२०८३ बैशाख २०
२०८३ बैशाख २०

काठमाडौं, ४ असोज
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए ।

आजपाको आज (शनिबार) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए ।

आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ भन्ने निष्कर्ष निकाल्दै दुई बर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह भएको साहले बताए ।

 

‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरुको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धरासायी बन्दै गएको निष्कर्ष हाम्रो थियो । त्यसैले हामीले तेस्रो जनआन्दोलनको घोषणा पनि गर्यौ र त्यही जगमा आज जेनजीको जनविद्रोह भयो,’ आजपा अध्यक्ष साहले भने ।

संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताउदै उनले यो संविधान खारेज गरेर जेनजीहरुको माग सम्बोधन गर्नुपर्ने उनले बताए । ‘संविधान गलत थियो, व्यवस्था गलत थियो, त्यही भएर नेपाली जनताको अवस्था खराब भएको कुरा स्वीकार गरौं । यही व्यवस्था कायम राखेर जेनजीहरुको माग सम्बोधन नहुने भएकाले यो संविधान खारेज गरेर भए पनि उनीहरुको माग सम्बोधन गर्नुपर्छ,’ साहले भने ।

संसद्, अदालत, सिंहदरबारजस्ता हाम्रा मुटमा षड्यन्त्रपूर्णक ढंगले प्रहार भएको भएको भन्दै उनले यसको उच्चस्तरीय छानविन हुनुपर्ने बताए । साहले जेनजी आन्दोलन अपहरण गरिएको र युवा पुस्ताको भावनामाथि नै कुठाराघात भएको बताए ।

जसले देशलाई भड्खालोमा हाले आज उनीहरु नै अहिले टाउको उठाउन खोजिरहेको बताउदै उनले युवाहरुको हत्या गर्ने केपी ओलीहरु अहिले युवालाई झुठो मुद्धामा फसाउने षडयन्त्रमा लागेको बताए ।

राज्यविहीनको अवस्थामा मुलुकलाई पुर्याउनेहरुमाथि कारबाही हुनुपर्ने माग समेत उनले गरे । जेनजी आन्दोलन मध्यावधि वा अर्ली इलेक्सनको नाममा भीडबाट लिडर सेलेक्सन गर्न नभएको उनले बताए ।

‘अन्तरिम सरकार युवाको माग थिएन । यही संविधान उनीहरुको चाहना होईन । नयाँ सरकार र नयाँ संविधान नै आजको निकास हो । यसतर्फ अघि बढ्नुपर्छ । यही संविधानको कारण मुलुक एकपछि अर्को गरेर अँध्यारो सुरूङमा पसेको छ । अब मरेको लाश बोकेर गाउँ–शहर परिक्रमा गरेर हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।

साथै,हाम्रा सुरक्षा निकाय र यसको नेतृत्वहरुको पनि भूमिकाको समिक्षा हुनुपर्ने उनले बताए । ‘अगाडिको बाटो क्लियर छैन, बिग्रिएको व्यवस्था नभत्काएसम्म र यी चोर नेतालाई विस्थापित नगरेसम्म देश बन्दैन,’ उनले भने ।

देश अत्यन्तै जटिल मोडमा रहेको बताउदै उनले गृह, अर्थलगायतका मन्त्रालयमा नेतृत्व आएको तर अति नै संवदेनशील मानिएको रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय किन नेतृत्वविहीन ? यो पनि सोचनीय प्रश्न रहेको उनले बताए ।

शक्ति राष्ट्रहरुको चलखेल बढेको आभाष भईरहेको बताउदै उनले एकै दिन शक्ति राष्ट्रका राजदूतले प्रधानमन्त्रीको कार्यालयमा घरदैलो गरिरहेकाले नेपाली नागरिक सचेत हुनुपर्ने समेत उनले बताए ।

राैतहट,असाेज ०३ गते । 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी रौतहटको आयोजनामा,वर्तमान परिस्थिति र हाम्रो संविधान विषय विचार गोष्ठी सम्पन्न भएको छ। जिल्लाको मध्य भागमा रहेको गरुडा बजार स्थित संविधान दिवसको अवसरमा जिल्ला कमिटी अध्यक्ष कमल यादवको अध्यक्षतामा सो कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा उपस्थित नेताहरुले, नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको र संविधान जारी भएको एक दशक बितिसक्दा पनि मुलुकमा देखा परेको भ्रष्ट्राचार र कुशासनका विरुद्धमा भएको युवा विद्रोहको विशिष्ट परिस्थितिमा आफुहरु संविधान दिवस मनाइरहेको बताए ।

कार्यक्रममा सहभागीहरु एघारौं संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको Gen- Z पुस्ताको आन्दोलन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।

उक्त विचार गोष्ठीको प्रमुख अथितिको रुपमा रहेकी नेकपा एसकी स्थायी कमिटी सदस्य कल्याणी खडकाले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको विशेषता रहेको,,

र संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन न सकेको कारण जनतामा उत्पन्न निराशा तथा आक्रोशको जगमा यदाकदा हाम्रो संविधानमाथि नै प्रहार हुने गरेको बताइन् ।

