रौतहट,असोज,१६ गते
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
रामअधार यादव, राैतहट,१५ गते असाेज ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री बाबा बैजुनाथ सुगर मिलले आर्थिक वर्ष २०८२/०८३ मा उखु क्रसिङ तथा सञ्चालन गरे पनि उखु बिक्री गरेका किसानहरूले हालसम्म आफ्नो रकम तथा नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत नपाएको विषय प्रतिनिधिसभाको बैठकमा उठाइएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धिरज पटेल (रविन्द्र) ले डुमरियास्थित श्री बाबा बैजुनाथ सुगर मिलमा उखु बिक्री गरेका किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

उखु किसानहरूले उखु चलान गरेको करिब ९–१० महिना बितिसक्दा पनि आफ्नो उत्पादनको रकम नपाएको गुनासो गरेका छन्। उखु नगदे बालीका रूपमा खेती गरिने भए पनि उत्पादन बिक्री गरेपछि समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक समस्यामा परेको उनीहरूको भनाइ छ।किसानहरूका अनुसार उखु चलान गर्ने समयमा सामान्यतः ७ देखि १५ दिनभित्र भुक्तानी गर्ने प्रक्रिया तथा प्रतिबद्धता रहने गरे पनि मिल सञ्चालन पक्षले सोअनुसार नियमित रूपमा रकम भुक्तानी नगरेको गुनासो छ। मिल सञ्चालन पक्षले आफूखुसी ढंगले भुक्तानी गर्दै आएको भन्दै किसानहरूले आपत्ति जनाएका छन्।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा समेत उखुको रकम भुक्तानी नहुँदा किसानहरू थप समस्यामा परेको बताएका छन्। चाडपर्वको समयमा घरायसी खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक खर्च जुटाउनुपर्ने अवस्थामा आफ्नो उत्पादनको रकम नपाउँदा आर्थिक भार बढेको किसानहरूको गुनासो छ।सांसद पटेलले किसानहरूले आफ्नो उत्पादनको रकमसँगै नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत पाउन बाँकी रहेको उल्लेख गर्दै सम्बन्धित उद्योग तथा सरकारी निकायबीच आवश्यक समन्वय गरी किसानले पाउनुपर्ने सम्पूर्ण रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

उखु किसानहरूले आफूहरूले मेहनत गरेर उत्पादन गरेको उखुको रकम लामो समयसम्म रोकिँदा खेतीपाती तथा दैनिक जीवन सञ्चालनमा समेत कठिनाइ भइरहेको बताएका छन्। उनीहरूले चाडपर्वलाई समेत ध्यानमा राख्दै बाँकी रहेको उखुको रकम र सरकारले उपलब्ध गराउने अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलका उखु किसानको भुक्तानीको विषय प्रतिनिधिसभामै उठेपछि लामो समयदेखि रकमको प्रतीक्षामा रहेका किसानहरूले अब आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
गौर नगरपालिका–अन्तर्गत बी.पी. चोकमा सञ्चालित फुलतारा डेरीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा गुणस्तर तथा नापतौल सम्बन्धी निकायको संयुक्त टोलीले छापा मारेको छ।

अनुगमनका क्रममा डेरीले सञ्चालन गर्दै आएको भान्सा तथा होटलमा बिक्रीका लागि राखिएका मिठाईलगायत विभिन्न खाद्य सामग्री गुणस्तरहीन अवस्थामा भेटिएको टोलीले जनाएको छ। त्यस्तै, मिठाई तथा खाद्य सामग्री तयार गर्ने भान्सा अत्यधिक फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको पाइएको बताइएको छ।

खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित निकायले फुलतारा डेरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको जनाइएको छ।टोलीले जरिवानाबापतको रकम एक साताभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना रकम नबुझाए डेरीमा सिलबन्दी गर्ने चेतावनी समेत दिइएको बताइएको छ।

