रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो ।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई खोजी गरिरहेको थियो । उनलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बालिका सकुशल उद्धार भइसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय, बुटवलबाट भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । च्याटजिपिटी निर्माण गर्ने कम्पनी ओपनएआईका सुरक्षा विज्ञ डेभिड रोबिन्सनले राजीनामा दिएका छन् । उनले ठूला प्रविधि कम्पनीहरू नयाँ कृत्रिम बुद्धिमत्ता विकास गर्ने होडमा अत्यधिक छिटो अघि बढिरहेको र त्यस क्रममा यसबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिमलाई बेवास्ता गरिरहेको चेतावनी दिएका छन् ।
अमेरिकाको द एटलान्टिक पत्रिकामा लेख प्रकाशित गर्दै रोबिन्सनले कृत्रिम बुद्धिमत्तालाई सामान्य विद्युतीय कार्यक्रमजस्तो नभई आणविक ऊर्जा केन्द्रजस्तै कडा सुरक्षा व्यवस्थासहित सञ्चालन गर्नुपर्ने बताएका छन् । आणविक ऊर्जा केन्द्रमा एउटा गल्तीले ठूलो क्षति हुन सक्ने भएकाले हरेक काम निकै सावधानीपूर्वक गरिएझैं कृत्रिम बुद्धिमत्ताको विकास र प्रयोगमा पनि सुरुदेखि नै उच्चतम सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।
रोबिन्सनका अनुसार ओपनएआईले अहिलेसम्म गल्ती गर्दै त्यसबाट सिक्ने शैलीमा काम गर्दै आएको छ । सामान्य विद्युतीय कार्यक्रमका लागि यस्तो विधि उपयोगी हुन सक्ने भए पनि कृत्रिम बुद्धिमत्ता अहिले निकै शक्तिशाली भइसकेकाले यसको परीक्षणका क्रममा हुने गल्तीको परिणाम निकै ठूलो हुन सक्ने उनले बताए । परीक्षणकै क्रममा केही पटक कम्पनीको कृत्रिम बुद्धिमत्ता नियन्त्रणबाहिर गएको र त्यसलाई तत्काल रोक्न नसकिएको अनुभवसमेत उनले उल्लेख गरेका छन् । उनले अहिले कृत्रिम बुद्धिमत्ता कम्पनीहरूसँग यसलाई पूर्ण रूपमा सुरक्षित बनाउने निश्चित उपायसमेत नभएको दाबी गरेका छन् । कम्पनीबाहिर रहेका अनुसन्धानकर्ता र विज्ञहरूसँग भने सम्भावित समाधानबारे महत्वपूर्ण अनुसन्धान रहेको उनको भनाइ छ । ओपनएआईमा काम गर्ने कर्मचारीहरू दक्ष र मेहनती भए पनि कम्पनीको मुख्य ध्यान सुरक्षा भन्दा नयाँ सुविधा छिटो सार्वजनिक गर्ने प्रतिस्पर्धातर्फ गएको उनले आरोप लगाएका छन् ।
पछिल्ला साताहरूमा ओपनएआईसहित विभिन्न ठूला कृत्रिम बुद्धिमत्ता कम्पनीका कर्मचारी तथा अनुसन्धानकर्ताले यस प्रविधिबाट भविष्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने चेतावनी दिँदै आएका छन् । कृत्रिम बुद्धिमत्ताका प्रमुख वैज्ञानिकमध्येका नोबेल पुरस्कार विजेता जेफ्री हिन्टनले समेत समयमै नियन्त्रण गर्न नसके यस प्रविधिले मानव अस्तित्वमै खतरा निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
रौतहट,असोज,१६ गते
काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुलाई परेको छ । उनलाई १० लाख रुपैयाँको बम्पर पुरस्कार परेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको उपहार घोषणा गरेका हुन् ।
साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो । पुरस्कारबारे जानकारी दिन आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उनलाई तत्काल फोन गरेर बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद खरिदमा बिल लिएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए । त्यसमध्ये नगद कारोबारबाट बिल लिएका २ लाख ४७ हजार ९७९ र अनलाइन तथा कार्डबाट भुक्तानी गरी खरिद गरिएका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार थिए ।
कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेता पनि छनोट गरिएको विभागले जनाएको छ । ती विजेताको कुपनसम्बन्धी विवरण सार्वजनिक गरिएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । उदयपुर र बाँकेमा महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
उदयपुरको कटारी नगरपालिका–५ लालपुरका ३५ वर्षीय समिर मगरलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित पक्षबाट उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।
त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–३का ३८ वर्षीय मानबहादुर कामीलाई २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार राति पक्राउ गरिएको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले कामीलाई पक्राउ गरेको हो । दुवै घटनामा पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
झापा । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोकेश कुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
लोकेश कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
विहिबार बिहान १० बजे दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय जिप चालक कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा चालकसहित तीन जना सवार थिए । घाइते दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
रामअधार यादव, राैतहट,१५ गते असाेज ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री बाबा बैजुनाथ सुगर मिलले आर्थिक वर्ष २०८२/०८३ मा उखु क्रसिङ तथा सञ्चालन गरे पनि उखु बिक्री गरेका किसानहरूले हालसम्म आफ्नो रकम तथा नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत नपाएको विषय प्रतिनिधिसभाको बैठकमा उठाइएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धिरज पटेल (रविन्द्र) ले डुमरियास्थित श्री बाबा बैजुनाथ सुगर मिलमा उखु बिक्री गरेका किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

