन् । नेपाललाई ठुलो ऋण सहयोग दिने एशियन डेभलपमेन्ट बैंक र विश्ववैंकहरुको ब्याजदर बढ्ने चरणमा रहेकाले आगामी दिनमा चुनौती बढ्ने बताउदै अर्थमन्त्री वाग्लेले अबका दिनमा संस्थागत लगानी भित्र्याउने बाहेक अन्य विकल्प कम हुदै गएको बताएका हुन् । उनले नेपालमा आइएनजिओ र एनजीयोमा आउने रकम समेत कम हुदै गएको र त्यसको समग्र प्रभाव पनि कम रहेको बताए । सरकारले वैकल्पिक रुपमा लगानीका स्रोत जुटाउन विदेशमा रहेका नेपालीहरुले बन्डलगायतका विषय बजेट मार्फतनै ल्याइएको र अन्य कानुनी बाधा पनि फुकाउदै लगिने अर्थमन्त्री डा. वाग्लेले धारणा राखेका थिए ।
१३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो आर्थिक कारबाही घोषणा गरेका छन्। उनले इरानले सम्झौताको अवसर गुमाइसकेको भन्दै अब उसलाई आर्थिक रूपमा एक्ल्याउने चेतावनी दिएका छन् । ट्रम्पले इरानलाई सहयोग गर्ने देश तथा संस्थामाथि समेत कारबाही गरिने बताएका छन्। यसमा बैंक, कम्पनी, विमानस्थल तथा सरकारी निकायसमेत पर्ने उनले स्पष्ट पारेका छन् । उनले इरानको तेल तस्करी सञ्जालमाथि कारबाही गर्नुका साथै नगद स्थानान्तरण, मुद्रा सटही, पानीजहाज दर्ता र नक्कली कम्पनीमार्फत इरानसम्म पुग्ने आर्थिक सहयोग रोक्ने बताएका छन् । ट्रम्पले इरानको नौसेना र वायुसेनामा ठूलो क्षति पुगेको दाबी गरेका छन् । उनका अनुसार इरानका धेरै सैन्य कारखाना ध्वस्त भएका छन् । इरानको मुद्रा पनि कमजोर बनेको र देश गम्भीर आर्थिक संकटमा परेको उनको भनाइ छ । अमेरिकाले घोषणा गरेको नयाँ आर्थिक कारबाहीलाई ट्रम्पले ‘आर्थिक डी–डे’ को संज्ञा दिएका छन्। यसको अर्थ अमेरिकाले इरानमाथि निकै ठूलो आर्थिक दबाब सिर्जना गर्न लागेको हो । ट्रम्पले अन्य देशलाई पनि इरानलाई सहयोग गर्न रोक्न र अमेरिकी अभियानमा सहभागी हुन आग्रह गरेका छन् । अमेरिकाको नयाँ कारबाहीको सबैभन्दा ठूलो असर इरानको तेल कारोबार र आर्थिक कारोबारमा पर्न सक्ने देखिएको छ। इरानको आम्दानीको ठूलो हिस्सा तेल बिक्रीबाट आउने भएकाले तेल बिक्रीमा अवरोध आए आर्थिक अवस्था थप कमजोर हुन सक्छ । अन्य देश, बैंक तथा कम्पनीले अमेरिकी कारबाहीको डरले इरानसँगको कारोबार घटाएमा इरानलाई तेल बिक्री गर्न र विदेशबाट रकम प्राप्त गर्न कठिन हुन सक्छ । तेल तस्करी तथा नक्कली कम्पनीमाथि कारबाही भएपछि इरानका लागि लुकेर कारोबार गर्न र अमेरिकी कारबाहीबाट बच्नसमेत कठिन हुने अमेरिकी पक्षको दाबी छ । ट्रम्पका अनुसार अमेरिकाले आफ्ना सहयोगी देशसँग मिलेर इरानलाई विश्व अर्थतन्त्रबाट अलग पार्ने प्रयास गर्नेछ । इरानले तेल बिक्री गर्दा आफ्नै नामबाट प्रत्यक्ष कारोबार गरे अमेरिकी निकायले त्यसलाई सजिलै पहिचान गर्न सक्ने भएकाले बिचौलिया, अन्य कम्पनी तथा विभिन्न पानीजहाज सञ्जालको प्रयोग गर्ने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तेल बिक्रीपछि त्यसबाट प्राप्त रकम इरानसम्म पुर्याउनु अर्को महत्वपूर्ण चरण हुन्छ । यसका लागि बैंकिङ माध्यम, मुद्रा सटही, बिचौलिया तथा नगद स्थानान्तरणजस्ता माध्यम प्रयोग हुने बताइन्छ । अमेरिका भने तेल बिक्रीसँगै त्यसमा संलग्न पानीजहाज, कम्पनी र आर्थिक सञ्जालमाथि समेत कारबाही गरेर इरानको सम्पूर्ण कारोबार प्रणालीलाई कमजोर बनाउन चाहन्छ । यसको उद्देश्य