२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

बज्जिकाञ्चल संवाददाता,०८ गते

आजको राशिफल बिस २०८३ भाद्र ८ गते सोमबार ईस २०२६ अगस्त २४ नेपाल सम्बत ११४६ गुलाथ्व द्वादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, श्रावण शुक्ल पक्ष द्वादशी, चन्द्रमा धनु राशिमा, पुर्वाषाढा नक्षत्र, प्रीति योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज नयाँ जिम्मेवारी सम्हाल्ने र आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतले राम्रो परिणाम दिनेछ। लामो समयदेखि रोकिएको काम अघि बढ्ने सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ कारोबारको बाटो खुल्न सक्छ। आर्थिक रूपमा आम्दानी राम्रो रहनेछ, तर अनावश्यक खर्चमा नियन्त्रण गर्नु उचित हुनेछ। परिवारका सदस्यबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रियजनसँगको सम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आत्मविश्वासका साथ अघि बढ्दा आजको दिन उपलब्धिमूलक बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज शान्त भएर सोचेर चालिएका कदमले राम्रो परिणाम दिनेछन्। कार्यक्षेत्रमा अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। वरिष्ठ तथा अनुभवी व्यक्तिको सुझाव तपाईंका लागि उपयोगी बन्न सक्छ। व्यापारमा पुराना ग्राहक तथा सम्पर्कबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक अवस्था सन्तुलित रहनेछ र बचत बढाउने मौका मिल्नेछ। परिवारमा आपसी समझदारी कायम रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। महत्त्वपूर्ण निर्णयमा हतार नगर्नुहोस् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज तपाईंको बोली, विचार र सिर्जनशीलताले विशेष प्रभाव पार्नेछ। अध्ययन तथा ज्ञानसँग सम्बन्धित काममा राम्रो प्रगति हुनेछ। कार्यक्षेत्रमा आफ्नो क्षमता प्रस्तुत गर्ने मौका मिल्नेछ। नयाँ योजना अघि बढाउन सहकर्मीको सहयोग प्राप्त हुनेछ। व्यापार–व्यवसायमा नयाँ ग्राहक वा कारोबार थपिन सक्छ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना छ। साथीभाइसँगको भेटघाट उपयोगी र रमाइलो दुवै बन्न सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ अवसरलाई बेवास्ता नगर्नुहोस्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

घरपरिवारको वातावरण आज तपाईंका लागि विशेष महत्त्वपूर्ण रहनेछ। परिवारका सदस्यबीचको पुरानो असमझदारी हटेर आपसी विश्वास बढ्न सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्न केही बढी मेहनत गर्नुपर्नेछ, तर परिणाम सन्तोषजनक हुनेछ। आर्थिक रूपमा घरायसी खर्च व्यवस्थापन गर्न सकिनेछ। घर वा सम्पत्तिसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुन सक्छ। आफन्तबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। नजिकका व्यक्तिसँगको आत्मीय कुराकानीले मनमा शान्ति दिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास र नेतृत्व क्षमताका कारण आज तपाईंको प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ र त्यसमा सफलता हासिल गर्नुहुनेछ। तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ। व्यापार–व्यवसायमा लाभदायक अवसर देखा पर्नेछन्। आर्थिक अवस्थामा सुधार आउनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्ने सम्भावना छ। परिवारका सदस्यबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो क्षमता सही दिशामा प्रयोग गर्दा उल्लेखनीय उपलब्धि हात पार्न सक्नुहुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज व्यवस्थित योजना बनाएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्। कार्यक्षेत्रमा तपाईंको सूक्ष्म ध्यान र मेहनतको प्रशंसा हुनेछ। पुरानो काम सम्पन्न गरेर नयाँ योजनामा लाग्ने अवसर मिल्नेछ। व्यापारमा सोचविचार गरेर गरिएको निर्णय लाभदायक बन्न सक्छ। आर्थिक रूपमा खर्च नियन्त्रणमा रहनेछ। परिवारमा आवश्यक विषयमा सकारात्मक छलफल हुनेछ। छोटो यात्रा वा भेटघाटबाट उपयोगी जानकारी प्राप्त हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। कामको चापबीच पर्याप्त आराम गर्न नबिर्सनुहोस् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज सहकार्य र सम्बन्धका माध्यमबाट नयाँ अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा सहकर्मी तथा साझेदारसँग राम्रो तालमेल कायम हुनेछ। नयाँ योजनामा अरूको सहयोग जुट्नेछ। व्यापार–व्यवसायमा कारोबार विस्तार हुने सम्भावना छ। आर्थिक रूपमा लाभदायक अवसर हात पर्न सक्छ। परिवारमा खुसी र आत्मीयता बढ्नेछ। सामाजिक भेटघाटबाट उपयोगी नयाँ परिचय बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। अरूको कुरा ध्यानपूर्वक सुनेर निर्णय गर्दा अझ राम्रो परिणाम प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ अघि बढ्न सक्नुहुनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी पूरा गरेर प्रशंसा प्राप्त गर्ने अवसर मिल्नेछ। तपाईंको अनुभव र निर्णय क्षमताको सम्मान हुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने सम्भावना छ। आर्थिक अवस्था बलियो बन्नेछ। परिवारमा प्रेम र विश्वासको वातावरण कायम रहनेछ। प्रियजनसँग भविष्यका योजनाबारे सकारात्मक कुराकानी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। आफ्नो लक्ष्यमा निरन्तर ध्यान दिन सके आजको दिन महत्त्वपूर्ण उपलब्धिको आधार बन्नेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

