काठमाडौं, ४ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ५० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यस्तै लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ११०, लोकल सिमी ७०, भटमास कोसा १००, तिते करेला ४०,लौका ४०,परवल ९०, पाकेको फर्सी ४०, घिरौंला ५०, भिण्डी ६०, स्कूस ४०, कन्ये च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २८०, बन्दा कुरीलो ३००, ब्रोकाउली ८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो प्याज ८०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३२० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०, आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएको छ ।
सर्लाही,जेष्ठ ०३ गते
लालबन्दी । सर्लाहीको लालबन्दीमा मेची महाकाली बुहारी संयुक्त आवाजले आयोजना गरेको महिला लक्षित उद्घोषण तालीमको मंगलबार प्रमाणपत्र वितरण गर्दैै समापन गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजकी सर्लाही जिल्ला संयोजक सानु पाख्रिनको अध्यक्षता तथा लालबन्दी नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा तालीमको समापन गरिएको हो । लालबन्दी नगरपालिकाको आर्थीक सहयोग तथा मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा भएको तालीम ५ दिनसम्म चलेको थियो । लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीले गएको बैशाख ३० गत्ते उद्घाटन गर्नुभएको तालीममा मेची महाकाली बुहारी संयुक्त आवाजका सदस्य तथा अन्य केहिको सहभागीता रहेको थियो ।
तालिममा मकवानपुरबाट आएका प्रशिक्षक नवराज खनाल र पत्रकार क्षितिज विश्वकर्माले सहभागीहरुलाई मञ्चीय उद्घोषण र भाषण कलाका बिषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम समापन कार्यक्रममा आफ्नो भनाई राख्दै प्रशिक्षार्थीहरुले आफुहरुले तालिमबाट धेरै कुरा सिक्ने अवशर पाएको बताएका थिए । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रशिक्षार्थी रेणुका खड्काले आफुले तालिमबाट बोल्ने, सम्बोधन गर्ने र मञ्चमा पुगेपछि गर्नुहुने र नहुने कुराहरु सिकेको बताउनुभयो । त्यसैगरि अर्का सहभागी सुरेश श्रेष्ठले आफुले अतिथीहरुलाई कसरी क्रमसंगत ढंगबाट मञ्चमा आसन ग्रहण गराउने र कस्लाई, कतिबेला मन्तब्य राख्न बोलाउने भन्ने महत्वपुर्ण कुरा जानेको भनाई राख्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षक क्षितिज विश्वकर्माले आफुहरुले सहभागीलाई बोल्न नभई बोल्ने तरीका र शैलिको बारेमा जानकारी गराएको बताउनुभएको थियो ।
उहाँले ५ दिनको कार्यक्रममा धेरै कुराको जानकारी गराउन सम्भव नभएपनि मञ्चीय उद्घोषण तथा भाषणकलाको बारेमा धेरै कुरा सिकाएको बताउनुभयो । त्यस्तै अर्का प्रशिक्षक नवराज खनालले यहाँका महिला दिदि बहिनीहरुको उत्साह र जोस देखेर आफु दंग परेको बताउनुभयो । उहाँले ५ दिनको कार्यक्रममा सिकेका कुरालाई साँच्चिकै ब्यवहारमा देखाउनका लागी धेरै भन्दा धेरै अभ्यास गर्नु जरुरी रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गदै कार्यक्रमका अतिथी एवं लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुँईंटेलले सहभागीहरुले ५ दिनमा धेरै कुरा सिकेको आफुले अनुभव गरेको भताउनुभयो । उहाँले बोल्ने मात्रै नभई मिठो बोल्ने र कसरी शालिन, सभ्य र सहि तरीकाले बोल्ने भन्ने कुरामा पनि सहभागीले ख्याल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी एवं लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले महिलाहरुले आयोजना गरेको कार्यक्रम धेरै नै राम्रो भएको र आगामि दिनमा पनि नगरपालिकाको तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने आफ्नो चाहना रहेको बताउनुभएको थियो । मेची महाकाली बुहारी संयुक्त आवाजकी मधेश प्रदेश सह–संयोजक रमा काफ्लेले संयोजन गर्नुभएको तालीमको समापन कार्यक्रम तालीमकी सहभागी रिता ब्लोनले संचालन गर्नुभएको थियो भने बर्षा लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।
बज्जिकाञ्चल संवाददाता,गरुडा,जेष्ठ ०३ गते
