२०८३ आश्विन १०
२०८३ आश्विन १०

बज्जिकाञ्चल संवाददाता असोज १० गते

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास र बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक तथा रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।पछिल्लो समय लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी भूभागअन्तर्गत कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले पानी परेको छैन। ती क्षेत्रमा घाम र बादल लाग्ने क्रम जारी छ।

नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा सोही प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालको पश्चिममा बढी पानी परेको मौसमविद् लामिछानेले जानकारी दिए। यो प्रणाली बिस्तारै पश्चिमतिर सर्दै कमजोर हुने अवस्थामा रहे पनि आज र भोलिसम्म नेपालको पश्चिमी क्षेत्रमा यसको गहिरो प्रभाव रहनेछ।

आज (शनिबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुने सम्भावना छ। भोलिसम्म यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहनेछ। तर पूर्वी भूभागहरू कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ।

भोलि राति र पर्सिबाट भने देशभरिकै मौसममा सुधार आउने र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ। आउँदो सोमबारबाट भने देशभरको मौसम सफा रहने र कतै पानी परिहाले पनि त्यसले ठुलो प्रभाव नपार्ने बताइएको छ।

पश्चिमी क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका लागि जोखिमको स्तर हेरी ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी (अलर्ट) जारी गरेको छ। रातो रङ लगाइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अति उच्च हुन्छ। पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले सम्भावित जोखिम कम हुने जनाउँदै ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।

भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च छ। यसै विषयलाई मध्यनजर गर्दै मौसमविद् लामिछाने भन्छन्, ‘पहिरो जाने, डुबान हुने र कटान गर्ने क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुहोला।’ सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १० गते

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता तथा आर्थिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराई र कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार दुवै प्रदेशले आगामी दिनमा बजेट निर्माण, राजस्व प्रशासन, वित्तीय सङ्घीयता, बेरुजु फर्छ्योट तथा सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेछन् ।

मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई अङ्गीकार गर्दै यो समझदारी भएको बताए । उनले भने,‘एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितका विषयमा सूचना आदानप्रदान गर्न, परामर्श गर्न, आफ्नो कार्य तथा विधायनका बारेमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्ने संवैधानिक व्यवस्थालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न यो समझदारी गरेका हौँ ।’

दुवै प्रदेशले प्रत्येक आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभन्दा कम्तीमा तीन महिना अघि साझा प्राथमिकता, राजस्व तथा आर्थिक नीतिका विषयमा पूर्व–बजेट परामर्श र संयुक्त कार्यशाला आयोजना गर्ने सहमति भएको छ ।

त्यस्तै, वार्षिक सहकार्य कार्ययोजना निर्माण तथा प्रगति समीक्षा गर्न संयुक्त अन्तरप्रदेशीय समन्वय समिति गठन गरिनेछ । मन्त्रीस्तरीय उच्चस्तरीय सम्मेलन पनि पालैपालो आयोजना गरिने समझदारीमा उल्लेख छ ।

बेरुजु फर्छ्योट र सार्वजनिक खर्च सुधारमा सहकार्य

समझदारीमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, परिणाममा आधारित बजेट प्रणाली, आन्तरिक नियन्त्रण तथा बेरुजु फर्छ्योटलाई प्राथमिकतामा राखिएको छ ।

एक प्रदेशले सार्वजनिक वित्त व्यवस्थापनमा अपनाएका असल अभ्यास अर्को प्रदेशमा प्रयोग गर्ने तथा अनावश्यक प्रशासनिक खर्च घटाउने विषयमा समेत सहकार्य गरिने सहमति पत्रमा उल्लेख छ ।

राजस्व वृद्धि र डिजिटल प्रणालीमा सहकार्य

दुवै प्रदेशले राजस्व सम्भाव्यता अध्ययन, राजस्व सुधार कार्ययोजना तथा स्थानीय तहको राजस्व प्रशासन सुदृढीकरणमा संयुक्त रूपमा काम गर्नेछन् । वित्तीय हस्तान्तरण, राजस्व बाँडफाँट तथा प्रदेश र स्थानीय तहबीचको वित्तीय सम्बन्धबारे संयुक्त अध्ययन गरिने र एीःद्यक्ष्क्, क्गत्च्ब्, ऋन्ब्क् लगायतका डिजिटल सार्वजनिक वित्तीय प्रणालीको प्रयोग र कर्मचारीलाई तालिम दिने विषयमा पनि सहकार्य हुनेछ । धार्मिक तथा अन्य पर्यटकीय संयुक्त संरचना विकास गरी त्यसबाट प्राप्त हुने राजस्व बाँडफाँटका लागि आवश्यक ढाँचा तयार गर्ने समझदारीसमेत भएको छ ।

