काठमाडौँ । एक महिलाले दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान जन्माएको दुर्लभ घटना सार्वजनिक भएपछि चिकित्साशास्त्रमा यसको व्यापक चर्चा भएको छ ।
सन् २०१८ मा कोलम्बियाकी एक महिला आफ्ना दुई वर्षका जुम्ल्याहा छोराका पिताबारे जानकारी लिन राष्ट्रिय विश्वविद्यालयको जनसंख्या आनुवंशिकी तथा पहिचान प्रयोगशालामा पुगेकी थिइन् । नियमित पितृत्व परीक्षण गर्दा दुवै बालककी आमा एउटै भए पनि पिता फरक-फरक रहेको पुष्टि भएको थियो ।
चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई ‘हेटेरोपितृ सुपरफेकन्डेशन’ भनिन्छ । यसको अर्थ एउटै महिनावारी चक्रमा दुई वा बढी अण्डा दुई फरक पुरुषका शुक्रकीटबाट निषेचित हुनु हो, जसका कारण जन्मिने जुम्ल्याहा सन्तानका पिता फरक हुन सक्छन् ।
वैज्ञानिक साहित्यअनुसार विश्वभर यस्ता करिब २० वटा मात्रै घटना अभिलेखमा रहेका छन् । अमेरिकामा प्रकाशित एक अध्ययनमा ३९ हजार पितृत्व परीक्षणमध्ये केवल तीन वटा यस्तै घटना फेला परेको उल्लेख छ ।
नेशनल सेन्टर फर बायोटेक्नोलोजी इनफर्मेशन प्रकाशित रिपोर्टका अनुसार पितृत्व परीक्षणका लागि वैज्ञानिकहरूले ‘माइक्रोसाटेलाइट मार्कर’ प्रविधि प्रयोग गर्छन् । यसमा आमा, बच्चा र सम्भावित पिताको डिएनएको तुलना गरिन्छ । कोलम्बियाको उक्त घटनामा १७ वटा आनुवंशिक बिन्दुको परीक्षण गरिएको थियो ।
परीक्षणमा एक बच्चाको डिएनए सम्भावित पितासँग मेल खायो भने अर्को बच्चाको मेल खाएन । नतिजा असाधारण देखिएपछि परीक्षण पुनः दोहोर्याइएको थियो, तर परिणाम उस्तै आएको बताइएको छ ।
प्रयोगशालाका निर्देशक प्राध्यापक विलियम उसाक्वेनका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ हुन्छ, किनकि यसका लागि एउटै महिलाको छोटो समयमा दुई फरक पुरुषसँग यौनसम्पर्क हुनु, एउटै चक्रमा दुई वा बढी अण्डा निस्कनु र ती सबै निषेचित हुनु आवश्यक पर्छ ।
विशेषज्ञहरूका अनुसार फरक पिताका जुम्ल्याहा सन्तान कहिल्यै एकनासका हुँदैनन्, किनकि एकनासका जुम्ल्याहा एउटै अण्डा र एउटै शुक्रकीटबाट बन्ने गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटना कम देखिनुको अर्को कारण धेरै मानिसले पितृत्व परीक्षण नगराउनु पनि हो । आधुनिक आणविक परीक्षण सहज बन्दै जाँदा भविष्यमा यस्ता घटनाहरू थप पहिचान हुन सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।
विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।
भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए ।
साथै, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाटप्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए ।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारकोतर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुईदेशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।एभरेष्ट न्यूज एजेन्सी
कैलाली । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
गोरखा : खोल्साको छेउमा रहेको सानो बस्ती, झुत्रा त्रिपालले ढाकिएका जीर्ण टहरा र अस्तव्यस्त जीवन। होचो र साँघुरो टहराभित्र धुवाँले कालाम्य भएका भित्ताहरू, छानो र त्यही धुवाँबीच छरिएका सामानहरू। जस्ताको पाताले बारेर दुई भाग लगाइएको सानो टहरोमा न झ्याल छ, न त राम्रो ढोका—एक खापा भएको जस्ताको ढोका पनि जीर्ण अवस्थामा छ।
प्रहरी चौकी नजिकै भएर होला, चोरी, लुटपाट लगायत विभिन्न अपराधिक क्रियाकलाप हुँदैनन् र त्यसको डर पनि छैन यी बस्तीका मानिसहरूलाई तर एउटा मात्र डर छ कि कति बेला हावाहुरी चल्छ, पानी पर्छ अनि जस्ता र त्रिपाल उदाउँछ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको दिन सम्झिँदै ५७ वर्षीय माइती माया सुनार ‘भूकम्पअघि हामी डाँडागाउँको गैरीगाउँमा बस्थ्यौँ। ढुङ्गा–माटोको घर थियो,’ उनी भन्छिन्, ‘एक्कासी भूकम्प आयो र घर भत्कियो। घर, घडेरी सबै पहिरोको जोखिममा परेपछि हामी यहाँ आएँ, त्यसयता त्रिपालमुनि बस्नुपरेको छ।’