इरानका लागि तेल बेच्न र त्यसबाट प्राप्त आम्दानी देशभित्र भित्र्याउन कठिन बनाउनु हो ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको विषयमा यसअघि आफुले बोलेको कुरामा अडिग रहेको बताएका छन् । विहिबार सार्बजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले आफुले यसअघि नेपाल प्रहरीमा भएको अनियमितताको विषयमा बोलेको कुरामा अडिग रहेको बताउदै समितिमा आएर अपमान गर्न नपाइने बताए । उनले भने- ‘हामीले १५ दिन भित्र प्रहरीसँग स्रोत साधन व्यवस्थापनमा भएका अनियमितताको बारेमा मागेका डकुमेन्ट आयो की आएन । फेरी यसै बीचमा प्रहरीले करोडौंको टेण्डर आव्हान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन् । अस्ति गरेको प्रश्नमा म अडिग छु, म मजबुत छु, कहिँ कतै साथीहरुलाई मानमर्दन भयो भन्ने लाग्छ भने नजिकै अदालत छ गएर मुद्धा हाल्न सक्नुहुन्छ । कठघरामा उभिएर जवाफ दिन तयार छु । तर सार्वभौम समितिमा आएर टोपी भुइमा राखेर जुवारी खेल्न पाइदैन, सरकारको मानमर्दन गर्न पाइदैन ।’ यसअघि लेखा समितिको बैठकमा सुनारले निर्वाचन प्रहरीको लत्ता कपडा खरिदमा अनियमितता भएको भन्दै आइजीपी सहितका जिम्मेवार अधिकारीहरुमाथि अनुसन्धान हुनुपर्ने माग राखेपछि त्यो विषय विवादित बनेको थियो ।
१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुन तोलाको ९ हजार ३ सयले बढेर तोलाको ३ लाख १३ हजार ४ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख ४ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २६० रुपैयाँले बढेर तोलाको ४८५५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४५९५ मा कारोबार भएको थियो ।
१६- बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगन अमेरिका छाडेर बेलायत फर्किने तयारीमा रहेका छन् । बिबिसीका अनुसार उनीहरू यही महिनाको अन्त्यतिर लन्डनबाहिरको निजी गैरराजकीय निवासमा बसाइँ सर्ने तयारीमा छन् । उनीहरूका सन्तान राजकुमार आर्ची सात वर्ष र राजकुमारी लिलिबेट पाँच वर्षले सेप्टेम्बरदेखि बेलायतको विद्यालयमा अध्ययन सुरु गर्ने भएकाले उनीहरु फर्किन लागेको बताइएको छ । राजा चार्ल्सलाई उनीहरूको बेलायत फर्किने योजनाबारे आइतबार जानकारी दिइएको छ । राजाले निजी र पारिवारिक रूपमा परिवारसँग थप समय बिताउन पाउने अवसरको स्वागत गरेको बताइएको छ । राजकुमार विलियम र राजकुमारी क्याथरिनलाई पनि योजनाबारे जानकारी दिइएको छ । तर ह्यारी र मेगनले राजपरिवारका सक्रिय सदस्यको भूमिका पुनः सम्हाल्ने कुनै योजना नरहेको बताइएको छ । उनीहरू निजी व्यक्तिकै रूपमा रहनेछन् । ह्यारी र मेगनले सन् २०२० मा राजकीय जिम्मेवारी छाडेर अमेरिकाको क्यालिफोर्निया बसाइँ सरेका थिए । त्यसयता राजपरिवारसँगको सम्बन्धमा तनाव रहँदै आएको थियो । गत जुलाईमा ह्यारीले आफ्ना बुबा राजा चार्ल्सलाई ग्लोसेस्टरशायरस्थित निवासमा भेटेका थिए । उक्त भेट चार वर्षभन्दा बढी समयपछि राजाले आफ्ना नातिनातिनालाई प्रत्यक्ष भेटेको पहिलो अवसर थियो । बेलायत फर्किने क्रममा सुरक्षा व्यवस्था भने मुख्य विषय बन्ने देखिएको छ । ह्यारीले यसअघि सुरक्षा चिन्ताका कारण पत्नी र सन्तानसहित बेलायत आउन नसकेको बताएका थिए । गत वर्ष बेलायतमा आफ्नो सुरक्षा व्यवस्था घटाइएको निर्णयविरुद्ध गरेको कानुनी चुनौतीमा उनी पराजित भएका थिए । ह्यारी अर्को वर्ष बर्मिङ्घममा हुने घाइते सैनिक तथा पूर्वसैनिकका लागि आयोजित खेलकुद कार्यक्रममा सहभागी हुने अपेक्षा गरिएको छ ।
