काठमाडौं । नव गठित सरकारका मन्त्रीहरूलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा संचारकर्मीहरूसँग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौंसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गरे। ‘सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ। सम्मानै थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ। जनता विपद्को सामना गरिरहनु भएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ,’ उनले भने।
महरले नयाँ सरकारलाई हिजोका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन्। जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस-एमालेले काम गर्नुपर्ने उनको धारणा छ।
‘नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौता अनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ’, उनले भने, ‘युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ पनि सरकार जिम्मेवार हुनुपर्छ।’ दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आसा जागेको र जनअपेक्षा अनुसार काम गर्न नसकेमा कांग्रेस-एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने उनको चिन्ता छ।
देश पुरै बाढीपहिरोबाट प्रभावित छ । कयौं जनताले ज्यान गुमाउनु परेको र हजारौं बिस्थापितभएको संवेदनशील अवस्थामा सरकार पुर्ण रुपले जनताको राहत तथा उद्धार कार्यमा केटाकेटी केन्द्रित हुनुपर्ने उनले बताए।
सिमलताल पहिरोमा पुरिएका दुई बस र कयौं यात्रु अझैँ बेपत्ता रहेकोमा सरकारको सम्पूर्ण शक्ति खोजीमा केन्द्रित हुनुपर्छ। ‘आत्मियजन गुमाउनेहरूको मानसिक अवस्था कस्तो भएको होला? सरकार उनीहरूको आँगनसम्म पुग्न सक्नुपर्छ। बेपत्ताहरू फेला नपर्दा उहाँहरूका परिवारको सामान्य दैनिकीसमेत प्रभावित बनेको छ। सरकारले खोजीकार्यसँगै उहाँहरूको गास र बासको प्रबन्ध गरिदिनुपर्छ,’ उनले भने।
सरकारमात्र नभएर राजनीतिकदलहरूले पनि आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउनुपर्ने बताएका छन्। दलहरूको सिद्धान्त पनि राजनीतिलाई जनतासँग जोड्नु भएकाले त्यसबाट विमुख हुननहुने महरको धारणा छ।न्युज कारखाना
काठमाडौँ । निर्माणाधिन संसद भवनको ढिलाइबारे सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।
साउन २ गते अपरान्ह ४ बजे पूर्व जानकारी बिना (आकस्मिक) सभामुख निर्माणाधिन संसद भवन पुग्दा कामदारको संख्या न्यून रहेको र पाँचौ पटक संसद भवनको निरीक्षण गर्न पुगेका सभामुखले निर्माण प्रगतिबारे सन्तुष्ट हुन नसकिएको प्रतिक्रिया दिएका थिए ।
तीन सिफ्टमा काम गर्ने भनिएको डेढ वर्ष पुग्दा पनि एक सिफ्टमै काम भइरहेको पाइयो। ८२ प्रतिशत निर्माण प्रगति भनिए पनि संरचनाले त्यस्तो पुष्टि गर्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ । कोभिडका कारण निर्माण समयमा पूरा गर्न नसकिएको बताउने निर्माण पक्ष र हाम्रो सरकारी संयन्त्र पछिल्ला २ वर्ष पनि उही कारण देखाउने अवस्थामा छ ।
यस बिषयमा बुझ्न सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारमा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव, भवनका महानिर्देशक र संसद भवन निर्माण आयोजना प्रमुखसहितका उच्च अधिकारीलाई बोलाएका छन् ।न्युज कारखाना
काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्बजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।
उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।
रानाले दुताबासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् ।
उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो । उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धि नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।
विभिन्न सञ्चारमाध्यममा उनले आफुले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उनको यो प्रतिक्रिया प्रयाप्त हुने देखिदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ ।
उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिदै यो गम्भीर विषय भएको बताएका छन् । उपसभामुख संबैधानिक परिषदको सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ । न्युज कारखाना
गाैर,३ गते साउन । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष पदमा २ जनाको उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ। नया कार्य समितिको लागि हुने जिल्ला कार्य समितिको चयनको लागि मंगलवार भएको मनोयन पत्र दर्तामा बिभिन्न पदमा १५ जनाको उम्मेदवारी परेकोमा अध्यक्ष पदमा मनोनयन पत्र राघो राय यादवले बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदमा २ जना बीच प्रतिस्पर्धा हुने भएको हो। अध्यक्ष १, उपाध्यक्ष १, सचिब १, कोषाध्यक्ष १, सदस्य ५र पार्शद ३ गरी १२ पदको लागि १५ जनाले उम्मेदवारी दिएकोमा उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्शद गरी १० जना निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत अधिबक्ता मोह्म्मद मजरूल हकले जानकारी दिएका छन्। अध्यक्ष पदमा २ र सचिव पदमा २ जनाको उम्मेदवारी परेकोले दुवै पदमा निर्वाचन हुने उहाले बताए। अध्यक्ष पदमा अधिबक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र राघो राय यादव उम्मेदवारी दिएका पनि राघो राय यादवले आफ्नो उम्मेदवारी फर्ता लिएका छन् भने सचिब पदमा अधिबक्ता हरिशचन्द्र पंडित र सोनेलाल पासवानको उम्मेदवारी कायम नै रहेका छन्। ६२ जना मतदाता रहेको रौतहट बारको मतदान साउन ५ गते हुने निर्वाचन समितिले जनाएको छ। उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य र पार्शदमा एक एक जनाको उम्मेदवारी परेकोले सो पदमा निर्बिरोध भएको हो।
जनकपुरधाम । मधेस प्रदेशमा सरकार विस्तार गर्ने विषयमा सहमति भएको छ । मुख्यमन्त्री शतिसकुमार सिंहले अर्थमन्त्रालय कांग्रेसलाई दिन सहमत भएपछि सरकार विस्तारको सहमति भएको हो ।
कांग्रेसले अर्थमन्त्रालय नदिएमा सरकार छोड्ने धम्की दिएपछि सरकार विस्तार हुन सकेको थिएन । अब नयाँ सहमति अनुसार कांग्रेसले अर्थमन्त्रालयसहित कृषि, उर्जा र श्रम मन्त्रालय पाउने भएको छ ।
कांग्रेसबाट सांसद सुनिल यादव अर्थमन्त्री बन्ने भएका छन् । यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री बन्ने भएका छन् ।
कांग्रेसका चार मन्त्रीले आजै साँझसम्म शपथ लिने बताइएको छ ।न्युज कारखाना
काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि चिनियाँ राजदुत चेन सोंगले भेटवार्ता गरेका छन् ।
विहिबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा शहरी विकासको क्षेत्रमा सहयोगको विषयमा छलफल भएको राजदुत सोंगले बताएका छन् ।न्युज कारखाना
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार शीतलनिवासमा आयोजित समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ खुवाएका हुन् ।
बडाललाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त गरेका थिए । शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो ।
यसअघिका महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले सरकार परिवर्तन भएसँगै राजीनामा दिएका थिए ।
बडाल यसअघि ओली प्रधानमन्त्री हुँदा २०७७ चैत ६ गते पहिलोपटक महान्यायाधिवक्ता नियुक्त भएका थिए ।न्युज कारखाना
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को टोलीले नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटघाट गरेको छ ।
एनआरएनएका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोको नेतृत्वमा भएको टोलीले मन्त्री राणाको सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिएको थियो ।
विहीबार काठमाडौंमा भएको भेटमा संघका अध्यक्ष डा. बद्री केसीले परराष्ट्रमन्त्री समक्ष एनआरएन अभियानका समसामयीक महत्त्वपूर्ण विषयबारे जानकारी गराएका थिए ।
मन्त्री राणाले एनआरएन अभियानसँग जोडिएर मुलुकको समृद्धिका लागि रचनात्मक सहकार्य गर्ने वचनवद्धता व्यक्त गरेकी थिइन् ।
भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान, अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिले देशको अवस्था राम्रो र प्रशंसा गर्न लायक नभएको बताएका हुन्।
ओलीले देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको धारणा राखे। ‘देश समस्यामा रहेको छ, देशको अवस्था राम्रो छैन र प्रशंसा गर्न लायक छैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इतिहास प्रशंसा गर्न लायक छ। देशको इतिहास राम्रो छ । गौरवपूर्ण इतिहास छ । भविष्य राम्रो छ । त्यसमा कुनै सन्देश छैन तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्था बदल्नुपर्छ ।’
इन्जिनियरले राखेको मार्मिक माग र सरकारको तर्फबाट पाउन राखेको आकांक्षा राम्रो रहेकाले पूरा गर्न सरकार लागि पर्ने ओलीले बताए ।न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्बाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन आइतबार नै प्रधानमन्त्री ओलीले संसद्बाट देशवासीलाई सम्बोधन गर्ने तयारी समेत गरेका छन् ।
संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ । ओली कांग्रेसको ८८ र एमालेको ७८ सांसद गरी कुल १६६ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । अहिले कांग्रेस र एमाले बाहेक ७ सांसद रहेको जसपा र ४ सांसद रहेको लोसपा सरकारमा गइसकेको छ । यसरी अहिले ओलीसँग १७७ मत सुरक्षित रहेको छ । अब दुई तिहाई मत पुर्याउन ओलीलाई थप ७ सिट आवश्यक पर्दछ ।
अहिले ओलीलाई सरकारमा गएका बाहेक उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले विश्वासको मत दिने सम्भावना रहेको छ । उपेन्द्र यादवले समाजवादी मोर्चाबाट दूरी बढाएर सरकारलाई समर्थन गर्ने र सत्तामा जाने संकेत गरेका छन् । तर उपेन्द्र यादवको सरकारलाई सर्मथन गर्ने प्रमुख शर्त मधेश प्रदेशको सरकार हुने देखिएको छ ।
मधेशमा अहिले जनमत नेतृत्वको सरकार छ जसलाई कांग्रेस-एमालेले समर्थन गरिरहेका छन् । तर मधेश सरकारको नेतृत्वसँग खासगरी धेरै सिट भएको कांग्रेस खुशी देखिएको छैन । यसको फाइदा उठाएर उपेन्द्र यादवले केन्द्रमा सरकारलाई समर्थन गर्ने विषयमा छलफल गरिरहेका छन् । जसपा नेपालका ५ सांसद रहेका छन् ।
त्यस्तै जनमत पार्टीले पनि मधेशमा आफ्नो नेतृत्वको सरकार जोगिने शर्तमा केन्द्रमा सरकारलाई विश्वासको मत दिने गरि छलफल अगाडी बढाएको छ । जनमतको प्रतिनिधि सभामा ६ सांसद रहेका छन् । त्यस्तै ४ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा मुछिएको अवस्थामा ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने तयारीमा रहेको छ तर नाउपाको विवादले यसको स्पष्ट निर्णय भने अहिलेसम्म बाहिर आएको छैन । नाउपाले पनि विश्वासको मत दिएमा ओलीको पक्षमा दुई तिहाई भन्दा बढी १९२ मत हुन जान्छ ।
यी बाहेक दुई स्वतन्त्र सांसद योगेन्द्र मण्डल र डा अमरेशकुमार सिंहले पनि ओलीलाई विश्वासको मत दिने सम्भावना रहेको छ । मण्डल एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेका एमालेकै नेता हुन् । दुई स्वन्तन्त्र सांसदले मत दिएमा ओलीको पक्षमा १९४ मत हुन जान्छ ।
यो बाहेक १४ सिट रहेको राप्रपाले पनि ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा छलफलमा रहेको छ । राप्रपाले अहिलेसम्म ओली नेतृत्वको सरकारलाई नकारात्मक टिप्पणी गरेको छैन । काँग्रेस- एमालेसँग सहमति भएपछि शुरुमै स्वागत गरेको राप्रपाले पनि विश्वासको मत दिएमा ओलीले संसदमा २०० भन्दा बढी मत प्राप्त गर्ने सम्भावना रहेको छ ।
त्यस्तै संसदमा रहेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले भने सरकारलाई विश्वासको मत नदिने र प्रतिपक्षमा बस्ने निश्चित प्राय: रहेको छ । तीन दलको गरि प्रतिनिधिसभामा ६३ मत रहेको छ ।
त्यसैगरी एक एक सांसद रहेका नेपाल मजदुर किसान पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चाले ओलीको विपक्षमा मतदान गर्ने सम्भावना छ । यसरी हेर्दा ओलीले लिने विश्वासको मतको विपक्षमा ६६ मत पर्ने देखिन्छ ।न्युज कारखाना