२०८३ श्रावण ३
२०८३ श्रावण ३

काठमाडौं । रुकुमपूर्व केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपराहन्न ४: ३० बजे रुकुमपूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षतिको विवरण भने प्राप्त भएको छैन ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । चितवन प्रहरीले अभौतिक मुद्रा (क्रिप्टो मुद्रा) कारोबार तथा अनलाइन सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका–६ खोलेसिमल निवासी ४४ वर्षीय नारायण श्रेष्ठलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा श्रेष्ठको साथबाट बरामद गरिएको रेड्मी कम्पनीको मोबाइलमा अनलाइन सट्टेबाजीमा रकम जम्मा गर्ने र झिक्ने प्रयोजनका लागि प्रयोग हुने ‘मोबक्यास’ अनुप्रयोग फेला परेको प्रहरीले जनाएको छ। उक्त खातामा २ लाख ७९ हजार सीमा रकम र १३ लाख ८२ हजारमौज्दात रहेको तथा पछिल्लो तीन महिनामा ३८ लाख ९५ हजार बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, अर्को एप्पल कम्पनीको मोबाइलमा रहेको ‘बाइनान्स’ अनुप्रयोगमार्फत ३३ हजार १५० अमेरिकी डलर (करिब ५० लाख ९८ हजार) बराबरको अभौतिक मुद्रा कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले श्रेष्ठविरुद्ध अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थपूर्ण भेटवार्ता भएको छ ।

पत्नी निकिता पौडेलसहित रिसोर्टमा बसेका लामिछाने केहीबेर अघि काठमाडौँ फर्किएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।  लामिछाने दम्पती र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार रिसोर्टमा पुगेको बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्री डा. वाग्लेसहित केहि मन्त्रीलाई हटाउने खोजेको भन्ने चर्चा चलिरहेका बेला र सरकार बारे व्यापक असन्तुष्टि बढिरहेका बेला यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापालाई देउवा समूहले पाँच बुँदे प्रस्ताव गरेको छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी, सदस्य, प्रदेश समितिका सभापति, जिल्ला सभापतिसहितको बैठकले नयाँ प्रस्ताव पठाएको हो । अलग्गै भेलाको तयारी गरिरहेको देउवा समुहले अन्तिम प्रयासको रुपमा नयाँ प्रस्ताव पठाएको बताइएको छ ।  देउवा समुहले सहमति नभएमा अलग्गै दल बनाएर अगाडी जाने तयारी समेत गरिसकेको छ ।

पाँच बुँदे प्रस्ताव :

१- चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।

२- सभापति गगनकुमार थापाको बहुमत रहनेगरी कार्यसम्पादन समिति बनाउने ।

३- पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।

४- वर्तमान संस्थापन पक्षको वहुमत रहनेगरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरू बनाउने ।

५- महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टीभित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई १५ औं महाधिवेशनमा स्वत: सहभागि हुन पाउने व्यवस्था गरी उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने–नपाउने विषयसँग नजोड्ने ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ।

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो । अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले नेपाल बाल संगठनको भौतिक अवस्था सुधार, सरसफाइ व्यवस्थापन तथा बालबालिकाको बसोबासलाई व्यवस्थित बनाउन विभिन्न समयमा पटक–पटक निर्देशन दिँदै आएको थियो। सम्बन्धित पक्षलाई मन्त्रालयमा बोलाएर छलफलसमेत गरिएको थियो। तर निर्देशन र आग्रहका बाबजुद अपेक्षित सुधार नभएपछि मन्त्रालयले स्थलगत अनुगमन गरी तत्काल उद्धारको प्रक्रिया अघि बढाएको जनाएको छ।

पछिल्लो समय स्थानीय सरोकारवाला, विभिन्न व्यक्तिहरू तथा बालगृहका केही कर्मचारीबाट समेत त्यहाँको अवस्थाबारे भिडियोहरू मन्त्रालयमा प्राप्त भएका थिए। ती भिडियोमा भवनभित्र पानी जमेको, सरसफाइको अवस्था अत्यन्त दयनीय रहेको तथा महामारी फैलिन सक्ने जोखिम रहेको देखिएको थियो। केही कर्मचारीले सामाजिक सञ्जालमार्फत पनि बालगृहको वास्तविक अवस्था सार्वजनिक गरेका थिए ।

यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइन (१०४) को समन्वयमा पहिलो चरणमा २ वर्षभन्दा कम उमेरका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो। उद्धार गरिएका बालबालिकामध्ये १२ जना बालक र ८ जना बालिका रहेका छन्। उनीहरूको संरक्षण, स्वास्थ्य परीक्षण, आवश्यक हेरचाह तथा पुनर्स्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनासम्बन्धी आवश्यक कागजी प्रक्रिया तथा कानुनी कार्य अघि बढाइसकेको जनाएको छ। साथै, बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी बाँकी बालबालिकाको अवस्था पनि मूल्याङ्कन गर्दै आवश्यक निर्णय र अनुगमनलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ। एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क आउने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पक्राउ गर्ने कानुनी सम्भावनाबारे अध्ययन भइरहेको बताएका छन् ।

