२०८३ कार्तिक २
२०८३ कार्तिक २

मोरङ । मोरङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ९एन-एओएस दर्ता नम्बर रहेको यो विमान अत्याधुनिक उडान प्रणालीसँग सुसज्जित छ । यसमा रहेको आधुनिक उडान उपकरण र आरएनपी-एआर प्रविधिले उडान सञ्चालनलाई अझ भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

बुद्ध एयरले यो विमानको आगमनसँगै नेपालभर सुरक्षित, भरपर्दो र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।

कम्पनीले नयाँ विमान थपिनु नेपाली हवाई सेवाको विकासमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यात्रुहरूको विश्वास र साथप्रति आभार व्यक्त गरेको छ ।

यो विमान फ्रान्सको एयरबस र इटालीको लियोनार्दो कम्पनीको संयुक्त साझेदारीमा रहेको एटीआर कम्पनीले निर्माण गरेको हो । यो विमानमा एकपटकमा ७० देखि ७८ जना यात्रुसम्म यात्रा गर्न सक्ने क्षमता रहेको छ । विमानमा दुईवटा प्राट एन्ड ह्विट्नी पीडब्लु १२७ एम टर्बोप्रप इन्जिन जडान गरिएका छन्, जसमा छ पात भएको प्रोपेलर प्रयोग गरिएको छ। यसले इन्धनको खपत कम गर्दै प्रभावकारी उडान सञ्चालनमा सहयोग पुर्‍याउँछ ।

एटीआर ७२–६०० ले करिब १ हजार ५२८ किलोमिटरसम्म उडान भर्न सक्छ । यसको औसत उडान गति करिब २७५ नटिकल नट (झण्डै ५१० किलोमिटर प्रतिघण्टा) रहेको छ ।

यो विमानको अर्को विशेषता यसको माथिल्लो भागमा रहेको पखेटाको बनावट हो, जसले दुर्गम तथा क्षेत्रीय विमानस्थलमा सञ्चालनलाई सहज बनाउँछ । साथै, धेरैजसो एटीआर ७२–६०० विमानमा यात्रु चढ्न र ओर्लिनका लागि विमानमै जोडिएको भर्‍याङ हुने भएकाले छुट्टै भर्‍याङको आवश्यकता पर्दैन र यात्रु चढाउने तथा ओर्लाउने प्रक्रिया छिटो सम्पन्न हुन्छ ।

आधुनिक प्रविधि, इन्धनको किफायती प्रयोग, उच्च सुरक्षा मापदण्ड र क्षेत्रीय विमानस्थलमा सहज सञ्चालनका कारण एटीआर ७२–६०० अहिले विश्वका लोकप्रिय क्षेत्रीय यात्रुवाहक विमानमध्ये एक मानिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।

४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ ।

यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टाक्स फोर्स पनि गठन गरेको छ।

टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो।

आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ।

यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ।  यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइ छ।

कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए github.com/NTA-OPM लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज दिउसो साढे २ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८३/०८४ को बार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजेदेखि बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा अभिमुखीकरण कार्यक्रम बारे छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको तत्काल रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । साथै, देशभर देखिएको रासायनिक मलको अभाव तत्काल समाधान गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै सर्लाहीको बलरा नगरपालिकाका कृषक सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह भारतीय सीमावर्ती बजार सोनवरसाबाट आफ्नो खेतीका लागि रासायनिक मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायबाट पक्राउ परेको विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर चासो व्यक्त गरेको हो ।

विज्ञप्तिअनुसार दुवै किसानलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा कारागारमा राखिएको छ । घटनाबारे वास्तविकता बुझ्न कांग्रेसले पीडित परिवार तथा स्थानीय समुदायसँग पनि जानकारी लिएको जनाएको छ ।

कांग्रेसका अनुसार ती किसान आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले दुई बोरा युरिया र डिएपी मल खरिद गर्न भारत गएका थिए । नेपालमा समयमै रासायनिक मल उपलब्ध नभएका कारण उनीहरू सीमापारबाट मल ल्याउन बाध्य भएको पार्टीको भनाइ छ ।

कांग्रेसले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसक्दा उनीहरू यस्तो अवस्थाको सामना गर्न बाध्य भएको उल्लेख गर्दै, “मल गोदाममा, किसान जेलमा” भन्ने अवस्था अत्यन्त विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ ।