अनुगमन टोलीले खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा व्यवसायीहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
कटहरिया । कटहरिया फिडरअन्तर्गत जलैया पुलदेखि दुधीयाभारसम्मको क्षेत्रमा विद्युत लाइन आसपासका झाडी तथा बुस कटिङ (झाडी सफाइ) गर्ने कार्य हुने भएको छ ।
उक्त कार्यका कारण आज दिउँसो १ बजेदेखि ३:४५ बजेसम्म सो क्षेत्रको विद्युत आपूर्ति अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित अवरोध न्यूनीकरणका लागि बुस कटिङको काम गर्न लागिएको हो । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति पुनः नियमित गरिने जनाइएको छ।
सम्बन्धित क्षेत्रका विद्युत उपभोक्तालाई कार्य अवधिमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् व्यवस्थापनलाई प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार तथा सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए। नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।
त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने मन्त्री तिमिल्सिनाले बताए। विद्युत् अवरुद्ध हुँदा सेवा नरोकिने गरी टावरको ब्याट्री ब्याकअप क्षमता पनि बढाइँदैछ । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ । यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिनेछ ।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, तारयुक्त तथा मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले जानकारी दिए । रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो ।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेमा हेलिकप्टरमार्फत सौर्य प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ भने आवश्यक स्थानमा वैकल्पिक टावरबाट नेटवर्क कायम गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर क्षतिग्रस्त भएकोमा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त मुख्य प्रसारण सेवा हाल माइक्रोवेभ प्रविधिबाट पुनःस्थापना गरिएको उनले जानकारी दिए एभरेष्ट न्यूज एजेन्सी,
सागर संगम ठाकुर, रौतहट — असोज ५
रौतहटको कटहरियाबाट प्रसारण हुँदै आएको बज्जिकाञ्चल एफएम ८९.२ मेगाहर्जप्रति श्रोताको आकर्षण पछिल्लो समय बढ्दै गएको पाइएको छ।
स्थानीय भाषा, समाचार, गीत–संगीत, मनोरञ्जन तथा स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरेपछि एफएमप्रति श्रोताको रुचि बढेको हो।
सोमबार बज्जिकाञ्चल एफएमले सञ्चालन गरेको ‘बज्जिकाञ्चल बहस’ कार्यक्रममा सहभागी श्रोता गन्धिर यादवले प्रविधिको विकाससँगै रेडियो सुन्ने माध्यम परिवर्तन भए पनि एफएमले स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएकाले आफ्नो प्रभाव कायम राख्न सफल भएको बताउनुभयो।

उहाँका अनुसार विगतमा फ्रिक्वेन्सीमार्फत नियमित रेडियो सुन्ने गरे पनि अहिले सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट एफएमका कार्यक्रम सुन्ने क्रम बढेको छ। दैनिक तथा साप्ताहिक रूपमा प्रसारण हुने विविध कार्यक्रमका कारण बज्जिकाञ्चल एफएमप्रति श्रोताको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो। एफएमका सञ्चालक तथा प्रस्तोता आरके श्रीवास्तवका अनुसार एफएमले दैनिक समाचार बुलेटिनसँगै ‘शुभप्रभात भोजपुरिया धमाका’, ‘संगीत सफर’, विद्यार्थी केन्द्रित ‘ब्रेन चेक’, ‘पुरस्कार पाँच सय’, ‘उत्कृष्ट विचार’ र ‘सुनाइ अपन प्रतिभा’ लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
श्रोता यादवले प्रत्येक शुक्रबार सञ्चालन हुने ‘क्युरी स्वाद संवाद’ कार्यक्रमले पुराना तथा नियमित श्रोतासँगको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुगेको बताउनुभयो। स्थानीय भाषा, समाचार, गीत–संगीत, मनोरञ्जन तथा स्थानीय सरोकारका विषयलाई प्राथमिकता दिएकाले एफएमप्रति आफ्नो रुचि बढेको उहाँको भनाइ छ। कार्यक्रममा सहभागी अन्य श्रोताले पनि पछिल्लो समय एफएमको फ्रिक्वेन्सीमार्फत नियमित रूपमा कार्यक्रम सुन्न थालेको बताएका थिए।