त्यस्तै कार्यक्रमको विशिष्ट अथितिको रुपमा बोल्दै,जिल्ला ईन्चार्ज महेन्द्र चौलागाईंले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरुको विना कुनै आग्रह वस्तुनिष्ट समीक्षा गर्दै शान्ति, स्थीरता र विकास सहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने एवम् युवा पुस्ता सहित सबै उमेर समूहका जनतालाई सम्मानपूर्ण रुपमा मुलुकमै रहने वातावरण तथा अवसरहरु सिर्जना गर्न सकेमा मात्र संविधानप्रति साँचो इमान्दारिता र पछिल्लो Gen- Z आन्दोलनको समेत सम्मान हुने बताए ।

उनले जेनजीहरुको जायज मागलाई समयमै सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भका कारण अहिलेको परिस्थिति आएको बताएका छन् । सहभागी वक्ताहरुले कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी आन्दोलनका मागहरूप्रति पार्टीको तर्फबाट आन्दोलनपूर्व नै समर्थन तथा ऐक्यबद्धता प्रकट गरेको स्मरण पनि गराएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य कनिष पटेलले ‘जेनजीको जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहंकारको कारण दर्जनौँ होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्‍यो भने हाम्रो मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपर्यो । युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि जनताको चाहना र भावना अनुरूप पारदर्शी तथा जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्ने बताए ।’

त्यसैगरी नेकपा एसका जिल्ला कमिटी अध्यक्ष कमल यादवले
‘अहिले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी बाटोमा अगाडि बढाउन अन्तरिम सरकार गठन भएको छ र निर्वाचनको मिति समेत घोषणा भएको छ । अतः विना कुनै पूर्वाग्रह इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकास सहित भ्रष्टाचारको अन्त्य, सुशासन कायम र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्ने एवम् युवा पुस्तालाई मुलुकमै बस्न लायक अवसर तथा वातावरण निर्माण गर्न सकेमा मात्र पछिल्लो जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुने बताए ।

उक्त कार्यक्रममा केन्द्रीय सदस्य बिजपता बख्रेल,निर्वाचन अधिकृत भुपेन्द्र खडका,केन्द्रीय परिषद सदस्य तथा वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मी,केन्द्रीय सल्लाहकार परिषद सदस्य हरिनारायण यादव,उपाध्यक्ष मदन सापकोटा वृजकिशोर यादव,जयरानी सहनी,इन्द्रमाला जैसवाल र राम नरेश यादव लगायत नेकपा एसका सयौं नेता तथा कार्कर्ताहरुको समेत सहभागीता रहेको थियोे भने कार्यक्रम सञ्चालन प्रविन्द्र प्रसाद पटलले गर्नुभएको थियो र अन्तमा सबैले पार्टी भित्रको विभिन्न कमि कम्जोरीहरुलाई आत्मसात गरि सुधार गरेर अगाडि बढ्न सबैमा आग्रह गरेका थिए।

काठमाडौं, असोज ३ – संविधान दिवसका अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) ले आज असोज ३ गतेलाई ‘कालो दिन’ तथा ‘शोक दिवस’का रूपमा मनाएको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतका नेताहरूले संविधानप्रति गम्भीर असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका थिए ।

पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यक्रममा सम्बोधन गर्दै भने, “असोज ३ को संविधानले सबै जाति, वर्ग, समुदायलाई न्याय र समावेशी अधिकार दिन सकेन । यो संविधान हाम्रा सपना र आन्दोलनको अपमान हो।” उनले संविधान निर्माणको प्रक्रियामै मधेस र थरूहट आन्दोलनका आवाजहरू उपेक्षा भएको उल्लेख गर्दै, जेनजी आन्दोलनमा सहादत भएका वीर युवाहरूकाे समझनामा यो दिनलाई ‘शोक’ र मधेसी विराेधी संविधानकाे विरूद्वमा ‘कालो दिन’का रूपमा मनाउनु बाध्यता भएको बताए ।

वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पनि संविधानले मधेस, जनजाति, मुस्लिम, थारू लगायतको पहिचान र अधिकार सुनिश्चित गर्न नसकेको आरोप लगाए । उनले भने, “हामीले लडेका थियौं समान अधिकारका लागि, तर संविधानले त झन् विभाजन बढायो । यसैले आजको दिन हाम्रो लागि खुसी होइन, पीडाको दिन हो।”

कार्यक्रममा उपस्थित अन्य नेताहरूले बरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल,महासचिव मनीष मिश्रले पनि संविधान संशोधनको आवश्यकता तत्काल रहेकोमा जोड दिएका थिए ।  कार्यक्रममा कालो झण्डा देखाएर विरोध प्रकट गरिएको थियो भने सहभागीहरूले कालोपट्टी बाँधेर संविधानप्रति असन्तुष्टि जनाएका थिए ।

कार्यक्रममा संविधान दिवसलाई ‘शोक दिवस’को रूपमा मनाउनुको राजनीतिक सन्देश मात्र नभई मधेस केन्द्रित आन्दोलनको निरन्तरताको संकेतसमेत गरिएको नेताहरूले जनाएका छन् ।

कार्यक्रम सञ्चालन पार्टीका उपाध्यक्ष तथा प्रवक्ता डा. आभास लाभले गर्नु भएको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।