नयाँ अवसरको खोजीमा रहेका व्यक्तिका लागि आजको दिन उत्साहजनक रहनेछ। अध्ययन, यात्रा, व्यापार तथा नयाँ योजनासँग सम्बन्धित काममा सफलता प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सक्रियता र मेहनतको राम्रो मूल्यांकन हुनेछ। आर्थिक रूपमा आम्दानी बढ्ने सम्भावना छ। नयाँ स्रोतबाट लाभ मिल्न सक्छ। परिवारसँग रमाइलो समय बित्नेछ। साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। भविष्यका योजनालाई व्यवहारमा उतार्ने आत्मविश्वास बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी र अनुशासनलाई प्राथमिकता दिनुपर्नेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सुझावले महत्त्वपूर्ण काममा सहयोग पुर्‍याउनेछ। पुरानो काम पूरा गरेर नयाँ योजनातर्फ अघि बढ्ने अवसर मिल्न सक्छ। आर्थिक कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। अनावश्यक खर्च घटाउन सके बचत बढाउन सकिनेछ। परिवारमा तपाईंको सहयोग आवश्यक पर्न सक्छ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्छ। पर्याप्त आराम र सन्तुलित खानपानमा ध्यान दिनुहोस्। साँझतिर प्राप्त हुने सुखद समाचारले मन प्रसन्न बनाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

नयाँ सोच र नयाँ प्रयासका लागि आजको दिन अनुकूल रहनेछ। कार्यक्षेत्रमा फरक तरिकाले काम गर्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। नयाँ जिम्मेवारी वा सहकार्यको अवसर आउन सक्छ। व्यापार–व्यवसाय विस्तार गर्ने योजना अघि बढाउन सकिनेछ। आर्थिक अवस्थामा क्रमशः सुधार आउनेछ। परिवारमा पुराना असमझदारी हट्दै जानेछन्। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम पूरा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ लक्ष्य तय गरेर निरन्तर मेहनत गर्दा आगामी दिनमा राम्रो सफलता प्राप्त गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज मनमा रहेको अन्योल कम हुँदै जानेछ र सही निर्णय लिन सहज हुनेछ। कार्यक्षेत्रमा अधुरा काम पूरा हुनेछन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सफलतापूर्वक सम्हाल्न सक्नुहुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना छ। परिवारका सदस्यबाट सुखद समाचार सुन्न पाइनेछ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। महत्त्वपूर्ण व्यक्तिसँगको भेटघाट भविष्यका लागि उपयोगी हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। दिनको अन्त्यमा आफूले गरेको कामको समीक्षा गर्दा आगामी योजनाका लागि नयाँ उत्साह प्राप्त हुनेछ ।

