काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।
विशेषगरी विद्यालयको पूर्वाधार, पठनपाठनमा डिजिटल प्रणाली लगायत संस्थागत विकास एवं समसामयिक विषयमा कुराकानी भएको थियो । साथै, उनीहरुबीच नेपाल–चीनबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यमा केन्द्रित रहेर छलफल भएको छ ।
भेटमा नेपाल सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री पोखरेलले विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको संसाथगत विकासका साथै चिनियाँ सरकारसँगको साझेदारी र सहकार्य वृद्धि भएको हेर्न चाहेको बताएका थिए ।
साथै, मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सञ्चालित परियोजना चाडो सम्पन्न गर्न तथा नेपाली युवाहरुको रुचि अनुसारको चीन सरकारबाटप्राप्त हुने छात्रवृत्ति प्रवद्र्धन गर्ने सम्बन्धमा पनि चीन सरकारको ध्यानाकर्षण गराएका थिए ।
चिनियाँ राजदूत माओमिङले नेपाल सरकारकोतर्फबाट राखिएका विषयमा चीन सरकार साझेदारी र सहकार्यका लागि इच्छुक रहेको बताए । सो भेटमा दुईदेशबीचको आपसी हित र वहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाएर जाने विषयमा समझदारी बनेको छ ।एभरेष्ट न्यूज एजेन्सी
कैलाली । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको केही स्थानहरूमा , बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत देशको बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । एभरेष्ट न्यूज एजेन्सी
आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, ध्रुव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षा÷अन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । नयाँ परियोजना वा काम थाल्न अनुकूल समय छ, सामूहिक क्रियाकलाप वा क्लबमा सहभागी हुँदा नयाँ विचार र योजनाहरू प्रकट हुनेछन् । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । मिहिनेत र लगनशीलता नै तपाईंको पहिचान हो भन्ने बुझी यसलाई जारी राख्नु ठीक हुन्छ । आफ्नो करियरसँग सम्बन्धित विषयहरू खास गरी महत्वाकाङ्क्षी प्रयासहरूमा थप जोड दिने समय हो । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पर्द्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ । सरकारविरोधी, असामाजिक र हानिकारक कार्यमा संलग्नता बढ्न सक्छ, सोच्दै नसोचेको क्षेत्रमा धनहानि हुनसक्छ, त्यसैले सचेत र संयम हुनुपर्ने समय हो । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतियोगिता वा प्रतिस्पर्द्धामा सफल भइने दिन हो, कुनै कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ, परिश्रमको विकल्प छैन, त्यसैले सर्टकट वा छोटो बाटो छोडेर मिहिनेत गरेर अगाडि बढ्नु ठीक हुन्छ । धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । तन्त्रमन्त्र, साधना एवं कुनै रहस्यात्मक विषयमा रुचि बढ्न सक्छ । आज कडा मिहिनेत गरी नसुल्झिएको समस्यालाई हल गर्न सक्नुहुन्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । मन प्रसन्न रहने छ, लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूर्णरूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । कटुशब्दको प्रयोग र अर्काको आलोचना गर्ने बानी छ भने कन्ट्रोल गर्नुहोला, नत्र पारिवारिक जीवनमा देखिएको वैमनस्यता र दूरीले अझ तनाव बढाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । प्रयास गरेको कुनै पनि साधनाले पूर्णता प्राप्त गर्नेछ । नजानेर अड्किएका विषयमा आज पुनः प्रयास गर्नु राम्रो हुन्छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ ।एभरेष्ट न्यूज एजेन्सी