२०८३ असार ९
२०८३ असार ९

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।

रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र यादवको सफल कार्यकाल पूरा भई सरुवा भएपछि उहाँलाई मायाको चिनो प्रदान गर्दै भावपूर्ण बिदाइ गरिएको छ । कार्यक्रममा सहभागीहरूले इन्स्पेक्टर यादवले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए । यस अवसरमा सरुवा भई जाने क्रममा इन्स्पेक्टर सुरेन्द्र यादवलाई सफल र उज्ज्वल भविष्यको कामना गर्दै सम्मानसहित बिदाइ गरिएको थियो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको नयाँ इन्चार्जका रूपमा पदस्थापन भई आउनुभएका प्रहरी निरीक्षक रादेश खत्री लाई हार्दिक स्वागत गरिएको छ । स्थानीय सरोकारवाला तथा शुभेच्छुकहरूले इन्स्पेक्टर खत्रीको नेतृत्वमा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था अझ प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त इन्चार्ज खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।

रौतहटको बौधीमाई नगरपालिकाको १२ औँ नगरसभा तथा अधिवेशन (खुला सत्र) सोमबार नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख प्रदिप कुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख प्रमिला देवी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६३ करोड १६ लाख ४ हजार रुपैयाँ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेटले नगरको चौतर्फी विकास, आर्थिक समृद्धि तथा जनआकांक्षा सम्बोधन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी ले सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । नगर प्रमुख प्रदिप कुमार यादवले सभा सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नगरवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । यो अधिवेशन बौधीमाई नगरपालिका को आगामी आर्थिक वर्षको विकास योजना तथा बजेट पारित गर्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो ।

शिवनाथ कुशवाहा ÷ बारा, असार ८ गते।

“पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा स्वरोजगार“ भन्ने मूल नारासहित बाराको बारागढी गाउँपालिकाको दोस्रो कार्यकालको गाउँसभाको नवौँ अधिवेशन तथा आर्थिक वर्ष २०८३÷०८४ को नीति, कार्यक्रम र बजेट प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको कार्यालय खोपवामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी राय चौधरीको तर्फबाट लेखा प्रमुख अजय चौधरीले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको कुल अनुमानित आय ३९ करोड ७१ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

 

आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत ९ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदान अन्तर्गत शिक्षा, कृषि, पशु तथा स्वास्थ्य क्षेत्रमा १५ करोड ६० लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ७९ लाख ९६ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ तथा विशेष अनुदान ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ६८ लाख ३० हजार रुपैयाँ, राजस्व बाँडफाँड ४१ लाख ३९ हजार रुपैयाँ, सशर्त अनुदान ४० लाख रुपैयाँ, विशेष अनुदान ३० लाख रुपैयाँ तथा समपूरक अनुदान ३० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ। आन्तरिक आम्दानी ८० लाख रुपैयाँ तथा गत आर्थिक वर्षको बैंक मौज्दात १ करोड रुपैयाँ समेत समावेश गरी कुल बजेट अनुमान गरिएको हो ।

 

व्ययतर्फ चालु तथा प्रशासनिक खर्चका लागि ९ करोड ५९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ भने कार्यालय सञ्चालन तथा विकास निर्माणसहित पुँजीगत खर्चका लागि १२ करोड ९५ लाख ५९ हजार रुपैयाँ छुट्याइएको छ । संघीय सरकारको सशर्त अनुदान १५ करोड ६० लाख रुपैयाँ, समपूरक तथा विशेष अनुदान १ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त समपूरक, सशर्त तथा विशेष अनुदान गरी १ करोड रुपैयाँ खर्च हुने व्यवस्था गरिएको छ।

गाउँपालिकाले पुँजीगत विकास, आयोजना तथा कार्यक्रमका लागि करिब १३ करोड १४ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ । उक्त रकम विषयगत तथा वडागत सिलिङका आधारमा छवटै वडा कार्यालयमार्फत बस्ती तथा टोलस्तरबाट सहभागितामूलक ढंगले संकलित योजनामा खर्च गरिने जनाइएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान शिक्षा, कृषि, पशुपालन र स्वास्थ्यलगायतका क्षेत्रमा पूर्वनिर्धारित कार्यक्रमअनुसार खर्च गर्नुपर्ने भएकाले ती शीर्षकमा छुट्टै योजना निर्माण नगरिएको गाउँपालिकाले जनाएको छ ।

 

