२०८३ कार्तिक ३
२०८३ कार्तिक ३

बज्जिकाञ्चल संवाददाता असोज १३ गते

रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ ।

मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो ।दुर्घटनापछि चालक फरार भएका छन् । प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १३ गते

जनकपुरधाम । प्रसिद्ध ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थल जनकपुरधामको राम चोकमा रहेको गोपाल धर्मशाला एक शताब्दी अघि निर्माण भएको थियो । देश–विदेशबाट आएका तीर्थयात्रीले यो धर्मशाला सहज रूपमा प्रयोग गर्दै आएका छन् ।

जानकी मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकहरूलाई बासको व्यवस्था गर्न भन्दै १ सय वर्ष अघि यो धर्मशाला निर्माण गरिएको हो । अहिले पनि यो धर्मशालाले धार्मिक पर्यटकहरूलाई सेवा दिँदै आएको छ ।जनकपुरको जानकी मन्दिर १३० वर्ष अघि निर्माण भएको थियो । मन्दिर निर्माण पश्चात यहाँ आउने पर्यटक तथा भक्तालुहरूलाई रातको समयमा बस्न स्थानको अभाव देखेपछि भारतको कलकत्ता निवासी रामबहादुर, बलदेव दास र रामेश्वरजी नथानीले यो धर्मशाला विसं. १९८३ मा निर्माण गरेका थिए ।एक सय वर्ष पुरानो संरचना भएकाले यसको भौतिक पूर्वाधार केही जीर्ण देखिए पनि अहिलेसम्म सञ्चालन भइरहेको छ । एक शताब्दी यता यो धर्मशालाको भौतिक संरचनाले ९० सालको महाभूकम्प, त्यसपछिको अन्य सानातिना भूकम्पसँगै ०७२ सालमा गएको भूकम्प पनि यसले थेग्यो ।

२० वर्षदेखि यो धर्मशालाका प्रबन्धक भएर कार्य गर्दै आइरहेका राजकुमार झा भन्छन्, ‘ती भूकम्पहरूमा सामान्य कतै चिरा लागे पनि ठुलो क्षति भएको छैन । जानकी मन्दिरकै शैली र निर्माणमा प्रयोग भएको सामग्रीबाट पनि निर्माण भएकाले होला, त्यस्तो विनाशकारी भूकम्पमा खासै केही भएन ।’

प्रबन्धक झाका बुवा काशीनाथले पनि प्रबन्धक भएर यो धर्मशालाको व्यवस्थापनमा ४० वर्ष कार्य गरेका छन् । प्रबन्धक राजकुमारले भने, ‘बुवा कार्यरत रहँदा यहाँको एउटा कोठा ३० देखि ३५ रुपैँयामा पाइन्थ्यो । त्यतिबेला जनकपुरमा अहिलेको जस्तो सुविधा सम्पन्न होटल, लजहरू नहुँदा यहाँ आउने अधिकांश पर्यटकहरूको बासस्थान नै यही धर्मशाला बन्ने गर्दथ्यो ।’

अहिले नगरभित्रमात्र नभएर ग्रामीण क्षेत्रमा समेत होटल तथा लज सञ्चालनमा आएसँगै यहाँ खासै पर्यटक नआउने उनले बताए ।

करिब ३ बिघा क्षेत्रफलमा फैलिएको यो धर्मशालाको तल्लो तलामा ८ वटा ठुलो कोठा, एउटा हल गरी १० र माथिल्लो तलामा ठुलो र सानो गरी १३ वटा कोठा छन् । यी कोठा अहिले ३ सय देखि ८ सय रुपैयाँमा दैनिक भाडामा लगाइँदै आएको छ ।

