२०८३ बैशाख १९
२०८३ बैशाख १९

 

काठमाडौँ, २४ कात्तिक /

मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गर्नुभएको छ । चिकित्सक एवं लेखक उहाँले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गर्नुभएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा गिनिज वल्र्ड रेकर्ड कायम गरेको डा ओममूर्तिले जानकारी दिनुभयो । “गिनिज वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गर्न भने केही समय लागेको हो ।

व्यक्तिगत क्षमता, सीप र पहिचानभन्दा भिन्न उद्देश्य बोकेको यस कीर्तिमानले संसारभरका मानिसका लागि प्रेरणाको स्रोत सावित हुने आशा गरेको छु”, उहाँले भन्नुभयो, “यो कीर्तिमानले अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्य सचेतनाका लागि सामाजिक सञ्जालको भूमिका र उचित प्रयोगको बारेमा उदाहरणीय बन्ने आशा छ ।”

असोज १२ गते साँझ ७ः१५ बजेदेखि सुरु भएको आधा घन्टा लामो उक्त प्रस्तुतिमा ११ हजार दुई सय १२ जनाले एकैपटक प्रत्यक्ष प्रसारण हेरेका थिए । उक्त फेसबुक प्रत्यक्ष प्रसारणलाई नौ हजार जनाले शेयर गरेका थिए भने २० हजार लाइक र १८ हजार कमेन्ट प्राप्त भएका थिए । फेसबुकमार्फत प्रत्यक्ष प्रसारण सम्पन्न हुँदासम्म एक लाख ५० जनाले हेरेका थिए । प्रत्यक्ष प्रसारणपछि ‘गिनिज वल्र्ड रेकर्ड’का सम्पूर्ण मापदण्ड पूरा गरी डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम भएको दाबी पेश गर्नुभएको थियो ।

डा ओममूर्ति अनिलले मुटुरोगको रोकथामका निम्ति लामो समयदेखि फेसबुकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गर्दै आउनुभएको छ । उहाँले यो दोस्रो पटक विश्व रेकर्ड मार्च २०२३ मा बनाउनुभएको थियो । सन् २०१३–१४ मा इमेज एफएम १०३ दशमलव ६ मेगाहर्जबाट अतिथि वक्ताका रुपमा लगातार ४४ सातामा ‘मुटु स्वास्थ्य जागरुकता’ रेडियो कार्यक्रममा अतिथि वक्ताको रूपमा भाग लिनुभएको थियो ।

रोल्पा, २४ कात्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् । शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका हुन्

‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो । थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु, अध्यक्ष प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ। क्रान्ति र आन्दोलनको बाटो सरल रेखामा हुँदैन। त्यो बांगोटिंगो हुन्छ। यो कहिले अघि बढ्छ, कहिले एक कदम पछाडि हट्छ। यो विज्ञानको नियम ह‍ो। जनवादी क्रान्तिको चरणमा थवाङले ऐतिहासिक भूमिका खेल्यो। अब हामी नयाँ चरणको क्रान्तिको तयारीमा छौं। संंविधानमा नै समाजवादको संकल्प गरिएको छ, त्यसका लागि नयाँ अभियान चाहिन्छ।’