  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । काठमाडौँको ग्वलः दे नवाली टोलमा लिच्छविकालीन ‘नासः द्यः छेँ’ अर्थात् नित्यनाथ मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले एक समारोहबीच मन्दिरको उद्घाटन गरेकी छन् ।

करिब २ करोड २७ लाख रुपैयाँ लागतमा पुनःनिर्माण गरिएको तीनतले मन्दिरको पहिलो तलामा सन्ध्या पुस्तकालय सञ्चालन हुनेछ भने दोस्रो तला सामाजिक कार्य तथा परम्परागत बाजागाजा प्रशिक्षणका लागि प्रयोग गरिनेछ। तेस्रो तलामा नित्यनाथको मन्दिर रहनेछ ।

कार्यवाहक प्रमुख डंगोलले महानगरपालिकाले मौलिक तथा सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकता दिएको बताउँदै पुनःनिर्माण भएका सम्पदाको संरक्षणको जिम्मेवारी समुदायले लिनुपर्ने बताइन् ।

वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले स्थानीयको सहयोग र प्रत्यक्ष निगरानीमा मन्दिर पुनःनिर्माण गरिएकाले यसको मौलिकता कायम गरिएको बताए । मन्दिर पुनःनिर्माणसँगै स्थानीय परम्परागत बाजागाजा प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

२०८१ माघ ८ गते विहीबार मन्दिर पुनःनिर्माणको जग पूजा गरिएको थियो । ०८२ माघ १ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । यसै बिच २०८२ मंसिर ५ गते नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरियो । यसअघि मूर्तिको सट्टा प्रति आकृति मात्र पूजा गर्ने गरिएको थियो । त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब ३ फिट अग्लो निराकार प्रस्तर मूर्तिलाई पूजाआजा गरी आसनमा पुनःस्थापना गरिएको छ । नित्यनाथको पूजाआजा र आराधनाका लागि विहीबार विशेष दिन मानिन्छ । ९० सालको भूकम्प अघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष स्व. सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो ।

नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडामाथि लगाएको नयाँ आयात करलाई ‘ठूलो गलत आकलन’ भएको बताएका छन् । उनले नयाँ करको उद्देश्य क्यानडालाई कमजोर बनाउने र विभाजित गर्ने रहेको आरोप लगाएका छन् ।

अमेरिका र क्यानडाबीच व्यापारसम्बन्धी वार्ता असफल भएपछि शुक्रबार राति उनको यस्तो प्रतिक्रिया आएको हो ।

क्यानडाका नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्नीले अमेरिकाले अत्यधिक माग राखेको तर त्यसको बदलामा निकै कम दिन प्रस्ताव गरेको बताए । उनले अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा ठूलो परिमाणमा नयाँ कर लगाएपछि क्यानडा व्यापार युद्धको अवस्थामा पुगेको बताए ।

कार्नीले क्यानडाले पनि आगामी सेप्टेम्बर ८ देखि अमेरिकाले लगाएको करको बराबर रकममा जवाफी कर लगाउने घोषणा गरेका छन् । त्यसमा इस्पात, दुग्धजन्य वस्तु, घरेलु उपकरण तथा विद्युतीय सामग्रीमा लगाइएको करसमेत समावेश हुने उनले बताए ।

व्यापार वार्ता असफल भएपछि लामो समयदेखि नजिकका सहयोगी रहेका अमेरिका र क्यानडाबीचको बलियो व्यापारिक सम्बन्धमा ठूलो धक्का पुगेको छ । अहिले विवाद समाधानको स्पष्ट बाटो देखिएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसै साता सुरुमा दुवै देशले व्यापार सम्झौता हुने अपेक्षा गरेका थिए । तर वार्ताका क्रममा अन्तिम समयमा एकअर्काले सर्त परिवर्तन गरेको आरोप लगाएपछि सहमतिको प्रयास विफल भएको हो ।