पार्टीले किसानहरूको रिहाइका लागि व्यवहारिक, कूटनीतिक र कानुनी माध्यमबाट तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ। साथै, भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा, पारस्परिक विश्वास र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई ध्यानमा राखी खेतीका लागि मल खरिद गर्ने क्रममा पक्राउ परेका नेपाली किसानलाई अविलम्ब रिहा गर्न अनुरोध गरेको छ ।

कांग्रेसले नेपाल–भारत सम्बन्ध केवल दुई सरकारबीच सीमित नरही दुई देशका जनताबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस्ता संवेदनशील विषयलाई सोही भावना अनुरूप समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने तयारीमा रहेका छन् ।

सभापति लामिछानेको चीन भ्रमणको तयारी भइरहेको र छिट्टै मिति सार्बजनिक गर्ने रास्वपा उच्च स्रोतले जानकारी दिएको छ ।  भ्रमणका लागि परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग संवाद गरिरहेको बताइएको छ ।

लामिछाने चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा चीन भ्रमणमा जान लागेको र सम्भवत भ्रमण अगस्त महिनामा हुने दाबि गरिएको छ ।

यसअघि लामिछानेले भारतीय जनता पार्टीको निमन्त्रणमा गरेको भ्रमण भ्रमणको निकै चर्चा भएको थियो भने उनले भारतमा उच्च सम्मान समेत पाएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको शुभारम्भ गरेको छ ।

नेपाली काँग्रेसका सभापति गगन थापाले विहिबार राष्ट्रिय सभामा आयोजित कार्यक्रममा ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियानको सुरु गर्दै नागरिकको कल्याण र अधिकारका पक्षमा केन्द्रित भएर काम गर्ने बताएका हुन ।

सभापति थापाले भने- ‘हामीले पार्टीको महासमिति बैठकबाट प्रत्येक समितिले ५० प्रतिशत राजनीतिक काम र ५० प्रतिशत काम बृहत्तर समुदायका लागि गर्नुपर्ने निर्णय गरेका छौं। विशेष महाधिवेशनबाट राष्ट्रिय पुनर्जागरण अभियान पारित गरेका छौं । यही पृष्ठभूमिमा बीपीलाई स्मरण गर्दै जरा अभियान सम्पन्न गरी आजदेखि ‘नेपाली कांग्रेस फर नेसनल कज’ अभियान प्रारम्भ गरेका छौं। यसको साझा उद्देश्य नागरिकको कल्याणमा काम गर्नु र नागरिकको हकको पक्षमा उभिनु हो ।’

उनले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले नागरिकको पीडा सुन्नु र त्यसमा साथ दिनुलाई राजनीतिको मूल जिम्मेवारीका रूपमा लिएको स्मरण गर्दै भने-‘बीपीको लागि नागरिकको कुरा सुन्ने कुरा कुनै अतिरिक्त काम थिएन, यो त राजनीतिको मूल काम थियो। बीपी कोइरालाका निम्ति जहाँ जनताको दुःख छ, त्यो दुःखमा नपुग्ने कांग्रेस, कांग्रेस नै होइन। भोट मात्र माग्ने कांग्रेस कसरी कांग्रेस हुन्छ? दुःखको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। पीडाको बेला देखिने कांग्रेस, कांग्रेस हुनुपर्छ। बीपी कोइरालाका निम्ति यही सबैभन्दा ठूलो कुरा थियो।’

थापाले कांग्रेसले महासमिति बैठक र विशेष महाधिवेशनबाट राजनीतिक गतिविधिसँगै समाजसेवालाई पनि प्राथमिकता दिने नीति पारित गरिसकेको समेत उल्लेख गरेका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलोग्राम थाई गाँजासहित दुई जना भारतीय महिला पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार राति थाइल्यान्डको बैंककबाट थाई एयरवेजको उडानमार्फत नेपाल आएका विदेशी यात्रुको निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरूले साथमा ल्याएको सुटकेसभित्र लुकाएर राखिएको आठ किलोग्राम थाई गाँजा बरामद गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।

उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भएका थिए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको  जागिर खोसिएको थियो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए ।   उनले स्थापना गरेको कम्युनिष्ट पार्टी आल विभिन्न पार्टी र विचारमा विभाजित रहेको छ ।

विसं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।