उखु किसानहरूले उखु चलान गरेको करिब ९–१० महिना बितिसक्दा पनि आफ्नो उत्पादनको रकम नपाएको गुनासो गरेका छन्। उखु नगदे बालीका रूपमा खेती गरिने भए पनि उत्पादन बिक्री गरेपछि समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक समस्यामा परेको उनीहरूको भनाइ छ।किसानहरूका अनुसार उखु चलान गर्ने समयमा सामान्यतः ७ देखि १५ दिनभित्र भुक्तानी गर्ने प्रक्रिया तथा प्रतिबद्धता रहने गरे पनि मिल सञ्चालन पक्षले सोअनुसार नियमित रूपमा रकम भुक्तानी नगरेको गुनासो छ। मिल सञ्चालन पक्षले आफूखुसी ढंगले भुक्तानी गर्दै आएको भन्दै किसानहरूले आपत्ति जनाएका छन्।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा समेत उखुको रकम भुक्तानी नहुँदा किसानहरू थप समस्यामा परेको बताएका छन्। चाडपर्वको समयमा घरायसी खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक खर्च जुटाउनुपर्ने अवस्थामा आफ्नो उत्पादनको रकम नपाउँदा आर्थिक भार बढेको किसानहरूको गुनासो छ।सांसद पटेलले किसानहरूले आफ्नो उत्पादनको रकमसँगै नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत पाउन बाँकी रहेको उल्लेख गर्दै सम्बन्धित उद्योग तथा सरकारी निकायबीच आवश्यक समन्वय गरी किसानले पाउनुपर्ने सम्पूर्ण रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

उखु किसानहरूले आफूहरूले मेहनत गरेर उत्पादन गरेको उखुको रकम लामो समयसम्म रोकिँदा खेतीपाती तथा दैनिक जीवन सञ्चालनमा समेत कठिनाइ भइरहेको बताएका छन्। उनीहरूले चाडपर्वलाई समेत ध्यानमा राख्दै बाँकी रहेको उखुको रकम र सरकारले उपलब्ध गराउने अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलका उखु किसानको भुक्तानीको विषय प्रतिनिधिसभामै उठेपछि लामो समयदेखि रकमको प्रतीक्षामा रहेका किसानहरूले अब आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
गौर नगरपालिका–अन्तर्गत बी.पी. चोकमा सञ्चालित फुलतारा डेरीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा गुणस्तर तथा नापतौल सम्बन्धी निकायको संयुक्त टोलीले छापा मारेको छ।

अनुगमनका क्रममा डेरीले सञ्चालन गर्दै आएको भान्सा तथा होटलमा बिक्रीका लागि राखिएका मिठाईलगायत विभिन्न खाद्य सामग्री गुणस्तरहीन अवस्थामा भेटिएको टोलीले जनाएको छ। त्यस्तै, मिठाई तथा खाद्य सामग्री तयार गर्ने भान्सा अत्यधिक फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको पाइएको बताइएको छ।

खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित निकायले फुलतारा डेरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको जनाइएको छ।टोलीले जरिवानाबापतको रकम एक साताभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना रकम नबुझाए डेरीमा सिलबन्दी गर्ने चेतावनी समेत दिइएको बताइएको छ।

अनुगमन टोलीले खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा व्यवसायीहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
कटहरिया । कटहरिया फिडरअन्तर्गत जलैया पुलदेखि दुधीयाभारसम्मको क्षेत्रमा विद्युत लाइन आसपासका झाडी तथा बुस कटिङ (झाडी सफाइ) गर्ने कार्य हुने भएको छ ।
उक्त कार्यका कारण आज दिउँसो १ बजेदेखि ३:४५ बजेसम्म सो क्षेत्रको विद्युत आपूर्ति अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित अवरोध न्यूनीकरणका लागि बुस कटिङको काम गर्न लागिएको हो । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति पुनः नियमित गरिने जनाइएको छ।
सम्बन्धित क्षेत्रका विद्युत उपभोक्तालाई कार्य अवधिमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् व्यवस्थापनलाई प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार तथा सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए। नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।
त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने मन्त्री तिमिल्सिनाले बताए। विद्युत् अवरुद्ध हुँदा सेवा नरोकिने गरी टावरको ब्याट्री ब्याकअप क्षमता पनि बढाइँदैछ । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ । यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिनेछ ।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, तारयुक्त तथा मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले जानकारी दिए । रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो ।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेमा हेलिकप्टरमार्फत सौर्य प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ भने आवश्यक स्थानमा वैकल्पिक टावरबाट नेटवर्क कायम गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर क्षतिग्रस्त भएकोमा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त मुख्य प्रसारण सेवा हाल माइक्रोवेभ प्रविधिबाट पुनःस्थापना गरिएको उनले जानकारी दिए एभरेष्ट न्यूज एजेन्सी,