काठमाडौं, २१ फागुन ।
आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो ।
सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ भेटन जाँदैछन् ।
संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षका बिषयमा दुइ दल बिच सहमति गरेर जाने जनाइएको भए पनि औपचारिक रूपमा कुनै कुरा बाहिर ल्याइएको छैन । न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ ।
संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो ।
यसैबिच, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सचिवालय बैठक हालै सम्पन्न गरेको छ भने अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकको निष्कर्षसहित वालुवाटारस्थित प्रधानमन्त्री निवास, पुग्दैछन ।
सोही बैठक लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत वालुवाटार पुगेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवलाय बैठक पनि जारी रहेको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
काठमाडौंको मध्यबानेश्वरस्थित गुणस्तरीय शिक्षाको सङ्गमका रूपमा रहेको भ्याली भ्यु स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस विशेष शैलीबाट मनाएको छ। बिहीबार र शुक्रबार दुई दिन काठमाडौंको प्रज्ञा भवन, कमलादीमा आयोजित वार्षिक अभिभावक दिवसमा कला, शिक्षा र स्वास्थ्यका कुरा गरिएको हो।
पहिलो दिनको उद्घाटन सत्रमा विद्यालयले प्रमुख अतिथिका रूपमा वरिष्ठ हास्यकलाकार मनोज गजुरेललाई आमन्त्रण गरेको थियो। गजुरेलले अभिभावक र विद्यार्थीहरूमाझ कलाका कुरा गरेका थिए। कलाको महत्त्वबारे चर्चा गर्दै गजुरेलले दीर्घ जीवनका लागि खुसी रहनु निकै महत्त्वपूर्ण भएको बताएका थिए। हास्यव्यङ्ग्यात्मक शैलीमा प्रस्तुत भएर उनले सबैलाई हँसाएका थिए।
उनले भ्याली भ्यु स्कुलले शिक्षाका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको आफूले पाएको भन्दै विद्यालयको प्रशंसा गरेका थिए।
त्यस्तै दोस्रो दिनको समारोहका प्रमुख अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले बालबालिकाको भविष्य निर्माणका लागि अभिभावकको भूमिका कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै स्वस्थ जीवन र त्यसको महत्त्वबारे प्रकाश पारेका थिए।
स्वस्थ जीवनका लागि स्वस्थ मुटु आवश्यक हुने बताउँदै उनले विद्यार्थी जीवनबाट नै स्वस्थकर दैनिकीका बारेमा अभिभावकवर्ग जानकार हुनुपर्ने कुरा औँल्याएका थिए।
कार्यक्रममा विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै बालबालिकाको युग सुहाउँदो ज्ञान, सिप र प्रविधिको विकासका माध्यमबाट मात्रै आजका बालबालिकाको उज्ज्वल भविष्य निर्माण हुने भएकाले भ्याली भ्यु स्कुलले त्यसैको स्तरीकरणमा जोड दिइरहेको बताए ।
अभिभावक दिवसको कार्यक्रममा विद्यार्थीहरूले गीत, सङ्गीत, नृत्य, नाटक, योग र खेलकौशलका अनेक प्रस्तुति प्रदर्शन गरेका थिए।
सो अवसरमा सर्वोत्कृष्ट शैक्षिक छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र विषयगत रूपमा सर्वोत्कृष्ट हुन सफल शिक्षकहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो।
मध्य बानेश्वर, काठमाडौंस्थित भ्याली भ्यु स्कुलले दुई दशकको यात्राक्रममा गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा एकैसाथ जोड दिँदै आएको छ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन ।
गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबा निर्वाचित १९ जना तथा राष्ट्रपतिवाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैँछन । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ ।
जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ लिदैँछन् ।
साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैँछन् ।
उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।
यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षकाे जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।
जसअनुसार हिजो पदावधी सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ ।
यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति बिधादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
आज सत्तारूढ गठबन्धनको बैठक बस्दैँछ ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ८ बजे बोलाइएको छ ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ ।
हिजो मात्रै प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
ओलीले पनि सरकार परिवर्तनका बारेमा नयाँ नयाँ कुरा गरिरहेको बेला यस बैठकलाइ अर्थपुर्ण रूपमा हेरिएको छ ।न्युज कारखाना
काठमाडौं, २१ फागुन ।
प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसुची रहेको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आ.ब. २०८१ /८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।
‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’ परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा लेखिएको छ।
परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ।न्युज कारखाना
काठमाडौँ, २१ फागुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुनेगरि निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।
बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी–किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका हुन् ।
कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए ।
त्यसैगरि उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए ।
त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीले भने, “पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन्। तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निरासाजस्तो देखिएको छ। यति धेरै काम हुँदा पनि हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ।”
विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशित गरे ।
प्रधानमन्त्रीले भने, “विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।”न्युज कारखाना
काठमाडौं, २० फागुन ।
तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्।
सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको पसलमा खानपिनपछि सुवालसँग गोठतर्फ गएका थिए।
त्यहाँ पुगेपछि ढकालको मोबाइलबाट सुवालले श्रीमती रेनुलाई फोन गर्दै दुई लाख रुपैयाँ लिएर आउनू भनी धम्की दिएका थिए। भोलिपल्ट वृत्त जगातीमा रेनुले खोजीका लागि निवेदन दिएकी थिइन्। खोजी सिलसिलामा फागुन ११ गते बिहान ढकालको शव फेला परेको थियो।
सुवालले ढकाललाई ९ गते राति नै हत्या गरेको अनुसन्धानले देखाएको छ।
यस्तो थियो हत्याको कारण
सुवाल चाँगुनारायण घर भए पनि सिपाडोल-८ मा श्रीमती साथ डेरा बस्दै आएका थिए। उनी सामान्य पृष्ठभूमिका मानिस हुन्। ढकाल र सुवालको त्यही दिन राति मदिरा पसलमा चिनजान भएको रेग्मीले बताए।
मदिरा सेवन गर्ने क्रममा दुबै नजिकिए। ढकाल र सुवालकै योजनामा उनीहरूले श्रीमती रेनुलाई ‘प्राङ्क’ कल गरी रकम मागेका थिए। ‘हत्याअघि नै दुई लाख रुपैयाँ मागेर जिस्क्याउने योजनाअनुसार दुबैको सहमतिमा फोन गरेको देखिन्छ,’ उनले भने।
मदिराको सुरमा दुबै जना सुवालको कोठा गए। रेग्मीका अनुसार कोठामा पुगेपछि सुवाल र ढकालको झगडा परेको थियो। ‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुबै जनाबीच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने।
झगडापछि दुबै जना हातपात गर्दै कोठाबाट निस्किए। वारिपट्टीको रोशन बस्नेतको कच्ची गोठसम्म पुगे। झगडा भइरहेको बेला सुवालले अचानक ढकालमाथि इँटा र ढुंगा प्रहार गरेको रेग्मीले बताए। टाउकोमा इँटा-ढुंगा प्रहार गर्दा ढकालको मृत्यु भयो। त्यसपछि उनले गोठमा परालले शव छोपे। ढकालको मोबाइलसमेत लिएर सुवाल फरार भएका थिए।
घटना भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान कार्यालय र वृत्त जगातीले अनुसन्धान थालेका थिए। रकम माग गरिएकाले सुरूमा अपहरणपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले त्यसलाई सहारा नदिएको रेग्मीले बताए।
ढकाल कोठाबाट निस्किएपछि नजिकैको मदिरा पसल पुगेका थिए। त्यहीँ उनीहरूको चिनजान भएको थियो।
त्यो पसलमा बाहिर सडकमा मागेर हिँड्ने एक जना केटा र केटी छिरेका थिए। ढकाल र सुवाल निस्किनुअघि नै उनीहरू बाहिरिएका थिए।
दुबैलाई प्रहरीले पक्राउ गरी सोधपुछसमेत गरेको थियो।न्युज कारखाना
काठमाडौं, २० फागुन ।
बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा
सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।
फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्।
निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ।
शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ।’
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ।’
अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन्।

प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।
उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ। आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुसी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’मा देखिन्छ।
उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो। सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। यो १० वर्षमा शालिन ८ वर्ष मामाघर बसिन्। होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदैथियो।
बाहिर आएजस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन्।
‘परिवारले यहाँ पोष्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेका छौं,’ भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्नेछन्।’
पोष्टमार्टमले मृत्यु के-कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ। त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ।
यसैगरी, मृतकको भिसेरा (मुटु, कलेजो र फोक्सो)सहित शरीरको फरेन्सिक जाँच गरिएको छ। त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छ/छैन पत्ता लाग्छ।
शालिन चार वर्षको उमेरदेखि रत्ननगर-१२ स्थित मावलीमा बस्दै आएकी थिइन्। उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन्।
उनका बुवा-आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए। उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन्। उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन्।
‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत् फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने।
शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ। घाँटीमा डोरीको डाम छ। शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन। सुरूमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ।
परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन्।
प्रहरीले प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस-प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन्।न्युज कारखाना