२०८३ असार १०
२०८३ असार १०

बज्जिकाञ्चल संवाददाता,राैतहट,१३ गते असार । 

नेपाल विद्युत प्राधिकरण मौलापुर सवस्टेसन अन्तर्गत अत्यावश्यक मर्मत तथा स्तरोन्नति कार्यका कारण देवाही गोनाही नगरपालिका तथा कटहरिया नगरपालिकाका केही क्षेत्रहरूमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

प्राधिकरणका अनुसार मिति २०८२ असार १४ गते शनिवार, बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म कटहरिया ११ के.भी. फिडर अन्तर्गत बुस कटिङ तथा कटहरिया बजार क्षेत्रमा एसिएसआर तारको सट्टा एबिसी केवल जडानको कार्य सम्पन्न गरिनेछ । उक्त कार्य सम्पन्न गर्नुपर्ने भएकाले मौलापुर सवस्टेसनबाट प्रशारण हुने सम्पूर्ण लाइन बन्द रहनेछ ।

विद्युत अवरुद्ध हुने क्षेत्रहरू देवाही गोनाही नगरपालिका अन्तर्गत टिकुलिया, कर्कच, पिप्रा र कटहरिया नगरपालिका अन्तर्गतको सम्पूर्ण क्षेत्रकाे लाईन अवरुद्ध हुने भएको छ ।

प्राधिकरणले सो समय अवधिमा विद्युत सेवा बन्द रहने जानकारी दिंदै सर्वसाधारणलाई वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

यदि तोकिएको कार्य समय भन्दा अगाडि सम्पूर्ण मर्मत कार्य सम्पन्न भएमा विद्युत आपूर्ति तोकिएको समयभन्दा पहिले नै पुन: सञ्चालन गरिने प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले अस्थायी असुविधाप्रति उपभोक्तामाझ क्षमायाचना गर्दै सहयोग र सहनशीलता अपनाउन आग्रह गरेको छ ।

 

बज्जिकाञ्चल संवाददाता, १३ गते असार । 

जनकपुरधाम । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य तथा आम सांस्कृतिक मोर्चाका केन्द्रीय इन्चार्ज विजय यादव ‘निर्विज’ ले मधेश प्रदेश सरकारले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डको अध्यक्षमा किशोर कुमार लेखीलाई नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

यादवले लेखीको नियुक्तिको आधार र योग्यतामाथि प्रश्न उठाउँदै तत्काल सच्याउन माग गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत कडा टिप्पणी गर्दै यादवले गृह तथा सञ्चार मन्त्रालयका राजकुमार लेखीका भाइ भएकै आधारमा किशोर कुमार लेखीलाई नियुक्त गरिएको आरोप लगाएका छन्। उनले किशोर कुमार लेखीलाई चलचित्र, नाट्य, संगीत वा साहित्य कुनै पनि विधामा अनुभव नभएको व्यक्ति भन्दै यस किसिमको नियुक्तिले मुख्यमन्त्री सतीश कुमार सिंहको सुशासनको नारामाथि प्रश्नचिह्न खडा गरेको बताएका छन्।

यादवले मधेश प्रदेशमा सक्षम कलाकार तथा संस्कृतिविद्हरूको अभाव नहुँदा नहुँदै पनि अनुभवहीन व्यक्तिलाई नियुक्ति गरिनुले ‘कार्यकर्ता भर्ना’को प्रवृत्ति देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुख्यमन्त्री सिंहलाई यस विषयमा तत्काल ध्यानाकर्षण गराउँदै यदि यो नियुक्ति नसच्याइएमा आम सांस्कृतिक मोर्चाले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यादवले यदि किशोर कुमार लेखीलाई पदबाट नहटाइए तत्काल सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।

राजेश निर्माणी, रौतहट, १३ गते असार । 

राैतहटकाे वृन्दावन नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्न आह्वान गरिएको नगरसभा रोक्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले दिएको अन्तरिम आदेश आज बदर गरेको छ ।

 