साथै संघीय तथा प्रदेश सरकारबाट प्राप्त विशेष, समपूरक र सशर्त अनुदान सम्बन्धित योजनामै खर्च गरिने उल्लेख गरिएको छ । गाउँसभालाई सम्बोधन गर्दै अशोक कुमार जयसवालले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनमुखी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए। उनले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाका सबै वडामा सन्तुलित विकास सुनिश्चित गरिने उल्लेख गरे।

अध्यक्ष जयसवालले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारसँगै रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको जानकारी दिए। त्यसैगरी उपप्रमुख लक्ष्मी देवी राय ले बजेटले महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदायको उत्थानका लागि विशेष कार्यक्रम समेटेको बताइन्। उनले समावेशी विकास र सामाजिक न्यायलाई गाउँपालिकाको मुख्य प्राथमिकता बनाइएको उल्लेख गर्दै स्थानीय आवश्यकताअनुसारका योजनाहरू कार्यान्वयन गरिने बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकेश मिश्र ले प्रस्तुत बजेट तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी र परिणाममुखी ढंगले कार्यान्वयन गरिने बताए।

उनले सेवा प्रवाहलाई थप सहज, छिटो र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै विकास योजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न प्रशासनिक संयन्त्र पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिए। कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,०८ गते असार ।

रौतहटको दक्षिणी भेगस्थित इशनाथ नगरपालिका को १३औँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ५२ करोड ३० लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरसभामा नगरको समग्र विकास, आधारभूत सेवा प्रवाहको सुदृढीकरण, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरिएको हो ।

नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख कौश्लया देवीले नगरवासीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताइन् । उनले सीमित स्रोत–साधनका बाबजुद नगरको दिगो विकास, सुशासन र जनमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

नगरप्रमुख देवीले विकास निर्माणका कार्यलाई पारदर्शी र परिणाममुखी बनाउँदै नगरलाई समृद्धिको दिशामा अघि बढाइने बताइन् । त्यसैगरी उपप्रमुख मो.परवेजले प्रस्तुत बजेटले नगरका सबै वडालाई समेट्ने गरी सन्तुलित विकासको अवधारणालाई आत्मसात गरेको बताए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा रोजगारी सिर्जनासँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उल्लेख गरे ।

नगरसभामा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महमद नावाज हुसेनले बजेट कार्यान्वयनलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाइने बताए । उनले नगरपालिकाको प्रशासनिक संयन्त्रलाई थप चुस्त बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने तथा विकास योजनाको समयमै सम्पन्नतामा विशेष ध्यान दिइने जानकारी दिए ।

नगरसभाबाट आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी आवश्यक निर्णयहरू समेत पारित गरिएको जनाइएको छ । नगरपालिकाले प्रस्तुत बजेटमार्फत पूर्वाधार विकास, सामाजिक क्षेत्रको सुदृढीकरण तथा आर्थिक गतिविधिको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको जनाएको छ ।

बज्जिकाञ्चल संवाददाता÷रौतहट÷असार ८ गते ।

रौतहटको देवाही गोनाही नगरपालिकाको ११ औँ नगरसभा तथा आर्थिक वर्ष २०८३÷८४ को नीति, कार्यक्रम र बजेट सभा सोमबार सम्पन्न भएको छ । “समृद्ध देवाही गोनाही, सुशासन र दिगो विकास हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ नगर कार्यपालिकाको कार्यालय प्रेमपुर गोनाहीमा आयोजित नगरसभामा आगामी आर्थिक वर्षका लागि ४४ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको लेखाप्रमुख प्रदिप यादवले जानकारी गराउनु भएको हो । नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख परनिया देवी पटेलको तर्फबाट वडा नं. ४ का वडा अध्यक्ष रामप्रवेश प्रसाद पटेलले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेटले नगरपालिकाको समग्र विकास, सुशासन प्रवद्र्धन तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको जनाइएको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, पूर्वाधार विकास, महिला तथा बालबालिका सशक्तीकरण, युवा स्वरोजगार, सामाजिक सुरक्षा तथा विपद् व्यवस्थापनका कार्यक्रमलाई प्राथमिकतामा राखेको देवाहीगोनाही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पवन कुमार केसरीले जानकारी गराउनु भयो । विशेषगरी कृषिलाई नगरको अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्दै उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा किसानलाई प्रोत्साहन गर्ने योजनाहरू बजेटमा समेटिएका छन्। त्यसैगरी गुणस्तरीय शिक्षाको पहुँच विस्तार, विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, स्वास्थ्य संस्थाहरूको सेवा सुदृढीकरण तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरू पनि बजेटमा समावेश गरिएको छ । नगर क्षेत्रमा सडक, नाला, कल्भर्ट तथा अन्य भौतिक संरचनाको निर्माण र स्तरोन्नतिलाई समेत प्राथमिकतामा राखिएको छ। प्रस्तुत बजेटमा बेरोजगार युवाहरूका लागि सीपमूलक तालिम, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

