काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज भानुआटुसँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुदैछ ।
यसअघि खेलेका ६ खेलमा नेपालले ३ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने रुवाण्डालाई दुवै खेलमा र इटालीलाई पराजित गरेको थियो । त्यस्तै भानुआटुले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ । भानुआटुले नेपाललाई मात्र पराजित गरेको थियो ।
यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।
रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् । नेपालले अर्को खेल मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
सनराइजर्सका लागि ट्राभिस हेडले सर्बाधिक ७६ रन बनाएका थिए भने हेइनरिच क्लासेनले अविजित ६५ रन बनाएका थिए । त्यस्तै अभिषेक शर्माले ४५, सालिल अरोराले अविजित ३० तथा नितिश कुमार रेड्डीले २१ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो । मुम्बईका लागि रयान रिकेलटनले अविजित १२३ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै विल ज्याकले ४६ र कप्तान हार्दिक पाण्डेयले ३१ रन बनाएका थिए ।
यो जितपछि सनराइजर्स हैदरावादको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै मुम्बईको भने यस सिजनमा यो छैटौं हार हो । मुम्बईको ८ खेलमा ४ अंक रहेको छ र हाक नवौं स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । आज नरसिंह जयन्ती मनाइदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ ।
आजको दिन नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । नरसिंह जयन्तीले हामीलाई अधर्मको विनाश गर्नुपर्छ भन्ने सिकाउछ । भगवान नरसिंहले हिरण्यकश्यपलाई मारेर दुष्टता नष्ट गरेका थिए । यसले हामीलाई सधैँ खराबीविरुद्ध लड्नुपर्छ भन्ने सन्देश दिन्छ ।
नरसिंह जयन्तीका दिन भगवान विष्णुको नरसिंह अवतारको पूजा गरिन्छ । भगवान विष्णुले आफ्ना भक्त प्रह्लादको रक्षा गर्न र हिरण्यकशिपुको हत्या गर्न नरसिंह अवतार लिएका थिए । नरसिंह जयन्ती हरेक वर्ष भगवान नरसिंहको जन्मजयन्तीका रूपमा हर्षोल्लासका साथ मनाइन्छ । यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो ।
पौराणिक कथा अनुसार हिरण्यकश्यप नामको एक राक्षस थियो जो अति शक्तिशाली थियो । आफूलाई भगवान ठान्थे र कसैको पूजा गर्दैनन् । हिरण्यकश्यपका छोरा प्रह्लाद भगवान विष्णुका भक्त थिए । हिरण्यकश्यपुले प्रह्लादलाई भगवान विष्णुको पूजा गर्नबाट रोकेका थिए तर प्रह्लाद मानेनन् । एक पटक हिरण्यकश्यपले प्रह्लादलाई मार्ने प्रयास गरे तर भगवान विष्णुले हिरण्यकश्यपलाई मार्न नरसिंहको रूप धारण गरेका थिए । नरसिंहको आधा सिंह र आधा मानवको रूप थियो । उनले हिरण्यकशिपुलाई काखमा राखेर नङले मारिदिए ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशभर अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित मध्यम सम्मको वर्षा भैरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागको थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ बैशाख १७ गते विहिबार ईस २०२६ अप्रिल ३० नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्दशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख शुक्ल पक्ष चतुर्दशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, बज्र योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २७ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज आज नरसिंह जयन्ती परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ । कारोबारमा राम्रै फड्को मार्ने समय छ, लागी परेमा रोकिएको काम बन्नेछ तर दायित्व र जिम्मेवारी भने बढिरहने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आपसी सम्बन्धमा नयाँ मिठास देखापर्न सक्छ, घरपरिवारले आफ्ना समस्या बुझ्ने तथा बृद्धबृद्धासमेत खुसी भएर आशीर्वाद दिने समय हो । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । प्रविधि र खोजमूलक विषयका छात्रछात्राले अझ राम्रो गर्नसक्ने दिन हो । सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
लेनदेनका क्रममा दबाबमा हुनुहुन्छ भने पनि समझौता गर्नुहुँदैन, बरु परिस्थिति विपक्षमा छ भने पुनर्विचार गर्नुहोस्, समय बित्दै जाँदा दैनिकीमा सुधार आउने छ । पारिवारिक वातावरण सामान्य रहने छ, घरायसी प्रबन्ध वा बन्दोबस्तीमा व्यस्त भइने छ । भावना र इच्छाहरूको कदर हुँदैन र मन अशान्त बन्नसक्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक वातावरण सुखमय रहनुका साथै पतिपत्नीका बीचमा राम्रो समझदारी कायम हुनेछ । छोराछोरीको खुसीका निमित्त केही काम लुकाएर गर्नुपर्ने हुन्छ । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहनेछ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
झैझगडा र मुद्दामामिलाभन्दा एक कदमपछाडि हटेको जाती हुन्छ । तर आज त्यस्तो ज्ञान प्राप्त हुने दिन हो, जसले भविष्यमा राम्रो काम गर्नसक्छ । सहयोगी र साझेदारहरूसँग राम्रो सम्बन्ध कायम हुनेछ । बिजुलीका उपकरण, खेलकुद सामाग्री र फलामसम्बद्ध निर्माणको कामबाट फाइदा लिन सकिने दिन हो । पारिवारिक जीवन र दैनिकीका दृष्टिले राम्रै दिन छ, माइतीपक्षसित भेटघाट हुने वा सम्बन्ध÷सम्पर्क बढ्ने तथा सरसहयोग लिन÷दिन सकिने समय हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मिहिनेत र बुद्धिकौशलको प्रयोग गरी आज सँगीसाथीका बीचमा विद्वान् र चङ्ख साबित हुने दिन हो, गुरुजनबाट स्याबासी पाउन सक्नुहुन्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन सकिने छ, नचिताएको वा बिर्सिएर बाँकी रहेको धन अचानक हातमा आइपुग्न सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुने समय हो, तर कुरा काट्ने र शत्रुहरूको गतिविधि बढ्न सक्छ, सचेत हुनुपर्छ । सानोतिनो यात्रामा जानुपर्दा व्यापारमा ध्यानकेन्द्रित हुनसक्दैन । दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ ।एभरेष्ट न्यूज एजेन्सी