चितवन, १७ फागुन ।
भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।
निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।
महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।
धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे ।
फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।न्युज कारखाना
काडमाडौं, १६ फागुन ।
निर्वाचन आयोगले १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २२ चैतमा अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
प्रदेशसभा सदस्य चयनका लागि इलाम–२ र प्रदेशसभा सदस्यका लागि बझाङ १ को १ मा १५ वैशाखमा हुने निर्वाचनका लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८० स्वीकृत भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
स्वीकृत कार्यक्रमअन्तर्गत १८ फागुनमा आयोगको वेवसाइट मतदाता नामावली प्रकाशन गरिने छ। उक्त मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २९ फागुनदेखि ५ चैतसम्मको अवधि निर्धारण गरिएको उनले जानकारी दिए ।
उक्त अवधिमा निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ। अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २२ चैतमा प्रकाशन गरिने कार्यक्रम रहेको प्रवक्ता पौडेलले बताए ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।
जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।
लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भए पछिको स्थिति टुंगो लगाउने बारेमा सो बैठकमा छलफल हुनेछ ।
महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोडने कार्यक्रम सुरू गरे पछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रिय समिति बैठक बोलाएका हुन् ।
न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उनले सो बताएका हुन् । स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमतिपत्रमा उल्लेख गरिएको छ, ‘विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति बेवास्ता गर्नु र पारित विषयलाई बेवास्ता गरी विधि विहीनतालाई निरन्तरता दिने उद्देश्य देखिनु दुःखद् कुरा हो । विधान अधिवेशनबाट पारित भएका निर्णयहरू सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु । कार्य विभाजन गर्दा पार्टी निर्माण गर्ने संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरूमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत बेवास्ता गरी विधिविपरीत आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरू पार्टीको इन्चार्ज नरहने नीति मलगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सहइन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पष्ट गरेको छ ।’
न्युज कारखाना
काठमाडौँ १६ फागुन।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए ।
तर, त्यो खरानीको डल्लो भएकोले कुनै पनि बेला फुट्ने ओलीले टिप्पणी गरे । ‘यो खरानीको डल्लो हो, यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ’, ओलीले भने ।
अध्यक्ष ओलीले कांग्रेसको सोच, विचार, चिन्तन केही पनि नभएको बताउनुभयो । कांग्रेसले सरकार र सत्तामा पुग्ने बाहेक केही थाहा नपाउने ओलीले टिप्पणी गर्नुभयो । ‘अरू कुरा छाड्यो कांग्रेसले उहाँले भन्नुभयो’, उनले भने ।
सरकार फेरबदलको खेलमा एमाले नरहेको पनि उनले प्रष्ट पारे । ‘गठबन्धनको खेलमा हामी छँदै छैनौँ, हामी मिसन २०८४ मा छौँ’, ओलीले भने । ओलीले आफूहरूको ध्यान मिसन ८४ मा केन्द्रित रहेको बताए । २०८४ मा हुने चुनावमा एमाले बहुमत सहितको दलमा स्थापित हुने ओलीले दाबी गरे। राष्ट्रियतालाई बलियो बनाउन, सुशासन र विकास कायम गर्न, जनताको निराशा चिर्न एमालेलाई निर्णायक शक्तिको रूपमा विकास गरिने ओलीले बताए ।
उनले अहिले राष्ट्रियता कमजोर भएको, सुशासन र विकास कमजोर भएको कारण नागरिकमा निराशा छाएको बताए । त्यसलाई सुदृढ गर्न र जनतामा आशा जगाउन एमालेले मिसन २०८४ भनेको उनले स्पष्ट पारे ।
एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्नुपर्छ भनिरहेको पनि उनले स्पष्ट पारे । सबैको सहमतिमा पीडित मैत्री हुने गरी सो विधेयक पास गर्नुपर्ने उनको धारणा छ ।
सरकारले बनाएकै समितिले दोषी ठहर गरेपछि मन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । मानव हत्याको विषयमा दोषी ठहरिएका व्यक्तिलाई झण्डा हल्लाएर हिँड्ने अधिकार नरहेको ओलीले प्रष्ट पारे । न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको छलफलमा सहभागी हुने भएका छन् ।