स्थानीय समुदायका समस्या, आवाज, सुझाव तथा प्रतिभालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउन एफएमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूको भनाइ थियो। एफएमले श्रोतासँग प्रत्यक्ष संवाद गर्ने ‘क्युरी संवाद’ कार्यक्रममार्फत गाउँ तथा टोलमै पुगेर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलोपटक फतुवा विजयपुर नगरपालिका–१ स्थित गमहरिया चोकबाट कार्यक्रम सुरु गरिएको थियो।
त्यसपछि कटहरिया नगरपालिकाको छेदी चोक र फतुवा विजयपुर नगरपालिका–४ स्थित टेंग्राहामा कार्यक्रम सञ्चालन गरिएको एफएमले जनाएको छ। स्थानीयस्तरमै रेडियो कार्यक्रम सञ्चालन हुँदा आफ्ना समस्या, विचार तथा सुझाव प्रत्यक्ष रूपमा राख्ने अवसर प्राप्त भएको भन्दै स्थानीयले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाएका थिए। श्रोता तथा स्थानीय समुदायसम्म पुग्ने ‘क्युरी स्वाद संवाद’ कार्यक्रमको बिजनेस पार्टनर कटहरियास्थित निराला जनरल स्टोरप्रति श्रोता यादवले आभार व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी श्रोताले क्युरी मसालाको उत्पादन तथा स्थानीय बजारमा यसको उपलब्धताबारे समेत चर्चा गरेका थिए।

कार्यक्रममा सहभागी श्रोताले महिलाको सहभागिता बढाउन महिलाकेन्द्रित रेसिपी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्। एफएम व्यवस्थापनले क्युरी मसालाको प्रायोजनमा महिला सहभागितालाई केन्द्रमा राखेर रेसिपी कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। त्यसैगरी किसानका समस्या, कृषि उत्पादन, आधुनिक कृषि प्रविधि तथा कृषिसम्बन्धी आवश्यक जानकारी समेटिएको छुट्टै कार्यक्रम सञ्चालन गर्न पनि श्रोताले माग गरेका छन्। एफएम व्यवस्थापनले कृषिलगायत विभिन्न विषय केन्द्रित नयाँ कार्यक्रमको तयारी भइरहेको र ती कार्यक्रम छिट्टै प्रसारणमा ल्याइने जनाएको छ।

नेपाल हिन्द रेडियो श्रोता संघका सदस्य जफरुल्लाह अन्सारीसहित विभिन्न श्रोताले एफएमका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले कुनै पनि कार्यक्रम छोटो समयमै बन्द नगरी निरन्तर सञ्चालन गर्न तथा श्रोता र रेडियोबीचको सम्बन्ध अझ मजबुत बनाउन सुझाव दिएका छन्।

त्यस्तै, बिछोडिएका साथीभाइ तथा आफन्तसँग पुनः सम्पर्क स्थापित गर्न सहयोग पुग्ने गरी ‘आफ्नो सन्देश’ जस्ता कार्यक्रम सञ्चालन गर्न पनि श्रोताले एफएमका सञ्चालक श्रीवास्तवलाई सुझाव दिएका थिए।
श्रोताले बज्जिकाञ्चल एफएमले स्थानीय समुदायका समस्या तथा आवाजलाई प्राथमिकताका साथ उठाउँदै आएको भन्दै आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, महिला, युवा तथा स्थानीय सरोकारका विषयलाई थप प्राथमिकता दिन आग्रह गरेका छन्।