साथै महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा विपन्न समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरणका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख प्रेमलाल साहले नगरवासीको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो। उहाँले सीमित स्रोत–साधनका बाबजुद नगरको समग्र विकास, सुशासन कायम गर्ने तथा जनतालाई प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विकास निर्माणका कामलाई पारदर्शी, उत्तरदायी र परिणाममुखी बनाइने उहाँको भनाइ थियो ।

सभामा सहभागी जनप्रतिनिधिहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नगरको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। विभिन्न वडाका अध्यक्षहरूले आ–आफ्नो क्षेत्रका आवश्यकता र प्राथमिकताबारे सुझाव प्रस्तुत गर्दै विकास योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । नगरसभामा वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरसभाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गरी पारित गरेको छ। सभाबाट नगरको दिगो विकास, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आगामी आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार । रौतहट । गढीमाई नगरपालिकाको १३औँ नगरसभा सम्पन्न भएको छ । नगरसभामा आर्थिक वर्ष २०८३÷०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय, नीति तथा कार्यक्रम नगर प्रमुख श्याम प्रसाद यादवले एक कार्यक्रमबीच प्रस्तुत गर्नुभएको छ । नगरसभाको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले गढीमाई नगरपालिकाको विकास तथा सञ्चालनका लागि चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारबाट ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले आफू मुख्यमन्त्री रहेसम्म नगरपालिकाभित्रका अधुरा विकास योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधिसभा क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने यस क्षेत्रलाई अन्य स्थानीय तहका लागि नमुना नगरका रूपमा स्थापित गरिने बताउनुभयो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका किसानहरूलाई खेतीपातीका लागि पर्याप्त विद्युत् सुविधा उपलब्ध हुन नसकेको उल्लेख गर्दै सिँचाइ तथा कृषि कार्यलाई सहज बनाउन किसानहरूका लागि सोलार चार्जबाट सञ्चालन हुने बत्ती जडान गर्ने योजना रहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख स्मिता कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव पाण्डेय, वडा नम्बर १ देखि ९ सम्मका निर्वाचित जनप्रतिनिधि, वडा अध्यक्षहरू, नगरपालिकाका कर्मचारी, महिला नगर प्रहरी, नेपाल प्रहरी तथा विभिन्न क्षेत्रका सयौँ सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नगरसभामा प्रस्तुत बजेट तथा नीति–कार्यक्रममार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै समग्र नगरको दिगो विकासलाई अघि बढाउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । यद्यपि, सभामा बोल्ने अवसर नदिएको भन्दै वडा नम्बर १ का वडाध्यक्ष रामपुकार यादव ले असन्तुष्टि जनाउनुभएको छ । उहाँले नगरसभा औचित्यहीन बनेको आरोप समेत लगाउनुभएको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ र अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लागेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा  बागमती र  गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि  तातो दिन हुने सम्भावना छ ।

त्यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग  साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा र बागमती, गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल  लाग्नेछ । लुम्बिनी,र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी  भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।एभरेष्ट न्यूज एजेन्सी

आजको राशिफल बिस २०८३ असार ९ गते मंगलबार ईस २०२६ जुन २३ नेपाल सम्बत ११४६ तछलाथ्व नवमी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल नवमी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, वारियान योग, कौलव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ९ मिनेटमा र सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आज आत्मविश्वास बढ्नेछ र काममा प्रगति देखिनेछ। रोकिएका योजना अघि बढ्ने सम्भावना छ। नयाँ जिम्मेवारी आउन सक्छ र तपाईंले सफलतापूर्वक सम्हाल्न सक्नुहुनेछ। आर्थिक पक्ष सामान्य सुधारतर्फ देखिए पनि खर्चमा नियन्त्रण आवश्यक हुनेछ। परिवारमा खुसी र समझदारीको वातावरण बन्न सक्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सामान्य रहनेछ तर पर्याप्त आराम गर्नु राम्रो हुन्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) –

