रौतहट, कार्तिक २२ गते ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिले पार्टीका पूर्व सभापति, केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
शनिबार बिहान ३ बजे ६३ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज हस्पिटलमा उपचारको क्रममा उहाँको असमायिक निधन भएको हो ।

स्व. आलमले नेपाली कांग्रेसको संगठन सुदृढीकरण र नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै, जिल्ला कार्यसमितिले उहाँको निधनले रौतहटले एक कुशल संगठक, असल अभिभावक र परिपक्व नेता गुमाएको जनाएको छ ।
नेपाली कांग्रेस रौतहटका सभापति एवम् मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री सुनिल कुमार यादवद्वारा जारी शोक वक्तव्यमा स्व. आलमको आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ ।
सर्लाही, कार्तिक २२ गते ।
सर्लाही क्षेत्र नं. ४ का युवा नेता, महाधिवेशन प्रतिनिधि तथा समाजसेवी सोनु कुमार कुशवाहाले सो क्षेत्रको अबको राजनीतिक नेतृत्व नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति, पूर्व मन्त्री तथा प्रदेश सांसद वीरेन्द्र सिंहले लिनु पर्ने धारणा व्यक्त गरेका छन् ।
शनिबार काठमाडौंस्थित ग्लोबल ग्लोरी कन्सल्टेन्सीमा भएको भेटघाट कार्यक्रममा बोल्दै कुशवाहाले सिंहले विगतदेखि नै जनताका सुख–दुःखमा साथ दिँदै आएको बताउँदै विकास, शिक्षा, स्वास्थ्य र रोजगारका मुद्दामा निरन्तर सक्रिय रहेको उल्लेख गरे ।
उनले भने, “सर्लाही–४ का जनताको विश्वास जित्ने, सबैलाई एकतामा बाँध्ने र माटोको माया राख्ने नेता वीरेन्द्र सिंह हुनुहुन्छ। त्यसैले अबको प्रतिनिधि सभामा नेतृत्व उहाँले लिनु पर्छ।”
यसैबीच, मधेश प्रदेश कांग्रेसका सूचना तथा सञ्चार प्रचार प्रसार सचिव निकेश त्रिपाठीले पनि आम जनतामा सिंहप्रतिको विश्वास र चाहना बढ्दो क्रममा रहेको बताएका छन्। उनले पार्टी नेतृत्वलाई जनताको चाहना अनुसार निर्णय गर्न आग्रह गर्दै भने, “अब समय आएको छ कि निष्ठावान र जनमुखी नेताको नेतृत्वमा क्षेत्र अघि बढोस्।”
सर्लाही क्षेत्र नं. ४ मा हाल विभिन्न राजनीतिक दलका नेताहरु सक्रिय रहेका छन् भने आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्र पनि नेतृत्वबारे छलफल सुरु भएको छ ।
काठमाडौं, २२ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमालेले चुनाव भाँड्नको लागि नयाँ÷नयाँ नाटकमञ्चन गरिरहेको भन्दै अब २१ फागुनको चुनाव हुन नदिनको लागि हुने कुनैपनि षड्यन्त्र र खेलबाडको विरुद्धमा जनस्तरबाटै प्रतिवाद गरिनुपर्ने बताएका छन् । गुण्डुमा बसेर केपी ओलीले मुलुकलाई झनै अप्ठ्यारोमा हाल्नेगरि षड्यन्त्रको तानाबाना बुनेको र ओलीको अपराधलाई एमालेका राम्रा नेताहरुले बोकेर हिँड्न नहुने साहको सुझाव छ ।