निर्माणकर्ता रामबहादुर, बलदेवदास रामेश्वरजी नाथानी च्यारिटेबल ट्रस्टको नामबाट सञ्चालित यो धर्मशाला व्यवस्थापनका लागि ५ जना कर्मचारी खटिँदै आएका छन् । प्रबन्धक झाका अनुसार उच्च वर्गका पर्यटकहरू खासै नआए पनि भारतबाट आउने पर्यटकहरूका कारण अहिलेसम्म यो सञ्चालन भइरहेको छ । उनीहरू नआउने हो भने यसको वार्षिक मर्मत खर्च पनि नउठ्ने उनको भनाइ छ ।

वार्षिक २८ देखि ३० लाख रुपैयाँसम्मको कारोबार हुने यस धर्मशालाको आफ्नै ३ दर्जनभन्दा बढी सटर व्यावसायिक प्रतिष्ठानका लागि भाडामा लगाइएको छ । ती सटरको भाडा मासिक २ हजारदेखि २५ सय रुपैयाँसम्म हुने गरेको छ । त्यसैबाट उठ्ने र पर्यटक बसेबापत उठने रकमबाट कर्मचारीको तलब, भवन मर्मतमा खचिने गरेको छ ।

भारत, बिहारको मोतिहारीबाट यहाँ बास बस्न आएका रामशिष यादवले भने, ‘म त अहिलेसम्म १० पटकभन्दा बढी जनकपुर आइसकेँ । जतिपटक आए पनि यही धर्मशालामा बस्ने गर्छु ।’ उनका अनुसार बाहिरको होटलमा बास बस्न र खाना खान महँगो पर्ने भएकाले धर्मशाला हुँदा सहज हुने गरेको छ ।

यो धर्मशालामा विजया दशमी तथा विवाह पञ्चमीमा ठुलो मेला पनि लाग्ने गर्छ । वडा दसैँमा स्थानीय उद्योगव्यापारीहरूले यहीँ सस्तो बजार लगाउने गर्छन् । त्यतिबेला सस्तो बजार घुम्न तथा किनमेल गर्न आउनेहरूका कारण ठुलो चहलपहल हुने गर्छ ।

त्यस्तै विवाह पञ्चमीमा पनि मेलासँगै यहाँ रात बिताउने तीर्थालुहरूको ठुलो घुइँचो लाग्छ । धर्मशाला बाहिर रहेको एक चियापसलमा चिया पिउँदै गरेका स्थानीय अमोद कुशवाहाले भने, ‘यस्तो पवित्र सहरको बिचमा यो धर्मशाला छ, तर यसको संरक्षणमा कसैले ध्यान दिएजस्तो लाग्दैन । दिन प्रतिदिन जीर्ण हुँदै गएको देख्छु ।’

स्थानीय तहले जानकी मन्दिरजस्तै यस्तो ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनका अनुसार यस्तो सम्पदालाई मर्मत गरी समयसापेक्ष सुधार गर्न सके पर्यटकको ओइरो लाग्छ ।

म उल्लेख नगर्ने सर्तमा धर्मशालाको एक सटर व्यवसायीले भने, ‘यो धर्मशाला नगरको मुख्य स्थानमा छ र धेरै जग्गा पनि छ । त्यही भएर यसको जग्गामा धेरै ठुलाबडाले आँखा लगाइरहेका छन् । केही समय अघि नगरभित्रकै एक जना वरिष्ठ व्यक्तिको नाम समेत यसमा जोडिएको थियो ।’

स्थानीयबासीका अनुसार एकै स्थानमा धेरै जग्गा भएकाले पनि धेरैले विगतदेखि नै यसको जग्गा हडपिने प्रयास गर्दै आए पनि उनीहरू आफ्नो उद्देश्यमा सफल हुन सकेका छैनन् ।

प्रबन्धक झाका अनुसार तत्कालीन श्री ३ जंगबहादुर राणाले यो धर्मशालालाई धर्म, कृति प्रयोजनार्थ खड्ग निशान दिएका थिए । प्रदेश सरकार तथा स्थानीय तहले यसको भौतिक पूर्वाधार मर्मतमा चासो नदेखाएको उनले बताए ।

कतिपयले धर्मशालामै कार्यक्रम आयोजना गर्ने तर त्यसबापत शुल्कसमेत नतिर्ने गरेको झाले बताए । उनका अनुसार धर्मशालाको वार्षिक लेखापरीक्षण हुने गरेको छ । यो विशुद्ध सेवाभावका साथ सञ्चालित भएको, ट्रस्टले सञ्चालन गरेको संस्था रहेकाले नाफामूलकभन्दा पनि सेवाभावले काम गरिँदै आएको उनले बताए ।

जनकपुर नगर क्षेत्रभित्र रौनियार सेवा समिति, मारवाडी सेवा समिति, पगलबाबा धर्मशाला लगायतका विभिन्न धर्मशाला रहे पनि गोपाल धर्मशाला तुलनात्मक रूपमा निकै सस्तो रहेकाले विपन्न वर्गका तीर्थयात्रीहरूको रोजाइमा पर्ने गरेको छ ।

एक शताब्दी पुरानो यो धर्मशालाको स्तरोन्नति तथा संरक्षणमा प्रदेश सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने स्थानीयबासी बताउँछन् । रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज ११ गते

नकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ।

आइतबार बिहान सवा ९ बजे मिथिला नगरपालिका–११ आँपगाछीमा राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

घर पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो। उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसम सामान्य भएको प्रहरीले जनाएको छ।सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज ११ गते

गौर । रौतहटमा प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, भन्सार छली भारततर्फ लैजाँदै गरेको सोफी रक्सी तथा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा बरामद गरेको छ ।

यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोमा जाँच गर्ने क्रममा प्रहरीले ५ किलो २५० ग्राम गाँजासहित दुर्गाभगवती गाउँपालिका–१ का २६ वर्षीय पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। साहको गुम्ती पसलमा खानतलासी गर्दा थप २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, राजदेवी नगरपालिका–९ ब्रह्मपुरीमा नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरिएको ६४ कार्टुन सोफी रक्सी बरामद भएको छ । प्रहरीले रक्सी ओसार्न प्रयोग गरिएको इलेक्ट्रोनिक लोडरसहित चालक सोही स्थानका ४५ वर्षीय सुरेन्द्र गोसाईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ । बरामद रक्सीको मूल्य करिब ६७ हजार २०० रुपैयाँ रहेको छ ।

यसैगरी, परोहा नगरपालिका–८ नरकटिया आँप बगैँचाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १३७ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । पाँच वटा साइकलमा ल्याइँदै गरेको ४११ किलो कुखुरा, अन्दाजी १ लाख २३ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद कुखुरा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १० गते

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास र बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक तथा रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।पछिल्लो समय लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी भूभागअन्तर्गत कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले पानी परेको छैन। ती क्षेत्रमा घाम र बादल लाग्ने क्रम जारी छ।

नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा सोही प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालको पश्चिममा बढी पानी परेको मौसमविद् लामिछानेले जानकारी दिए। यो प्रणाली बिस्तारै पश्चिमतिर सर्दै कमजोर हुने अवस्थामा रहे पनि आज र भोलिसम्म नेपालको पश्चिमी क्षेत्रमा यसको गहिरो प्रभाव रहनेछ।

आज (शनिबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुने सम्भावना छ। भोलिसम्म यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहनेछ। तर पूर्वी भूभागहरू कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ।

भोलि राति र पर्सिबाट भने देशभरिकै मौसममा सुधार आउने र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ। आउँदो सोमबारबाट भने देशभरको मौसम सफा रहने र कतै पानी परिहाले पनि त्यसले ठुलो प्रभाव नपार्ने बताइएको छ।

पश्चिमी क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका लागि जोखिमको स्तर हेरी ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी (अलर्ट) जारी गरेको छ। रातो रङ लगाइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अति उच्च हुन्छ। पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले सम्भावित जोखिम कम हुने जनाउँदै ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।

भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च छ। यसै विषयलाई मध्यनजर गर्दै मौसमविद् लामिछाने भन्छन्, ‘पहिरो जाने, डुबान हुने र कटान गर्ने क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुहोला।’ सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १० गते

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा बजेट निर्माण, राजस्व प्रशासन, वित्तीय सङ्घीयता, बेरुजु फर्छ्योट तथा सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेछन् ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई अङ्गीकार गर्दै यो समझदारी भएको बताए । उनले भने,‘एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितका विषयमा सूचना आदानप्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य तथा विधायनका बारेमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्ने संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न यो समझदारी गरेका हौँ ।’

दुवै प्रदेशले प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभन्दा कम्तीमा तीन महिना अघि साझा प्राथमिकता, राजस्व तथा आर्थिक नीतिका विषयमा पूर्व–बजेट परामर्श र संयुक्त कार्यशाला आयोजना गर्ने सहमति भएको छ ।

त्यस्तै, वार्षिक सहकार्य कार्ययोजना निर्माण तथा प्रगति समीक्षा गर्न संयुक्त अन्तरप्रदेशीय समन्वय समिति गठन गरिनेछ । मन्त्रीस्तरीय उच्चस्तरीय सम्मेलन पनि पालैपालो आयोजना गरिने समझदारीमा उल्लेख छ ।

बेरुजु फर्छ्योट र सार्वजनिक खर्च सुधारमा सहकार्य

समझदारीमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, परिणाममा आधारित बजेट प्रणाली, आन्तरिक नियन्त्रण तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ ।

एक प्रदेशले सार्वजनिक वित्त व्यवस्थापनमा अपनाएका असल अभ्यास अर्को प्रदेशमा प्रयोग गर्ने तथा अनावश्यक प्रशासनिक खर्च घटाउने विषयमा समेत सहकार्य गरिने सहमति पत्रमा उल्लेख छ ।

राजस्व वृद्धि र डिजिटल प्रणालीमा सहकार्य

दुवै प्रदेशले राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना तथा स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरणमा संयुक्त रूपमा काम गर्नेछन् । वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्धबारे संयुक्त अध्ययन गरिने र एीःद्यक्ष्क्, क्गत्च्ब्, ऋन्ब्क् लगायतका डिजिटल सार्वजनिक वित्तीय प्रणालीको प्रयोग र कर्मचारीलाई तालिम दिने विषयमा पनि सहकार्य हुनेछ । धार्मिक तथा अन्य पर्यटकीय संयुक्त संरचना विकास गरी त्यसबाट प्राप्त हुने राजस्व बाँडफाँटका लागि आवश्यक ढाँचा तयार गर्ने समझदारीसमेत भएको छ ।

रोजगारी र उद्यमशीलतालाई प्राथमिकता

समझदारीले युवा रोजगारी, नवप्रवर्तन, उद्यमशीलता, साना तथा मझौला उद्योग र निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई पनि सहकार्यको प्रमुख क्षेत्रका रूपमा समेटेको छ ।

दुवै प्रदेशले कर्मचारीको क्षमता विकासका लागि संयुक्त तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । बाढी, पहिरो र डुबानजस्ता विपद्का क्षेत्रमा पनि अनुभव आदानप्रदान तथा आपतकालीन समन्वय गर्ने पनि सहमति भएको छ ।

दुवै प्रदेशका मन्त्रीको नेतृत्वमा संयन्त्र

समझदारी कार्यान्वयनका लागि अर्थमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीको नेतृत्वमा उच्चस्तरीय मार्गदर्शक समिति गठन गर्ने र समितिको अध्यक्षता दुवै प्रदेशले पालैपालो गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, दुवै मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक तथा कार्यान्वयन समिति रहने र उक्त समितिमा बजेट वा राजस्व हेर्ने उपसचिवस्तरका एक–एक जना अधिकारीलाई सम्पर्क व्यक्ति तोकिने पनि सहमति भएको छ । ।

