२०८३ कार्तिक ४
२०८३ कार्तिक ४

काठमाडौं । राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ ।

सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्राविधिक टोली पुगेर अध्ययन गरिरहेको र अध्ययनपछि क्षतिको कारण तथा मर्मत योजना तय गरिने जनाइएको छ ।

सडकको अवस्था सामान्य नहुँदासम्म यात्रुलाई सुरुङमार्ग प्रयोग गर्न र सावधानी अपनाउन विभागले आग्रह गरेको छ । नागढुंगा–नौबिसे सडकमा हुने अवरोधले राजधानीबाट पश्चिम तथा तराईतर्फ जाने हजारौँ यात्रु र सवारीसाधन प्रभावित हुने गरेका छन् ।

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोमा बेपत्ता भएका नौ कोरियाली नागरिकसहित अन्यको खोजीका लागि दक्षिण कोरियाले विशेष उद्धार टोली नेपाल पठाएको छ ।

४४ सदस्यीय कोरियाली विपद् उद्धार टोली बुधबार काठमाडौं आइपुगेको हो । टोलीमा परराष्ट्र मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र अग्नि उद्धार अधिकारीहरू सहभागी छन् । टोलीले नेपाली अधिकारीसँग सहकार्य गर्दै करिब १० दिन खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ । उनीहरु अहिले रसुवा पुगिसकेका छन् ।

टोलीले पाँचवटा उद्धार कुकुरसहित उच्च क्षमताका ड्रोन, भग्नावशेषमा पुरिएका व्यक्तिको आवाज तथा दृश्यबाट पहिचान गर्न सक्ने उपकरण र ताप पहिचान गर्ने उपकरण ल्याएको कोरियन टाइम्सले उल्लेख गरेको छ ।

भदौ १० मा रसुवामा आएको बाढीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माणस्थलबाट नौ कोरियाली नागरिक बेपत्ता भएका थिए । तीमध्ये छ जना दोसान इनर्जीबिलिटी र तीन जना कोरिया दक्षिण-पूर्वी विद्युत् कम्पनीका कर्मचारी रहेका छन् ।

नेपाली सुरक्षाकर्मी तथा कोरियाली उद्धार टोलीले हेलिकोप्टर, ड्रोन, उद्धार कुकुर र अन्य उपकरण प्रयोग गरी रसुवाको धुन्चे क्षेत्रमा खोजी गरिरहेका छन् । कठिन भौगोलिक अवस्था, ठूलो क्षेत्रफल तथा माटो र भग्नावशेषका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

दक्षिण कोरियाली अधिकारीहरूले बेपत्ताहरूको मोबाइल फोनको स्थान पहिचान गर्ने विकल्पबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको बताएका छन् । कम्पनीहरूले समेत हवाई खोजी तीव्र बनाएका छन् । पछिल्लो अपडेट अनुसार भोटेकोशी बाढीपछि ११ सय भन्दा बढीको शव फेला परिसकेको छ भने ४ हजार भन्दा बढी अझै सम्पर्कविहिन रहेका छन् ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले  नेपाल समाजवादी पार्टी गोरखाका सांसद फणिन्द्र देवकोटा गण्डकी प्रदेश सरकारमा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । गण्डकीमा एमालेले सरकार छाडेपछि पाण्डेले देवकोटालाई सरकारमा ल्याएका छन् । यसअघि ऊर्जामन्त्री रहेका कांग्रेसका नन्दप्रसाद न्यौपाने भौतिक पूर्वाधारमन्त्री बनेका छन्।

५९ सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२ र नेपाली कम्युनिष्ट पार्टीका सभामुखबाहेक ६ सांसद छन् । त्यस्तै राप्रपाका २ सांसद रहेका छन् ।

यद्यपि, एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सत्ता सहकार्य भएपनि राप्रपाको सहयोग बिना बहुमत पुग्ने अवस्था रहेको छैन । एमाले सरकारबाट बाहिरिएपछि पनि गण्डकी प्रदेशमा सहज रुपमा नयाँ सरकार बन्ने अवस्था स्पष्ट रहेको छैन  ।

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन पोखरा महानगरपालिकाले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ ।

महानगरले बाढीपीडितका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि तथा स्वास्थ्य सामग्री र उद्धार सामग्री संकलन गरिरहेको जनाएको छ ।

