काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुन:स्थापनाका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
संघका अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा राहत तथा उद्धार मूल समिति गठन गर्दै आर्थिक सहयोग संकलन, स्वयंसेवक परिचालन तथा राष्ट्रिय समन्वय परिषद् परिचालनका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरिएको छ ।
प्रभावित क्षेत्रमा चिकित्सकीय टोली र स्वयंसेवक तत्काल परिचालन गर्ने तथा राष्ट्रिय समन्वय परिषद्मार्फत पनि उद्धार र राहतका लागि सहयोग जुटाउने संघले जनाएको छ ।
सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनामा सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै संघले आफ्ना पदाधिकारी तथा सदस्यलाई राहत कार्यमा सहभागी हुन आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले रसुवा-नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएका अपुष्ट सूचना तथा हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।
महाशाखाका अनुसार पछिल्लो समय रसुवा-नुवाकोट क्षेत्रबाट निरन्तर रूपमा थप ठूलो बाढी आउन लागेको भन्दै जानकारी तथा फोन सम्पर्कहरू प्राप्त भइरहेको उल्लेख गर्दै हालसम्म प्राप्त सूचना र गरिएको प्रारम्भिक विश्लेषणअनुसार त्यस क्षेत्रमा वर्षा भइरहे पनि थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको जनाएको छ ।
महाशाखाले रसुवा–नुवाकोट क्षेत्रमा वर्षा भइरहेकाले नदी तथा खोलाको बहाव केही बढ्न सक्ने र हालको अवस्थाले आज बिहान बाढी प्रभावित क्षेत्रमा देखिएको जस्तो थप ठूलो बाढी आउने सम्भावना नरहेको स्पष्ट पारेको छ ।
महाशाखाले बिहानको बाढीबाट प्रभावित स्थानभन्दा बाहिर सुरक्षित स्थानमा रहेका नागरिकलाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ ।
नेपालतर्फ आगामी समयमा कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी तत्काल पूर्वसूचना जारी गरिने महाशाखाले जनाएको छ । त्यसका लागि मोबाइल सन्देशलगायत उपलब्ध विभिन्न सञ्चार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना प्रवाह गरिने महाशाखाको भनाइ छ ।
महाशाखाले बाढीसम्बन्धी जानकारी प्राप्त गर्दा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलिएका अपुष्ट सूचनाभन्दा आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।
साथै, बाढीको जोखिम पूर्ण रूपमा टरिनसकेको अवस्थामा आवश्यक सावधानी अपनाउन र सुरक्षित रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,११ गते
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ ।
त्रिशूली नदी बेसिनमा सञ्चालनमा रहेका नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् ।
१२ वटा विद्युत् आयोजना बन्द
बाढीबाट प्रभावित विद्युत् आयोजनामा रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुङ्गी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट, साञ्जेन ४२ दशमलव ५ मेगावाट, चिलिमे ५२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, माथिल्लो मैलुङ १४ दशमलव ८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २४ मेगावाट, देवीघाट जलविद्युत् केन्द्र १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन् ।
यसैगरी, प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकबाट निर्माणाधीन कुल ४७० मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।
१९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन
बाढीका कारण विभिन्न आयोजना तथा संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
सम्पर्कविहीन भएकामध्ये त्रिशूली–३ ‘बी’ आयोजनाको निर्माणस्थलमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको विद्युत्गृह क्षेत्रमा ६ जना, आवास क्षेत्रमा १ जना, त्रिशूली–३ ‘बी’ आयोजनामा चेस्को कम्पनीबाट खटिएका ११ जना र रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना रहेका छन्।
त्यस्तै, त्रिशूली–३ ‘ए’ को विद्युत्गृह मर्मतमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रका २ जना, रसुवा वितरण केन्द्रका २ जना तथा धादिङको त्रिशूली २२० केभी उपकेन्द्रमा ठेकेदारमार्फत कार्यरत १६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।