न्यायाधीश गोकर्ण डाँगी र नेत्र आचार्यको संयुक्त इजलासले शुक्रबार गरेको आदेशमा नगरसभाको विषयमा दुवै पक्षको कुरा सुनी मात्र निर्णय गर्न उचित हुने देखिएको उल्लेख गर्दै, यसअघि असार ८ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको हो ।

 

उक्त आदेशसँगै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले अब सबै जनप्रतिनिधिहरूसँग छलफल गरी असार मसान्तभित्रै नगरसभा सम्पन्न गर्ने तयारी भएको जानकारी दिए ।

 

उनका अनुसार यसअघि जति अवरोध र जालझेल भए पनि आफ्नो कार्यकालमा तीनपटक नगरसभा समयमै सम्पन्न गर्न सफल भएका थिए।

 

यसपटक भने उपप्रमुख संगिता कुमारी रामले व्यक्तिगत स्वार्थका कारण विपक्षीसँग मिलेर नगरसभा रोक्न खोजेको स्थानीयको आरोप छ। रामले असार ८ गते उच्च अदालतमा उत्प्रेषणयुक्त परमादेश माग गर्दै नगरसभा तत्काल स्थगनको माग गरेकी थिइन्, जसपछि अदालतले अल्पकालीन अन्तरिम आदेशमार्फत नगरपालिकालाई नगरसभा नगर्न निर्देशन दिएको थियो ।

न्यायालयले दिएको पछिल्लो आदेशमा उपप्रमुख राम संयोजक रहेको स्थानीय राजस्व परामर्श समितिको बैठक स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भएको प्रमाण नदेखिएको र नगरसभाको सूचना आफूले नपाएको भनी गरेको दावी समेत कागजातबाट पुष्टि नभएको उल्लेख गरिएको छ ।

यस फैसलापछि अब वृन्दावन नगरपालिकाले बजेट पारित गर्ने बाटो खुलेको छ र विकास तथा सेवा प्रवाहमा आउने अवरोध हट्ने अपेक्षा गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,बारा,१३ गते असार । 

बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–१, जमुनियास्थित श्री नेरा आधारभूत विद्यालयमा आज निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिको आयोजनामा, विद्यालयको सहकार्य र सिम्रौनगढ नगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो ।

विद्यालय परिसरमै आयोजना गरिएको उक्त शिविरमा करिब २ सय ५० जना विद्यार्थीहरूले आँखा परीक्षण गराएका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नूर आलम बादशाहले गर्मी याममा आँखा लगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना बढ्ने भएकाले सचेतना र उपचारका लागि शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

“गर्मी महिनामा आँखा सम्बन्धी समस्या बढ्न सक्छ । समयमै परीक्षण र सचेतना कार्यक्रम भएमा जटिल अवस्थाबाट बच्न सकिन्छ,” अध्यक्ष बादशाहले भन्नुभयो ।

शिविरमा सिम्रौनगढ नगर आँखा अस्पतालका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. दिलीप कुमार यादवको नेतृत्वमा विशेषज्ञ टोलीले सेवा प्रदान गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूका अतिरिक्त अभिभावक तथा स्थानीयबासीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै प्रारम्भिक अवस्थामै रोग पहिचान गरी उपचार गर्न मद्दत पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

काठमाडौं,१३ गते असार । 

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरिएको छ । शुक्रबार साँझ राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिक गरेका छन् । शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

एसईईको नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिन्छ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ ।

०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए । ६१.८१ प्रतिशत विद्यार्थी पास भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।जसमा कोसी प्रदेशमा ४७ हजार ८३५, मधेस प्रदेशमा ५९ हजार ७४९, वाग्मतीमा  एक लाख १९ हजार ५१७, गण्डकीमा ४७ हजार ८४९, लुम्बिनीमा ५७ हजार ६८७, कर्णालीमा ४६ हजार ४५५, सुदूरपश्चिम प्रदेशमा ५९ हजार ८०४ जना विद्यार्थी पास भएका छन् ।

ननग्रेड विद्यार्थीलाई साउनको २९ देखि परीक्षा दिन पाउने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । सभार बाह्रखरी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।