आगामी विशेष महाधिवेशनमा समाजवादको बाटो थप स्पष्ट पार्ने र  विचारको विकास र संश्लेषण र समाजवादी क्रान्तिको तयारीको चरणमा समाजवादको आधार तयार पार्ने विचार चाहिने भन्दै उनले भने, ‘रोल्पा, रूकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूले क्रान्तिको अगुवाइ गरे। आजको नयाँ परिस्थितिमा नयाँ ढंगले क्रान्तिको नेतृत्व गर्नुपर्छ। समाजवादी क्रान्तिको लागि थवाङले फेेरि पनि अग्रणी भूमिका खेल्नुपर्छ। शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं। अहिले क्रमशः एकताको आधार तयार हुँदैछ। विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ। हामी छिट्टै एकतावद्ध हुन्छौं। समाजवादको आधार तयार पार्ने उद्धेश्यले नै केही नयाँ काम सुरू गरेका छौं। सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतामा सरकार अगाडि बढिरहेको छ। मिटरब्याज पीडित किसानलाई न्याय दिइएको छ। यो निकै ठूलो काम हो। सरकारले विदेशमा रहेका लाखौं नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेको छ। यसले विदेशमा रहेेका लाखौं नेपाली र उनीहरूका परिवारको भविष्य सुरक्षित गरेको छ। अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कार्यक्रम लागू गरिएको छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरणमा सरकारले जुन कदम थाल्यो, सुशासनका पक्षमा यति ठूलो अभियान कहिल्यै चलेको थिएन। यस्ता धेरै काम वर्तमान सरकारले गरिरहेको छ।’

अध्यक्ष प्रचण्डले भने-

उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ। अहिले ७ अर्ब छुट्याइएको छ। छिट्टै थप ७ अर्ब थपेर सिधै किसानको हातमा पैसा जाने गरी उत्पादन र रोजगारीलाई प्रवर्धन गर्छौं” प्रधानमन्त्रीले भन्नुभयो, “म सरकारमा आउँदा देश श्रीलंका बनिहाल्छ कि भन्ने थियो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रमा राम्रो सुधार आएको छ। तर, दवावमुक्त भइसकेको छैन। तिहारलगत्तै आर्थिक गोलमेच गर्ने तयारीमा छु। सरकारले कुटनीतिक क्षेत्रका राम्रो पहल लिएको छ। भारत भ्रमणबाट सुरू भएको कुटनीतिक यात्रा संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमणसम्म आइपुग्दा उत्कर्षमा पुगेको छ। नेपाल-भारतबिचको सीमा समस्या दीर्घकालीन रूपमा हल गर्ने प्रतिवद्धता भएको छ। २५ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना अगाडि बढेको छ। १० वर्षमा १० हजार विजुली बेच्ने सम्झौता भएको छ। यी कुरा सामान्य छैनन्। संयुक्त राष्ट्रसंघको महासभा, इटालीको रोम र चीन भ्रमणमा सरकारले जुन भूमिका खेलेको छ, जसरी प्रस्तुत भएको छ, यसले देशको शीर उच्च बनाएको छ। चीनसँग नाका खोल्ने सम्झदारी भएको छ। कृषि, पर्यटन र आर्थिक क्षेत्रमा चीन सरकारले पनि राम्रो सहयोग गर्नेछ” प्रधानमन्त्रीले भन्नुभयो, “चीनसँग कृषि र पशुपालनमा पाइलट प्रोजेक्टमा सम्झौता भएको छ। त्यसमध्ये एउटा पाइलट प्रोजेक्ट थवाङमा ल्याइनेछ।


सामाजिक सञ्जाल नियमनको कार्यविधि बनेको छ। हिजो क्याबिनेटबाट स्वीकृत भएको छ। यसबाट हामी अराजकता र छाडापन अन्त्य गर्नैपर्छ। सम्मानित मिडियाको विकास गर्ने सरकारको दृढता छ। हिजो क्याबिनेट बैठकले देशका ३ वटा रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा रूपान्तरण गरेका छौं। यी निकै महत्त्वपूर्ण निर्णय हुन्। थवाङमा पछिल्लोसमय राम्रो विकास भएको छ। गणतन्त्रपछि राम्रो प्रगति भएको छ। भौतिक र मानवीय विकासमा यसले फड्को देखिएको छ। तपाईहरूले थवाङको थप विकासका लागि राख्नुभएका विषयमा गम्भीर छु। यसका लागि थप पहल गर्नेछु। सहिदमार्ग युद्धकालमा मैले नै प्रस्ताव गरेको थिएँ। यो मार्गको निर्माण कार्य छिटो सम्पन्न गरिनेछ। विद्युतीकरणका बाँकी काम पनि टुंगाइनेछ। नमुना परियोजनाको काम थवाङमा नै गरिनेछ। समग्रमा थवाङको विकास सरकारको मुख्य प्राथमिकतामा रहनेछ।