रसुवामा पूर्ण रूपमा विद्युत् अवरुद्ध
बाढीका कारण रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने आंशिक रूपमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
धादिङको जहरेस्थित ३३ केभी उपकेन्द्रमा करिब ५ फिट लेदो जमेको छ। अहिले डोजर प्रयोग गरेर लेदो हटाउने काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका विद्युत् पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
त्रिशूलीस्थित २२० केभी मुख्य उपकेन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी मुख्य टावरमा समस्या आएपछि प्रसारण सेवा अवरुद्ध भएको छ।
चार प्रमुख प्रसारण लाइनमा क्षति
बाढीबाट विभिन्न प्रसारण लाइनमा समेत क्षति पुगेको छ। क्षति पुगेर अवरुद्ध भएका प्रमुख प्रसारण लाइनमा समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे मुख्य–त्रिशूली–३ ‘बी’ मुख्य–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन रहेका छन् । विभिन्न स्थानमा प्रसारण लाइनका टावरमा समेत क्षति पुगेको छ ।
उद्धारसँगै विद्युत् पुनःस्थापनाको प्रयास
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। फसेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार गर्ने काम भइरहेको र सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको उर्जा मन्त्रालयले जनाएको छ ।
वैकल्पिक माध्यमबाट विद्युत् प्रणाली सञ्चालन गर्न सकिने स्थान पहिचान गरी प्रभावित क्षेत्रमा आंशिक रूपमा विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गर्ने तयारी
सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा विद्युत् प्रणाली सञ्चालन गरी चौघोडा उपकेन्द्र चालु गर्ने तयारी भइरहेको छ भने गजुरीदेखि गल्छीसम्म धादिङबेँसी उपकेन्द्रमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।
सम्भव भएका स्थानमा विद्युत् लाइनको निरीक्षण, मर्मत तथा प्रसारण लाइन पुनःसञ्चालनको काम भइरहेको र विद्युत् प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग तथा सम्बन्धित वितरण केन्द्रलाई विद्युत् प्रणाली यथाशीघ्र सुचारु गर्न आवश्यक निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
रामअधार यादब,रौतहट, भादौ १० गते
रौतहट । कटहरिया नगरपालिका–१ अन्तर्गत झौवा गाउँमा एनसेल मोबाइल प्रयोगकर्ता लामो समयदेखि नेटवर्क समस्याबाट प्रभावित भएका छन्। नेटवर्क कमजोर हुँदा स्थानीयवासीलाई फोनमा कुराकानी गर्न तथा मोबाइल सेवा प्रयोग गर्न कठिनाइ भइरहेको छ।
कटहरिया नगरपालिका अन्तर्गत छेदीचोक र कटहरिया बजार क्षेत्रमा एनसेलका टावर रहे पनि झौवा गाउँलगायत आसपासका क्षेत्रमा वर्षौंदेखि नेटवर्क समस्या कायम रहेको स्थानीय समाजसेवी गणिलाल यादवले जानकारी दिनुभएको छ।
नेटवर्क कमजोर भएका कारण आवश्यक समयमा फोन सम्पर्क गर्न नसकिने, कुराकानी गर्दा आवाज स्पष्ट नआउने तथा पटक–पटक फोन काटिने समस्या रहेको स्थानीयवासीको गुनासो छ।
स्थानीय समाजसेवी यादवले एनसेल कम्पनी तथा सम्बन्धित निकायलाई यस समस्याप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै यथाशीघ्र प्राविधिक टोली पठाई नेटवर्क समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ।
स्थानीयवासीले सञ्चारजस्तो अत्यावश्यक सेवामा लामो समयदेखि समस्या भइरहेकाले सम्बन्धित निकायले तत्काल पहल गरी भरपर्दो र गुणस्तरीय नेटवर्क सेवा उपलब्ध गराउन माग गरेका छन्।
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौं । चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइलीको प्रवेश भएको छ । निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेत्रीमा अञ्जना अनुबन्ध भएकी हुन् ।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको प्रवेश भएको हो । अहिलेकी व्यस्त र डिमान्डेड नायिका अञ्जनाको प्रवेशसँगै सिनेमाको लाइनअप थप बलियो भएको छ ।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र मल्टिस्टार बन्नेछ । यो चलचित्रमा उपन्यासकार बुद्धिसागरले कथा र पटकथा लेखेका छन् । यो चलचित्र ‘एपिक एक्सन ड्रामा’ हुने निर्देशक चौधरीको भनाइ छ ।
सौरभ चौधरी यसपटक पहिलेको तुलनामा अझ ठूलो क्यानभासमा फिल्म बनाउने योजनामा छन् । यो नेपाली सिनेमाकै ठूलो स्केलको एक्सन चलचित्र हुने निर्माण पक्षको दाबी छ । चलचित्रको छायांकन आगामी साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