रोजगारी र उद्यमशीलतालाई प्राथमिकता

समझदारीले युवा रोजगारी, नवप्रवर्तन, उद्यमशीलता, साना तथा मझौला उद्योग र निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई पनि सहकार्यको प्रमुख क्षेत्रका रूपमा समेटेको छ ।

दुवै प्रदेशले कर्मचारीको क्षमता विकासका लागि संयुक्त तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछन् । बाढी, पहिरो र डुबानजस्ता विपद्का क्षेत्रमा पनि अनुभव आदानप्रदान तथा आपतकालीन समन्वय गर्ने पनि सहमति भएको छ ।

दुवै प्रदेशका मन्त्रीको नेतृत्वमा संयन्त्र

समझदारी कार्यान्वयनका लागि अर्थमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीको नेतृत्वमा उच्चस्तरीय मार्गदर्शक समिति गठन गर्ने र समितिको अध्यक्षता दुवै प्रदेशले पालैपालो गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, दुवै मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक तथा कार्यान्वयन समिति रहने र उक्त समितिमा बजेट वा राजस्व हेर्ने उपसचिवस्तरका एक–एक जना अधिकारीलाई सम्पर्क व्यक्ति तोकिने पनि सहमति भएको छ । ।

संयुक्त कार्यक्रमको खर्च ५०–५० प्रतिशत व्यहोर्ने

संयुक्त रूपमा सञ्चालन हुने कार्यशाला, तालिम, प्रविधि विकास तथा अध्ययन–अनुसन्धानका कार्यक्रमको खर्च दुवै प्रदेशले ५०–५० प्रतिशत व्यहोर्ने समझदारी भएको छ । उच्चस्तरीय तथा प्राविधिक बैठक आयोजना गर्ने प्रदेशले व्यवस्थापन खर्च व्यहोर्ने र सहभागी टोलीको भ्रमण भत्ता सम्बन्धित मन्त्रालयले व्यहोर्नु पर्ने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै दुवै प्रदेश बिच भएको समझदारी अन्तर्गत २०८२ कात्तिक १५ गते हेटौँडामा प्रदेशका अर्थ तथा आर्थिक मामिला मन्त्रीहरूले जारी गरेको ‘वित्तीय सङ्घीयता सुदृढीकरणका लागि प्रदेशका आर्थिक मामिला मन्त्रीहरूको साझा प्रतिबद्धता’ लाई समेत मार्गदर्शनका रूपमा आत्मसात् गर्ने उल्लेख छ भने यो समझदारी हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म लागू हुने उल्लेख गरिएको छ ।
सभार रातोपाटी

बज्जिकाञ्चल संवाददाता असोज १० गते

जितपुरसिमरा उपमहानगरपालिका –२२, तीन नम्बर पुलस्थित ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

गएराति २३:०० बजेको समयमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए ।दुर्घटनामा टाउकोमा चोट लागेका स्कुटर चालक मोरङ, लाङटाङ नगरपालिका –०१ बस्ने अन्दाजी ३५ वर्षीय योगेन्द्र मगरलाई उपचारका लागि नारायणी अस्पताल, वीरगञ्ज पठाइएको थियो । उपचारकै क्रममा राति २३:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्र.ब.ना.नि. प्रकाशकुमार खत्री तथा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायव उपरीक्षक दयाकृष्ण भट्टको कमाण्डमा खटिएको प्रहरी टोली उद्धार कार्यमा खटिएका थिए भने ट्रक र चालक बारा, जितपुरसिमरा उपमहानगरपालिका –२१ बस्ने अन्दाजी ३३ वर्षीय राजन खड्कालाई नियन्त्रणमा लिई उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ । सभार रातोपाटी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।