आरएन पटेल, रौतहट, फागुन १३ गते।
रौतहट निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बौधीमाई नगरपालिका वडा नं. ६ पिपरियामा बुधवार जसपा नेपालको उम्मेदवार रामअशिष राय यादवले स्थानीय बासिन्दासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले घरदैलो अभियान अन्तर्गत टोल-टोलमा पुगेर जनताको गुनासो सुन्नुका साथै सुझाव संकलन गरेका हुन।
कार्यक्रममा पूर्व मेयर राजीव रंजन यादव समेत सहभागी भई स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन। सो अवसरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, अधुरा विकास निर्माणका योजना तथा युवाको रोजगारी जस्ता विषयमा छलफल गरिएको हो।
स्थानीय बासिन्दाहरूले क्षेत्रको समग्र विकास, पारदर्शी शासन व्यवस्था र युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मधेश र मधेशी समुदायको हक-हितको सुनिश्चितताका लागि जनता समाजवादी पार्टी नेपाल नै सक्षम विकल्प भएको बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
उम्मेदवार यादवले जनताको विश्वास र साथले मात्रै समृद्ध क्षेत्र निर्माण सम्भव हुने उल्लेख गर्दै आफ्नो चुनाव चिन्ह ‘छाता’ मा मतदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग अनुरोध गरेका छन। उनले जनताका समस्या समाधान र विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता गरेका छन।
भेटघाट कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो।
आरके श्रीवास्तव,राैतहट,१३ गते फाल्गुन ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले स्वच्छ र ईमानदार राजनीतिक अभ्यासमार्फत मात्र चुनाव जित्न सकिने बताएका छन् ।
आज कटहरिया ३ बिर्ति प्रष्टाेकामा घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले छलछाम, भ्रमपूर्ण प्रचार तथा अरूलाई बदनाम गरेर राजनीतिक सफलता हासिल गर्न नसकिने धारणा राखेका छन् ।
उनले मतदातालाई गलत र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै यसपटकको निर्वाचनलाई “आरपारको लडाइँ” को संज्ञा दिए । चौधरीले आफू कुनै दबाब वा प्रलोभनमा नपर्ने उल्लेख गर्दै सिद्धान्त र विचारमा अडिग रहेको बताए ।

“राजनीति मेरो लागि पद प्राप्तिको माध्यम मात्र होइन, सामाजिक परिवर्तनको अभियान हो,” उनले भने, “यदि म ईमानदार छैन भन्ने लाग्छ भने मलाई मत नदिनुहोस्, तर भ्रममा परेर निर्णय नगर्नुहोस्।”
उनले मधेसी समुदायका अधिकार सुनिश्चित गर्न अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै लाई विजयी गराउन आग्रह गरेका छन् ।

चौधरीले मतदातालाई स्वच्छ छवि भएका उम्मेदवार चयन गर्न आग्रह गर्दै तडकभडक र भ्रम फैलाउने भाषणबाट सतर्क रहन सुझाव दिए ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।