आज धैर्य र व्यवहारिक सोचले राम्रो परिणाम दिलाउनेछ। कार्यक्षेत्रमा साना चुनौती आए पनि समाधान सम्भव हुनेछ। पुराना प्रयासबाट लाभ मिल्ने संकेत छन्। आर्थिक अवस्था स्थिर रहनेछ। परिवारमा सम्बन्ध अझ मजबुत बन्नेछ र आपसी समझदारी बढ्नेछ। अनावश्यक विवादबाट टाढा रहनु राम्रो हुनेछ। मानसिक शान्तिले दिन सहज बनाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आज कामको चाप बढ्न सक्छ तर उपलब्धिमूलक रहनेछ। धेरै जिम्मेवारी एकैपटक सम्हाल्नुपर्ने हुन सक्छ। सहकर्मीको सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ तर खर्च बढ्न सक्छ, त्यसैले सावधानी आवश्यक छ। परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ। नयाँ परिचय भविष्यका लागि उपयोगी बन्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज घरपरिवारसँग समय बिताउने अवसर मिल्नेछ। घरमा खुसी र शान्त वातावरण बन्न सक्छ। पुराना तनाव कम हुँदै जानेछन्। कार्यक्षेत्रमा मेहनतको कदर हुनेछ। आर्थिक पक्षमा सुधार देखिन सक्छ। स्वास्थ्य सामान्य रहनेछ र मानसिक शान्ति प्राप्त हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आज नेतृत्व क्षमता देखाउने राम्रो अवसर मिल्नेछ। तपाईंका विचारलाई काममा महत्व दिइनेछ। आर्थिक रूपमा दिन राम्रो देखिए पनि ठूला निर्णय गर्दा सावधानी आवश्यक छ। सामाजिक क्षेत्रमा सम्मान बढ्न सक्छ। परिवारको सहयोगले आत्मबल बढ्नेछ। ऊर्जा उच्च रहनेछ र काममा उत्साह बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आज अध्ययन, लेखन र सिकाइका लागि राम्रो दिन हो। नयाँ ज्ञान प्राप्त हुने सम्भावना छ। काममा सुधार देखिए पनि धैर्य आवश्यक हुनेछ। आर्थिक अवस्था सामान्य रहनेछ। परिवारमा सानो खुसीको वातावरण बन्न सक्छ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्ने सम्भावना छ। स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –

आज आर्थिक पक्षमा सुधारका संकेत देखिन्छन्। रोकिएको रकम फिर्ता हुन सक्छ वा नयाँ आम्दानीका बाटो खुल्न सक्छन्। काममा सहकर्मीको सहयोग मिल्नेछ। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सक्रियता बढ्नेछ। आत्मविश्वास बढ्ने भएकाले नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आज मेहनतको राम्रो फल प्राप्त हुने दिन हो। प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना छ। आर्थिक लाभका अवसर देखिन सक्छन्। परिवारमा खुसीको समाचार आउन सक्छ। सम्बन्धमा विश्वास बढ्नेछ। नयाँ योजना भविष्यका लागि उपयोगी बन्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आज उत्साह र ऊर्जा उच्च रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन्। काममा प्रगति देखिनेछ। यात्रा वा बाहिरी कामबाट लाभ मिल्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारसँग सम्बन्ध राम्रो रहनेछ। आत्मविश्वासले दिनलाई सफल बनाउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आज जिम्मेवारी बढ्न सक्छ तर धैर्यले काम सहज बनाउनेछ। खर्चमा ध्यान दिनु आवश्यक छ। परिवारको सहयोगले मनोबल बढ्नेछ। काममा दबाब आउन सक्छ। स्वास्थ्यमा थकान हुन सक्छ, आराम आवश्यक छ। दिनको अन्त्यतिर सन्तोष मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आज नयाँ योजना सुरु गर्न उपयुक्त दिन हो। काममा प्रगति देखिनेछ। साथीभाइको सहयोग मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। परिवारमा खुसीको वातावरण रहनेछ। सामाजिक सम्बन्ध विस्तार हुनेछ। आत्मविश्वास बढ्ने दिन हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची) –

आज मिश्रित दिन रहनेछ। केही काम सहज बन्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारको साथले मन शान्त रहनेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। अन्त्यतिर राम्रो संकेत वा समाचार प्राप्त हुन सक्छ ।एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।