२०८३ आश्विन ७
२०८३ आश्विन ७

काठमाडौँ । बेलायतको लिंकन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले आफूलाई भित्रैदेखि कमजोर ठान्ने व्यक्तिहरू अरूको अनुहारमा देखिने रिस र घृणाजस्ता नकारात्मक भाव निकै छिटो पहिचान गर्न सक्ने देखाएको छ । बाहिरबाट आफूलाई निकै आत्मविश्वासी वा बहादुर देखाउने व्यक्तिको भित्री आत्ममूल्याङ्कन भने कमजोर हुन सक्ने र त्यस्ता व्यक्तिमा सामाजिक संकेतप्रति बढी संवेदनशीलता देखिन सक्ने अध्ययनले संकेत गरेको हो ।

अनुसन्धान टोलीको नेतृत्व मनोविज्ञानकी प्राध्यापक प्याट्रिसिया कोर्जेनियोव्स्काले गरेकी थिइन् । अध्ययनमा २२५ जना वयस्क सहभागी थिए । उनीहरूलाई सामान्य अनुहार बिस्तारै रिस, घृणा, डर र खुसीका भावमा परिवर्तन हुने छोटा भिडियो देखाइएको थियो । भावनाको तीव्रता हरेक चरणमा केवल दुई प्रतिशतका दरले बढाइएको थियो । सहभागीले अनुहारमा भावना देखिनासाथ सम्बन्धित बटन थिच्नुपर्ने थियो ।

अध्ययनमा अचेतन आत्मसम्मान कम भएका व्यक्तिले रिस र घृणाका भाव निकै हल्का अवस्थामा नै पहिचान गरेको पाइएको थियो । अर्थात्, अरू व्यक्तिको अनुहारमा नकारात्मक भावना पूर्ण रूपमा स्पष्ट हुनुअघि नै उनीहरूले त्यसको संकेत बुझ्न सकेका थिए । अचेतन आत्मसम्मान भन्नाले व्यक्तिले आफूलाई लिएर सचेत रूपमा व्यक्त गर्ने धारणा मात्र नभई मनभित्र रहेका स्वचालित आत्ममूल्याङ्कनलाई जनाउछ ।

अनुसन्धानकर्ताका अनुसार, यस्तो संवेदनशीलता सामाजिक अस्वीकारको सम्भावित संकेतप्रति बढी सतर्कतासँग सम्बन्धित हुन सक्छ। तर अध्ययनले कुनै व्यक्तिले वास्तविक जीवनमा आफूलाई अस्वीकार गरिएको महसुस गर्छ वा गर्दैन भन्ने प्रत्यक्ष रूपमा मापन गरेको भने होइन । अनुसन्धानले मुख्यतः अनुहारका सूक्ष्म भाव पहिचान गर्ने क्षमताको अध्ययन गरेको हो ।

अध्ययनले आत्मसम्मानलाई केवल व्यक्तिले आफूलाई कस्तो ठान्छ भन्ने आधारमा बुझ्न नहुने देखाएको छ । बाहिर व्यक्त गरिएको आत्मविश्वास र अचेतन रूपमा रहेको आत्ममूल्याङ्कनबीच फरक हुन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ । यद्यपि, अध्ययनका प्रभावहरू सीमित र सम्बन्धमा आधारित रहेकाले यसकै आधारमा कुनै व्यक्तिको व्यवहार वा मनोवैज्ञानिक अवस्था निर्धारण गर्न नमिल्ने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् ।एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टल को अपरेटिभका २, तुलसीको १३ र कान्तीपुर सहकारीका ५५  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो  ।

सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।

समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौं । इन्द्रजात्राअन्तर्गत ‘यसिं थनेगु’ अर्थात् इन्द्रध्वजोत्थान आज बिहान ७ बजेर ४७ मिनेटको साइतमा सम्पन्न भएको छ । हनुमानढोका कागेश्वरी मन्दिर नजिक कालभैरव अगाडि यसिं ठड्याइएको हो। यसिंमा अष्टमातृकाको प्रतीकका रूपमा आठवटा काठका टुक्रा राख्ने चलन छ, जसलाई ‘लाकासिँ’ भनिन्छ । यस क्रममा न्हय्स नाय र चसाद्वँ टोलका मानन्धर समुदायको अनिवार्य उपस्थिति रहने परम्परा छ ।

यसिं ठड्याउने क्रममा गुर्जुको पल्टनले तोप पड्काएको थियो भने तलेजु भवानीको प्रतीकका रूपमा सेतो घोडा ल्याइएको थियो । यस अवसरमा इन्द्रजात्रामा प्रस्तुत गरिने पहिलो नाचका रूपमा दिप्याखं अर्थात् देवी नाच पनि प्रस्तुत गरिएको थियो। यसिं उठाएपछि यसको माथि इन्द्र अंकित ध्वजा ‘हलिंपता’ फहराइएको थियो। फेदमा इन्द्रको सुवर्ण मूर्ति र माथि गजुरजस्तै देखिने भोगटे राखिएको हुन्छ ।

यस वर्ष भाद्र २८ गते मानन्धर समुदायका गुठियारहरू यसिं लिन वनतर्फ गएका थिए । त्यसै दिन साँझ वृक्षकर्तन गरिएको थियो भने भोलिपल्ट यसिं भोटाहिटी ल्याइएको थियो । असोज ३ गते बिहान ८ बजेर ५ मिनेटको साइतमा यसिं नगर प्रवेश गराइएको थियो । एकादशीका दिन मानन्धरहरूले यसिंमा डोरी बाँध्ने ‘वलः घायेगु’ विधि पूरा गरेका थिए । यसिं देवताका रूपमा स्थापित भएपछि माथि चढ्न नमिल्ने भएकाले डोरीको गाँठो तलैबाट फुकाल्ने गरी यो विधि गरिन्छ ।

यसै अवसरमा नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा काँचो माटोको दियो बालेर उपाकु पर्व मनाउनेछन् । गणेश र भैरवलाई कुमारी घरमा ल्याएर तलेजु भवानी मन्दिरमा निम्तो दिने परम्परासमेत छ । यस वर्ष इन्द्रजात्राको मुख्य रथयात्रा असोज ९ गतेदेखि सुरु हुनेछ। श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ तल्लो टोल, माथिल्लो टोल हुँदै नानीचायाका दिन नगर परिक्रमा गराइनेछ। रथयात्राका क्रममा लाखे आजु, पुलुकिसी र हलचोक आकाश भैरवसहित विभिन्न देवीदेवताका नाच तथा प्रदर्शन हुनेछन् ।

इन्द्रजात्राको मुख्य रथयात्रा तीन दिनसम्म सञ्चालन हुनेछ। तल्लो टोलको रथयात्रा वसन्तपुर, मरु, चिकंमुगल, जैसिदेवल, लगन, ब्रह्मटोल, ज्याबहाल, कोहिटी, भीमसेनस्थान र मखन हुँदै वसन्तपुर फर्कनेछ । माथिल्लो टोलको रथयात्रा प्याफल, यटखा, नरदेवी, टेंगल, न्यौखा, असन, इन्द्रचोक हुँदै वसन्तपुर पुग्नेछ । नानीचायाका दिन किलागः हुँदै नगर परिक्रमा गराइनेछ। देवी नाच, महाकाली नाच, दश अवतार प्रदर्शन तथा हनुमानढोकाको श्वेत भैरवको प्रसादस्वरूप जाँड खुवाउने परम्परासमेत इन्द्रजात्राका प्रमुख आकर्षण हुन् । एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।