आज (शनिबार) काठमाडौंमा COMMON GEN-Z NEPAL ले आयोजना गरेको बृहत अन्तरक्रियालाई सम्बोधन गर्दै साहले चुनाव गराउने र सरकारलाई पनि सही ट्रयाकमा हिँडाउनको लागि चनाखो हुन अपिल गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पूनःस्थापना गर्ने भनेर आफ्नो दलका नेताहरुलाई हस्ताक्षर संकलनको अभियान चलाउन लगाएपछि साहले चुनावबाट नभाग्न र चुनावी वातावरण नधमिल्याउन चेतावनी दिएका हुन् ।
जेन–जी आन्दोलनमा चरम दमन गर्ने र युवाहरुको छाती र टाउकोमा ताकि ताकि गोली हान्नेहरुले नै आज चुनाव हुन नदिने भनेर चूनौति दिन थालेको भन्दै साहले देशभक्त, प्रगतिशील र राष्ट्रवादी जनता जागरुक हुनुपर्ने आवश्यकता औंल्याए ।
चुनाव फेस गर्न एमाले डराउनुको कारण ओलीको दम्भकारी शासन र अहंकारलाई युवाहरुको बलमा जनताले दुई दिनमै धुलो चटाएको र अहंकार उतारिदिनु नै प्रमुख कारण भएको साहको टिप्पणी छ । उनले भने,‘एक त केपी ओलीहरु अहिले लुकेर बस्नुपरेको छ, अर्को भर्खरै युवाहरुलाई ताकि ताकि गोली हानेर मारिएको छ, अनि यिनीहरु कुन मुख लिएर जनतामा जान्छन् ? जनताले यी हत्यारा शासकहरुको मुख नै हेर्न चाहेका छैनन् ।’
जाँचबुझ आयोगले पनि भदौ २३ गते युवाहरुको हत्यामा संलग्न शासकहरुलाई अहिलेसम्म बयान लिन नसक्नु निकम्मापन भएको भन्दै आयोगका पदाधिकारीको क्षमतामाथि नै प्रश्न उठाए । उनले गृहमन्त्री ओमप्रकाश अर्याल सस्तो लोकप्रियतामा रमाएको र जाँचुबझ आयोगका पदाधिकारी पनि कमजोर मनोवल बोकेर बस्दा हत्याराहरुको चाहीँ मनोवल उकासिएको टिप्पणी गरे ।
उनले भने,‘शान्ति, सुरक्षा र अमचनयन गर्ने जिम्मा पाएका गृहमन्त्रीलाई कहिले बालेनले धम्काएको छ, कहिले जेनजी अगुवाले राजीनामा मागेका छन्, अनि गृहमन्त्री लुतेजस्तो देखियो, निरीह देखियो, यस्तो निरीहपनले देशमा चुनाव हुन्छ ?’ सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको दुई महिना हुन लाग्दासमेत जेनजी युवाहरुको हत्यारालाई कारबाही प्रक्रिया अघि नबढ्नुमा सरकार र हत्याराहरुको नेक्ससको गन्ध आएको साहको आरोप छ ।
उनले भने,‘गृहमन्त्री बनेको यतिका दिन भयो, अहिलेसम्म यी यी हत्यारालाई कारबाही अघि बढाईयो, यति हतियार फिर्ता ल्याएँ, यति कैदीबन्दी फिर्ता ल्याएँ भनेर उहाँले भन्न सक्नुभएको छैन, अहिले पूर्व राष्ट्रपतिहरुको जलेको घर हेरेर, त्यसको समाचार प्रचारबाजीमा रमाउनुभएको छ, त्यही कामको लागि तपाईं गृहमन्त्री बनेको हो ?’
जेन–जी आन्दोलनमा आन्दोलनकारीलाई नै छानी छानी पक्राउ गर्ने, धरपकड गर्ने काम गरिएको तर हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिनेगरि नाटक रचिएको उनको आरोप छ । जेनजी आन्दोलनको गौरवलाई धुमिल बनाउनको लागि सुशीला सरकार नै उद्धत रहेको साहको अर्को आरोप छ ।
उनले अहिलेको सरकारले देशलाई पार लगाउने छाँटकाँट नदेखिएको पनि शंका व्यक्त गरे । तर, २१ फागुनमा चुनाव गराउने दायित्वबाट नभाग्न र आफ्नो सत्ता लम्ब्याउने षड्यन्त्र नगर्नपनि उनले यो सरकारलाई चेतावनी दिए । उनले भने,‘जति नै षड्यन्त्र गर्नुहोस, चुनाव त तपाईंले गराउनैपर्छ, नत्र तपाईंहरुलाई जनताले कान समातेर जिम्मेवारी सम्झाईदिनेछन् ।’