उनले यस विषयमा सहरको कानुनी विभागसँग छलफल भइरहेको उल्लेख गर्दै कानुनले अनुमति दिएअनुसार नै आफूले निर्णय गर्ने बताएका छन् । ममदानीले नेतन्याहूको स्थान नेदरल्यान्ड्सको हेगमा रहेको अन्तर्राष्ट्रिय अदालतमा हुनुपर्ने आफ्नो धारणा पनि दोहोर्याएका छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले सन् २०२४ नोभेम्बरमा गाजामा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

न्युयोर्क टाइम्सको एक अन्तर्वार्तामा ममदानीले नेतन्याहू युद्ध अपराधको आरोप खेपिरहेका व्यक्ति भएको र धेरै मानिसको धारणा पनि त्यही रहेको बताएका छन् ।

यता, संयुक्त राष्ट्रसंघका लागि इजरायलका राजदूत ड्यानी डाननले ममदानीमाथि यहुदी समुदायविरुद्धको वातावरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले ममदानीले बढ्दो यहुदीविरोधी गतिविधिको सामना गर्नुको सट्टा इजरायलविरुद्ध माहोल बनाइरहेको टिप्पणी गरेका छन् ।

डाननले नेतन्याहूले सेप्टेम्बर २२ देखि २८ सम्म हुने संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने पुष्टि गर्दै मेयरको अभिव्यक्तिले त्यसमा कुनै प्रभाव नपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत नेतन्याहू होइन, बरु न्युयोर्कका मेयर ममदानी नै पक्राउ पर्नुपर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

यसअघि एक रेडियो अन्तर्वार्तामा नेतन्याहूले आफूलाई पक्राउ गर्ने धम्कीको कुनै चिन्ता नरहेको बताएका थिए । उनले ममदानीमाथि हमासको समर्थन गर्ने र अमेरिकाविरोधी सोच राखेको आरोप समेत लगाएका थिए ।

अमेरिका र इजरायल दुवै अन्तर्राष्ट्रिय अपराध अदालतका सदस्य राष्ट्र होइनन् । अमेरिकी संघीय कानुनले राज्य तथा स्थानीय प्रशासनलाई अन्तर्राष्ट्रिय अपराध अदालतका अनुरोध कार्यान्वयनमा सहयोग गर्न रोक लगाएको छ। गत वर्ष न्युयोर्ककी गभर्नर क्याथी होचुलले पनि मेयरसँग नेतन्याहूलाई पक्राउ गर्ने अधिकार नभएको बताएकी थिइन् । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो ।

चलचित्रलाई निर्देशक बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् ।

नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

सार्वजनिक गरिएको थिम पोस्टरले नेपालको सांस्कृतिक सम्पदा र रहस्यमय वातावरणको झल्को दिन्छ । प्राचीन मन्दिरको शिखरबाट तलको चहलपहल नियालिरहेको दृश्यले कथाप्रति उत्सुकता जगाउने प्रयास गरेको छ । पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै कुरा खुलाएको छैन, तर नेपाली समाज, संस्कृति र मानवीय सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गरिने संकेत भने स्पष्ट रूपमा दिएको छ ।

चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत चलचित्र २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने विश्वास निर्माण टिमको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।

चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको ब्यालिस्टिक क्षेप्यास्त्र र मानवविहीन हवाई आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा घाइते भएका चार सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो । उनीहरू उपचारपछि अस्पतालबाट फर्किसकेका छन् भने सामान्य घाइते भएका अन्य सैनिक पुनः ड्युटीमा खटिएका छन् । मृत्यु हुने सैनिकको परिचय र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यस घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति लगातार आठौँ रात पनि इरानमाथि हवाई आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । अमेरिकाले होर्मुज जलडमरूमध्य क्षेत्रमा व्यावसायिक जलयातायातलाई लक्षित गर्न सक्ने इरानको क्षमता कमजोर बनाउने र जोर्डनमा अमेरिकी सैनिकमाथि आक्रमण गर्ने इरानी बललाई कारबाही गर्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ ।

पछिल्लो एक सातादेखि अमेरिका र इरानबीचको तनाव पुनः चर्किएको छ। अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेपछि इरानले होर्मुज जलडमरूमध्य बन्द भएको घोषणा गरेको थियो। प्रारम्भिक युद्धविराम लागू भएको एक महिनाभन्दा कम समयमै दुवै पक्षबीचको सहमति भंग भएपछि सैन्य गतिविधि तीव्र बनेको हो।एभरेष्ट न्यूज एजेन्सी

चितवन । नारायणगढ-मुग्लिन-काठमाडौं सडक खण्ड रातिमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गरेर गए राति १० बजेदेखि सडक बन्द हुने जानकारी दिएको हो । अर्को सूचना जारी नहुँदासम्म सडक बन्द रहने बताइएको छ ।

सूचनामा भनिएको छ- ‘रातको समयमा सवारी आवागमन सुचारु राखिरहँदा हुनसक्ने जोखिम समेतलाई मध्यनजर गरी आज राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि नारायणगढ मुग्लिङ-काठमाडौं सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनमा रोक लगाइएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

मौसम पूर्वानुमान महाशाखाले केहि दिन अति बर्षा हुनसक्ने भनेपछि सतर्कता अपनाउन रातिमा सडक बन्द गरिएको बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ९ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफलको कार्यसूची रहेको छ । आजको बैठकमा नेपाल बैङ्कर्स संघ र बैङ्क तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षसँग छलफल हुने समितिले जनाएको छ ।

त्यस्तै बिहान ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफलको कार्यसूचि रहेको समितिले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।