बज्जिकाञ्चल संवाददाता,रौतहट,३० गते असाेज ।
रौतहटको कटहरियामा बडादसैँ तथा दुर्गा पूजा मेलाको अवसरमा आयोजित बेलन्यौतन कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूलाई निःशुल्क निम्बु पानी वितरण गरिएको छ ।

कटहरिया स्थित निराला जेनरल स्टोरका सञ्चालक महाशक्ति निराला र सिंगापुर बेभरेज नेपालको संयुक्त सहकार्यमा सो सेवा उपलब्ध गराइएको हो । दुर्गा पूजा मेलाको अवसरमा बेलन्यौतन पूजाका लागि उपस्थित भएका ठूलो संख्याका श्रद्धालु भक्तजनहरूलाई शीतलता प्रदान गर्ने उद्देश्यले सिंगापुर बेभरेज नेपालबाट उत्पादित निम्बु पानी वितरण गरिएको सञ्चालक निरालाले जानकारी दिनुभयो ।
मेलामा सहभागी हजारौँ भक्तजनहरूले निम्बु पानी ग्रहण गर्दै आयोजक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक सेवाको भावले यस्ता कार्यक्रमहरू आयोजना गरिएको सञ्चालक निरालाले बताउनुभयो ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको जानकारी दिएको छ ।
हाल देशको हिमाली भु-भाग, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ , लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ। प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट हुने रकमसमेत कुल राजस्व परिचालनमा समावेश गरिएको छ ।
कुल सरकारी राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत, प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ ।
भदौ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ थियो । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ ।
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले यस अवधिमा २४ अर्ब ५४ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको रकम १६ अर्ब ३८ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोत तथा अन्य प्राप्ति ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको छ ।
दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सहयोगका नयाँ सम्भावना अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं, २९ असोज २०८३ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् ।
सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको एउटा सर्किट यसअघि नै चार्ज गरिसकिएको छ ।
काठमाडौं उपत्यकाको विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक आसपासको बढ्दो विद्युत् माग सम्बोधन गर्दै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन चोभार सबस्टेसन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।
अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सबस्टेसन चार्ज गर्न निर्देशन दिए । उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्दै दुवै संरचनालाई उच्च प्राथमिकतामा राखी यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए ।
चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन् । फिडर लाइन विस्तारको काम अन्तिम चरणमा रहेको र उक्त काम सम्पन्न भएपछि दशैंलगत्तै सबस्टेसन चार्ज गरिनेछ ।
थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण कार्य अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ ।
चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।
एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमान अपहरण गरी दुर्घटनाग्रस्त गराउने कथित षड्यन्त्रको अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले माल्दिभ्सका दुई सहचालकलाई पक्राउ गरेको छ ।
माल्दिभ्सको समाचार पोर्टल अधाधूका अनुसार उनीहरूलाई अक्टोबर ३ मा हिरासतमा लिइएको हो । यसअघि सेप्टेम्बर ३० मा भएको घटनामा ओमानका सहचालक हम्माम अल–हम्मामीले भारतीय विमान चालक स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप छ ।
विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए । आक्रमणमा घाइते भएका मच्छारले प्रतिकार गरेपछि चालक दल र यात्रुहरूले आरोपितलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।
यूएईका अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा अनुसन्धान गरिरहेका छन् । पक्राउ परेका दुई माल्दिभियन पाइलटको घटनामा संलग्नता र उनीहरूमाथिका आरोपबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
यस घटनाको व्यापक षड्यन्त्रबारे अनुसन्धान गर्न भारतको राष्ट्रिय अनुसन्धान निकायले पनि मुद्दा दर्ता गरेको छ । आक्रमणमा घाइते भएका मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रका तीन पदको मतगणना सम्पन्न भएको छ । सम्पन्न मतगणनाबाट सहमहामन्त्री, केन्द्रीय सदस्य (खुला) र केन्द्रीय सदस्य (महिला) पदमा तीन जना निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही तीन हजार ९०६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जनक राज गिरीले एक हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर बिस्टले २६० मत पाएका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, खुला) मा दिपकजंग शाह दुई हजार २६१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिष्पर्धी तपेन्द्र खड्काले दई हजार ४४, कालीबहादुर सहकारीले ८७७, ईश्वरबहादुर मल्लले ७८१ र विरेन्द्रराज गिरीले ५३४ मत पाएका छन् ।
त्यसैगरी, केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र, महिला) मा सुशीला मिकत दुई हजार ९८६ मतसहित निर्वाचित भएकी छन् । उनका प्रतिष्पर्धी जुना कुमारी दानीले दुई हजार १० र शान्तिकुमारी बोहरा पुजाराले एक हजार ५३३ मत पाएका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवा प्रक्रियामा फेरबदल गरिएको छ। ‘शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३” ले मूल नियमावलीको नियम ९९ मा संशोधन गर्दै शिक्षक सरुवाका नियमहरूलाई फेरबदल गर्न लागिएको हो ।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि ‘एक वर्ष पूरा भएका’ र अनिवार्य अवकाश हुन ‘एक वर्षभन्दा बढी समय बाँकी रहेका’ शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवाका लागि निवेदन दिन सक्नेछन् ।
विशेष अवस्थाबाहेकका साधारण स्थायी शिक्षकहरूको हकमा यसअघि राखिएको तीनवर्षे अवधि घटाएर अब एक वर्ष सेवा अवधि पूरा भएपछि नै सरुवा गर्न बाधा नपर्ने व्यवस्था गरिएको छ ।
यसको अर्थ अब कुनै पनि स्थायी शिक्षकले नयाँ विद्यालयमा हाजिर भएको वा नियुक्ति पाएको एक वर्षमै सामान्य रूपमा सरुवा पाउन सक्ने छैनन्। यसअघि यो तीन वर्ष पुगेपछि मात्र हुने व्यवस्था थियो । सरुवाका लागि आएका निवेदनहरूमाथि विचार गर्दा मानवीय र विशेष अवस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ ।
संशोधित नियमअनुसार “ख” र “ग” वर्गका अपाङ्गता भएका शिक्षक, अरूको सहारा बिना हिँडडुल गर्न नसक्ने फरक क्षमताका व्यक्ति, गर्भवती महिला र दुई वर्षभन्दा कम उमेरका बच्चा भएका महिला शिक्षकलाई सरुवामा ‘पहिलो प्राथमिकता’ दिइनेछ। अन्य सामान्य शिक्षकहरूको हकमा भने विद्यालयले नै प्राथमिकताक्रम तय गर्नेछ ।
यसैगरी, दुई विद्यालय वा शिक्षकहरूबीच हुने पारस्परिक सरुवाको हकमा पनि निवेदन दिने शिक्षकहरूको कम्तीमा एक वर्ष सेवा अवधि अनिवार्य रूपमा बाँकी हुनुपर्ने सर्त राखिएको छ। यसमा पनि यसअघि राखिएको तीन वर्षे बाध्यकारी अवधिलाई घटाएर एक वर्षमा झार्न प्रस्ताव गरिएको हो ।
नियमावलीले ‘विशेष अवस्था’ लाई पनि थप प्रस्ट्याएको छ। यसअन्तर्गत स्थायी विपद्मा परेका शिक्षक, आकस्मिक वा आपत्कालीन अवस्थाका कारण ज्यान जोगाउनुपर्ने स्थिति, वा शिक्षकको पति/पत्नी, छोराछोरी वा आमाबुवालाई गम्भीर बिरामी भई निरन्तर हेरचाह गर्नुपर्ने अवस्थालाई समेटिएको छ। यस्तो अवस्था विशेषज्ञ डाक्टर वा मानसिक स्वास्थ्य विशेषज्ञबाट प्रमाणित भएको हुनुपर्नेछ ।
यसैगरी, सरकारले तोकेको कडा रोग लागेको वा मेडिकल बोर्डले सिफारिस गरेको फरक क्षमता भएका शिक्षकले पनि यो सुविधा पाउनेछन् । नयाँ संशोधन लागू भएपछि साविकको नियमावलीमा रहेको उपनियम (१५) लाई भने पूर्ण रूपमा हटाउन प्रस्ताव गरिएको छ। एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल र गभर्नर शासन लागू गरेका छन् ।
बिग्रँदो सुरक्षा अवस्थालाई कारण देखाउँदै यो निर्णय गरिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
पाकिस्तानको राष्ट्रपतिको सचिवालयका अनुसार संविधानको धारा २३२ र २३४ अन्तर्गत सङ्कटकाल घोषणा गरिएको हो । सङ्घीय सरकारले प्रान्तीय सरकारको आतङ्कवादविरुद्धको प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ । गभर्नर फैसल करिम कुन्दीले ११ सदस्यीय सल्लाहकार परिषद्को सहयोगमा शासन सञ्चालन गर्नेछन् । यो व्यवस्था प्रारम्भमा छ महिनाका लागि लागू हुनेछ ।
मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अक्टोबर ४ देखि सुरु भएको विरोध मार्च र सरकार–विपक्षबीचको वार्ता असफल भएपछि राजनीतिक तनाव बढेको हो । विपक्षी दलले जेलमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफका संस्थापक इमरान खानलाई भेट्न अनुमति दिनुपर्ने माग गरेको थियो ।
जमियत उलेमा–ए–इस्लामका प्रमुख मौलाना फजलुर रहमानले सङ्कटकाल र गभर्नर शासनलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै विरोध गरेका छन् ।
यसैबीच, सङ्घीय सरकारले संविधानको धारा २४५ अन्तर्गत पाकिस्तानी सेनालाई पनि खैबर पख्तुनख्वामा परिचालन गर्ने निर्णय गरेको छ । सेनाले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति र सरकारी संरचनाको संरक्षणमा प्रशासनलाई सहयोग गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुलातर्फ महामन्त्री पदमा विजयी उदयशमशेर राणाले आफूलाई मत दिएर निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन् ।
राणाले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी पार्टी रूपान्तरण, सङ्गठन सुदृढीकरण र देशको समृद्धिका लागि इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो विजयलाई व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली कांग्रेसलाई समयानुकूल, जनउत्तरदायी र सुदृढ बनाउने साझा सङ्कल्पका रूपमा व्याख्या गरेका छन् । लोकतान्त्रिक प्रतिस्पर्धामा सहभागी सबै साथीप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको विचार, योगदान र अनुभवलाई पार्टीको साझा यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताएका छन् ।
‘नेपाली कांग्रेसको सुन्दरता नै यही हो, प्रतिस्पर्धामा अनेक विचार भए पनि पार्टी र राष्ट्रको भविष्य निर्माणमा साझा प्रतिबद्धता हुन्छ,’ राणाले भनेका छन् । उनले सबै मिलेर कांग्रेसलाई अझ सुदृढ बनाउँदै समुन्नत नेपाल निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,