संयुक्त कार्यक्रमको खर्च ५०–५० प्रतिशत व्यहोर्ने

संयुक्त रूपमा सञ्चालन हुने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानका कार्यक्रमको खर्च दुवै प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने समझदारी भएको छ । उच्चस्तरीय तथा प्राविधिक बैठक आयोजना गर्ने प्रदेशले व्यवस्थापन खर्च व्यहोर्ने र सहभागी टोलीको भ्रमण भत्ता सम्बन्धित मन्त्रालयले व्यहोर्नु पर्ने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै दुवै प्रदेश बिच भएको समझदारी अन्तर्गत २०८२ कात्तिक १५ गते हेटौँडामा प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्रीहरूले जारी गरेको ‘वित्तीय सङ्घीयता सुदृढीकरणका लागि प्रदेशका आर्थिक मामिला मन्त्रीहरूको साझा प्रतिबद्धता’ लाई समेत मार्गदर्शनका रूपमा आत्मसात् गर्ने उल्लेख छ भने यो समझदारी हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म लागू हुने उल्लेख गरिएको छ ।
सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १० गते

जितपुरसिमरा उपमहानगरपालिका –२२, तीन नम्बर पुलस्थित ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

गएराति २३:०० बजेको समयमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।दुर्घटनामा टाउकोमा चोट लागेका स्कुटर चालक मोरङ, लाङटाङ नगरपालिका –०१ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा राति २३:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्र.ब.ना.नि. प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी टोली उद्धार कार्यमा खटिएका थिए भने ट्रक र चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका –२१ बस्ने अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ । सभार रातोपाटी

आरके श्रीवास्तव,राैतहट,०७ गते असाेज ।
रौतहटको मौलापुरस्थित मौलापुर पार्क होटलमा ‘खेतानको मौसम गोल्ड मसला चिया’को आयोजनामा होलसेल भेटघाट तथा बडा दसैँ, शुभदीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा कटहरियास्थित निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति निरालाका साथै कम्पनीका प्रतिनिधिहरू र स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा मनोरञ्जनात्मक गतिविधिहरूका साथै भाग्यशाली गोलाप्रथा (हातहातमा लक्की ड्र) समेत सञ्चालन गरिएको थियो । लक्की ड्रमार्फत तीन जना विजेताहरूलाई विशेष उपहार स्वरूप क्रमशः राइस कुकर, प्रेसर कुकर र पानी तताउने इलेक्ट्रिकल केतली प्रदान गरिएको थियो ।
यसैगरी, कार्यक्रममा सहभागी प्रत्येक व्यवसायी तथा अतिथिहरूलाई मायाको चिनो स्वरूप ‘मौसम गोल्ड मसला चिया’को एक-एक प्याकेट वितरण गरिएको थियो । भेटघाट कार्यक्रमले व्यवसायीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आगामी चाडपर्वको अवसरमा शुभकामना साटासाट गर्ने वातावरण सिर्जना गरेको आयोजकले जनाएका छन् ।

ढल्केबर, असोज ८ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफैँ छापेर वितरण सुरु गरेको छ। पहिलो चरणमा श्रम तथा यातायात मन्त्रालयले तीन हजार ८१ वटा चालक अनुमतिपत्र छापेर प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालयलाई वितरणका लागि हस्तान्तरण गरेको हो।

श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले पहिलो चरणमा छापिएका चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालय, जनकपुरका प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गर्नुभयो। उहाँले छापिएका चालक अनुमतिपत्र सेवाग्राहीलाई यथाशीघ्र वितरण गर्न निर्देशन दिनुभयो।

मन्त्री थापाले प्रदेश सरकारले अब आफैँ चालक अनुमतिपत्र छापेर वितरण गर्ने व्यवस्था सुरु गरेकाले सेवाग्राहीले लामो समयसम्म लाइसेन्सका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था अन्त्य हुने बताउनुभयो। प्रदेशमै चालक अनुमतिपत्र छपाइको व्यवस्था भएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने उहाँको भनाइ छ।