यो चलचित्रको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने यो चलचित्रको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने पब्लिसिटी पार्टनरमा टौवा स्टुडियो छ । यो चलचित्रको वितरकमा डिसीएन रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । इरानको संसद्ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क लिने प्रस्ताव स्वीकृत गरेको छ । इरानको मेहर समाचार संस्थाका अनुसार होर्मुज हुँदै जान अनुमति पाउने देशका जहाजबाट समुद्री सेवा, सुरक्षा र बिमालगायत सुविधाबापत शुल्क लिइनेछ ।
शुल्कबापत वातावरणीय सेवा तथा विशेष परिस्थितिमा इन्धनसमेत उपलब्ध गराइने जनाइएको छ । शुल्क इरानी मुद्रा वा इरानले तोकेको अन्य मुद्रामा तिर्न सकिनेछ ।
यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले इरानविरुद्ध आर्थिक दबाब बढाउने अभियान निर्णायक चरणमा पुगेको बताएका छन् । अमेरिकाले इरानको आम्दानीका प्रमुख स्रोत बन्द गर्ने उद्देश्यले आफ्ना सबै सरकारी निकाय र अधिकार प्रयोग गर्ने उनको भनाइ छ ।
इरानले अमेरिकाको आर्थिक प्रतिबन्धमा साथ दिने खाडी देशहरूलाई पनि चेतावनी दिएको छ । इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसिन रेजाईले इरानमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई सहयोग गर्ने देशलाई शत्रुका रूपमा व्यवहार गरिने बताएका छन् ।
यसैबीच इरानलाई मक्का रक्षा सम्झौतामा सहभागी हुन निमन्त्रणा आएको दाबी गरिएको छ । इरानी संसद्सँग सम्बन्धित मेहदी रहिमीले इरानले निमन्त्रणा पाएको र त्यसबारे विचार भइरहेको बताएका छन्। तर इरानको विदेश मन्त्रालय तथा सम्झौताका संस्थापक देश साउदी अरब, टर्की र पाकिस्तानले यसको आधिकारिक पुष्टि गरेका छैनन् ।
साउदी अरब, टर्की र पाकिस्तानले गत अगस्ट ७ गते मक्कामा पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार तीनमध्ये कुनै एक देशमाथि भएको आक्रमणलाई तीनै देशमाथिको आक्रमण मानिने व्यवस्था छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय होर्मुज जलडमरूमध्यलाई अमेरिकी क्षेत्रका रूपमा चित्रित गर्दै आएका छन् । अमेरिका र इरानबीच तनाव बढेपछि जलडमरूमध्यमा जहाज आवतजावतका लागि इरानतर्फको उत्तरी मार्ग र ओमानतर्फको दक्षिणी मार्गबारे विवाद बढेको छ ।
होर्मुज विश्वको महत्वपूर्ण तेल तथा समुद्री व्यापार मार्गमध्ये एक हो । यसको सुरक्षालाई लिएर अमेरिका र इरानबीच बढिरहेको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्धको रिटमा उच्च अदालत पाटन, हेटौंडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो, त्यसको आधार र प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
मुख्यमन्त्री मगरको नियुक्ति प्रक्रिया संविधान विपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले भदौ ५ गते छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा भने आगामी भदौ १० गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त थापामगरले राप्रपाको समर्थन लिएको विश्व विवादित बनेको छ । राप्रपाको संसदीय दलका नेता उद्धव थापाले केन्द्रको निर्देशन विपरित थापालाई समर्थन गरेपछि विवाद बढेको छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कहि स्थानमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०८ गते
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
जसअनुसार, बिहान साढे ९ बजे कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलद्वारा तयार पारिएको प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, विहान १० बजेदेखि शुरु हुने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारीको विषयमा लगानी बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायत सरोकारवाला निकायहरूसँग छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउसो १ बजेदेखि शुरु हुदैछ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, दिउसो २ बजेदेखि बस्ने राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीति सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । एभरेष्ट न्यूज एजेन्सी