२०८३ बैशाख १६
२०८३ बैशाख १६

नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै एक तोला सुन खरिदका लागि ग्राहकले दुई लाख ९४ हजार ५०० रुपैयाँ खर्चिनुपर्नेछ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मंगलबार चार हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।जनकपुर टुडे

रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अवस्थामा उनको आलोचनासंगै शक्ति, पहुँचका कारण समाजमा त्रास वातावरण बनाउन खोजेको भन्दै उनलाई कारबाही गर्न आवाज उठ्न थालेको छ ।

उनको यस हर्कतले सरकारी कर्मचारीको आचरण र कानुनी जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ । गरुडा नगरपालिकामा कार्यरत लेखापाल सहनी सोही नगरपालिकाका वडा नम्बर ३ मलाही टोलमा आफ्ना एक आफन्तको छोरीको विवाह समारोहमा बन्दूक पड्काउँदै गरेको दृश्यसहितको भिडियोमा देखिन्छ ।

उक्त भिडियोमा उनीसंगै रहेका अर्का एक व्यक्तिले पनि बन्दूक चलाएको स्पष्ट देख्न सकिन्छ । घटनाले थप चर्चा तब पायो, जब बन्दूकको गोली लागेर विवाहमा प्रयोग गरिएको महँगो ड्रोन क्यामेरा नष्ट भएको दृश्य सार्वजनिक भयो । लाखौँ मूल्य पर्ने उक्त उपकरण फुटेको घटनापछि सामाजिक सञ्जालमा आलोचना झनै चर्किएको छ ।

सरकारी पदमा बसेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ । यता लेखापाल सहनीले प्रयोग गरेको बन्दूकको लाइसेन्स छ वा छैन भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । सम्बन्धित निकायहरू भने घटनाबारे मौनता साँधेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले घटनाबारे जानकारी आएको स्वीकारे । तर यस विषयलाई सुरक्षा समितिको बैठकमा उठाउने भन्दै उनी पन्छिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी विष्णु प्रदीप बस्यालले पनि सामाजिक सञ्जालमार्फत भिडियो देखेको जनाउँदै घटनाबारे गरुडा प्रहरी चौकीबाट थप बुझ्ने काम भइरहेको बताए ।

उनका अनुसार हालसम्म प्रहरीसंग सामाजिक सञ्जालमा देखिएको भिडियोबाहेक अन्य आधिकारिक विवरण छैन । गरुडा प्रहरी चौकीले पनि घटनाबारे आफूहरूलाई सामाजिक सञ्जालबाट मात्रै जानकारी आएको बताउँदै विस्तृत विवरण जिल्ला प्रहरी कार्यालयबाट नै जानकारी लिनु भनेका छन् ।

दुवै प्रहरी निकायले एक अर्कासंग बुझ्न भनि जवाफ दिनबाट पन्छिरहेको देखिन्छ । घटना सार्वजनिक भएको एक दिन बितिसक्दा पनि अनुसन्धानको स्पष्ट प्रगति सार्वजनिक नभएकाले स्थानीयवासीहरूमा जिज्ञासा र असन्तुष्टि बढ्दै गएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले पनि घटनाबारे जानकारी पाएको बताए ।

उनका अनुसार लेखापाल सहनीसंग एउटा लाइसेन्स प्राप्त बन्दूक रहेको बुझिए पनि विवाह समारोहमा प्रयोग गरिएको बन्दूक त्यहीँ हो वा होइन भन्ने विषय अझै स्पष्ट छैन । यसका साथै, उनले यस्तो कार्य किन र कसरी भयो भन्ने विषयमा प्रहरीले छानबिन गर्न आवश्यक रहेको बताए ।

यस घटनाले सरकारी कर्मचारीको आचरण, सार्वजनिक सुरक्षाको सवाल र कानुनी कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर बहस शुरु गराएको छ ।जनकपुर टुडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना दलका सांसदलाई कागजातमा माननीय शब्द प्रयोग नगर्न निर्देशन दिएको छ ।

बुधबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ । बैठकमा सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न आग्रह गरिएको छ । उनले भने- ‘धेरै कुराहरू सिक्न बाँकी छ, सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ।’ एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । एक महिलाले दुई फरक पुरुषबाट गर्भवती भई जुम्ल्याहा सन्तान जन्माएको दुर्लभ घटना सार्वजनिक भएपछि चिकित्साशास्त्रमा यसको व्यापक चर्चा भएको छ ।

सन् २०१८ मा कोलम्बियाकी एक महिला आफ्ना दुई वर्षका जुम्ल्याहा छोराका पिताबारे जानकारी लिन राष्ट्रिय विश्वविद्यालयको जनसंख्या आनुवंशिकी तथा पहिचान प्रयोगशालामा पुगेकी थिइन् । नियमित पितृत्व परीक्षण गर्दा दुवै बालककी आमा एउटै भए पनि पिता फरक-फरक रहेको पुष्टि भएको थियो ।