यहाँ त खेती गर्नका लागि न खेतबारी छ नत ढुक्कसँग बस्नका लागि घर नै छ, कतिबेला हावाहुरी, पानी पर्ने थाहा छैन। अहिले यस बस्तीमा २४ घरपरिवारका लागि महिला र पुरुष गरी जम्मा २ वटा मात्र शौचालय छन, जुन व्यवस्थित भने छैन।थाहा खबर
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा गोली चलाउने व्यक्ति दक्षिण क्यालिफोर्नियाका शिक्षक तथा भिडियो खेल निर्माता रहेको खुलेको छ ।
गोली चलाउने व्यक्ति ३१ वर्षीय कोल टोमस एलेन भएको सिएनएनले उल्लेख गरेको हो । राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरू सहभागी भएको कार्यक्रममा उनलाई हतियारसहित नियन्त्रणमा लिइएको छ । उनी लस एन्जलस नजिकैको टोरेन्स क्षेत्रमा बसोबास गर्दै आएका थिए । सार्वजनिक अभिलेखअनुसार एलेन परीक्षा तयारी तथा ट्युसन सेवा दिने एक संस्थामा अंशकालीन शिक्षकका रूपमा काम गर्थे । उनलाई सन् २०२४ डिसेम्बरमा कम्पनीले ‘महिनाको उत्कृष्ट शिक्षक’ समेत घोषणा गरेको थियो ।
उनले सन् २०१७ मा क्यालिफोर्निया प्रविधि संस्थानबाट यान्त्रिक इन्जिनियरिङमा स्नातक गरेका थिए । त्यसपछि गत वर्ष क्यालिफोर्निया राज्य विश्वविद्यालय-डोमिङ्गेज हिल्सबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर पूरा गरेका थिए । विद्यार्थी जीवनमा उनले ह्विलचेयरका लागि आपत्कालीन ब्रेकको नमुना तयार गरेका थिए, जसका कारण स्थानीय समाचारमा पनि स्थान पाएका थिए । एलेनले आफूलाई भिडियो खेल निर्माता पनि बताएका छन् । उनले ‘बोर्डम’ नामक स्वतन्त्र भिडियो खेल सार्वजनिक बिक्रीमा राखेका थिए । साथै ‘फर्स्ट ल’ नामक दोस्रो खेल विकास गरिरहेको जानकारी पनि दिएका थिए ।
उनले किन गोली चलाए भन्ने बारेमा भने खुलासा हुन बाँकी रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।
उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । भारतको दिल्ली विमानस्थलमा उडान भर्ने क्रममा स्विस एयरलाइन्सको विमानको एउटा इन्जिन बिग्रिएपछि आगलागी भएको छ । त्यसपछि पाइलटले तुरुन्तै विमान रोकेर ठूलो दुर्घटना टारेका छन् ।
स्विस एयरलाइन्सको एलएक्स १४७ उडान शनिबार राति १: ०८ बजे स्विट्जरल्यान्डको ज्युरिखका लागि उड्ने तयारीमा थियो । टेकअफको क्रममा विमानको एउटा इन्जिनमा समस्या आएर आगो लागेको बताइएको छ।
अधिकारीहरूका अनुसार सबै यात्रुलाई आपत्कालीन स्लाइडमार्फत सुरक्षित रूपमा रनवेबाट बाहिर निकालिएको थियो। घटनामा ६ जना यात्रु घाइते भएका छन् ।
एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा बिग्रिएको विमान एयरबस ए ३३० रहेको जनाएको छ। विमान रनवेमा पुगेपछि बायाँतर्फको अवतरण चक्काबाट धुवाँ निस्किएको देखिएपछि उडान तत्काल रोकिएको थियो ।
एयरलाइन्सले स्थानीय टोली घटनास्थलमा खटिएको र यात्रुको हेरचाह भइरहेको जनाएको छ । साथै स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान गरिने बताएको छ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ ।
सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा युएईले टस जितेर पहिला फिल्डिङ रोजेको छ । जस अनुसार नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
यस खेलमा नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की , आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, बसिर अहमद र ललित राजवंशी रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी
वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेल्दि आदिल आलम बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।
अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
झापा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी