काठमाडौँ । बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई विश्व बाघ दिवसका रूपमा मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।
यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
२०७८ को मङ्सिर १९ देखि फागुन २८ सम्म गरिएको बाघको गणना अनुसार नेपालमा ३५५ बाघ रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जापानको कुमामोटो प्रान्तमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर १३ पुगेको पुष्टि गरेकी हुन् ।
भूकम्पपछि सबैभन्दा प्रभावित बनेको एयोन मलमा खोज तथा उद्धार कार्य रातभर जारी रहेको छ । स्थानीय प्रशासनका अनुसार मलभित्र विस्फोट भएको र भवनको दोस्रो तला भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
कुमामोटो प्रान्तकी जनसम्पर्क अधिकारी आकिनो सोनोडाका अनुसार एयोन मलबाट हालसम्म आठ जनाको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था मध्यम गम्भीर, एक जनालाई सामान्य चोट लागेको छ भने एक जना हृदय र श्वासप्रश्वास बन्द भएको अवस्थामा फेला परेका छन् ।
यसअघि चार जनाको उद्धार भएको र १० जना सम्पर्कविहीन रहेको जानकारी सार्वजनिक गरिएको थियो । अहिले भवनभित्र फसेका तथा हराइरहेकाहरूको वास्तविक संख्या यकिन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् ।
भूकम्पपछि जापानको अग्नि नियन्त्रण विभाग, प्रहरी र आत्मरक्षा बलले संयुक्त रूपमा रातभर उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।
मंगलबार स्थानीय समयअनुसार अपराह्न ४: २७ बजे गएको भूकम्पको प्रारम्भिक तीव्रता जापान मौसम विज्ञान एजेन्सीले ७.१ मापन गरेको थियो । पछि अमेरिकी भूगर्भीय सर्वेक्षणले यसको तीव्रता ६.८ रहेको जनाएको छ ।
यसैबीच, कुमामोटोको दक्षिणमा रहेको यात्सुशिरो सहरस्थित कागज उद्योगको चिम्नी भत्किँदा नौ जना अझै बेपत्ता छन् ।
भूकम्पका कारण कुमामोटो सहरका हजारौं घरमा विद्युत् र खानेपानी सेवा अवरुद्ध भएको छ। कम्तीमा ४५ वटा स्वास्थ्य संस्था प्रभावित भएका छन् भने १७औँ शताब्दीमा निर्माण गरिएको ऐतिहासिक किल्लाको बाहिरी पर्खालसमेत भत्किएको छ ।
प्रधानमन्त्री ताकाइचीले उद्धार तथा राहतका लागि तीन हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिँदै प्रभावित क्षेत्रमा क्षतिको मूल्यांकन र उद्धार कार्य रातभर निरन्तर सञ्चालन हुने बताइन् ।
प्रत्यक्षदर्शीहरूले भूकम्प अत्यन्त शक्तिशाली रहेको बताएका छन् । एक जनाले भूकम्पका बेला टेलिभिजन आफूमाथि खसेको बताए भने अर्काले भवन नै तरल पदार्थझैँ हल्लिएको अनुभूति भएको बताएका छन् । स्थानीयवासीहरूले मुख्य भूकम्पपछि लगातार परकम्प महसुस भइरहेको बताएका छन् ।
जापान मौसम विज्ञान एजेन्सीका अधिकारी शिन्जी कियोमोतोले थप शक्तिशाली परकम्प आउन सक्ने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सन् २०१६ मा यही कुमामोटो क्षेत्रमा केही दिनको अन्तरमा आएका भूकम्पहरूको शृंखलामा २७८ जनाको मृत्यु भएको घटनाको स्मरणसमेत गराएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजेदेखि बस्ने समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक कक्षमा हुने समितिले जानकारी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको आज जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको दुःखद समाचारले नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा मधेश प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहलाई मर्माहत बनाएको छ।
नेता सिंहले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत श्रद्धाञ्जली सन्देश जारी गर्दै स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण नेपाली कांग्रेस परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।
श्रद्धाञ्जली सन्देशमा नेता सिंहले स्वर्गीय गोपालमान श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका अग्रणी योद्धा, नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ नेता तथा राष्ट्रप्रति समर्पित व्यक्तित्व रहेको उल्लेख गर्दै उहाँको राजनीतिक, सामाजिक तथा लोकतान्त्रिक योगदान सधैं स्मरणीय रहने बताउनुभएको छ।
सिंहले भन्नुभएको छ, “गोपालमान श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक अनुभवी, इमानदार र दूरदर्शी नेता गुमाएको छ। उहाँले लोकतन्त्रको सुदृढीकरण, पार्टी संगठनको विकास तथा राष्ट्र निर्माणमा पुर्याउनुभएको योगदान भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बन्नेछ।”
यस सम्बन्धमा नेता वीरेन्द्र प्रसाद सिंहले आफ्नो आधिकारिक फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्नुभएको जानकारी नेपाली कांग्रेस निकट मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका सचिव, वीरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव समेत रहेका निकेश त्रिपाठीले दिनुभएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ रहेको जानकारी दिएको छ ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ साउन १३ गते बुधबार ईस २०२६ जुलाई २९ नेपाल सम्बत ११४६ दिल्लाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असार शुक्ल पुर्णिमा, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, प्रीति योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा बजे हुनेछ ।
आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज गुरु पूर्णिमा र व्यास जयन्ती तथा विश्व बाघ दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको दिन आत्मविश्वास र जोशले भरिएको रहनेछ। बिहानैदेखि नयाँ योजना बनाउने सोच आउन सक्छ र त्यसलाई कार्यान्वयन गर्ने अवसर पनि प्राप्त हुनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनत, लगनशीलता र समयमै निर्णय गर्ने क्षमताको प्रशंसा हुनेछ। नयाँ जिम्मेवारी आउँदा पनि सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। व्यापार–व्यवसायमा लाभ बढ्ने संकेत छ भने पुराना ग्राहकसँगको सम्बन्ध अझ मजबुत बन्नेछ। आर्थिक पक्ष सन्तोषजनक रहनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि छ। परिवारमा खुसी र सद्भाव कायम रहनेछ। आफन्तसँगको भेटघाटले मन प्रफुल्लित बनाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। पर्याप्त आराम र सन्तुलित भोजनले दिनभर ऊर्जा कायम राख्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –
आज धैर्य र संयमले धेरै काम सहज बनाउनेछ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ व्यक्तिबाट राम्रो सहयोग प्राप्त हुनेछ। लामो समयदेखि सोच्दै आएको योजना अघि बढाउने उपयुक्त समय रहनेछ। व्यापार–व्यवसायमा नियमित आम्दानी कायम रहनेछ र सानो लगानीबाट पनि राम्रो प्रतिफल मिल्न सक्छ। आर्थिक रूपमा सन्तुलन कायम हुनेछ। परिवारका सदस्यहरूसँग आत्मीय संवाद हुनेछ र घरमा सुखद वातावरण रहनेछ। सामाजिक सम्बन्ध पनि विस्तार हुने सम्भावना छ। स्वास्थ्यमा सामान्यतया राम्रो अवस्था रहनेछ। नियमित दिनचर्याले थप स्फूर्ति दिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज सिर्जनशील सोच र प्रभावकारी अभिव्यक्तिका कारण धेरै क्षेत्रमा सफलता मिल्नेछ। अध्ययन, शिक्षण, लेखन, सञ्चार तथा सिर्जनात्मक कार्यमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पनि मिल्नेछ। आर्थिक रूपमा अतिरिक्त आम्दानीको सम्भावना देखिन्छ। साथीभाइसँगको सहकार्य लाभदायक बन्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ चिनजानले भविष्यमा राम्रो अवसर दिलाउन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि उत्साह बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज पारिवारिक जीवनमा सुखद वातावरण रहनेछ। घरका सदस्यहरूसँगको सम्बन्ध थप प्रगाढ बन्नेछ। कुनै शुभ समाचारले परिवारमा खुसी थप्न सक्छ। कार्यक्षेत्रमा तपाईंको इमानदारी र जिम्मेवारीबोधको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुने सम्भावना बलियो छ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। घर वा सम्पत्तिसँग सम्बन्धित योजना बनाउन दिन उपयुक्त रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक शान्ति र सन्तुष्टिले दिनलाई थप सहज बनाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज नेतृत्व क्षमता र आत्मविश्वासका कारण उल्लेखनीय उपलब्धि हासिल गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुनेछ र वरिष्ठ व्यक्तिको विश्वास जित्न सफल हुनुहुनेछ। व्यापार–व्यवसाय विस्तार गर्ने सोच सफल हुन सक्छ। आर्थिक रूपमा लाभदायक दिन रहनेछ। सामाजिक क्षेत्रमा मान–सम्मान बढ्नेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च रहनेछ। प्रियजनसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर उत्साह कायम रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अध्ययन, अनुसन्धान र नयाँ सीप सिक्ने काममा विशेष सफलता मिल्नेछ। कार्यक्षेत्रमा अनुशासन र लगनशीलताका कारण राम्रो उपलब्धि हासिल हुनेछ। वरिष्ठ व्यक्तिको विश्वास प्राप्त हुनेछ। आर्थिक अवस्था स्थिर रहनेछ। आवश्यक खर्च भए पनि आम्दानीले सन्तुलन कायम गर्नेछ। परिवारमा सुखद वातावरण रहनेछ। छोटो यात्रा वा महत्त्वपूर्ण भेटघाट लाभदायक बन्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ। नियमित व्यायामले शरीरलाई थप फुर्तिलो बनाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन आउने सम्भावना देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोत फेला पर्न सक्छ। व्यापार–व्यवसायमा विस्तार हुने संकेत देखिएको छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। परिवारसँग खुसीका क्षण बिताउने अवसर मिल्नेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ र नयाँ परिचय भविष्यमा उपयोगी सावित हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा आत्मविश्वास र उत्साह दुवै बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज निरन्तर मेहनतको प्रतिफल प्राप्त हुने दिन रहनेछ। कार्यक्षेत्रमा तपाईंको क्षमता र अनुभवको उचित मूल्यांकन हुनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। व्यापार–व्यवसायमा लाभ बढ्नेछ। आर्थिक पक्ष बलियो बन्दै जाने संकेत देखिएको छ। परिवारमा प्रेम, विश्वास र आपसी समझदारी कायम रहनेछ। प्रियजनसँग भविष्यका योजनाबारे छलफल हुन सक्छ। स्वास्थ्य राम्रो रहनेछ र मानसिक रूपमा पनि सन्तुष्टि महसुस हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज आशावादी सोच र दृढ इच्छाशक्तिले नयाँ उपलब्धि दिलाउनेछ। अध्ययन, वैदेशिक क्षेत्र, व्यापार वा यात्रासँग सम्बन्धित कार्यमा सकारात्मक संकेत देखिन्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। आर्थिक रूपमा सुधार आउने सम्भावना बलियो छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। नयाँ योजना सुरु गर्न दिन शुभ रहनेछ। स्वास्थ्य राम्रो रहनेछ र दिनभर मन प्रसन्न रहनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज जिम्मेवारी बढे पनि धैर्यका साथ काम गर्दा राम्रो उपलब्धि हासिल हुनेछ। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। महत्त्वपूर्ण निर्णय गर्दा अनुभवको उपयोग गर्नु लाभदायक हुनेछ। आर्थिक रूपमा खर्चमा नियन्त्रण राख्न सके बचत बढ्नेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी सावित हुनेछ। घरमा शान्त र सुखद वातावरण रहनेछ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्न आवश्यक हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज नयाँ सोच र सिर्जनशीलताले तपाईंलाई सफलता दिलाउनेछ। कार्यक्षेत्रमा रोकिएका काम पूरा हुनेछन् र नयाँ अवसर पनि प्राप्त हुनेछ। सहकर्मी तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण योजना सफल बन्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना बलियो छ। परिवारमा प्रेम, विश्वास र समझदारी बढ्नेछ। सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ र नयाँ सम्बन्धले भविष्यमा राम्रो अवसर प्रदान गर्न सक्छ। स्वास्थ्य राम्रो रहनेछ र शरीरमा दिनभर स्फूर्ति कायम रहनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –
आज धैर्य, विवेक र सकारात्मक सोचका कारण चुनौतीपूर्ण काम पनि सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक पक्ष सन्तुलित रहनेछ र बचत गर्ने अवसर पनि मिल्नेछ। परिवारको साथ र सहयोगले आत्मविश्वास बढ्नेछ। अधुरा रहेका योजना क्रमशः पूरा हुँदै जानेछन्। साँझतिर शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना छ, जसले मनमा नयाँ उत्साह र आशा जगाउनेछ। स्वास्थ्य राम्रो रहनेछ। मानसिक रूपमा शान्ति, आत्मविश्वास र सकारात्मक ऊर्जा कायम रहनेछ ।एभरेष्ट न्यूज एजेन्सी