 

काठमाडौं, २४ कात्तिक ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

हालै बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

काठमाडौं, २४ कात्तिक ।

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

 

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा १ हजार रुपैयाँ र चाँदीमा २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

महासंघका अनुसार शुक्रबार १ हजार  रुपैयाँले बढेर छापावाल सुन तोलामा १ लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन तोलामा १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुन तोलामा एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलामा एक १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौं, २४ कात्तिक ।

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत  जानकारी गराएका छन् ।

 

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको जानकारी दिँदै उनले आवश्यक सुरक्षाका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग पनि आग्रह गरेको बताए ।

‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ,’ उनले उल्लेख गरेका छन् ।

काठमाडौं, २४ कात्तिक ।

नेपाल प्रहरीले पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्म कारबाहीमा परिने गर्ने जनाएको छ ।

तिहार पर्वमा पटाका पड्काउनेदेखि आतिसबाजी गर्नेसम्मको कार्य हुने भएपछि प्रहरीले सार्वजनिक सूचना निकालेर रोक लगाएको हो ।

पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागी, अंगभंग हुने र मानव स्वास्थ्ययमै असर गर्ने भएकाले प्रयोग गर्न प्रहरीले आग्रह गरेको हो ।

यस्ता विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्रीवितरण, र ओसारपसार नगर्न र गरेको पाइएमा कानुनबमोजिमम कारबाही हुने भन्दै प्रहरीले सचेत गराएको छ ।

काठमाडौं, २४ कात्तिक ।

१६औँ योजनाका लागि सुझाव लिन देश दौडाहामा लागेको राष्ट्रिय योजना आयोगले ६ प्रदेशमा सुझाव लिँदैछ । शुक्रबार अपरान्हसम्म ६ वटै प्रदेशका प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र लगायतसँग सुझाव लिइसक्ने कार्यक्रम छ । बिहीबारदेखि कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको लुम्बिनीमा सुझाव संकलनका लागि छलफल गरिरहेको छ ।

 

बिहीबार लुम्बिनीमा आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सोह्रौँ योजना सङ्घीय शासन प्रणालीको मर्म अनुरुप हुनुपर्ने र यसले तीन तहकै सरकारका विकास प्रयासलाई मार्गदर्शन एवम् समन्वय गर्न सक्नुपर्ने, विगतका विकास प्रयास र उपलब्धीको यथार्थ मूल्यांकन गर्दै सबै निकाय र पदाधिकारीले आ–आफ्नो तहमा जिम्मेवार एवम् ईमान्दारिताकासाथ देशको विकासमा लाग्नुपर्ने बताए ।

 

कार्यक्रममा सहभागी प्रदेश सरकारका पदाधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, राजनीतिक दलका प्रदेशस्तरीय प्रमुखहरू, प्राध्यापक, निजी क्षेत्रका प्रतिनिधि तथा अन्य सहभागीहरूले योजनालाई यथार्थपरक, कार्यमूलक एवम् नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको अध्यक्षता गरेका आयोगका सदस्य डा. पौडेलले सोह्रौँ योजनाको प्रस्तावित मस्यौदा उपर छलफलका क्रममा प्राप्त सुझावहरूलाई योजनामा यथोचित सम्बोधन गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सबै सदस्यहरू, लुम्बिनी प्रदेश भित्रका जिल्ला समन्वय समितिका प्रमुखहरू, प्रदेश मन्त्रालयका सचिवहरू, विभिन्न राजनीतिक दलका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, निजी क्षेत्रका छाता सङ्गठनका प्रदेशस्तरीय प्रमुख एवम् प्रतिनिधिहरू, गैरसरकारी तथा सहकारी क्षेत्रका प्रतिनिधिहरू, प्राध्यापक तथा विकास प्रशासनका विज्ञहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा आयोगका सहसचिव महेश भट्टराईले चालु पन्ध्रौँ योजनाको पहिलो चार वर्षको प्रगति अवस्थाको समीक्षा सहित प्रस्तावित सोह्रौँ योजनाको आवश्यकता र यसको प्रारम्भिक मस्यौदाले समेटेका विषयवस्तुको प्रस्तुती गर्दै त्यसमा गरिनुपर्ने परिमार्जनका लागि खुला छलफल तथा सुझावका लागि अनुरोध थिए ।

 

शुक्रबार लुम्बिनी प्रदेश भित्रका सबै नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य प्रतिनिधिसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । अहिले लुम्बिनीसँगै कोशी प्रदेशमा पनि सुझाव संकलन कार्यक्रम चलिरहेको छ । यसअघि मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौडामा, गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्तिक २० र २१ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भैसकेको छ । कर्णाली प्रदेशको हकमा भने हालै गएको विनाशकारी भूकम्पका कारण जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र तथा आम नागरिक तत्काल उद्दार तथा राहत वितरण कार्यमा खट्नु पर्ने भएको हुँदा पूर्वनिर्धारित कार्यक्रमलाई पछि गर्ने गरी स्थगित गरिएको छ ।

काठमाडौं, २४ कात्तिक ।

नेपाल विद्युत् प्राधिकरणले विभिन्न तहमा नयाँ कर्मचारीका आवेदन आह्वान गरेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर प्राधिकरणले  सहनिर्देशकदेखि मिटर रिडरसम्ममा आवेदन दिन आह्वान गरेको हो ।

दशौं तह सहनिर्देशकदेखि तेस्रो तहसम्मको प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा आवेदन मागिएको हो ।सूचनाअनुसार १४ मंसिरसम्म दशौं तहमा प्रशासनतर्फ एक सहनिर्देशक, प्राविधिकतर्फ एक प्रबन्धक, ३ जना उपप्रबन्धक, २ सहायक निर्देशक, ४ सहायक प्रबन्धक, ९ प्रशासकीय अधिकृत, ७ लेखा अधिकृत, १ कानुन अधिकृत, ३८ इन्जिनियरलगायत सहायकस्तरका विभिन्न पदहरूमा दरखास्त दिनुपर्ने उल्लेख गरिएको छ ।

प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर ७६, लेखापाल ६२, सुपरभाइजर तहको इलेक्ट्रिकल समूहमा ७९, सुपरभाइजर तहको मेकानिकल समूहमा २२, सुपरभाइजर तहको सिभिल समूहमा १२, सिनियर मिटर रिडर ५४, सहायक लेखापाल ६२, फोरमेन १८४, इलेक्ट्रिसियन १३४ र जुनियर मिस्त्री २२ जना गरेर दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, २४ कात्तिक।

नेपाली विद्यार्थीलाई आत्मविश्वास बढाउन र क्यानडा पुगेपछि कसरी त्यहाँ कसरी संघर्ष गर्ने भन्ने लगायतका विषयमा जानकारी दिन क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटी केपीयूको टोली नेपाल आएको छ । नयाँ बानेश्वरको गोरेटो कन्सल्टेन्सीको निमन्त्रणमा आएका केपीयूका निर्देशक आन् यूयान र म्यानेजर उत्कर्ष भारद्धाजले क्यानडाको भ्यान्कुभर र अन्य शाखा क्याम्पसहरुमा अध्ययन सुरु गरेपछि सहज बसाई र काम खोज्ने लगायतका विषयमा जानकारी गराएका छन् ।

बिहीबार गोरेटोमा सम्पन्न अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै क्वान्टलेन पोलिटेक्निक युनिभर्सिटीकी निर्देशक आन् यूयानले क्यानडा पुगिसकेपछि त्यहाँ कसरी सुरक्षित तरिकाले बसेर, समय बचाउँदै अध्ययन गर्ने र काम गर्ने विषयमा जानकारी दिएकी थिइन् ।