भदौ १८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रको डोममा राहत सामग्री संकलन केन्द्र सञ्चालनमा रहने भएकाले महानगरले सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा सम्पूर्ण सहयोगीलाई आफूले उपलब्ध गराउन चाहेको सामग्रीसहित संकलन केन्द्रमा सम्पर्क गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले स्वतःस्फूर्त रूपमा राहत सामग्री उपलब्ध गराउने सबैलाई धन्यवादसमेत दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । इंग्ल्यान्डसँगको टेस्ट सिरिज गुमाएपछि पाकिस्तानले टोलीमा ठूलो परिवर्तन गरेको छ । पाकिस्तानले सात खेलाडीलाई टोलीबाट हटाउँदै पाँच नयाँ खेलाडीलाई पहिलोपटक राष्ट्रिय टोलीमा बोलाएको छ भने मुख्य प्रशिक्षकलाई समेत जिम्मेवारीबाट मुक्त गरेको छ ।

सिरिजका पहिलो दुई टेस्टमा एकतर्फी हार बेहोरेपछि बर्मिङ्घममा सेप्टेम्बर ९ देखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्टका लागि पाकिस्तानले खेलाडी र प्रशिक्षक टोलीमा व्यापक हेरफेर गरेको हो ।

टोलीबाट हटाइएका मोहम्मद रिजवान, इमाम उल हक, सलमान अली आघा, अली उस्मान र खुर्रम शहजादले सिरिजका खेलमा सहभागिता जनाएका थिए । आमिर जमाल र मोहम्मद आवैस जाफरलाई भने खेल नखेल्दै घर पठाइएको छ ।

पाकिस्तानले सात खेलाडीलाई टोलीमा बोलाएको छ । यसमध्ये साइम अयुब र अब्दुल्लाह फजलले यसअघि टेस्ट खेलिसकेका छन् । अराफात मिन्हास, मोहम्मद इमरान जुनियर, विकेटकिपर सइद बैग, मोहम्मद इमरान र रजाउल्लाहले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।

मुख्य प्रशिक्षक सरफराज अहमद र सहायक प्रशिक्षक उमर गुललाई पनि जिम्मेवारीबाट हटाइएको छ । उनीहरूको स्थानमा सीमित ओभरका प्रशिक्षक माइक हेसन र अस्ट्रेलियाका पूर्व तीव्र गतिका बलर एश्ले नोफ्केलाई ल्याइएको छ ।

पहिलो टेस्टमा हेडिङ्लीमा पाकिस्तान एक इनिङ्सले तथा दोस्रो टेस्टमा लर्ड्समा १९४ रनले पराजित भएको थियो । पाकिस्तान आफ्ना चारै इनिङ्समा २०० रनभन्दा कममा अलआउट भएको थियो ।

सिरिजको विचमा सात खेलाडी र मुख्य प्रशिक्षकलाई हटाउने पाकिस्तानको निर्णयलाई पूर्व कप्तान तथा पाकिस्तान क्रिकेट बोर्डका पूर्व अध्यक्ष रमिज राजाले असाधारण कदम भन्दै आलोचना गरेका छन् । उनले यसले पाकिस्तान क्रिकेटमा त्रासको अवस्था देखाएको र नयाँ तथा बाँकी खेलाडीको आत्मविश्वासमा समेत असर पर्न सक्ने प्रतिक्रिया दिएका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । भारतीय र्यापर गायक बादशाहले ईशा रिखीसँग विवाह गरेको पाँच महिनामै सम्बन्धविच्छेद भएको पुष्टि गरेका छन् ।

उनीहरूले यसै वर्ष मार्चमा विवाह गरेका थिए । विवाह भएको करिब तीन महिनापछि नै उनीहरूबीच सम्बन्धमा समस्या आएको खबर सार्वजनिक भएको थियो ।

बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । उनले लेखेका छन्- ‘मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ-आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ । यो निर्णय आपसी सम्मानका साथ लिइएको हो । यस समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैसँग आग्रह गर्दछौँ ।’

उनले आफूहरूको सम्बन्धबारे थप अड्कलबाजी नगर्न पनि आग्रह गरेका छन् । साथै, यस विषयमा यही नै उनीहरूको अन्तिम भनाइ हुने बताएका छन् ।

बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए । उनीहरूबाट सन् २०१७ मा छोरी जन्मिएकी थिइन् । दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो ।

बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको थियो । त्यसपछि उनीहरूबीच नजिकिँदै गएर प्रेम सम्बन्ध सुरु भएको थियो । दुवैले लामो समयसम्म आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । सन् २०२३ मा उनीहरूको विवाहको हल्ला चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए ।

बादशाह बलिवुडसहितको संगीत क्षेत्रमा चर्चित छन् भने ईशा रिखी मोडल तथा अभिनेत्री हुन् । चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म ९८७ जनाको शव फेला परेको हो । जसमा रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, चितवनमा ३२१, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६  र नवलपरासी पश्चिममा १७० जनाको शव फेला परेको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ३ हजार ९१६ जना सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा जलविद्युत् आयोजनामा कार्यरत ६३९ जना, रसुवाका ८६५, नुवाकोटका १५५८ जना रहेका छन् । त्यस्तै, नेपाल सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।

यसैगरी, ५८३ जना विदेशी नागरिक र नेपाल भ्रमणमा आएका विदेशमा बस्ने १६४ जना नेपाली नागरिक समेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ ।एभरेष्ट न्यूज एजेन्सी

 

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सक्रिय ग्यालेक्सी युथ क्लबले भोटेकोशी बाढीबाट पिडित परिवारलाई धादिङ र नुवाकोट पुगेर राहत वितरण गरेको छ ।

कपिलवस्तुमा संकलन गरिएको राहत विदुर, तुप्चे, भैरुम माविमा रहेको होल्डिङ सेन्टरसहित आसपासमा रहेका पिडितलाई वितरण गरेको क्लबका अध्यक्ष अमृत गिरीले जानकारी दिएका छन् ।

राहत सामग्रीमा चामल, बेडसहित दैनिक उपभोग्य अत्यावश्यक सामाग्री वितरण गरेको गिरीले बताए ।  कपिलवस्तुका स्थानीय व्यापारी र सहयोगी मनहरुले दिएको सहयोग आफुहरुले पिडितसमक्ष पुर्याएको उनले बताए । उनले आफुहरुले करिब २० लाख बराबरको राहत वितरण गरेको जानकारी दिएका छन् ।

ग्यालेक्सी युथ क्लबले कपिलवस्तु जिल्लामा विभिन्न अभियान संचालन गर्दै सामाजिक कार्य गर्दै आएको छ । क्लबले सरसफाई अभियान ‘सफा कपिलवस्तु अभियान’, ‘सपना बोक्ने झोला’ अभियानसहितका विभिन्न अभियान संचालन गर्दै आएको आएको छ ।

ग्यालेक्सी युथ क्लब हाल कपिलवस्तुमा सामाजिक उत्तरदायित्व बोक्ने युवाहरूको साझा मञ्च बनेको छ । क्लबको कार्यशैली र समर्पणले अन्य युवाहरूलाई पनि समाजसेवातर्फ प्रेरित गरिरहेको छ । यस क्लबको नेतृत्व युवा अभियन्ता अमृत गिरीले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको भदौ १४ गते आइतबारसम्मको चलचित्र गौथली, मास्टर्नी, हली र लज्जावतीको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।

जसअनुसार गौथलीले बक्स अफिसमा शानदार कमाई जारी राखेको छ । साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ६८ लाख ६२ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ३१ हजार ६२७ टिकट बिक्री गरेको छ ।

त्यस्तै भदौ ५ गतेदेखि प्रदर्शनमा आएको प्रियंका कार्कीको चलचित्र मास्टर्नीले ३९ लाख ५२ हजार कमाइ गरेको छ । यस चलचित्रले ११ हजार ९९६ टिकट बिक्री गरेको छ ।

त्यस्तै त्यस्तै साउन २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र हलीले २३ लाख ११ हजार कमाई गरेको छ भने यस अवधिमा चलचित्र हलीले ८ हजार ४६३ टिकट विक्री गरेको छ ।

त्यसैगरी साउन २९ गतेदेखि रिलिज भएको चलचित्र लज्जावतीले ७ लाख ७५ हजार कमाई गरेको छ भने २७३५ टिकट बिक्रि भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

भ्रमणका क्रममा सिंहले भारत सरकार र जनताका तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्दै बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

उनले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै नेपालप्रति भारतको ऐक्यबद्धता दोहोर्‍याएका छन् ।

सिंहले विपत्तिको यस घडीमा भारत नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताउँदै खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।