२०८३ असार १४
२०८३ असार १४

काठमाडौँ । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको संख्या बढेर १४३० पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजका अनुसार ३ हजार २३८ जना घाइते भएका छन् भने ३ हजार १४२ परिवार घरविहीन बनेका छन् ।

अधिकारीहरूका अनुसार मुख्य दुई भूकम्पपछि हालसम्म ४३० भन्दा बढी पराकम्प गएको छ । लगातारका पराकम्पका कारण उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ भने प्रभावित क्षेत्रमा त्रास अझै कायम छ ।

भूकम्प गएको ७२ घण्टा पूरा भएसँगै उद्धार अभियान सबैभन्दा संवेदनशील चरणमा पुगेको छ । विज्ञहरूका अनुसार भग्नावशेषमा फसेका व्यक्तिलाई जीवित भेट्ने सम्भावना समयसँगै घट्दै जान्छ । पानीबिना तीन दिन बितेपछि बाँच्ने सम्भावना निकै कम हुने भए पनि केही अध्ययनले पाँच वा छ दिनसम्म पनि जीवित उद्धार गर्न सकिने देखाएका छन् ।

मेक्सिकोको उद्धार टोली ‘लस टोपोस’ का सदस्य डेभिड इमानुएल भिल्ला तेजेडाले राजधानी काराकासमा धेरै अग्ला भवनहरू भत्किएकाले खोज तथा उद्धार कार्य निकै कठिन बनेको बताए ।

उनका अनुसार दुवै भूकम्प छोटो अन्तरालमा आएका र केन्द्रबिन्दु जमिनको सतह नजिक रहेकाले ठूलो संख्यामा भवनहरू भत्किएका हुन् । आफूले काम गरिरहेको क्षेत्रमा भवन भत्किएको अवस्थाले भग्नावशेषभित्र जीवित व्यक्ति फेला पार्न झन् कठिन बनाएको उनले बताए । यद्यपि उनले आशा नत्यागिएको पनि उल्लेख गरे । विगतमा आफ्नो टोलीले भूकम्पपछि १० दिनसम्म भग्नावशेषमा फसेका व्यक्तिलाई पनि जीवितै उद्धार गरेको अनुभव रहेको उनले सुनाए ।

अमेरिकाका लागि रेडक्रसकी क्षेत्रीय निर्देशक लोयस पेसले लगातारका पराकम्पले उद्धार अभियानमा ठूलो असर पारिरहेको बताइन्। उनका अनुसार उद्धारकर्मीले प्रत्येक क्षण नयाँ पराकम्पको जोखिम सामना गर्नुपरेकाले भग्नावशेषभित्र प्रवेश गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने अवस्था छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘जे’ अन्तर्गत आज बिहान अन्तिम चरणका खेल हुदैछन् । नेपाली समय अनुसार ७: ४५ बजेदेखि हुने खेलमा अर्जेन्टिनाले जोर्डनसँग प्रतिस्पर्धा गर्दा अल्जेरिया र अस्ट्रिया आमने सामने हुदैछन् । दुवै खेल एकै समयमा हुने भएकाले समूहको अन्तिम समीकरण पनि त्यसैबाट तय हुनेछ ।

साबिक विजेता अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अस्ट्रियालाई २-० ले हराउँदै लगातार दुई जितसहित समूह विजेताको स्थान सुरक्षित गरिसकेको छ । दुई खेलमा पाँच गोल गरेको टोलीले अहिलेसम्म कुनै गोल खाएको छैन । विश्वकपमा कप्तान लियोनेल मेसी उत्कृष्ट लयमा छन् । उनले अर्जेन्टिनाका सबै पाँच गोल गरेका छन् । विश्वकपमा व्यक्तिगत गोल संख्या १८ पुर्‍याउँदै उनले मिरोस्लाभ क्लोजेलाई पछि पारेका छन् । यद्यपि लगातार खेलका कारण थकान महसुस गरेको स्वीकार गरेपछि जोर्डनविरुद्ध उनलाई आराम दिइने बताइएको छ ।

मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले नकआउट चरणलाई ध्यानमा राख्दै धेरै खेलाडीलाई अवसर दिने बताएका छन् । मेसी विश्राममा बसे निको पाज उनको स्थानमा खेल्न सक्छन् भने जुलियन अल्भारेजले लाउटारो मार्टिनेजभन्दा अघि सुरुआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ । रक्षक क्रिस्टियन रोमेरो घुँडाको समस्याका कारण प्रशिक्षणमा सहभागी हुन नसकेपछि उनी पनि यो खेल गुमाउन सक्ने देखिएको छ ।

यदि मेसी मैदान उत्रिए भने उनले ३९ वर्षको उमेरमा विश्वकप खेल्ने अर्जेन्टिनाका दोस्रो खेलाडी बन्नेछन् । साथै लगातार सात विश्वकप खेलमा गोल गर्ने नयाँ कीर्तिमान बनाउने अवसर पनि उनीसँग हुनेछ ।

पहिलो पटक विश्वकप खेलेको जोर्डन दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा अस्ट्रियासँग पराजित भएको जोर्डन दोस्रो खेलमा अल्जेरियासँग २-१ ले पराजित भएको थियो । यद्यपि प्रशिक्षक जमाल सेल्लामीले साबिक विजेताविरुद्ध राम्रो प्रदर्शन गर्दै विश्वकप यात्राको सुखद अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन् । उनको टोलीमा कुनै खेलाडी प्रतिबन्ध वा चोटको समस्यामा छैन ।

अर्जेन्टिना र जोर्डनबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ।

समूहको दोस्रो स्थानका लागि अल्जेरिया र अस्ट्रियाबीचको खेल निर्णायक हुनेछ ।

दुवै टोलीले जोर्डनलाई हराएका छन् भने अर्जेन्टिनासँग पराजित भएका छन्। अस्ट्रियासँग गोलअन्तरको फाइदा रहेकाले बराबरी पनि उसलाई अन्तिम ३२ मा पुग्न पर्याप्त हुनेछ । अल्जेरियाले भने नकआउट चरण पुग्न जित्नै पर्ने अवस्था छ ।

अल्जेरियाले पहिलो खेलमा मेसीको ह्याट्रिक सामु ३-० को हार बेहोरे पनि दोस्रो खेलमा जोर्डनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै आशा जीवित राखेको थियो । नाधिर बेनबोउली र अमिन गुइरीले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । रियाद महरेज ३५ वर्षको उमेरमा विश्वकप खेल्ने अल्जेरियाका सबैभन्दा पाका खेलाडी बनेका छन् । पछिल्लो खेलमा अल्जेरियाले बल नियन्त्रण, पास, विपक्षी क्षेत्रभित्रको स्पर्श र लक्ष्यतर्फ प्रहारजस्ता धेरै तथ्याङ्कमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो ।

अर्कोतर्फ अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो । कप्तान मार्सेल साबित्जर टोलीका प्रमुख खेलाडीका रूपमा रहनेछन् । प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा उनी अस्ट्रियाका सबैभन्दा प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन् ।

अर्जेन्टिनालाई यस खेलको नतिजाले कुनै फरक पर्दैन भने जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यस्तै अस्ट्रिया बराबरी वा जित भए अन्तिम ३२ मा पुग्ने छ भने अल्जेरिया नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा छ ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाने कार्यसूची रहेको छ भने प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनसहित छलफल हुने कार्यसूची छ भने छलफलपछि ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वाग्लेले ‘आर्थिक विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ भने अर्थ मन्त्री डा. वाग्लेले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

हाल सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा मूख्यतया सफा रहेको छ। देशका बाँकी भू-भागमा आंशिक बादल लागेको छ। । कोशी, बागमती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।  सुदूरपश्चिम प्रदेशका तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ ।