निर्देशक यूयानले क्यनडामा हिँडडुल गर्दा, कामबाट फर्किदा पनि निशुल्क रुपमा बससेवा लिने सकिने विषयमा जानकारी दिइन् । उनले केपीयू  सैद्धान्तिक भन्दा पनि व्यबहारिक जीवनमा लागू हुने पद्धतिलाई अपनाएर विद्यार्थीलाई पढाउने शैक्षिक संस्था भएको बताइन् । जुन  पढाई कक्षामा मात्रै सिमित नभई पूर्ण रुपमा फिल्ड भिजिट मार्फत गराइने निर्देशक यूएनको दाबी छ ।

 

एक दिने जानकारीमूलक कार्यक्रममा बोल्दै क्वान्टलेन पोलिटेक्निक यूनिभर्सिटीका म्यानेजर  उत्कर्ष भारद्धाजले धेरै बिद्यार्थीको क्यानडामा आर्कषण बढेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु कसरी क्यानडा पुगेर उक्त कलेजले दिएका सुबिधाहरु प्रयोग गरेर कसरी शैक्षीक सुबिधाहरु लिन सक्छन्, बढाउन सक्छन् भन्ने विषयमा जानकारी दिएका थिए । भारद्धाजले भर्ना भएको १५ दिनमा कसरी विद्यार्थीहरुले छोटो समयमा कसरी साथी बनाउँछन् भन्दै युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाले गरेको एक अध्ययनको उदाहरण दिँदै गोरेटोमा उपस्थित विद्यार्थी तथा अभिभावकहरुको जिज्ञासालाई मेटाउने काम गरेका थिए ।

सो कार्यक्रममा बोल्दै गोरेटेका सिइओ धिरज कँडेलले नेपाली विद्यार्थीहरु क्यानडा गइसकेपछि लाज मान्न नहुने, आदार सम्मान लगायतका बानीहरुको विकाश गर्दै आफ्नो भन्दा फरक संस्कृति, आनीबानी, राष्ट्रियता भएका व्यक्तिहरुसँग छिटो घुलमिल गर्नु पर्ने बताए । हालै क्यानडाको ओन्टारियो प्रदेशका विभिन्न सरकारी कलेज तथा विश्वबिद्यायलको भ्रमण गरेर फर्किएका सिइओ कँडेलले कतिपय नेपालीहरुले अध्ययनपश्चात राम्रो प्रगती गरेको तथा कतिपयको मध्यम अवस्था रहेको बताए । उनले क्यानडामा संर्घषरत विद्यार्थीहरुलाई मेहेनत र लगावका साथ  समय व्यवस्थापन गर्दै अघि बढ्न सुझाव दिए । उनले परिवारको सम्पर्कमा नै रहेर काम तथा अध्ययनलाई अघि बढाउनुपर्ने बताए ।

सो अवसरमा सिनियर परामर्शकर्ता तथा को-अर्डीनेटर प्रकाश रेग्मीले बिद्यार्थीले पहिलो चरणमा अध्ययनमा मात्रै फोकस भएर अघि बढ्न सुझाव दिए । रेग्मीले सुरुमा नै धेरै आर्थिक विषयमा आशा नराखी शारीरिक र मानसिक स्वास्थ्यको ध्यान दिएर अघि बढ्ने विषयमा सुझाव दिए । (केपीयू ) क्वान्टलेन पोलिटेक्निक यूनीभर्सिटी क्यानडाको ब्रिटिस कोलम्बियामा अवस्थित छ ।

काठमाडौं, २४ कात्तिक ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने समय शुक्रबार सकिँदै छ ।

गत कात्तिक १० गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने शुक्रबार (कात्तिक २४ गते) अन्तिम दिन रहेको छ ।

 

कम्पनीले १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।