१७- बलिउडका चर्चित अभिनेता राजपाल यादव पछिल्लो समय फिल्मसँगै व्यक्तिगत र कानुनी विषयका कारण चर्चामा छन् । यसैबीच उनका प्रशंसकका लागि खुसीको खबर आएको छ । राजपालले एकैपटक १२ नयाँ फिल्ममा काम गर्ने सम्झौता गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी सबै फिल्म आगामी १० वर्षको अवधिमा प्रदर्शन गर्ने तयारी छ । १२ वटै फिल्मको कुल बजेट करिब १२०० करोड भारु रहेको बताइएको छ । यी फिल्मको छायांकन सन् २०२७ देखि सुरु गर्ने तयारी गरिएको छ । यससँगै राजपाल आगामी धेरै वर्षसम्म लगातार फिल्ममा देखिने सम्भावना छ । यस ठूलो परियोजनालाई फक्स स्टुडियोको समर्थन रहेको बताइएको छ । राजपालले पनि यस परियोजनाप्रति उत्साह व्यक्त गरेका छन् । उनले कलाकारका रूपमा दर्शकका लागि राम्रो र सम्झनलायक काम गर्न आफू सधैँ इच्छुक रहेको बताएका छन् । उनका अनुसार यी १२ फिल्म आफ्नो चलचित्रप्रतिको प्रेम देश तथा विश्वभर पुर्याउने ठूलो अवसर हुन् । राजपालले परियोजनासँग जोडिएका सबैप्रति आभार व्यक्त गरेका छन् । उनले डा. अजय कुमार, केभिन किशोर कौल, फोकस पेट्रोलियम समूहसहित सम्पूर्ण टोलीलाई धन्यवाद दिएका छन् । उनले यो परियोजना कुनै एक व्यक्तिको सपना मात्र नभई धेरै मानिसको मेहनत र सहयोगको परिणाम भएको बताएका छन् । यी फिल्ममार्फत नयाँ अध्याय सुरु हुन लागेको भन्दै उनले आफूलाई यस्तो टोलीको हिस्सा बन्न पाउँदा खुसी र सम्मानित महसुस भएको बताए । राजपालले सबैको सहयोग र शुभकामनाबाट यी फिल्मले दर्शकलाई विशेष अनुभव दिने तथा आगामी धेरै वर्षसम्म सम्झनलायक बन्ने विश्वास व्यक्त गरेका छन् ।
१८- प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र हालै स्वदेशी उद्यमी तथा व्यवसायीहरूसँगको परामर्शका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ । सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधीनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक पत्र जारी गर्दै संघीय मन्त्रालयहरू, आयोग, सचिवालय, प्रदेश सरकार, स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूसहितका सबै सार्वजनिक निकायहरूलाई आफ्ना खरिद प्रक्रियामा नेपाली उत्पादनलाई नै प्राथमिकता दिन अनुरोध गरेको छ । राष्ट्रिय अर्थतन्त्रमा आन्तरिक उत्पादनको योगदान बढाउन, बढ्दो आयातलाई प्रतिस्थापन गर्न, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, स्थानीय सीप तथा उद्यमको संरक्षण गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ सरकारले मौजुदा कानुनी व्यवस्थाको कडाइका साथ पालना गराउन यो पहल गरेको हो । उक्त अनुरोध अनुसार अबदेखि सरकारी कार्यालयका बैठक, समारोह, कोसेली, उपहार र सजावटका सामग्रीहरूमा सम्भव भएसम्म नेपाली हस्तकलाका वस्तुहरू नै प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेछ । यसैगरी स्टेशनरी, छपाईसम्बन्धी वस्तु, फर्निचर, साजसज्जाका सामान, निर्माण सामग्री, मेसिनरी औजार तथा उपकरण, कृषि र पशुजन्य उत्पादन एवं खाद्य तथा पेय पदार्थ खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेछ । सार्वजनिक खरिद ऐन, २०६३ र अन्य प्रचलित कानुनी व्यवस्थाकै अधीनमा रही सामानको उपलब्धता, गुणस्तर, मूल्य र सुरक्षाको मापदण्ड सुनिश्चित गरेर स्वदेशी मालसामान खरिद गर्नुपर्ने कुरालाई स्पष्ट पारिएको छ । साथै, सार्वजनिक निकायहरूले बोलपत्र सम्बन्धी कागजात तयार पार्दा नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने विषय अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । यस व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायका प्रमुखले नियमित रूपमा स्वदेशी वस्तु खरिदको अनुगमन गर्नुपर्नेछ भने मन्त्रालयहरूले त्रैमासिक रूपमा यसको निरीक्षण गरी स्वदेशी वस्तुको प्रयोग सुनिश्चित गराउनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्पष्ट गरेको छ ।
१९- स्पेनिस ला लिगाको नयाँ सिजनमा एट्लेटिको म्याड्रिडले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा एट्लेटिकोले नवप्रवेशी मालागालाई २-० गोल अन्तरले पराजित गरेको हो । म्याड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानो रंगशालामा बुधबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मालागाले पहिलो हाफमा एट्लेटिकोलाई दबाबमा राख्दै केही राम्रो अवसरसमेत बनाएको थियो । दोस्रो हाफमा भने एट्लेटिकोले खेल आफ्नो नियन्त्रणमा लियो । खेलको ७०औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी ली काङ इनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको बाहिरबाट बललाई घुमाउँदै उत्कृष्ट प्रहार गरेका थिए । त्यसपछि खेलको ८५औँ मिनेटमा एलेक्स बेनाले उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै एट्लेटिकोको अग्रता २-० बनाएका थिए । त्यसपछि मालागाले खेलमा फर्कने अवसर पाएन । यससँगै एट्लेटिकोले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोडेको छ । मालागाले भने शीर्ष डिभिजनमा फर्किएपछिको पहिलो खेलमै हार बेहोरेको छ । मालागा सन् २०१८ पछि पहिलो पटक ला लिगामा फर्किएको हो । एट्लेटिकोका लागि ली काङ इनको यो क्लबका लागि औपचारिक खेलमा पहिलो गोलसमेत हो । उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए र निर्णायक गोल गर्दै उत्कृष्ट सुरुवात गरेका छन् । एट्लेटिकोले अब सिजनको दोस्रो खेलमा अगस्त २३ मास भिल्लारियलको सामना गर्नेछ ।
२०- राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । विभिन्न माग राखेर पाँच दिनदेखि आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकाको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ । लामो समय सडकपेटीमा बस्दा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै आयोगले धर्नामा रहेकालाई उचित स्थानमा स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचार, बसोबास र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान नेपालबीच वार्ता टोली गठन भएको विषयलाई सकारात्मक रूपमा लिँदै आयोगले समस्याको समाधान वार्ता र संवादबाटै खोज्न आग्रह गरेको छ । दुवै पक्षका वार्ता समितिलाई वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान निकाल्न आयोगले अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,