२०८३ कार्तिक २
२०८३ कार्तिक २

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन् ।

आइतबार बिहान करिब २: ३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल नदीमा खसेको हो । दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङ दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरी सुरुमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो । पछि चारै जनालाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ ।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ । दुर्घटनाको कारण तथा मृतक र बेपत्ताहरूको थप पहिचान खुल्न बाँकी छ । एभरेष्ट न्यूज एजेन्सी,

 

आजको राशिफल बिस २०८३ कार्तिक १ गते आइतबार ईस २०२६ अक्टोबर १८ नेपाल सम्बत ११४६ कौलाथ्व अष्टमी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण पक्ष अष्टमी, चन्द्रमा धनु राशिमा, पूर्वाषढा नक्षत्र, सूकर्मा योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ०६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ३४ बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज काममा सक्रियता बढ्नेछ र जिम्मेवारी पूरा गर्न नयाँ उत्साह मिल्नेछ। लामो समयदेखि अन्योलमा रहेको विषयमा निर्णय लिन सहज हुन सक्छ। व्यापारमा ग्राहकसँगको सम्बन्ध सुधारिनेछ, तर हतारमा लगानी गर्दा जोखिम बढ्न सक्छ। आर्थिक कारोबारमा स्पष्टता अपनाउनुहोला। परिवारका सदस्यसँग समय बिताउँदा मन हलुका हुनेछ। प्रेम सम्बन्धमा आफ्नो कुरा राख्नुअघि अर्को पक्षको भावना बुझ्ने प्रयास गर्नु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज धैर्य र व्यवहारकुशलताले महत्त्वपूर्ण काममा सफलता दिलाउन सक्छ। कार्यक्षेत्रमा अरूको सहयोग लिएर अघि बढ्दा अपेक्षित नतिजा प्राप्त हुने सम्भावना छ। आम्दानी र खर्चको हिसाब मिलाउने तथा अनावश्यक खर्च घटाउने योजना बनाउन अनुकूल समय छ। परिवारमा पुरानो विषयलाई लिएर छलफल हुन सक्छ, जसलाई समझदारीपूर्वक समाधान गर्नु उचित हुनेछ। दाम्पत्य जीवनमा आपसी विश्वास बलियो बन्नेछ। खानपान र आराममा ध्यान दिनुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज विचार आदानप्रदान र नयाँ कुरा सिक्न विशेष रुचि जाग्नेछ। अध्ययन, लेखन, सञ्चार तथा सिर्जनात्मक काममा संलग्न व्यक्तिले आफ्नो क्षमता देखाउने अवसर पाउन सक्छन्। नयाँ सम्पर्कबाट भविष्यमा उपयोगी सहयोग मिल्न सक्छ, तर सुनेकै भरमा कुनै निर्णय नगर्नुहोला। आर्थिक पक्षमा सानो लाभ भए पनि खर्चको दबाब रहन सक्छ। साथीभाइसँगको भेटघाटले उत्साह बढाउनेछ। प्रेम सम्बन्धमा स्पष्टता कायम गर्दा अनावश्यक शंका हट्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज घरपरिवार र व्यक्तिगत जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने हुन सक्छ। काममा व्यस्तता बढे पनि योजनाबद्ध ढङ्गले अघि बढ्दा बोझ कम हुनेछ। व्यवसायमा पुराना कमजोरी सुधार्ने अवसर मिल्न सक्छ। घरायसी आवश्यकता वा पारिवारिक काममा खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोला। नजिकका व्यक्तिको सुझाव उपयोगी साबित हुन सक्छ। मनमा रहेका कुरा विश्वासिलो व्यक्तिसँग साझा गर्दा भावनात्मक सहजता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आत्मविश्वास र नेतृत्व क्षमताको उपयोग गर्ने अवसर मिल्नेछ। कार्यक्षेत्रमा आफ्नो योजना प्रस्तुत गर्दा अरूको दृष्टिकोणलाई पनि महत्त्व दिनु आवश्यक छ। नयाँ कामको जिम्मेवारी प्राप्त हुन सक्छ, जसले भविष्यमा प्रगतिको बाटो खोल्न सक्छ। व्यापारमा प्रतिस्पर्धा रहे पनि सही रणनीतिले फाइदा पुर्‍याउनेछ। प्रतिष्ठा देखाउन अनावश्यक खर्च नगर्नुहोला। प्रेम सम्बन्धमा समय र ध्यान दिन सके आत्मीयता बढ्नेछ। शारीरिक सक्रियताका लागि केही समय छुट्याउनु लाभदायी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज सूक्ष्म विषयमा ध्यान दिने बानीले काममा फाइदा पुर्‍याउनेछ। कागजी प्रक्रिया, हिसाबकिताब वा अधुरा काम मिलाउन अनुकूल समय छ। कार्यालयमा सानो त्रुटिसमेत बेवास्ता नगर्नुहोला। आम्दानीको व्यवस्थापन राम्रो भए बचत बढाउने अवसर मिल्न सक्छ। परिवारमा व्यवहारिक विषयमा सहमति जुट्नेछ। प्रेम सम्बन्धमा आलोचना गर्नुभन्दा सकारात्मक पक्षको प्रशंसा गर्दा सम्बन्ध सहज बन्नेछ। मानसिक थकान कम गर्न कामबीच विश्राम लिनु उपयुक्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज सहकार्य र सन्तुलित व्यवहारले धेरै कुरा सहज बनाउन सक्छ। कार्यक्षेत्रमा सहकर्मी वा साझेदारसँग मिलेर काम गर्दा राम्रो परिणाम आउने सम्भावना छ। व्यापार विस्तारको सोच बनाइरहनुभएको छ भने पहिले बजार र खर्चको अवस्था बुझ्नुहोला। आर्थिक निर्णयमा भावनाभन्दा तथ्यलाई प्राथमिकता दिनु उचित हुनेछ। परिवारमा कसैको समस्या समाधान गर्न मध्यस्थता गर्नुपर्ने हुन सक्छ। प्रेम जीवनमा एकअर्काको स्वतन्त्रताको सम्मान गर्दा सम्बन्ध थप बलियो बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दृढ इच्छाशक्ति भए पनि निर्णयमा हतार नगर्नु राम्रो हुनेछ। प्रतिस्पर्धात्मक काममा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्न सक्छ। रोकिएको जिम्मेवारी पूरा गर्न मेहनत गर्नुपर्नेछ। आर्थिक कारोबार, ऋण वा साझेदारीसम्बन्धी कागजात राम्ररी जाँचेर मात्र अघि बढ्नुहोला। परिवारमा स्पष्ट संवादको अभावले सानो असमझदारी उत्पन्न हुन सक्छ। प्रेम सम्बन्धमा शंका बढाउनुभन्दा विश्वासका साथ कुरा गर्नु उपयुक्त हुनेछ। यात्रा वा बाहिरी काममा सावधानी अपनाउनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज ज्ञान, अनुभव र नयाँ सम्भावनाको खोजीमा समय बित्न सक्छ। अध्ययन, तालिम वा सीप विकाससँग सम्बन्धित योजनामा प्रगति हुने संकेत छ। काममा भविष्यलाई ध्यानमा राखेर निर्णय लिन सकिनेछ। व्यापारमा विस्तारको योजना बनाउनुअघि आवश्यक स्रोत र जनशक्तिको मूल्याङ्कन गर्नुहोला। खर्च नियन्त्रण गर्दै बचतको लक्ष्य निर्धारण गर्न अनुकूल समय छ। परिवारसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा आपसी समझदारी बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज अनुशासन र निरन्तर प्रयासले कामलाई सही दिशामा लैजान मद्दत गर्नेछ। केही काम अपेक्षाभन्दा ढिलो हुन सक्छन्, तर धैर्य नछोड्दा उपलब्धि हासिल गर्न सकिनेछ। कार्यालयमा जिम्मेवारी थपिन सक्छ। पुरानो भुक्तानी, आर्थिक हिसाब वा बाँकी दायित्व व्यवस्थित गर्ने अवसर मिल्नेछ। तत्काल आवश्यक नभएको नयाँ आर्थिक प्रतिबद्धता नगर्नुहोला। परिवारका सदस्यको सहयोगले मनोबल बढ्नेछ। सम्बन्धमा व्यस्तताका बीच पनि समय दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज नयाँ सोचलाई व्यवहारमा उतार्ने चाहना बढ्नेछ। सिर्जनात्मक काम, प्रविधिसँग सम्बन्धित विषय वा सामूहिक योजनामा राम्रो सम्भावना देखिन्छ। नयाँ व्यक्तिसँगको सम्पर्कले उपयोगी जानकारी दिन सक्छ। आर्थिक लाभको आशामा अपरिचित व्यक्तिको प्रस्ताव स्वीकार गर्नुअघि आवश्यक जाँच गर्नुहोला। परिवारमा आफ्नो विचार राख्दा अरूको आवश्यकतालाई पनि ध्यान दिनु उचित हुनेछ। प्रेम सम्बन्धमा समयको अभावले दूरी बढ्न नदिन खुला संवाद कायम राख्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)

आज संवेदनशीलता र कल्पनाशीलताले निर्णयमा प्रभाव पार्न सक्छ। कला, साहित्य, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा लागेकालाई आफ्नो क्षमता निखार्ने अवसर मिल्नेछ। अरूको समस्या समाधान गर्न सहयोग गर्न सक्नुहुनेछ, तर आफ्नो जिम्मेवारी र समयको सीमासमेत ख्याल गर्नुहोला। आर्थिक रूपमा आवश्यक र अनावश्यक खर्च छुट्याएर अघि बढ्नु लाभदायी हुनेछ। घरपरिवारमा आत्मीय वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा साना कुरालाई ठूलो नबनाई समझदारी अपनाउँदा मनमुटाव कम हुनेछ। मानसिक शान्तिका लागि आफूलाई मन पर्ने काममा समय दिनुहोला ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको छ । बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा लगातार नवौँ जित निकालेको हो ।

बार्सिलोनाका लागि लामिन यामलले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रियल बेटिसका भालेन्टिन गोमेजले २७औँ मिनेटमा बराबरी गोल गरे पनि रोड्रीले ४१औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा गाब्रिएल जेससले ५१औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता बढाए । त्यसको दुई मिनेटपछि एज अब्देले गोल गर्दै बेटिसलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको ६२औँ मिनेटमा एरिक गार्सियाले गोल गरेपछि बार्सिलोनाले ४–२ को अग्रता बनायो । डानी ओल्मोले ८१औँ मिनेटमा अर्को गोल थपेपछि बार्सिलोनाले ५–२ को प्रभावशाली जित सुनिश्चित गर्‍यो ।

दोस्रो हाफको ५४औँ मिनेटमा बार्सिलोनाका यामलमाथि टाउकोले प्रहार गरेको घटनामा रियल बेटिसका फाकुन्डो बर्नालले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

यस जितसँगै बार्सिलोनाले लिगका अपराजित रहदै ९ खेलमा २७ अङ्क जोडेको छ । रियल बेटिस भने १९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविदहरु बताउछन् ।

सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय भएको धर्मशास्त्रीहरुको भनाई छ ।

ब्राह्मणका लागि भने पशु बलि वर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने बताइएको छ ।

राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशु बलि दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानदेखि भीड लाग्ने गर्छ ।

यसैगरी उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्दछ ।

आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाले नियुक्त भएको पाँच दिनमै पद छाडेकी छन् ।

उनले अक्टोबर १३ मा काम सुरु गरेकी थिइन् भने अक्टोबर १६ मा पदबाट हटेकी हुन् ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले जकारियालाई पद छाड्ने विषयमा पुनर्विचार गर्न भनेका थिए । ट्रम्पले सञ्चारमाध्यमले उनीमाथि कडा व्यवहार गरेको भन्दै उनी खुसी रहून् भन्ने चाहेको बताएका थिए ।

जकारियाको कानुनी योग्यता र पहिलो पत्रकार सम्मेलनमा दिएका जवाफलाई लिएर आलोचना भएको थियो । उनले वकालतको परीक्षा उत्तीर्ण नगरेको स्वीकार गरेकी थिइन् । अक्टोबर १३ मा भएको पहिलो पत्रकार सम्मेलनमा उनले लिखित टिपोट पढेको र केही प्रश्नको जवाफ दिन नसकेको भन्दै आलोचना भएको थियो ।

यसअघि ट्रम्पले क्यारोलिन लेभिटको स्थानमा जकारियालाई प्रेस सचिव नियुक्त गरेका थिए । उनी ट्रम्पको सामाजिक सञ्जाल कम्पनीमा सञ्चार सल्लाहकारका रूपमा काम गरिसकेकी थिइन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको कार्यकाल ट्रम्प प्रशासनका छोटो अवधिका नियुक्तिमध्ये एक बनेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौ‌ । बडादसैँको सातौँ दिन हरेक वर्षजस्तै यस वर्ष पनि गोरखा दरबारको दसैँघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीको डोली काठमाडौँस्थित हनुमानढोका दरबार पठाइएको छ ।

शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौँ पठाइएको हो। फूलपाती बिदाइका लागि गोरखा दरबारको दसैँघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो ।

बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन गोरखाको कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ। पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन्न किसिमका पात तथा वनस्पतिहरू (केरा, दाडिम, धान, हलेदो, माने, अशोक, बेल र जयन्ती) लाई शास्त्रीय विधिअनुसार फूलपातीका रूपमा तयार पारिन्छ। यसरी तयार पारिएको फूलपातीलाई विशेष बाजागाजा, सलामी र मङ्गलपाठसहित गोरखाबाट काठमाडौँतर्फ पठाउने गरिन्छ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि हर्षबढाइँका साथ भित्र्याउने परम्परा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना रहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भु-भाग, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ , लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा  आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

 

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल सरकारले १ खर्ब ९९ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार यस अवधिमा सरकारको चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसमा कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकर राजस्व १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ। प्रदेश तथा स्थानीय सरकारलाई बाँडफाँट हुने रकमसमेत कुल राजस्व परिचालनमा समावेश गरिएको छ ।

कुल सरकारी राजस्वमा अप्रत्यक्ष करको हिस्सा ७५.३ प्रतिशत, प्रत्यक्ष करको हिस्सा १८.२ प्रतिशत, गैरकर राजस्वको हिस्सा ५.८ प्रतिशत र अन्य प्राप्तिको हिस्सा ०.७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको हिस्सा घटेको छ भने अप्रत्यक्ष कर र गैरकर राजस्वको हिस्सा बढेको छ ।

भदौ मसान्तसम्म सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब ६९ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । असार मसान्तमा यस्तो मौज्दात २ खर्ब ७७ अर्ब ४६ करोड रुपैयाँ थियो । यसमा प्रदेश तथा स्थानीय सरकारका खातामा रहेको रकमसमेत समावेश छ ।

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूले यस अवधिमा २४ अर्ब ५४ करोड रुपैयाँ स्रोत परिचालन गरेका छन् । त्यसमध्ये सङ्घीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँटको रकम १६ अर्ब ३८ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोत तथा अन्य प्राप्ति ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानसँग भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

दुवै पक्षले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै सहयोगका नयाँ सम्भावना अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका छन् । एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं, २९ असोज २०८३ । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

कीर्तिपुर नगरपालिका–६ मा निर्माणाधीन सबस्टेसनका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा दशैंलगत्तै चार्ज गरी सञ्चालनमा ल्याइनेछ । चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन् ।

सबस्टेसनमा विद्युत् आपूर्तिका लागि थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार खण्डको एउटा सर्किट यसअघि नै चार्ज गरिसकिएको छ ।

काठमाडौं उपत्यकाको विशेषगरी कीर्तिपुर तथा आसपासका क्षेत्र र ललितपुरको पुल्चोक आसपासको बढ्दो विद्युत् माग सम्बोधन गर्दै आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन चोभार सबस्टेसन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरी आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी निर्माण प्रगतिका बारेमा जानकारी लिएको छ ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सबस्टेसन चार्ज गर्न निर्देशन दिए । उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ–चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्वपूर्ण हुने उल्लेख गर्दै दुवै संरचनालाई उच्च प्राथमिकतामा राखी यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए ।

चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत वितरणका लागि ११ केभीका नौवटा फिडर लाइनको व्यवस्था गरिएको छ । तीमध्ये तीनवटा फिडर ललितपुरको पुल्चोकतर्फ र छवटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन् । फिडर लाइन विस्तारको काम अन्तिम चरणमा रहेको र उक्त काम सम्पन्न भएपछि दशैंलगत्तै सबस्टेसन चार्ज गरिनेछ ।

थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण कार्य अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा १३२÷११ केभी सबस्टेसन निर्माण गरिएको हो । चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ ।

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो । मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो ।

एसियाली विकास बैंक (एडीबी)को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गरिएको हो ।  एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।