वार्ता असफल भएपछि अमेरिकाले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाएको छ। यो क्यानडाबाट आयात हुने इस्पात, आल्मुनियम, मोटरगाडी र काठका सामग्रीमा यसअघि नै लगाइएको अमेरिकी करभन्दा अतिरिक्त हो ।

यद्यपि, नयाँ करको दायरा सीमित रहेको बताइएको छ। यो क्यानडाबाट अमेरिका जाने करिब २० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा लागू हुनेछ, जुन क्यानडाबाट अमेरिकामा हुने कुल आयातको करिब पाँच प्रतिशत हो ।

नयाँ करअन्तर्गत मदिरा, दुग्धजन्य वस्तु, सिमेन्ट, कपडा र हक्की खेलका सामग्रीलगायत वस्तु पर्नेछन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र निजी रूपमा सञ्चालन भइरहेका छात्रावास( होस्टल) मा विद्यार्थीमाथि दुर्व्यवहार, बढी शुल्क असुली, कमजोर पूर्वाधार तथा सरसफाइ र खानपानमा लापरवाही भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सञ्चालकलाई एक महिनाभित्र आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

कार्यालयका अनुसार छात्रावासमा विद्यार्थीलाई मानवीय व्यवहार नगर्ने, यातना दिने, तोकिएको शुल्कभन्दा बढी रकम लिने, कमजोर पूर्वाधार राख्ने तथा सरसफाइमा ध्यान नदिने गुनासो बारम्बार प्राप्त हुँदै आएको छ । खाना र पानीको स्वच्छता, पुरुष तथा महिलाका लागि छुट्टाछुट्टै सुरक्षा, शौचालय, स्नानघर र सुत्ने कोठाको पर्याप्त व्यवस्था नभएको पनि पाइएको कार्यालयले जनाएको छ । त्यस्तै, केही छात्रावासमा लागुऔषधको दुरुपयोग हुने, विद्यार्थीबीच झडप हुँदा ज्यान जानेसम्मका घटना हुने तथा अध्ययन कक्ष, मनोरञ्जन कक्ष र पुस्तकालयजस्ता आवश्यक सुविधा पर्याप्त नभएको गुनासो आउने गरेको छ ।  यस्ता गुनासोका आधारमा कार्यालयले निजी छात्रावासको नियमित तथा आकस्मिक अनुगमन गर्दै आएको जनाएको छ। अनुगमनका क्रममा केही छात्रावासलाई तीन लाख रुपैयाँसम्म जरिवाना गर्नुका साथै शिलबन्दीसमेत गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी छात्रावास सञ्चालकलाई तोकिएका २१ मापदण्डअनुसार आवश्यक व्यवस्था एक महिनाभित्र पूरा गर्न सूचित गरेको छ ।

प्रशासनले तोकेका २१ मापदण्ड: 

१- छात्रावास सञ्चालन सम्बन्धमा नेपाल सरकार एवं सम्बन्धित स्थानीय तहले जारी गरेका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्नुपर्ने ।

२- छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुलाई मानवीय व्यवहार गर्ने, सुरक्षा एवं मर्यादापूर्ण रुपमा रहने वातावरण तयार गर्ने ।

३- छात्रावास भित्रको आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउने कुनै प्रकारको लागु औषध एवं मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्री वितरणमा बन्देज लगाउनुपर्ने ।

४- तोकिएको निकायहरुमा छात्रावास अनिवार्य रुपमा दर्ता एवं नवीकरण गर्नुपर्ने ।

५- छात्रावासको लागि उचित भौतिक पूर्वाधार (जस्तैः प्रत्येक कोठाहरु फराकिलो खुला पर्याप्त प्रकाश तथा हावा छिर्ने प्रकृतिको) हुनुपर्ने ।

६- व्यवस्थित पुस्तकालय एवं अध्ययन कक्षको प्रबन्ध गर्नुपर्ने ।

७- छात्रावासको सरसफाइ र खाद्यान्नको गुणस्तर कायम गर्नुपर्ने ।

८- छात्रावासमा स्वच्छ पिउने एवम् अन्य प्रयोजनको पानीको पर्याप्तता, विद्युत तथा ईन्टरनेटको उपलब्धता एवम् बैकल्पिक व्यवस्था समेत गरेको हुनुपर्ने ।