मधेश प्रदेशमा आठ वटा यातायात व्यवस्था कार्यालय छन्। पहिलो चरणमा वीरगञ्ज यातायात व्यवस्था कार्यालयका लागि एक हजार १७२, जनकपुरका लागि ९३२, लहानका लागि ४६०, बर्दिबासका लागि ३०३, गौरका लागि ११९, राजविराजका लागि ५२, मलङ्गवाका लागि ३२ र कलैयाका लागि ११ वटा चालक अनुमतिपत्र छापिएको यातायात मन्त्रालयले जनाएको छ। गोरखा पत्र

काठमाडौँ । बेलायतको लिंकन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले आफूलाई भित्रैदेखि कमजोर ठान्ने व्यक्तिहरू अरूको अनुहारमा देखिने रिस र घृणाजस्ता नकारात्मक भाव निकै छिटो पहिचान गर्न सक्ने देखाएको छ । बाहिरबाट आफूलाई निकै आत्मविश्वासी वा बहादुर देखाउने व्यक्तिको भित्री आत्ममूल्याङ्कन भने कमजोर हुन सक्ने र त्यस्ता व्यक्तिमा सामाजिक संकेतप्रति बढी संवेदनशीलता देखिन सक्ने अध्ययनले संकेत गरेको हो ।

अनुसन्धान टोलीको नेतृत्व मनोविज्ञानकी प्राध्यापक प्याट्रिसिया कोर्जेनियोव्स्काले गरेकी थिइन् । अध्ययनमा २२५ जना वयस्क सहभागी थिए । उनीहरूलाई सामान्य अनुहार बिस्तारै रिस, घृणा, डर र खुसीका भावमा परिवर्तन हुने छोटा भिडियो देखाइएको थियो । भावनाको तीव्रता हरेक चरणमा केवल दुई प्रतिशतका दरले बढाइएको थियो । सहभागीले अनुहारमा भावना देखिनासाथ सम्बन्धित बटन थिच्नुपर्ने थियो ।

अध्ययनमा अचेतन आत्मसम्मान कम भएका व्यक्तिले रिस र घृणाका भाव निकै हल्का अवस्थामा नै पहिचान गरेको पाइएको थियो । अर्थात्, अरू व्यक्तिको अनुहारमा नकारात्मक भावना पूर्ण रूपमा स्पष्ट हुनुअघि नै उनीहरूले त्यसको संकेत बुझ्न सकेका थिए । अचेतन आत्मसम्मान भन्नाले व्यक्तिले आफूलाई लिएर सचेत रूपमा व्यक्त गर्ने धारणा मात्र नभई मनभित्र रहेका स्वचालित आत्ममूल्याङ्कनलाई जनाउछ ।

अनुसन्धानकर्ताका अनुसार, यस्तो संवेदनशीलता सामाजिक अस्वीकारको सम्भावित संकेतप्रति बढी सतर्कतासँग सम्बन्धित हुन सक्छ। तर अध्ययनले कुनै व्यक्तिले वास्तविक जीवनमा आफूलाई अस्वीकार गरिएको महसुस गर्छ वा गर्दैन भन्ने प्रत्यक्ष रूपमा मापन गरेको भने होइन । अनुसन्धानले मुख्यतः अनुहारका सूक्ष्म भाव पहिचान गर्ने क्षमताको अध्ययन गरेको हो ।

अध्ययनले आत्मसम्मानलाई केवल व्यक्तिले आफूलाई कस्तो ठान्छ भन्ने आधारमा बुझ्न नहुने देखाएको छ । बाहिर व्यक्त गरिएको आत्मविश्वास र अचेतन रूपमा रहेको आत्ममूल्याङ्कनबीच फरक हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, अध्ययनका प्रभावहरू सीमित र सम्बन्धमा आधारित रहेकाले यसकै आधारमा कुनै व्यक्तिको व्यवहार वा मनोवैज्ञानिक अवस्था निर्धारण गर्न नमिल्ने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।