चिकित्सा विज्ञानमा यस्तो अवस्थालाई ‘हेटेरोपितृ सुपरफेकन्डेशन’ भनिन्छ । यसको अर्थ एउटै महिनावारी चक्रमा दुई वा बढी अण्डा दुई फरक पुरुषका शुक्रकीटबाट निषेचित हुनु हो, जसका कारण जन्मिने जुम्ल्याहा सन्तानका पिता फरक हुन सक्छन् ।

वैज्ञानिक साहित्यअनुसार विश्वभर यस्ता करिब २० वटा मात्रै घटना अभिलेखमा रहेका छन् । अमेरिकामा प्रकाशित एक अध्ययनमा ३९ हजार पितृत्व परीक्षणमध्ये केवल तीन वटा यस्तै घटना फेला परेको उल्लेख छ ।

नेशनल सेन्टर फर बायोटेक्नोलोजी इनफर्मेशन प्रकाशित रिपोर्टका अनुसार पितृत्व परीक्षणका लागि वैज्ञानिकहरूले ‘माइक्रोसाटेलाइट मार्कर’ प्रविधि प्रयोग गर्छन् । यसमा आमा, बच्चा र सम्भावित पिताको डिएनएको तुलना गरिन्छ । कोलम्बियाको उक्त घटनामा १७ वटा आनुवंशिक बिन्दुको परीक्षण गरिएको थियो ।

परीक्षणमा एक बच्चाको डिएनए सम्भावित पितासँग मेल खायो भने अर्को बच्चाको मेल खाएन । नतिजा असाधारण देखिएपछि परीक्षण पुनः दोहोर्याइएको थियो, तर परिणाम उस्तै आएको बताइएको छ ।

प्रयोगशालाका निर्देशक प्राध्यापक विलियम उसाक्वेनका अनुसार यस्तो घटना अत्यन्त दुर्लभ हुन्छ, किनकि यसका लागि एउटै महिलाको छोटो समयमा दुई फरक पुरुषसँग यौनसम्पर्क हुनु, एउटै चक्रमा दुई वा बढी अण्डा निस्कनु र ती सबै निषेचित हुनु आवश्यक पर्छ ।

विशेषज्ञहरूका अनुसार फरक पिताका जुम्ल्याहा सन्तान कहिल्यै एकनासका हुँदैनन्, किनकि एकनासका जुम्ल्याहा एउटै अण्डा र एउटै शुक्रकीटबाट बन्ने गर्छन् । अनुसन्धानकर्ताहरूका अनुसार यस्ता घटना कम देखिनुको अर्को कारण धेरै मानिसले पितृत्व परीक्षण नगराउनु पनि हो । आधुनिक आणविक परीक्षण सहज बन्दै जाँदा भविष्यमा यस्ता घटनाहरू थप पहिचान हुन सक्ने विश्वास वैज्ञानिकहरूले गरेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ  । राजस्थान रोयल्सले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको २२३ रनको लक्ष्य पछाएको राजस्थानले १९.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा डोनोभान फेरेइराले ५२, यशस्वी जैसवालले ५१, वैभव सुर्यबंशीले ४३ रन बनाएका थिए । त्यस्तै पञ्जावका बलर युजवेंद्र चहलले ३ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जावले२० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो । पञ्जावका लागि मार्कस स्टोइनिसले सर्बाधिक ६२ र प्रभसिमरन सिंहले ५९ रन बनाएका थिए ।

यो जितपछि राजस्थानको ९ खेलमा १२ अंक भएको छ र तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यो यस सिजनमा पहिलो हार हो । पञ्जावको ८ खेलमा १३ अंक रहेको छ र शिर्ष स्थानमा कायम छ ।

आइपिएलमा आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि तीन दिनसम्म देशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशको मोरङसहित आसपासका जिल्ला, मधेश प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

विभागका अनुसार बुधबार साँझदेखि हावाहुरी सुरु भई पर्सि वैशाख १७ गते बिहानसम्म यसको प्रभाव रहने सम्भावना छ । यससँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा गराउने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतर्फ सर्ने सम्भावना पनि रहेको जनाइएको छ ।

प्राधिकरणले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ । त्यसैले प्रभावित क्षेत्रका बासिन्दा तथा उक्त समयमा ती स्थानमा जाने सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

हावाहुरीका बेला सकेसम्म घरबाहिर हिँडडुल नगर्न, घरका झ्यालढोका राम्रोसँग बन्द गर्न, कमजोर छाना भए मजबुत बनाउन, घरबाहिर आगो नबाल्न तथा घरभित्र आगो बाल्दा पनि सतर्क रहन भनिएको छ । यस्तै, लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बा र बिजुलीका तारमुनि नबस्न, लत्रिएको बिजुलीको तार नछुन तथा उडेर आउने सामानबाट चोट लाग्न सक्ने भएकाले चनाखो रहन पनि अनुरोध गरिएको छ ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान तथा आफ्नो सूचनालाई नियमित रूपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।