९- छात्रावासमा लाग्ने शुल्क तथा दररेट सार्वजनिक गरी सोही अनुसार मात्र रकम लिनुपर्ने ।

१०- कोठा र शौचालय जस्ता संवेदनशील स्थान बाहेक अन्य स्थानको निगरानीको लागि CCTV जडान गर्नुपर्ने ।

११- छात्रावास सञ्चालक तथा छात्रावासमा बस्ने विद्यार्थी एवं व्यक्तिहरुको अद्यावधिक विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने ।

१२- छात्रावासमा बस्ने विद्यार्थी एवम् अन्य व्यक्तिहरुले समेत मर्यादित र अनुशाससित व्यवहार गर्नुपर्ने ।

१३- छात्रावास रहेको स्थान वरपरका छरछिमेकीहरुलाई छात्रावासको कारणबाट कुनै प्रकारको वाधा, व्यवधान एवम् होहल्ला गर्न नदिने व्यवस्था मिलाउनुपर्ने ।

१४- छात्रावासमा चौविसै घण्टा जिम्मेवार वार्डेन र निजी सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने ।

१५- छात्रावासमा बस्ने विद्यार्थी र सञ्चालकको बीचमा अनिवार्य सम्झौता हुनुपर्ने ।

१६- अन्य व्यक्तिको घर भाडामा लिई सञ्चालन गरेको भएमा छात्रावास सञ्चालकहरुले घरधनीसँग अनिवार्य रुपमा घरभाडा सम्झौता गरेको हुनुपर्ने ।

१७- छात्रावासको सञ्चालक र वार्डेनको व्यक्तिगत विवरण अनिवार्य रुपमा यस कार्यालय र नजिकको प्रहरी ईकाईलाई उपलब्ध गराउनुपर्ने ।

१८- छात्रावासमा Fire Extinguisher, First Aid लगायतका अत्यावश्यकीय सामग्रीहरु अनिवार्य रुपमा राखुपर्ने ।

१९- महिला तथा पुरुष दुवैको लागि सञ्चालनमा रहेको छात्रावास भए अलग्गै कार्यालय र आवास भवनको व्यवस्था अनिवार्य गर्नुपर्ने ।

२०- छात्रावासमा आपत्कालिन अवस्थामा सम्पर्क गर्नुपर्ने सरकारी निकायका फोन नं. हरु सबैले देखिने गरी राखेको हुनुपर्ने ।

२१- छात्रावासमा रहने विद्यार्थी एवम् अन्य व्यक्तिहरुलाई समय समयमा मनोरञ्जन एवम् छात्रावासको मर्यादा र अनुशासन कायम राख्न तद् अनुरुपको प्रशिक्षण कक्ष हुनुपर्ने र सो बमोजिम हप्तामा कम्तिमा एकपटक प्रशिक्षण समेत गर्ने/गराउने ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो टेस्टमा एक इनिङ्स र ५१ रनले पराजित गर्दै दुई खेलको सिरिज १-१ को बराबरीमा टुंग्याएको छ । म्याकायमा भएको खेल अस्ट्रेलियाले दोस्रो दिनमै जितेको हो ।

पहिलो इनिङ्समा बंगलादेश केवल ६४ रनमा समेटिएपछि अस्ट्रेलियाले पहिलो इनिंगमा २१० रन बनाएको थियो  । अस्ट्रेलियाका क्यामरन ग्रिनले ६७ रनको महत्वपूर्ण योगदान दिए । बंगलादेशका शोरिफुल इस्लामले ४८ रन खर्चेर ७ विकेट लिएर उत्कृष्ट बलिङ गरे ।

तर दोस्रो इनिङ्समा पनि बंगलादेशको ब्याटिङ टिक्न सकेन । टोली ९५ रनमै अलआउट भएपछि अस्ट्रेलियाले एक इनिङ्स र ५१ रनको जित हात पारेको हो । बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए ।

अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क जितका मुख्य नायक बने । उनले खेलमा कुल १० विकेट लिए । पहिलो इनिङ्समा ६ विकेट लिएका स्टार्कले दोस्रो इनिङ्समा पनि महत्वपूर्ण ४ विकेट लिएर बंगलादेशको ब्याटिङ ध्वस्त पारे ।

यसअघि डार्विनमा भएको पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई ९ विकेटले हराउँदै अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट जित निकालेको थियो । दोस्रो टेस्टमा अस्ट्रेलियाले त्यसको जवाफ दिँदै सिरिज बराबरी गरेको हो । एभरेष्ट न्यूज एजेन्सी

बुटवल । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ ।

शौचालय जानको लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माईक्रो बसले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९:३० बजे मृत्यु भएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनालाई कृषि उत्पादन, रोजगारी र स्थानीय आम्दानी वृद्धिसँग जोड्न सके जनसंख्या पलायन न्यूनीकरणमा समेत सहयोग पुग्ने बताएका छन् । सुनसरी–मोरङ सिँचाइ परियोजनाको स्थलगत अध्ययनका क्रममा उनले सिँचाइलाई केवल नहर निर्माणको विषयका रूपमा हेर्न नहुने बताए ।

मन्त्री श्रेष्ठले सिँचाइमा गरिएको लगानीको प्रतिफल कृषि उत्पादन र उत्पादकत्व वृद्धिमार्फत प्राप्त हुने भएकाले सिँचाइसँगै किसान लक्षित कार्यक्रम पनि एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार सुनसरी–मोरङ सिँचाइ परियोजनाले मात्रै वार्षिक १४ अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको कृषि उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ ।

करिब ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने यो परियोजना लामो समयदेखि सञ्चालनमा रहेकाले विभिन्न संरचना जीर्ण हुँदै गएका छन् । कोशी नदीको धार परिवर्तन, गेग्रान थुप्रिने समस्या र सुक्खायाममा इन्टेकमा पर्याप्त पानी नपुग्दा परियोजनाको नियमित सञ्चालनमा चुनौती देखिएको छ ।

मन्त्री श्रेष्ठले तत्कालीन र दीर्घकालीन समाधानलाई एउटै योजनामा समेटेर अघि बढ्न निर्देशन दिए । उनले ड्रेजिङ, स्पर निर्माणजस्ता तत्कालीन उपायलाई स्थायी संरचनाको विकल्प नभई दीर्घकालीन समाधानका पूरकका रूपमा लिनुपर्ने बताए ।

जलस्रोत तथा सिँचाइ विभागले प्रत्येक कामको जिम्मेवार निकाय, लागत, बजेट स्रोत, समयसीमा र उपलब्धि स्पष्ट हुने गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउनुपर्ने उनको भनाइ छ । पुराना सिँचाइ प्रणालीको संरक्षण, पुनर्स्थापना र आधुनिकीकरणलाई प्राथमिकता दिँदै नयाँ आयोजना निर्माणको आवश्यकता र सम्भाव्यता पनि वस्तुगत रूपमा मूल्यांकन गर्नुपर्ने उनले बताए ।एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता ०७ गते

काठमाडौँ । बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी ग्याब्रिएला डेमेट्रियाड्ससँग विवाह गरेका छन् । उनीहरूले शुक्रबार गोवामा कानुनी रूपमा विवाह दर्ता गराएका हुन् ।

उत्तरी गोवाको मापुसास्थित उपदर्ता कार्यालयमा पुगेर उनीहरूले विवाहको कानुनी प्रक्रिया पूरा गरेका थिए ।

स्थानीय कानुनअनुसार विवाह दर्ताका लागि पहिलो र दोस्रो हस्ताक्षरबीच १५ दिनको समय आवश्यक हुन्छ । तर, उक्त अवधि छुटाउन दुवैले स्थानीय अदालतका सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए । उपदर्ता अधिकारी सूरज वर्नेकरका अनुसार विवाह गोवाको समान नागरिक संहिताअन्तर्गत दर्ता गरिएको हो ।