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भु-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षा/हिमपातको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेश प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार १४ गते आइतबार ईस २०२६ जुन २८ नेपाल सम्बत ११४६ तछलाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल चतुर्दशी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शुभ योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ११ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ४ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आजको दिन आत्मविश्वास, उत्साह र सकारात्मक सोचका साथ अघि बढ्ने संकेत देखिन्छ। केही समयदेखि रोकिएका कामले गति लिन सक्छन् र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र निर्णय क्षमताको प्रशंसा हुनेछ। व्यवसाय गर्नेहरूका लागि नयाँ योजना बनाउने समय अनुकूल रहनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिए पनि अनावश्यक खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारमा खुसी र मेलमिलापको वातावरण रहनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर कामको चापले थकान महसुस हुन सक्ने भएकाले आराममा पनि ध्यान दिनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज शान्त स्वभाव र धैर्यले धेरै जटिल काम सहज बनाउन सक्छ। हतारमा निर्णय नगरी योजनाबद्ध रूपमा अघि बढे राम्रो उपलब्धि हासिल हुनेछ। कार्यक्षेत्रमा पुराना प्रयासको प्रतिफल प्राप्त हुने सम्भावना छ। आर्थिक अवस्था स्थिर रहनेछ र बचत बढाउने अवसर पनि मिल्न सक्छ। परिवारका सदस्यहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। आफन्त वा पुराना साथीभाइसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक रूपमा पनि सन्तुलित महसुस हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज व्यस्तता बढे पनि त्यसको प्रतिफल उत्साहजनक रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ र त्यसलाई सफलतापूर्वक पूरा गर्ने क्षमता पनि रहनेछ। सहकर्मी र साथीभाइको सहयोगले कठिन काम सहज बन्नेछ। आर्थिक पक्षमा साना लाभका अवसर देखिन सक्छन्। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। अध्ययन, लेखन वा बौद्धिक काममा संलग्न व्यक्तिहरूका लागि दिन विशेष फलदायी रहनेछ। स्वास्थ्य सामान्य रहनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज पारिवारिक सम्बन्ध अझ मजबुत बन्नेछ। घरमा शान्त, सकारात्मक र सहयोगी वातावरण रहनेछ। परिवारका सदस्यहरूसँग महत्वपूर्ण विषयमा छलफल हुन सक्छ, जसले भविष्यका लागि राम्रो निर्णय लिन सहयोग पुर्‍याउनेछ। कार्यक्षेत्रमा तपाईंको मेहनतको उचित मूल्यांकन हुनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिन सक्छ। मनमा रहेको चिन्ता बिस्तारै हट्नेछ र आत्मविश्वास बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता र आत्मविश्वासले तपाईंलाई अगाडि बढाउनेछ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ र महत्त्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुने सम्भावना छ। तपाईंका विचार र योजनाले राम्रो समर्थन पाउनेछन्। आर्थिक रूपमा लाभका संकेत देखिए पनि ठूला लगानी गर्दा राम्रोसँग सोचविचार गर्नु आवश्यक हुनेछ। परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान र प्रतिष्ठा पनि वृद्धि हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज नयाँ ज्ञान हासिल गर्ने, अध्ययन गर्ने वा सीप विकास गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा धैर्य र निरन्तरता कायम राखे अपेक्षाभन्दा राम्रो परिणाम मिल्नेछ। आर्थिक अवस्था सामान्य रहनेछ, तर खर्चलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ। परिवारमा खुसीको वातावरण रहनेछ। छोटो यात्रा वा बाहिरी काम लाभदायक बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम गर्न नबिर्सनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा सकारात्मक परिवर्तन देखिने सम्भावना छ। रोकिएको रकम प्राप्त हुने वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छ। कार्यक्षेत्रमा सहकार्य र समन्वय राम्रो रहनेछ। नयाँ व्यापारिक योजना वा लगानीबारे सोच्ने अनुकूल समय हुनेछ। परिवारमा खुसी र सन्तोषको वातावरण रहनेछ। सामाजिक गतिविधिमा सहभागिता बढ्न सक्छ र नयाँ परिचय लाभदायक बन्ने सम्भावना छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनत र लगनशीलताको उचित प्रतिफल प्राप्त हुने दिन हो। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा तपाईंको क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। आर्थिक रूपमा लाभका संकेत देखिए पनि निर्णय गर्दा धैर्य अपनाउनु राम्रो हुनेछ। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास र आत्मीयता अझ बलियो बन्नेछ। स्वास्थ्य सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज सकारात्मक सोच र उत्साहले दिनभर साथ दिनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्, विशेष गरी व्यापार, अध्ययन वा यात्रासँग सम्बन्धित क्षेत्रमा। सामाजिक क्षेत्रमा तपाईंको प्रभाव र सम्मान बढ्ने सम्भावना छ। आर्थिक अवस्था सुधारतर्फ जाने संकेत देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ र प्रियजनसँग बिताएको समयले मन प्रसन्न बनाउनेछ। नयाँ योजना सुरु गर्न अनुकूल दिन रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी केही बढ्न सक्छ, तर अनुशासन र धैर्यका साथ अघि बढ्दा सबै काम सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक रूपमा खर्चमा नियन्त्रण गर्नु आवश्यक हुनेछ। परिवारका सदस्यहरूको सुझाव उपयोगी साबित हुन सक्छ। स्वास्थ्यमा सामान्य थकान महसुस हुन सक्ने भएकाले पर्याप्त आराम गर्नुपर्छ। दिनको अन्त्यतिर सन्तोषजनक उपलब्धि प्राप्त हुने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ सोच, सिर्जनशीलता र आत्मविश्वासले तपाईंलाई विशेष अवसर दिलाउन सक्छ। कार्यक्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् र नयाँ योजना सफल हुने संकेत देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले आत्मबल बढ्नेछ। आर्थिक पक्षमा सुधार आउने सम्भावना छ। परिवारमा खुसी र समझदारी कायम रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ र भविष्यका लागि उपयोगी नयाँ सम्पर्क बन्न सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज धैर्य, संयम र सकारात्मक सोचलाई प्राथमिकता दिनुपर्ने दिन हो। केही काम अपेक्षाअनुसार छिटो सम्पन्न नहुन सक्छन्, तर निरन्तर प्रयासले अन्ततः सफलता दिलाउनेछ। आर्थिक पक्षमा सोचविचार गरेर मात्र खर्च गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोगले मानसिक शान्ति मिल्नेछ। पुराना अधुरा काम पूरा गर्ने अवसर प्राप्त हुनेछ। दिनको उत्तरार्धमा सुखद समाचार प्राप्त हुने वा मन खुसी बनाउने कुनै घटना घट्न सक्ने सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।