कार्यक्रममा यादवले एफएमका प्राविधिक तथा सहकर्मीलाई धन्यवाद दिँदै एफएमप्रति निरन्तर माया, साथ र सहयोग गर्ने सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्नुभयो। एफएम परिवारले पनि आगामी दिनमा थप नयाँ तथा श्रोतामैत्री कार्यक्रम सञ्चालन गर्दै गाउँ–गाउँसम्म पुग्ने प्रतिबद्धता जनाएको छ।
राजेश निर्माणी, रौतहट, असोज ६
रौतहटको माधवनारायण नगरपालिका–१ दिपहीका शम्भु पासवानको खेतमा काम गर्ने क्रममा मृत्यु भएको छ। युरिया मल तथा विषादी छर्ने क्रममा खेतमा बेहोस भएर ढलेका पासवानको उपचारका क्रममा मृत्यु भएको परिवारले जनाएको छ।
विपन्न दलित परिवारका पासवान स्थानीय चन्देश्वर राय यादवको खेतमा काम गर्न गएको परिवारको भनाइ छ। काम गर्ने क्रममा उनी अचानक खेतमै ढलेर बेहोस भएको र तत्काल उद्धार तथा उपचार नगरिएका कारण उनको मृत्यु भएको परिवारले आरोप लगाएको छ।
परिवारका अनुसार घरमा कोही नभएको मौका छोपी यादव र उनका भाइ बिन्देश्वर राय यादवले पासवानलाई आफ्नो खेतमा काम गर्न लगेका थिए। खेतमा मल तथा विषादी छर्ने क्रममा उनी गम्भीर अवस्थामा ढलेपछि दुवै जनाले तत्काल उद्धार नगरी घटनास्थलमै छाडेर हिँडेको परिवारको आरोप छ।
पछि स्थानीयवासीले खेतमा पासवानलाई ढलिरहेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए। त्यसपछि परिवारजन घटनास्थल पुगेर उनलाई एम्बुलेन्समार्फत उपचारका लागि शिवनगरस्थित आनन्द पोलिक्लिनिक पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्जस्थित तराई हस्पिटल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको परिवारले जनाएको छ।
पासवानको मृत्यु भएपछि उनका दुई छोरा र एक छोरीसहितको परिवार संकटमा परेको छ। परिवारका अनुसार उनी नै घरको मुख्य कमाउने व्यक्ति थिए। उनीहरूको नाममा दुई धुर घडेरी र त्यसमा बनेको फुसको छाप्रोबाहेक अन्य सम्पत्ति नरहेको बताइएको छ।
घटनापछि परिवारले निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न माग गरेको छ। साथै घटनामा कसैको लापरवाही वा कमजोरी देखिए कानुनबमोजिम कारबाही गर्न र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले माग गरेका छन्।
महाजन भन्छन्– ‘आरोप गलत र निराधार हो’
यता, घटनाबारे यादवको धारणा लिन सञ्चारकर्मीको टोली उनको निवास पुगेको थियो। सञ्चारकर्मीहरूले घटनाबारे भिडियोमार्फत आफ्नो धारणा राख्न आग्रह गरे पनि यादवले क्यामेरामा बोल्न अस्वीकार गरे।
यद्यपि अनौपचारिक कुराकानीमा यादवले आफूमाथि लगाइएको आरोप गलत र निराधार भएको दाबी गरे। उनका अनुसार पासवान लामो समयदेखि आफूअन्तर्गत कृषि मजदुरका रूपमा काम गर्दै आएका थिए।
यादवले पासवानलाई पाँच कठ्ठा खेतमा काम गर्न दिएको र त्यहाँको उब्जनी दुवै पक्षले उपभोग गर्ने गरी सहमति भएको दाबी गरे।
उनका अनुसार पासवानले खेतमा युरिया मल छरिसकेपछि नजिकैको पैनीमा नुहाउने भन्दै बसेका थिए। आफू भने घर फर्किएको र पछि बाटोमा रिँगटा लागेर रुखमुनि सुतेको अवस्थामा एक स्थानीयले देखेर खबर गरेपछि आफु घटनास्थल पुगेको यादवको भनाइ छ।
महाजन यादवले पासवानलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको र केही समयअघि पक्षघातसमेत भएको यादवले दाबी गरे। त्यसको उपचार आफूले गराइदिएको उनको भनाइ छ।