अर्जुन र ग्याब्रिएला सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए। अर्जुनले पूर्वपत्नी मेहर जेसियासँग सम्बन्धविच्छेद गरेपछि ग्याब्रिएलासँग उनको सम्बन्ध सुरु भएको थियो । विवाहअघि नै उनीहरूका दुई छोरा छन् । सन् २०१९ मा पहिलो छोरा एरिक र त्यसको चार वर्षपछि दोस्रो छोरा एरिभको जन्म भएको थियो । सन् २०२५ मा अर्जुनले ग्याब्रिएलासँग इन्गेजमेन्ट गरेको जानकारी दिएका थिए ।

यसअघि दुई सन्तान भइसके पनि विवाह नगर्नुको कारणबारे अर्जुनले आफूहरूबीचको सम्बन्धलाई कानुनी कागजभन्दा माथि राखेको बताएका थिए । उनका अनुसार आफूहरूबीच विवाहको भावनात्मक सम्बन्ध पहिल्यै स्थापित भइसकेको थियो ।

अर्जुन रामपालको पहिलो विवाह पूर्व सुपरमोडेल मेहर जेसियासँग सन् १९९८ मा भएको थियो । उनीहरूबाट दुई छोरी माहिका र मायरा छन् ।

करिब २० वर्ष सँगै रहेपछि उनीहरूले सन् २०१८ को मेमा अलग हुने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरमा उनीहरूको कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका मुख्य नदीहरूमा पानीको बहाव सामान्य रहे तापनि कोशी र नारायणी जलाधारका केही सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तलै रहेको छ । यद्यपि, आगामी तीन दिनको पूर्वानुमान अनुसार तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी र मर्स्याङ्दी जस्ता नदीहरूमा जलसतह तीव्र गतिमा बढ्न सक्ने देखिएकाले सतर्कता अपनाउन महाशाखाले ध्यानाकर्षण गराएको छ ।

विशेष गरी पहाडी तथा भित्री मधेसका साना नदीहरूमा आकस्मिक बाढी आउने मध्यम जोखिम रहेको छ । आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, नुवाकोट, रसुवा, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, बाँके, बर्दिया र कैलाली आसपासका जिल्ला भई बहने साना नदीहरूमा बहाव ह्वात्तै बढ्न सक्ने सम्भावना छ ।

त्यसैगरी, भोलि र पर्सी गण्डकी तथा लुम्बिनी प्रदेश भई बहने केही साना नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा बाढी प्रभावित सम्भावित स्थानका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

बज्जिकाञ्चल संवाददाता,०६ गते

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनको समस्या समाधानका लागि संघीय सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच उच्चस्तरीय छलफल भएको छ । छलफलमा सबै पालिकाले आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै स्थानीय तहलाई आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय तहकै भएकाले प्रत्येक पालिकाले आफ्नै फोहोर व्यवस्थापन गर्ने दिशामा अघि बढ्नुपर्ने बताए ।

छलफलमा सहभागी काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, टोखा, कीर्तिपुर, दक्षिणकालीलगायत पालिकाका प्रमुख तथा प्रतिनिधिले पनि आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले बञ्चरेडाँडामाथिको निर्भरता घटाउन फोहोर वर्गीकरण, पुनःप्रयोग तथा पुनर्चक्रणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापनस्थलका कारण प्रभावित स्थानीयवासीले विगतका सहमति कार्यान्वयन गर्न र दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । छलफलमा अबको चार वर्षभित्र बञ्चरेडाँडामा उपत्यकाको फोहोर लैजान नपर्ने गरी योजना बनाउनुपर्ने विषयसमेत उठेको छ ।

दीर्घकालीन समाधानका लागि फोहोर उत्पादन घटाउने, स्रोतमै वर्गीकरण गर्ने, कुहिने फोहोरबाट मल तथा ऊर्जा उत्पादन गर्ने र सुख्खा फोहोर पुनःप्रयोग तथा पुनर्चक्रण गर्ने प्रस्ताव अघि सारिएको छ । संघीय सरकार र स्थानीय तहले संयुक्त रूपमा स्पष्ट जिम्मेवारी निर्धारण गरी काम अघि बढाउने सहमति भएको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।