बज्जिकाञ्चल संवाददाता,रौतहट, ०९ मंसिर ।
रौतहटको वृन्दावन नगरपालिका- ९ भुसाहामा एक महिलाको विभत्स ढंगले हत्या गरिएको अवस्थामा शव फेला परेको छ। स्थानीय शेख आदिलकी २५ वर्षीया पत्नी तरीमा खातुनलाई सोमबार राति निर्मम रूपमा हत्या गरी घरभित्रै रहेको भुस राख्ने ठाउँमा खाडल खनेर गाडिएको अवस्थामा प्रहरीले मंगलवार बिहान फेला पारेको हो। प्रहरीका अनुसार मृतकका श्रीमान शेख आदिल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन्।
घटना सार्वजनिक भएपछि खातुनका ससुरा शेख अली मोहम्मद सहित घरका सबै परिवारजन डेढ वर्षीय नाती मोहम्मद आरिफलाई समेत लिएर फरार रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले घरबाट दुर्गन्ध आउनथालेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट आएको टोलीले घरको पछाडिपट्टि रहेको भुसको थुप्रो भित्र खाडल खनेर लुकाइराखिएको अवस्थामा शव बरामद गरेको हो। शव अत्यन्तै क्षत-विक्षत अवस्थामा भेटिएको र दुराचारको आशंका पनि भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले घरमा रहेका सबै सदस्य फरार भएको र घटनालाई गम्भीर अपराधको रूपमा लिएर अनुसन्धान तीव्र बनाइएको बताएको छ।
फरार अभियुक्तहरूको खोजी जारी छ भने शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको छ। घटनाले गाउँभर त्रास फैलिएको छ र स्थानीयहरू न्यायको माग गर्दै आन्दोलित बनेका छन्।
अर्जुन कुमार यादव,रौतहट,मंसिर ०८ गते ।
भारतबाट भन्सार छली गुजरा नगरपालिकाको मैरा हुँदै चन्द्रपुरतर्फ ल्याइँदै गरिएको २२ बोरा रासायनिक मलसहित चार वटा मोटरसाइकल रौतहट प्रहरीले बरामद गरेको छ। अवैध रूपमा मल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाइरहेको समयमा रंगपुर चौकीबाट खटिएको टोलीले सो सामान नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक जीवनराम धितालको कमाण्डमा गएको प्रहरी टोलीले ना.२४ प.६२३२, बिआर.300N,बिआर,33Y र बिआ.05 N 8983 नम्बर प्लेट भएका चार मोटरसाइकलसहित भारतीय रासायनिक मलका २२ बोरा बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बरामद गरिएको मल नेपाल भित्र्याइने क्रममा सीमा क्षेत्र हुँदै गुजरा नगरपालिका पार गराई चन्द्रपुरतर्फ लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ।

उता, प्रहरीले रोकेर जाँच गर्न खोज्नेबित्तिकै मोटरसाइकलका चालकहरू फरार भएका छन्। उनीहरूलाई खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध मल तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले बताएको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०८ गते ।
राैतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुनविरुद्ध वडाअध्यक्षहरूले सोमबार संयुक्तरूपमा व्यापक विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बिजयपुर बजार परिक्रमा गर्दै नाराबाजीसहित र्याली निकालेका थिए । प्रदर्शनका क्रममा ‘कार्यवाहक मेयरको एकल निर्णय बन्द गर’, ‘नगरलाई बन्धक बनाउन पाइदैन ’, ‘करार कर्मचारी व्यवस्थापन गर’ जस्ता नारासहित कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वडाअध्यक्षहरूले कार्यवाहक मेयर खातुन र उनका श्रीमान् माेहमद सेराजका कारण नगरपालिकामा प्रशासनिक काम ठप्प भएको आरोप लगाए ।
वडा नं २ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव (सञ्जय) ले सबै वडाको कार्यालयमा तालाबन्दी हुनुपरेको र सेवाग्राही मारमा परेको बताए । उनका अनुसार पहिले नै कालोपत्रे भइसकेको सडकमा फेरि बजेट देखाएर माटो पुर्याई ग्राभेल गरिएको देखाइ नक्कली बिल तयार गरी भुक्तानीको दबाब दिइएको थियो । प्रमुख प्रशासकीय अधिकृत भरत यादवले अस्वीकार गरेपछि उनीहरूलाई सरुवा गरी नयाँ सीएओ मदन थापालाई ल्याइएपछि विवाद थप चर्किएको दाबी गरियो ।

वडा नं १ का अध्यक्ष विजय यादव ले कार्यवाहक मेयरले कार्यपालिकाको बैठक कहिल्यै नबोलाउने, बारम्बार आग्रह गर्दा पनि निर्णय प्रक्रियालाई पन्छाउने गरेको आरोप लगाए । निर्णयबिनै विभिन्न योजना अघि बढाइएको दाबीसमेत गरिएको छ ।
त्यस्तै, वडा नं ६ का अध्यक्ष रामएकवाल यादव ले कार्यवाहक मेयर कार्यालयमा उपस्थित नहुने र सेवाग्राहीलाई कार्यालयकाे साटो आफ्नै निवासमा बोलाउने गरेको बताएका छन् ।
वडा नं १० का अध्यक्ष मञ्जय कुमार चौधरी ले नगरपालिकामा कार्यरत ८७ करार कर्मचारीको तलब कार्यपालिका निर्णयअनुसार दिनुपर्ने भए पनि सेराजको दबाबमा तलब रोकेर कर्मचारीलाई आन्दोलनतर्फ धकेलिएको बताए । तलब रोकिँदा कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेपछि सेवाप्रवाह पूर्ण रूपमा प्रभावित भएको उल्लेख गरियो ।
वडा नं ११ का अध्यक्ष ज्ञानेन्द्र चौधरी ले विद्युत् खर्च भुक्तानी गर्न नगर परिषद्ले निर्णय गरिसक्दा पनि सेराजको हस्तक्षेपका कारण प्रक्रिया अवरुद्ध भएको बताए।
विरोध प्रदर्शनमा सयौँ स्थानीयहरूको उपस्थिति रहेको प्रत्यक्षदर्शीले बताएका छन् । वडाअध्यक्षहरूले नगरपालिकामा “करोडौँको अनियमितता भएको” दाबी गर्दै कार्यवाहक मेयर अम्बेया खातुनको राजीनामा माग गरेका छन् ।