केही समयदेखि उनी उच्च रक्तचापको औषधि खान छाडेका कारण उनलाई हृदयघात भएको हुन सक्ने यादवको दाबी छ। उनले आफूहरूले नै एम्बुलेन्स बोलाएर सुरुमा उपचारका लागि आनन्द पोलि क्लिनिक शिवनगरमा पठाएको बताउँदै घटनामा आफ्नो कुनै लापरवाही नभएको दाबी गरे।
घटनाको वास्तविक कारण भने सम्बन्धित निकायबाट हुने अनुसन्धान र चिकित्सकीय परीक्षणबाट स्पष्ट हुने देखिन्छ।
प्रेमचन्द्र झा, अशोज०५ गते
रौतहट। फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसला सर्वोच्च अदालतबाट पनि उल्टिन सकेन। विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। त्यस फैसलाविरुद्ध यादवले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सर्वोच्च अदालतको असोज ५ गतेको दैनिक पेसी विवरणमा उक्त पुनरावेदनको आदेशको किसिम “पुनरावेदन जिकिर नपुगेको” उल्लेख छ। यसको अर्थ पुनरावेदनमा उठाइएका आधारबाट विशेष अदालतको फैसला परिवर्तन गर्न पर्याप्त आधार नदेखिएको भन्ने हो।
यो मुद्दाको सुरुआत फतुवा विजयपुर र गुजरा नगरपालिका भएर बग्ने लालबकैया नदीबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननको ठेक्का प्रक्रियाबाट भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा नदीजन्य पदार्थको ठेक्का प्रक्रियामा कानुन र निर्धारित निर्णयअनुसार काम नभएको तथा ठेक्का रद्द गर्दा स्थानीय तहलाई आर्थिक हानि–नोक्सानी पुगेको दाबी गरेको थियो। अख्तियारले २०७९ असार १२ गते यादवसहित २१ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले त्यसबेला १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो मागदाबी गरेको थियो।
अख्तियारका अनुसार लालबकैया नदीको आन्तरिक आय व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय समितिको रोहवरमा भएको निर्णयअनुसार फतुवा विजयपुर र गुजरा नगरपालिकाले संयुक्त रूपमा ढुंगा, गिट्टी तथा बालुवाको ठेक्का लगाउने र त्यसबाट प्राप्त आम्दानीमध्ये फतुवा विजयपुरले ६० प्रतिशत तथा गुजरा नगरपालिकाले ४० प्रतिशत पाउने व्यवस्था गरिएको थियो। तर उक्त ठेक्का प्रक्रिया अघि बढाउने क्रममा कानुनी प्रक्रिया पालना नभएको र ठेक्का रद्द गर्दा नगरपालिकालाई आर्थिक क्षति पुगेको अख्तियारको अभियोग थियो।
अख्तियारले यादवसँगै तत्कालीन उपप्रमुख, वडाध्यक्षहरू, नगर कार्यपालिका सदस्य तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायत २१ जनालाई प्रतिवादी बनाएको थियो। अभियोगपत्रमा २०७५ पुस १५ गतेको निर्णय कार्यान्वयन नगरिएको, बोलपत्रदाताको धरौटी जफत गर्नुपर्ने मुद्दाको सुनुवाइ गर्दै विशेष अदालत काठमाडौंले २०८० असोज १७ गते गोपाल राय यादवलाई मात्र दोषी ठहर गरेको थियो। सो मुद्दामा प्रतिवादी बनाइएका अन्य २० जनाले सफाइ पाएका थिए। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको संयुक्त इजलासले यादवलाई कसुरदार ठहर गरेको थियो।
दोषी ठहर भएको एक सातापछि विशेष अदालतले २०८० असोज २४ गते सजाय निर्धारण गर्दै यादवलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त सजाय लालबकैया नदीको ठेक्का प्रकरणमा नगरपालिकालाई आर्थिक हानि–नोक्सानी पुर्याएको कसुरसँग सम्बन्धित थियो।
विशेष अदालतको फैसलापछि यादवले त्यसविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। पुनरावेदनमा विशेष अदालतको फैसला बदर हुनुपर्ने जिकिर गरिएको थियो। तर सर्वोच्च अदालतको असोज ५ गतेको दैनिक पेसी विवरणमा सो पुनरावेदनको आदेशको किसिम “पुनरावेदन जिकिर नपुगेको” उल्लेख भएपछि विशेष अदालतको फैसलालाई चुनौती दिँदै गरिएको पुनरावेदनबाट यादवले राहत पाउन नसकेको देखिन्छ।
यहाँ “पुनरावेदन जिकिर नपुगेको” भन्ने शब्दावलीको कानुनी अर्थ पनि महत्वपूर्ण छ। यसले पुनरावेदनमा प्रस्तुत गरिएको दाबी, तर्क वा प्रमाणले तल्लो अदालतको फैसला परिवर्तन गर्न पुग्ने पर्याप्त कानुनी आधार नदेखिएको जनाउँछ। त्यसैले सर्वोच्चको उक्त आदेशपछि विशेष अदालतले गरेको दोषी ठहर तथा सजायसम्बन्धी फैसला कायम रहने अवस्था बनेको छ।
मुद्दाको अर्को महत्वपूर्ण पक्ष के हो भने अख्तियारले २१ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाए पनि विशेष अदालतको फैसलामा यादवबाहेक अन्य प्रतिवादीले सफाइ पाएका थिए। यसले मुद्दाको सम्पूर्ण प्रशासनिक तथा राजनीतिक जिम्मेवारी एकै ढंगले सबै प्रतिवादीमाथि स्थापित नभई अदालतले यादवको भूमिकालाई । मात्र कसुरसँग जोडेर दोषी ठहर गरेको देखाउँछ।
लालबकैया नदीको ठेक्का विवाद केवल एउटा ठेक्का रद्द भएको विषयमा सीमित थिएन। यसको केन्द्रमा सार्वजनिक स्रोतबाट स्थानीय तहले प्राप्त गर्नुपर्ने राजस्व, ठेक्का व्यवस्थापनमा अपनाउनुपर्ने कानुनी प्रक्रिया र निर्वाचित जनप्रतिनिधिले निर्णय गर्दा पालना गर्नुपर्ने सार्वजनिक जवाफदेहिताको प्रश्न जोडिएको थियो। अख्तियारको आरोपअनुसार निर्धारित प्रक्रिया र निर्णय कार्यान्वयन नभएका कारण स्थानीय तहलाई आर्थिक क्षति पुगेको थियो।
यस मुद्दाको फैसलाले फतुवा विजयपुर नगरपालिकाको नेतृत्वमाथि पनि कानुनी प्रश्न खडा । गरेको छ। नगरपालिकाको आधिकारिक वेबसाइटमा हाल पनि गोपाल राय यादव नगर प्रमुख र अम्बेया खातुनलाई कार्यवाहक नगर प्रमुखका रूपमा उल्लेख गरिएको छ।
तर सर्वोच्चको पछिल्लो आदेशसँगै अब बहस केवल राजनीतिक रूपमा यादवको भविष्य के हुन्छ भन्नेमा मात्र सीमित रहने छैन। विशेष अदालतको दोषी ठहर, तीन वर्षको कैद र १५ लाख रुपैयाँ जरिवानाविरुद्ध गरिएको पुनरावेदनमा सर्वोच्चबाट “पुनरावेदन जिकिर नपुगेको” आदेश आएपछि विशेष अदालतको फैसलाको कानुनी हैसियत र त्यसपछि लागू हुने प्रक्रिया नै मुख्य विषय बनेको छ।
लालबकैया नदीको एउटा ठेक्का प्रक्रियाबाट सुरु भएको यो विवाद अख्तियारको अनुसन्धान, २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, विशेष अदालतबाट एक जनामाथि मात्र कसुर कायम, तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना तथा त्यसपछि सर्वोच्च अदालतसम्म पुगेको पुनरावेदन हुँदै अहिले अर्को महत्वपूर्ण चरणमा पुगेको छ। सार्वजनिक पदमा रहेका जनप्रतिनिधिको निर्णय, सार्वजनिक सम्पत्तिको संरक्षण र स्थानीय तहको आर्थिक प्रशासनमा कानुनी प्रक्रिया कति निर्णायक हुन्छ भन्ने प्रश्न पनि यो मुद्दाले पुनः सतहमा ल्याएको छ।
रामअधार यादव, रौतहट, भादौ, २१ चैत गते
रौतहट । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेकपा दुर्गा भगवती गाउँपालिका कमिटीको संयुक्त अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ। गाउँपालिका कमिटीका पूर्वसंयोजक हरिशंकर नाथ झाको अध्यक्षतामा बसेको बैठकले बाढीपीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गर्ने निर्णय गरेको हो।

बैठकमा नेकपाका केन्द्रीय सदस्य रेमान्त झा प्रमुख अतिथि, गाउँपालिका अध्यक्ष शम्भू सिंह लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकका क्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले रसुवा बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए। साथै बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको थियो।

राहत संकलन अभियानअन्तर्गत रेमान्त झा लगायत २७ जना नेता तथा कार्यकर्ताले नगद तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्। सहयोग गर्नेहरूमध्ये रेमनत झा ११ हजार, शम्भू सिंहले ११ बोरा चामल र ५ हजार ५ सय रुपैयाँ, शीला देवीले २ बोरा चामल र ५ हजार १ सय रुपैयाँ, डीके झाले ५ हजार १ सय रुपैयाँ, रामानन्द यादवले ५ हजार १ सय रुपैयाँ, शकुन्तला देवीले १ बोरा चामल र १ हजार रुपैयाँ तथा परमानन्द चौधरीले १ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।

बैठकमा सहभागी अन्य नेता तथा कार्यकर्ताहरूले पनि आफ्नो क्षमता अनुसार नगद तथा खाद्यान्न सामग्री सहयोग गरेका छन्। संकलित राहत सामग्री तथा रकम रसुवा बाढीपीडित परिवारसम्म पुर्याउने जनाइएको छ।
ओम प्रकाश यादव लहान, भदौ १९ ।
रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरीको खडक नगरपालिकाले पीडित परिवारको साथमा उभिँदै १२ लाख रुपैयाँ राहत तथा सहयोग गर्ने निर्णय गरेको छ। नगर प्रमुख जयप्रकाश चौधरीको विशेष पहलमा बसेको नगर कार्यपालिकाको बैठकले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ३ लाख रुपैयाँ जम्मा गर्नुका साथै खडक नगरपालिकाका प्रभावित ९ परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
नगरपालिकाको निर्णयअनुसार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने ३ लाख रुपैयाँ नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले योगदान गर्नेछन्। यससँगै खडक नगरपालिकाका ९ जना नागरिक रसुवा बाढीबाट प्रभावित भएको विवरणका आधारमा उनीहरूका परिवारलाई विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ। यसरी नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३ लाख र पीडित परिवारका लागि ९ लाख गरी कुल १२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

रसुवामा रोजगारीका लागि पुगेका खडक नगरपालिकाका नागरिकहरू आकस्मिक रूपमा आएको भीषण बाढीको चपेटामा परेका हुन्। नगरपालिकाका अनुसार प्रभावित ९ जनामध्ये चार जना त्रिशूली हाइड्रोपावर–३ ए मा लेबरका रूपमा काम गर्दै आएका थिए।
त्यस्तै, अनिल चौधरी एकाउन्टको काममा रहेको तथा अन्य दुई जना ड्राइभरका रूपमा कार्यरत रहेको जनाइएको छ। एक जना महिला भने त्रिशूली बजारमा डेरा लिएर बस्दै आएकी थिइन्। बाढीका क्रममा उनका श्रीमान् भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ।
बाढीमा परी खडक नगरपालिका–५ निवासी सन्तोष चौधरीको मृत्यु भएको पुष्टि भएपछि उनको शव घर ल्याई अन्त्येष्टि समेत गरिसकिएको नगरपालिकाले जनाएको छ। बाँकी प्रभावित परिवारहरू अझै आफन्तको अवस्था, क्षति र भविष्यको चिन्तामा रहेका छन्।

नगर प्रमुख जयप्रकाश चौधरीले प्राकृतिक विपत्तिले नागरिकको घरमा पुर्या्एको पीडा केवल सम्बन्धित परिवारको मात्रै नभई स्थानीय सरकारको पनि पीडा भएको बताएका छन्। विपद्का बेला पीडित परिवारलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै चौधरीले नगरपालिकाले आफ्नो क्षमताअनुसार पीडित परिवारलाई सहयोग गर्ने नीति लिएको बताए।
नगर प्रमुख चौधरीको पहलमा गरिएको यो निर्णयले स्थानीय सरकार केवल विकास निर्माणमा मात्र नभई नागरिकको दुःख–पीडामा समेत प्रत्यक्ष रूपमा साथ दिन सक्छ भन्ने सन्देश दिएको नगरपालिकाका जनप्रतिनिधिहरूको भनाइ छ।

खडक नगरपालिकाले गरेको निर्णयअनुसार बाढीबाट प्रभावित ९ परिवारलाई जनही १ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यसका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट ९ लाख रुपैयाँ खर्च गरिनेछ।यसका अतिरिक्त राष्ट्रिय विपद्को समयमा राज्यको राहत अभियानमा सहयोग पुर्यावउने उद्देश्यले ३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
नगरपालिकाले राहत वितरण प्रक्रियालाई आवश्यक कागजी प्रक्रिया पूरा गरी अगाडि बढाउने तयारी गरेको जनाएको छ। रसुवा बाढीले पुर्यािएको मानवीय क्षतिबाट शोकमा रहेका परिवारका लागि यो राहत तत्काल ठूलो आर्थिक समाधान नभए पनि स्थानीय सरकार पीडितको दुःखमा साथमा रहेको अनुभूति गराउने प्रयासका रूपमा हेरिएको छ।