सिंहदरबारमा बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरुले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् ।
न्युज कारखाना
रौतहट १६ फागुन।
नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।
बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्।
नवप्रवेशी नेता माझी लाई पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले खाँदा ओढाएर टिका लगाएर स्वागत गर्दै उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरेका थिए।न्युज कारखाना
काठमाडौं, १६ फागुन ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर संगै युरोको भाउ बढेको छ भने र बेलायती पाउण्डको भाउ घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०१ पैसाले बढेको हो। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९३ पैसामा भएको थियो।
बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४३ रूपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रूपैयाँ २७ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १२ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर १६८ रूपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रूपैयाँ ७९ पैसा र बिक्रीदर २७ रूपैयाँ ९२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समिति बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बसेकोमा संस्थापनइतर समूहले बहिष्कार गरेको छ।
दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसंघ तदर्थ समितिले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा पहिलो बैठक नै विवादमा परेको हो।
कांग्रेस संस्थापनइतर समूहनिकट केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छैनन्। उनीहरूले सभापति शेरबहादुर देउवाले मंगलबार बिहान भेटेर विवाद समाधान गरेर मात्रै बैठक गर्न पहल गरिदिन आग्रह गरेका थिए।
उनीहरूको आग्रहपछि देउवाले अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर बैठक गर्न निर्देशन दिएका थिए।
सभापति देउवानिकट नेविसंघले केन्द्रीय समिति बैठक सुरू गराएको हो। बैठक उद्घाटन सत्रमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख अतिथि रहेका छन्।न्युज कारखाना
काठमाडौं, १५ फागुन ।
परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिकका प्रति राज्यको दायित्व रहेको बताएका छन्।
रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यस्तो बताएका हुन्।
‘लिगल्ली गएको भए हुन्थ्यो। इल्लिगल्ली गएका छन्। जसरी गएका भए पनि उनीहरुका प्रति राज्यको दायित्व छ,’ परराष्ट्रमन्त्री साउदले भने, ‘आफ्ना नागरिकप्रति सरकार सधैँ जिम्मेवार हुनुपर्छ, हुन्छ। उहाँहरुलाई फिर्ता ल्याउन कुनै पनि कमिकमजोरी हुने छैन। इमान्दारितापूर्वक प्रयास गरिरहेको छु। गरिरहने छु।’
उनले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
रुसी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदले बताए।
‘नेपाली नागरिकको सुरक्षित फिर्तीका लागि काठमाडौँस्थित रुसी दस्तावास, मस्कोस्थित नेपाली दूतावास र अन्य माध्यमहरुबाट नेपाल सरकार रुसी पक्षसँग निरन्तर सम्पर्कमा छ,’ उनले भने।
परराष्ट्रमन्त्री साउदले छलफलका क्रममा मन्त्रालयअन्तरगतको कन्सुलर विभागमा हालसम्म मृत्यु भएका, सम्पर्कमा नभएका तथा रुसी सेनाबाट फिर्ता गरिदिन अनुरोधसहितका २४४ जनाका बारे परिवारले निवदेन दिएको पनि जानकारी दिए।
उनले रुसी सेनामा भर्ना भएका व्यक्तिका बारेमा कन्सुलर विभागमा आवेदन दिन पनि सम्बन्धित नागरिकका घर–परिवारलाई आग्रहसमेत गरे। घर–परिवारले आवेदन दिए सरकारलाई रुसी सेनामा भर्ना भएका नागरिकको स्थिति एकिन गर्न सहज हुने साउदको भनाइ थियो।
रुसी सेनामा भर्ना भएका नागरिकको संख्याका बारेमा अतिरञ्जित गरेर समाजमा भ्रम फैलाउने ढंगले कसैले पनि प्रस्तुत हुन नहुनेमा उनको जोड थियो।
परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएकाका परिवारका सदस्यहरुलाई पछिल्लो विकास क्रमका बारेमा पनि जानकारी दिए। उनले भारत भ्रमणमा गएको अघिल्लो दिन फेब्रअरी २० मा रुसी राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेको बताए।
साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकबारे सरकारले राखेका कतिपय मुद्दाहरुमा रुसी पक्षबाट सकारात्मक जवाफ प्राप्त भएको, मृतक र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने विषय अगाडि बढेको पनि बताए।
उनले रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको जानकारी दिए। परराष्ट्रमन्त्री साउदका अनुसार सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेको छ।न्युज कारखाना