काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेल र एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजल-मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले घटाएको छ भने आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर २६५ डलरले घटाएको जानकारी दिएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १०० रुपैयाँले घटाएको निगमले जनाएको छ ।
यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १९७, डिजल- मट्टीतेल प्रतिलिटर १९५ पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०३० र पुरा सिलिन्डरको २०६० पर्ने निगमले जानकारी दिएको छ । भरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । राहदानी छपाइको भ्रष्टाचार मुद्दामा आरोपी बनाइएका पाँच जनालाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
विशेष अदालतले महानिर्देशक अर्यालसहित सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, सोमेश थापा, विपिन प्रसाईं र मणिन्द्रराज मल्ललाई धरौटीमा छोडेको छ भने तुलसीप्रसाद आचार्य र राजाराम दाहाललाई बिना धरौटी छोड्न आदेश दिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा ७ जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा अधिकांश बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा साथै गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थानमा, कर्णाली र सुदुरपश्चिमको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागको केही स्थानमा तथा कर्णाली सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी र तराई भू-भाग धेरै स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी आज र भोली बन्द गरिएको छ ।
नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि आज र भोली नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।
चिनियाँ पक्षले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको बताइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी द्रुव प्रसाद अधिकारीले जारी गरेको सूचनामा भनिएको छ- ‘रसुवागढी सीमानाकास्थित नेपाल चीन जोड्ने मितेरी पुल (बेलीब्रीज ) को चेकजाँच एवम् मर्मतसम्भार गर्नुपर्ने भएकाले मिति २०८३।०३।१५ र १६ गते उक्त बेलीब्रिजबाट हुने सवारी आवगमनमा रोक लगाइएको भनी चिनीयाँ समकक्षीबाट जानकारी हुन आएको हुँदा सोही बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ । साथै, कैलाश मानसरोबर तीर्थाटनमा रहनु भएका तीर्थयात्रीहरुलाई १०/१० जनाको समूहमा दुवै पक्षका सुरक्षा संयन्त्रहरुको समन्वयमा यात्रा सहजीकरण भईरहेको बेहोरा समेत अनुरोध छ ।’एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् ।
आजै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबाट पद तथा गोपनियताको शपथ गरेपछि उनी धितोपत्र बोर्डको ललितपुरस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
शपथपछि अर्थमन्त्री डा. वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिदै पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्न निर्देशन दिएका थिए ।
अर्थमन्त्री डा. वाग्लेले सरकारले सबैखाले सहयोग गर्ने बताउदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउन अध्यक्ष भट्टलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
पुँजी बजार सुधारका काम गर्न हरेक दिन, हप्ता, महिना, ६ महिना र एक वर्षका योजना पेस गर्न निर्देशन दिदै अर्थमन्त्री डा. वाग्लेले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गर्ने परिपाटी रोक्न आग्रह गरेका थिए ।
भट्टलाई असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।एभरेष्ट न्यूज एजेन्सी
बाँके । आफ्नै दाई २५ वर्षीय मनोज चौधरीको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहवा बस्ने २० वर्षीय बिनोद चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिनोदले आइतबार राति कुटपिट गरी मनोजको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका-१५ गोहवाबाट सोमबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
आशिक हुसैन शेख
दोहा (कतार), असार १४ / जुन २८, २०२६
“सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना” भन्ने मूल नारासहित बागमती प्रदेश समन्वय परिषद् कतारले २३औँ राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
दोहाको सनैयास्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रम परिषद्का अध्यक्ष कविन्द्र कँडेलको सभापतित्व तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा परिषद्का संस्थापक संरक्षक सागर नेपाल, विशिष्ट संरक्षक नन्दन ढुंगाना, सल्लाहकार राज देवकोटा लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा बंगलादेश, श्रीलंका तथा भारतका विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए। साथै कतारस्थित विभिन्न प्रदेश समन्वय परिषद्, जिल्ला संस्था, सामाजिक अभियन्ता, व्यवसायी, पत्रकार, कलाकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाली राष्ट्रिय गानसँगै कार्यक्रमको शुभारम्भ गरिएको थियो। ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूद्वारा दीप प्रज्वलन र ब्यानर वाचन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो।
परिषद्की महिला उपाध्यक्ष ममता राना भाटले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामहरी चौलागाईंले राष्ट्रिय धान दिवसको महत्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै सांगीतिक प्रस्तुति पनि दिएका थिए।
कार्यक्रममा वक्ताहरूले राष्ट्रिय धान दिवसको महत्व, कृषि संस्कृतिको संरक्षण, प्रवासी नेपालीबीचको एकता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
सांस्कृतिक कार्यक्रममा स्वागत नृत्यसँगै लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका कलाकारहरूले आकर्षक गीत तथा नृत्य प्रस्तुत गरेका थिए। सुमित्रा भट्टराई, अस्मिता लामिछाने, वीरेन्द्र श्रेष्ठ, सुमन खड्का, मनिता सुनाम, गुणा मगर, नारायण देवकोटा, पुकार थापा, जमुना बिक, बाबु कौशल, लक्ष्मी कार्की र सुमित्रा बुढा क्षेत्रीलगायत कलाकारहरूको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो।
यस अवसरमा नेपाली कला, संस्कृति, सामाजिक सेवा तथा सञ्चार क्षेत्रमा योगदान पुर्याएका कलाकार, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।
औपचारिक कार्यक्रमपछि दोस्रो चरणको सांस्कृतिक कार्यक्रम साँझ ७ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको सञ्चालन परिषद्का महासचिव गंगा बहादुर सुनुवारले गरेका थिए भने सह–सञ्चालन उपमहासचिव दिनेश अधिकारीले गरेका थिए।
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने संरक्षक, सल्लाहकार, जिल्ला संस्था, स्वयंसेवक, कलाकार, पत्रकार, व्यवसायी, सामाजिक अभियन्ता, प्रायोजक तथा सम्पूर्ण सहभागीप्रति बागमती प्रदेश समन्वय परिषद् कतारले हार्दिक आभार व्यक्त गरेको छ। परिषद्ले आगामी दिनमा पनि नेपाली भाषा, कला, संस्कृति, कृषि परम्परा तथा प्रवासी नेपालीबीचको एकतालाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ।
काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५, धान दिवस ।
२३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन् ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।
आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान करिब १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।
जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।
नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । सरकारले भने धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको छ । विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् । त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् । नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।
खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये धेरै बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौंबाट धनगढीतर्फ उडान भरेको श्री एयरलाइन्सको एक जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवामा आकस्मिक अवतरण गराइएको छ । विमानको ककपिटमा अचानक धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा प्रक्रिया अपनाएको थियो ।
विमानले आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडान भरेको थियो । केही समयमै ककपिट क्षेत्रमा धुवाँ देखिएपछि पाइलटले सतर्कता अपनाउँदै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराएका थिए ।
विमान सुरक्षित रूपमा अवतरण भएको र जहाजमा सवार सम्पूर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल रहेका छन् । घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान अघि बढाइएको छ ।
यसैबीच, भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ ।
मदन भण्डारी फाउण्डेशनले गरेक बर्ष प्रदान गर्ने यो पुरस्कार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।
इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी