काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाले नियुक्त भएको पाँच दिनमै पद छाडेकी छन् ।
उनले अक्टोबर १३ मा काम सुरु गरेकी थिइन् भने अक्टोबर १६ मा पदबाट हटेकी हुन् ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले जकारियालाई पद छाड्ने विषयमा पुनर्विचार गर्न भनेका थिए । ट्रम्पले सञ्चारमाध्यमले उनीमाथि कडा व्यवहार गरेको भन्दै उनी खुसी रहून् भन्ने चाहेको बताएका थिए ।
जकारियाको कानुनी योग्यता र पहिलो पत्रकार सम्मेलनमा दिएका जवाफलाई लिएर आलोचना भएको थियो । उनले वकालतको परीक्षा उत्तीर्ण नगरेको स्वीकार गरेकी थिइन् । अक्टोबर १३ मा भएको पहिलो पत्रकार सम्मेलनमा उनले लिखित टिपोट पढेको र केही प्रश्नको जवाफ दिन नसकेको भन्दै आलोचना भएको थियो ।
यसअघि ट्रम्पले क्यारोलिन लेभिटको स्थानमा जकारियालाई प्रेस सचिव नियुक्त गरेका थिए । उनी ट्रम्पको सामाजिक सञ्जाल कम्पनीमा सञ्चार सल्लाहकारका रूपमा काम गरिसकेकी थिइन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको कार्यकाल ट्रम्प प्रशासनका छोटो अवधिका नियुक्तिमध्ये एक बनेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । भारतले मानसिक स्वास्थ्य र लैङ्गिक न्यायजस्ता विषयमा बोल्ने युवाले यातना तथा सामाजिक कलङ्कको सामना गर्नुपरेको दाबी समेटिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक जीना रोमेरोले तयार पारेको प्रतिवेदनका निष्कर्षमाथि प्रश्न उठाउँदै भारतले ती आरोप अज्ञात र अपुष्ट सूचनामा आधारित रहेको जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत तेस्रो समितिको ८१औँ सत्रमा भएको छलफलका क्रममा भारतीय स्थायी नियोगका प्रथम सचिव अनुज स्वरूपले प्रतिवेदनको विश्वसनीयता र त्यसका निष्कर्ष तयार पार्ने प्रक्रियामाथि प्रश्न उठाएका थिए ।
उनले भारतको विशाल युवा जनसङ्ख्याबारे व्यापक आरोप लगाउन अज्ञात स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन नहुने बताएका थिए । स्वरूपले भारतीय संविधानको धारा १९ ले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुने, सङ्गठन खोल्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका थिए । उनका अनुसार स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम र सशक्त राष्ट्रिय मानव अधिकार आयोगले यी अधिकारको संरक्षण गर्दै आएका छन् ।
भारतीय प्रतिनिधिले प्रतिवेदनमा मानसिक स्वास्थ्य र लैङ्गिक न्यायका विषयमा बोल्ने युवाले यातना वा सामाजिक कलङ्क भोगेको दाबीको समर्थनमा अज्ञात व्यक्तिका भनाइ मात्र उल्लेख गरिएको बताएका थिए । ‘यो प्रमाण होइन । यो त अफवाहलाई संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनको आवरण दिनुजस्तै हो,’ स्वरूपले भनेका थिए ।
उनले यस्ता प्रतिवेदन तयार गर्दा तथ्यको पुष्टि, निष्पक्षता र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । अपुष्ट दाबीले संयुक्त राष्ट्रसङ्घ र यसका संस्थाको प्रतिष्ठामा असर पार्न सक्ने उनको भनाइ थियो ।
भारतले युवाका लागि राजनीतिक असहमति व्यक्त गर्ने पर्याप्त ठाउँ नरहेको प्रतिवेदनको आकलनलाई पनि चुनौती दिएको थियो । स्वरूपले भारतीय युवाहरू राजनीतिक आन्दोलनमा सहभागी हुने र वरिष्ठ सरकारी नेताहरूसँग संवाद गर्ने गरेको उदाहरण दिएका थिए । उनले व्यङ्ग्यात्मक राजनीतिक समूह ‘ककरोच जनता पार्टी’का प्रतिनिधिले जुलाईमा भएका प्रदर्शनपछि केन्द्रीय मन्त्रीहरूसँग छलफल गरेको उल्लेख गरेका थिए । युवाले सरकारको आलोचना गर्न, राजधानीमा प्रदर्शन गर्न र त्यसपछि वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्न सक्ने अवस्थाले राजनीतिक असहमति व्यक्त गर्ने अवसर रहेको देखाउने उनको तर्क थियो ।
भारतले विद्यार्थी प्रदर्शन र सार्वजनिक परीक्षामा भएका भनिएका अनियमितताबारे सरकारले चालेका कदमलाई पनि प्रतिवेदनको प्रतिवादमा प्रस्तुत गरेको थियो । स्वरूपले सरकारले युवासँग रचनात्मक संवाद गर्दै परीक्षा अनियमिततासँग सम्बन्धित समस्या समाधान गर्न पहल गरेको बताएका थिए । उनले ‘विकसित भारत युवा नेता संवाद’को उदाहरण दिँदै उक्त पहलमा ५० लाखभन्दा बढी युवाले राष्ट्रिय प्राथमिकताबारे आफ्ना विचार प्रस्तुत गरेको उल्लेख गरेका थिए ।
जीना रोमेरो कोलम्बियाकी मानव अधिकारकर्मी हुन् । उनी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदकका रूपमा शान्तिपूर्ण सभा गर्न र सङ्गठन खोल्न पाउने स्वतन्त्रतासम्बन्धी अधिकारमा काम गर्छिन् । भारतले रोमेरोलाई प्रतिवेदनमा निष्कर्ष निकाल्नुअघि तथ्यको पुष्टि गर्न तथा सबै दाबीको मूल्याङ्कन गर्दा निष्पक्षता र कठोर अनुसन्धानका मापदण्ड अपनाउन आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । जापानको मौसम विज्ञान निकायले ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी जारी गरेपछि देशभर त्रास फैलिएको छ ।
होक्काइदोदेखि तोकाई क्षेत्रसम्म शक्तिशाली भूकम्पको धक्का महसुस हुन सक्ने चेतावनी दिइएको थियो । तर, करिब १२ मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको छ ।
जापानको मौसम विज्ञान निकायले भूकम्पको तीव्रता आवश्यकताभन्दा बढी अनुमान गर्दा गलत चेतावनी जारी भएको स्वीकार गर्दै माफी मागेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
जापानको भूकम्प पूर्वचेतावनी प्रणालीले जमिनमा जडित संवेदकबाट प्राप्त प्रारम्भिक तथ्याङ्कका आधारमा भूकम्पको तीव्रता र सम्भावित प्रभावको अनुमान गर्छ । प्रारम्भिक तथ्याङ्क अपूर्ण हुँदा अनुमान गलत हुन सक्ने भए पनि यसपटकको त्रुटिलाई गम्भीर मानिएको छ । अहिलेसम्म ९.९ म्याग्निच्युडको भूकम्प अभिलेख गरिएको छैन ।
प्रारम्भिक तथ्याङ्क अपूर्ण हुनु, भूकम्प निगरानी केन्द्रबाट टाढा उत्पन्न हुनु वा एकै समयमा आसपासका क्षेत्रमा धेरै भूकम्प आउनुले अनुमानमा असर पार्न सक्छ । तर, यस घटनामा संवेदक वा सफ्टवेयरमा समस्या आएको पुष्टि भएको छैन । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीभन्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न सजिलो रहेको बताएका छन् । उनले रुस–युक्रेन युद्ध धेरैअघि नै अन्त्य भइसक्नुपर्ने भन्दै जेलिन्स्कीको आलोचना गरेका छन् ।
एक अन्तर्वार्तामा ट्रम्पले जेलिन्स्कीले सम्झौताका लागि तयार रहेको बताए पनि निर्णय गर्ने बेला पछि हट्ने गरेको आरोप लगाए । उनले रुस र युक्रेन दुवैले युद्ध रोक्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताएका छन् ।
ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरिरहेका आक्रमणप्रति पनि असन्तुष्टि जनाएका छन् । विश्वका विभिन्न क्षेत्रमा डिजेलको अभाव भइरहेका बेला यस्ता आक्रमणले थप चिन्ता बढाउन सक्ने उनको भनाइ छ ।
उनले पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेनलाई अर्बौँ डलरको आर्थिक तथा सैन्य सहायता उपलब्ध गराए पनि युद्ध अन्त्य हुन नसकेको टिप्पणी गरे । ट्रम्पले युक्रेनले अन्ततः कुनै न कुनै सम्झौतामा पुग्नुपर्ने बताएका छन् ।
युद्धको पृष्ठभूमिबारे चर्चा गर्दै ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा क्रिमियामाथि युक्रेनको नियन्त्रण गुमेको प्रसङ्ग पनि उठाएका छन् । रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो। युक्रेन र अधिकांश अन्तर्राष्ट्रिय समुदायले क्रिमियालाई युक्रेनकै भूभाग मान्दै आएका छन् ।
ट्रम्पले युद्धका क्रममा रुस र युक्रेन दुवैले ठूलो मानवीय क्षति बेहोरेको उल्लेख गर्दै युद्ध छिट्टै अन्त्य हुने आशा व्यक्त गरेका छन् । यद्यपि, शान्ति सम्झौताका लागि दुवै पक्ष कुन सर्तमा सहमत हुन सक्छन् भन्नेबारे उनले स्पष्ट पारेका छैनन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन् ।
साउदी ऊर्जा मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार राति भएको आक्रमणपछि भवनमा सीमित आगलागी भएको थियो। घटनामा मानवीय क्षति भएको छैन ।
समाचार संस्था रोयटर्सका अनुसार कम्पनीको मुख्यालय परिसरमा रहेको एउटा कार्यालय भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो । त्यसबाट भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताइएको छ । साउदी नेतृत्वको गठबन्धनले धहरानमा अवरोध गरिएको क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ । राजधानी रियादमा पनि हुथी विद्रोहीका क्षेप्यास्त्र र ड्रोन अवरोध गरी नष्ट गरिएको साउदी अधिकारीहरूले बताएका छन् ।
क्षेप्यास्त्रका टुक्रा खस्दा रियादमा चार जना घाइते भएका छन्। घाइते हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन् । घटनामा राजधानीका १५ घरमा सामान्य क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको छ । यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा साउदी अरेबिया र हुथी विद्रोहीबीच आक्रमण तीव्र बनेको छ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाले सरकारी सेनालाई समर्थन गरेको भन्दै क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गर्दै आएका छन्।
यसअघि हुथी प्रवक्ता याह्या सारीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा गरेको आक्रमणको जवाफ कडा हुने चेतावनी दिएका थिए । उनले धहरानस्थित अरामको मुख्यालय र रियादको तेल प्रशोधन केन्द्र सम्भावित निशानामा रहेको बताएका थिए ।
साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको आक्रमण क्षमता कमजोर बनाउने उद्देश्यले सानानजिकैको इन्धन भण्डारण केन्द्रसहित विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ ।
यमनको द्वन्द्व क्षेत्रीय तनावसँग पनि जोडिएको छ। साउदी अरेबियाले हुथी विद्रोहीविरुद्धको सैन्य अभियानलाई तीव्र बनाएको छ भने इरानले रियाद र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमान अपहरण गरी दुर्घटनाग्रस्त गराउने कथित षड्यन्त्रको अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) प्रहरीले माल्दिभ्सका दुई सहचालकलाई पक्राउ गरेको छ ।
माल्दिभ्सको समाचार पोर्टल अधाधूका अनुसार उनीहरूलाई अक्टोबर ३ मा हिरासतमा लिइएको हो । यसअघि सेप्टेम्बर ३० मा भएको घटनामा ओमानका सहचालक हम्माम अल–हम्मामीले भारतीय विमान चालक स्मित मच्छारमाथि धारिलो हतियारले आक्रमण गरी विमान नियन्त्रणमा लिन खोजेको आरोप छ ।
विमानमा यात्रु र चालक दलका गरी १७४ जना सवार थिए । आक्रमणमा घाइते भएका मच्छारले प्रतिकार गरेपछि चालक दल र यात्रुहरूले आरोपितलाई नियन्त्रणमा लिएका थिए । त्यसपछि विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो ।
यूएईका अधिकारीहरूले घटनालाई सम्भावित आतंकवादी आक्रमणको प्रयासका रूपमा अनुसन्धान गरिरहेका छन् । पक्राउ परेका दुई माल्दिभियन पाइलटको घटनामा संलग्नता र उनीहरूमाथिका आरोपबारे भने आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
यस घटनाको व्यापक षड्यन्त्रबारे अनुसन्धान गर्न भारतको राष्ट्रिय अनुसन्धान निकायले पनि मुद्दा दर्ता गरेको छ । आक्रमणमा घाइते भएका मच्छारको अबुधाबीस्थित अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्यमा सुधार आएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले प्रधानमन्त्री शहबाज सरिफको सिफारिसमा खैबर पख्तुनख्वा प्रान्तमा सङ्कटकाल र गभर्नर शासन लागू गरेका छन् ।
बिग्रँदो सुरक्षा अवस्थालाई कारण देखाउँदै यो निर्णय गरिएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् ।
पाकिस्तानको राष्ट्रपतिको सचिवालयका अनुसार संविधानको धारा २३२ र २३४ अन्तर्गत सङ्कटकाल घोषणा गरिएको हो । सङ्घीय सरकारले प्रान्तीय सरकारको आतङ्कवादविरुद्धको प्रयासप्रति असन्तुष्टि जनाउँदै यस्तो निर्णय गरेको जनाएको छ । गभर्नर फैसल करिम कुन्दीले ११ सदस्यीय सल्लाहकार परिषद्को सहयोगमा शासन सञ्चालन गर्नेछन् । यो व्यवस्था प्रारम्भमा छ महिनाका लागि लागू हुनेछ ।
मुख्यमन्त्री सोहेल अफ्रिदीको नेतृत्वमा अक्टोबर ४ देखि सुरु भएको विरोध मार्च र सरकार–विपक्षबीचको वार्ता असफल भएपछि राजनीतिक तनाव बढेको हो । विपक्षी दलले जेलमा रहेका पाकिस्तान तहरिक–ए–इन्साफका संस्थापक इमरान खानलाई भेट्न अनुमति दिनुपर्ने माग गरेको थियो ।
जमियत उलेमा–ए–इस्लामका प्रमुख मौलाना फजलुर रहमानले सङ्कटकाल र गभर्नर शासनलाई लोकतन्त्रमाथिको आक्रमण भन्दै विरोध गरेका छन् ।
यसैबीच, सङ्घीय सरकारले संविधानको धारा २४५ अन्तर्गत पाकिस्तानी सेनालाई पनि खैबर पख्तुनख्वामा परिचालन गर्ने निर्णय गरेको छ । सेनाले नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति र सरकारी संरचनाको संरक्षणमा प्रशासनलाई सहयोग गर्नेछ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार, २०८३ असोज २३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा कायम भएको छ ।
यस्तै, युरोपेली युरो एकको खरिददर १७२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५० पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २८ पैसा र बिक्रीदर १८६ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ८६ पैसा कायम भएको छ। क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७८ पैसा रहेको छ ।
सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ५५ पैसा र बिक्रीदर १२१ रुपैयाँ २ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ ६ पैसा र बिक्रीदर २३ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८० पैसा कायम भएको छ।
साउदी अरबको एक रियालको खरिददर ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३३ पैसा कायम भएको छ। कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४० पैसा र बिक्रीदर ४२ रुपैयाँ ५७ पैसा रहेको छ ।
संयुक्त अरब इमिरेट्सको एक दिरामको खरिददर ४२ रुपैयाँ ८ पैसा र बिक्रीदर ४२ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ। दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ५० पैसा र बिक्रीदर ११ रुपैयाँ ५४ पैसा रहेको छ।
थाइल्यान्डको एक भाटको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५ रुपैयाँ ४९ पैसा कायम भएको छ। डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १२ पैसा र बिक्रीदर २३ रुपैयाँ २१ पैसा रहेको छ। हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।
खाडी मुलुकका मुद्रातर्फ कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ५०३ रुपैयाँ ५२ पैसा रहेको छ। बहराइनी दिनार एकको खरिददर ४०९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४११ रुपैयाँ ४० पैसा कायम भएको छ। ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ २ पैसा रहेको छ।
भारतसँगको कारोबारका लागि भने नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। यो दर राष्ट्र बैंकले तोकेको स्थिर दर हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको खुला बजार विनिमयदर बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गर्ने सन्दर्भदर हो। राष्ट्र बैंकको सूचनाअनुसार विभिन्न बैंकले तोक्ने वास्तविक खुला बजार विनिमयदर भने फरक हुन सक्नेछ एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अमेरिकाको न्युयोर्क सहरको नगर प्रमुखमा जोहरान ममदानीको जितपछि उनको चुनावी अभियानमा उठाइएका महँगी, महँगो भाडा र दैनिक जीवनयापनको खर्चका मुद्दा युरोपेली राजनीतिमा समेत चर्चामा आउन थालेका छन् ।
गत वर्ष नोभेम्बरमा न्युयोर्कको नगर प्रमुखमा निर्वाचित ममदानीले सहरलाई आम नागरिकका लागि सस्तो बनाउने विषयलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएका थिए । अहिले जर्मनी, बेलायत, स्पेन, फ्रान्स र नेदरल्यान्ड्सका वामपन्थी नेताहरूले पनि आवासको बढ्दो मूल्य, भाडा र जीवनयापनको खर्चलाई राजनीतिक मुद्दाका रूपमा अघि सारेका छन् ।
जर्मनीमा सस्तो घरको मुद्दाले दिलायो सफलता
युरोपमा ममदानीको राजनीतिक शैलीसँग सबैभन्दा बढी तुलना जर्मनीकी एलिफ एराल्पसँग भइरहेको छ । ४५ वर्षीया एराल्प वकिल हुन् । उनका अभिभावक सन् १९८० को टर्कीको सैनिक सत्ता परिवर्तनपछि जर्मनी आएका थिए । उनी सन् २०१७ मा वामपन्थी दल ‘द लिंक’मा आबद्ध भएकी थिइन् । गत महिना भएको निर्वाचनमा एराल्पको दलले महँगो सहर र बढ्दो घरभाडालाई मुख्य मुद्दा बनाएको थियो । एराल्पले बर्लिनमा निजी कम्पनीको स्वामित्वमा रहेका करिब २ लाख २० हजार घरलाई सार्वजनिक नियन्त्रणमा ल्याउनुपर्ने माग गरेकी थिइन् । निर्वाचनमा उनको दलले करिब २५ दशमलव ७ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठूलो दल बनेको छ । यद्यपि सरकार गठनका लागि उसले अन्य दलसँग गठबन्धन गर्नुपर्नेछ ।
बेलायतमा वातावरणसँग जोडियो महँगो घरको मुद्दा
बेलायतमा ममदानीसँग सबैभन्दा बढी तुलना हरित दलका नेता ज्याक पोलान्स्कीसँग हुने गरेको छ । वातावरण र जलवायु परिवर्तनका विषयमा केन्द्रित रहँदै आएको उक्त दलको राजनीतिक मुद्दालाई पोलान्स्कीले थप विस्तार गरेका छन् । उनले महँगी, महँगो घर, बढ्दो भाडा, दैनिक खर्च र धनी वर्गमाथि बढी कर लगाउने विषयलाई वातावरणीय राजनीतिसँग जोड्दै आएका छन् । उनले यसलाई वातावरण केन्द्रित जनमुखी राजनीति भन्दै आएका छन् । पोलान्स्कीले ममदानीको जस्तै सामाजिक सञ्जाललाई चुनावी अभियानको महत्वपूर्ण माध्यम बनाएका छन् । उनका अनुसार उनको प्रचार टोलीले ममदानीको प्रचार सामग्री बनाउने टोलीबाट समेत सुझाव लिइरहेको छ । पोलान्स्की अहिले लन्डनको होलबोर्न क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पूर्वप्रधानमन्त्री कियर स्टार्मरले सांसद पद छाडेपछि अक्टोबर ८ मा त्यहाँ उपनिर्वाचन हुँदैछ । दुई वर्षअघि भएको निर्वाचनमा हरित दलले उक्त क्षेत्रमा १० प्रतिशत मत मात्र पाएको थियो । तर केही सर्वेक्षणले यसपटक उक्त दलले ४० प्रतिशतसम्म मत पाउन सक्ने देखाएका छन् ।
स्पेनमा आवास संकटले बढायो राजनीतिक दबाब
स्पेनमा महँगो घर र बढ्दो भाडा अहिले प्रमुख राजनीतिक मुद्दा बनेको छ । गत महिना म्याड्रिडमा ८७ वर्षीया मारिकर्मेन अबास्कललाई ७० वर्षदेखि बस्दै आएको घरबाट निकालिएपछि देशभर विरोध प्रदर्शन भएका थिए । यो घटना स्पेनमा देखिएको आवास संकटको प्रतीक बनेको थियो । आवास समस्यालाई सम्बोधन गर्न सरकारमाथि दबाब बढ्दै गएपछि संसदमा सरकारको आवाससम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो ।
त्यसपछि प्रधानमन्त्री पेद्रो सान्चेजले नोभेम्बर २९ मा समयअगावै आमनिर्वाचन गर्ने घोषणा गरेका थिए । यससँगै स्पेनमा घर र भाडाको विषय सामाजिक समस्याबाट अघि बढेर प्रत्यक्ष चुनावी मुद्दा बनेको छ ।
फ्रान्समा ६० हजार सस्ता घर बनाउने योजना
फ्रान्सको राजधानी पेरिसका समाजवादी दलसँग आबद्ध नगर प्रमुख इमानुएल ग्रेगोयरले पनि सस्तो आवास र बढ्दो भाडालाई प्राथमिकतामा राखेका छन् । ग्रेगोयरले पेरिसमा थप सस्ता घर निर्माण गर्ने, खाली रहेका घरलाई आवासका रूपमा प्रयोग गर्ने र भाडा नियन्त्रणलाई थप प्रभावकारी बनाउने विषय अघि सारेका छन् ।
उनको नेतृत्वमा पेरिसमा ६० हजार नयाँ सस्ता घर निर्माण गर्ने योजना अघि बढाइएको छ । ममदानीको जितअघि नै फ्रान्सका केही वामपन्थी नेताले उनको चुनावी अभियानबाट सिक्नुपर्ने बताएका थिए । ममदानीले आम नागरिकलाई बुझिने गरी सिधा रूपमा उठाएका मुद्दा र प्रचार शैलीप्रति पनि युरोपेली वामपन्थी नेताहरूको चासो बढेको छ ।
नेदरल्यान्ड्समा आवास अभाव प्रमुख चुनावी मुद्दा
नेदरल्यान्ड्समा भने ममदानीको जितअघि नै घर र भाडाको समस्या चुनावी राजनीतिमा प्रमुख विषय बनिसकेको थियो । सन् २०२५ को राष्ट्रिय निर्वाचनमा डि६६ दलका नेता रोब येतनले आवास संकटलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । त्यतिबेला नेदरल्यान्ड्समा करिब ४ लाख घरको अभाव रहेको थियो। घर खरिद महँगो हुँदै गएको र भाडासमेत लगातार बढिरहेका कारण ठूलो संख्यामा नागरिक आवासको समस्यासँग जुधिरहेका थिए । येतनको दलले हरेक वर्ष १ लाख नयाँ घर निर्माण गर्ने र १० वटा नयाँ बस्ती विकास गर्ने प्रस्ताव अघि सारेको थियो। निर्वाचनमा उक्त दलले उल्लेख्य सफलता हासिल गर्दै सन् २०२३ मा रहेको ९ सिटबाट बढेर सन् २०२५ मा २६ सिट पुर्याएको थियो र सबैभन्दा ठूला दलमध्ये एक बनेको थियो । यसरी नेदरल्यान्ड्समा सस्तो घर र कम भाडाको विषय ममदानीको जितअघि नै प्रमुख राजनीतिक मुद्दा बनिसकेको थियो ।
ममदानीको सफलताले भने युरोपभरि महँगी, आवास र दैनिक जीवनयापनको खर्चलाई केन्द्रमा राखेर चुनावी राजनीति गर्ने बहसलाई थप बल दिएको देखिएको छ। एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यसम्पादनप्रतिको जनसमर्थन ऐतिहासिक न्यून विन्दुमै कायम रहेको छ । रोयटर्स तथा इप्सोसले गरेको पछिल्लो सर्वेक्षणअनुसार ट्रम्पको राष्ट्रपतीय कार्यसम्पादनलाई समर्थन गर्ने अमेरिकीको संख्या ३२ प्रतिशतमा सीमित भएको छ ।
छ दिनसम्म गरिएको सर्वेक्षणमा ट्रम्पको पक्षमा देखिएको समर्थन अघिल्लो सेप्टेम्बरको सर्वेक्षणकै स्तरमा रहेको हो । यसअघि पनि ३२ प्रतिशत समर्थन ट्रम्पको राजनीतिक जीवनकै सबैभन्दा न्यून स्तरका रूपमा देखिएको थियो ।
ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ठूलो संख्यामा साथ दिएका हिस्पानिक मतदातामाझ पनि उनको लोकप्रियता घटेको सर्वेक्षणले देखाएको छ । हिस्पानिक समुदायका केवल २४ प्रतिशतले ट्रम्पको कार्यसम्पादनलाई समर्थन गरेका छन् । यो ट्रम्पका दुई कार्यकालमध्ये सबैभन्दा न्यून समर्थन हो ।
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले हिस्पानिक मतको करिब आधा हिस्सा प्राप्त गरेका थिए । सन् २०२० मा भने उनले करिब एकतिहाइ हिस्पानिक मत मात्रै पाएका थिए। तर पछिल्ला महिनामा महँगी र जीवनयापनको बढ्दो लागतका कारण उनको समर्थन कमजोर बनेको सर्वेक्षणले देखाएको छ ।
ट्रम्पको कमजोर लोकप्रियताको असर उनको रिपब्लिकन पार्टीमा पनि देखिएको छ । आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा ४४ प्रतिशत दर्ता मतदाता डेमोक्र्याटिक पार्टीलाई र ३७ प्रतिशत रिपब्लिकन पार्टीलाई मतदान गर्ने पक्षमा देखिएका छन् । स्वतन्त्र मतदातामाझ पनि डेमोक्र्याटिक पार्टी ३७ प्रतिशत समर्थनसहित अगाडि छ । रिपब्लिकन पार्टीलाई २१ प्रतिशत स्वतन्त्र मतदाताको समर्थन रहेको छ भने २८ प्रतिशत अझै निर्णयमा पुगिसकेका छैनन् । हिस्पानिक दर्ता मतदातामध्ये ५२ प्रतिशतले डेमोक्र्याटिक पार्टीलाई मतदान गर्ने बताएका छन् भने केवल २६ प्रतिशत रिपब्लिकन पार्टीको पक्षमा छन् । ट्रम्प राष्ट्रपति बनेपछि हिस्पानिक मतदातामाझ डेमोक्र्याटिक पार्टीको यो सबैभन्दा ठूलो अग्रता भएको सर्वेक्षणमा उल्लेख छ ।
मध्यावधि निर्वाचनबाट अमेरिकी संसद्का दुवै सदनमा आगामी दुई वर्षका लागि कुन दलको नियन्त्रण रहने भन्ने निर्धारण हुनेछ । रिपब्लिकन पार्टीले निर्वाचनमा कमजोर प्रदर्शन गर्न सक्ने आकलन भइरहेका बेला डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा बहुमत हासिल गर्न सक्ने अनुमान बढेको छ । सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण चुनौतीमा पर्न सक्ने देखिएको छ ।
सर्वेक्षणमा सहभागी अमेरिकीका लागि आगामी निर्वाचनमा मतदान गर्ने निर्णयमा जीवनयापनको बढ्दो खर्च सबैभन्दा प्रमुख मुद्दा बनेको देखिएको छ । इन्धनको मूल्य बढेसँगै उपभोक्ता महँगीसमेत बढेको सर्वेक्षणमा उल्लेख छ ।
यसैबीच ५० वर्ष वा सोभन्दा बढी उमेरका मतदातामाझ रिपब्लिकन पार्टीको पुरानो अग्रता पनि घटेको छ। यस उमेर समूहमा रिपब्लिकन पार्टीलाई ४४ प्रतिशत र डेमोक्र्याटिक पार्टीलाई ४२ प्रतिशत समर्थन रहेको छ । गत डिसेम्बरमा भने रिपब्लिकन पार्टीको अग्रता आठ प्रतिशत विन्दु थियो ।
मध्यावधि निर्वाचनमा ५० वर्षभन्दा माथिका मतदाताको सहभागिता सामान्यतया बढी हुने भएकाले यो समूह दुवै दलका लागि महत्वपूर्ण मानिन्छ । ५० वर्षभन्दा कम उमेरका मतदातामाझ भने डेमोक्र्याटिक पार्टी १८ प्रतिशत विन्दुले अगाडि रहेको छ । रोयटर्स तथा इप्सोसको उक्त सर्वेक्षणमा अमेरिकाभरका ४ हजार ५०६ वयस्क सहभागी थिए । अनलाइनमार्फत गरिएको सर्वेक्षणको त्रुटि सीमा करिब दुई प्रतिशत विन्दु रहेको छ । एभरेष्ट न्यूज एजेन्सी