रौतहटको गरुडा नगरपालिकामा नगर स्तरीय जनस्वास्थ्य प्रयोगशाला आजदेखि सञ्चालनमा आएको छ । सो नगरपालिकाको वडा नम्बर ४ मा रहेको स्वास्थय चौकी गरुडाको भवनमा एक कार्यक्रमका बिच नगरप्रमुख कन्थमनी जयसवालले समुद्धघाटन गर्नु भयो ।
बुधवार आयोजित विशेष समारोहमा गरुडा नगरपालिकाका नगरप्रमुख जयसवालले प्रयोगशालाको उदघाटन गरेका हुन् । प्रदेश सरकारको सहयोगमा लाखौं मूल्य बराबरको ल्याब सामाग्री ल्याएर सो प्रयोगशाला सञ्चालनमा आएको हो ।
सो जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि स्थानियहरु लाभाविन्त हुने भएका छन् । ग्रामीण क्षेत्रमा सेवा पाउने भएपछि स्थानियहरुले नगर प्रमुख जयसवाल लाइ धन्यवाद पनि ज्ञापन गरेका हुन् ।
ल्याब सेवा सुचारु भएछि नगर भरीका महिला, बृद्धबृद्धा लगायतका बिरामीलाइ थप सहज हुने नगर प्रमुख जयसवालले बताउनु भयो । यस अघि ल्याब सेवाका लागि अन्यत्र निजी क्लनिकमा जानुपर्ने बाध्यता रहेको थियो । अब उपरान्त सो समस्या समाधान हुने भएको छ ।
सेवा सुचारुपछि ग्रामीण क्षेत्रका नागरिकलाइ आर्थिक भार कम हुने र आम नागरिकलाइ सहयोग पुग्ने मेयर जयसवालले बताउनु भयो ।
उक्त उद्धघाटन समारोहमा सो वडाका वडा अध्यक्ष सुनिल कुमार जयसवालको अध्यक्षतामा भएको थियो । जसमा गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरी,गरुडा नगरपालिकाको वडा नम्बर १ देखी ९ समको वडन अध्यक्षहरु ,कार्यपालिका सदस्यहरु र विभिन्न राजनितीक दलका प्रतिनिधीहरु,कर्मचारीहरु तथा स्थानिय भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता, बृन्दावन,जेष्ठ ०३ गते
रौतहटको बृन्दावन नगरपालिकाको देवीचौक हँुदै आकरपाथर–बरगजवा जाने बाटो कालोपत्र हुने भएको छ । जसको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघीय सांसद देवप्रसाद तिमल्सिनाले शिलान्यास गर्नु भएको हो ।
सांसद तिमल्सिनाको पहलमा १० करोडको लागतमा बृन्दावन नगरपालिक वार्ड नम्बर ८ देवीचौक देखि आकरपाथर हुँदै बरगजवा जाने सडक करिब ४ किलोमिटर असपाल्ड कालोपत्र सडक निर्माण हुने भएको छ ।
सो अवसरमा बृन्दावन नगरपालिकाका पूर्व मेयर रामस्नेही राय यादव,पूर्व वडा अध्यक्ष दिनानाथ महतो, नेता कार्यकर्ताहरु,स्थानीय भद्र भलादमीहरुको उपस्थितिमा शिलान्यास गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता, माधवनारायण,जेठ ०३ गते ।
रौतहटको माधवनारायण नगरपालिकाकामा स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास भएको छ । सो नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव र वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश राय यादवले संयुक्त रुपमा आज (बुधबार) स्वास्थ्य चौकी माधोपुरमा दुई कोठे भवनको शिलान्यास गर्नु भएको हो ।
स्वास्थ्य चौकीमा भवनको अभावले काम गर्न कठीनाई भएको हुँनाले मेयर यादवले आफनो बजेटबाट स्वास्थ्य क्षेत्रलाई प्राथमीकतामा राखेर काम गरिरहेका छन् । माधवनारायण नगरपालिका द्धारा २४ लाख रुपैयाँ भन्दा बढीको लागतमा निर्माण हुँने भवनको मेयर यादवले शिलान्यास गरेका हुन् ।
सो कार्यको लागि केही दिन पहिला वडा नम्बर ६ का वडा अध्यक्ष राम नरेश यादवले मेयर यादव समक्ष स्वास्थ्य भवनको प्रस्ताव राखेका थिए । सो कार्यक्रममा माधवनारायण नगरपालिकाका कर्मचारीहरु, वडा नम्बर ६ का जनप्रतिनिधिहरु, स्वास्थ्य चौकी माधोपुरका कर्मचारीहरु तथा स्थानीयहरु लगायतको सहभागिता रहेको थियो ।
रौतहट,०३ जेठ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका ५ स्थित कोपवाबाट सशस्त्र प्रहरीले करीव २ लाख ६२ हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान र नक्कली गरगहना बरामद गरेको छ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले बरामद गरेको हो।
बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।
बज्जिकाञ्चल संवाददाता,कटहरिया,जेठ ०३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर ९ मा रहेको तरहारी खोलामा निर्माण हुने दुइ वटा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । पुलको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले बुधवार शिलान्यास गरेका हुन् ।
आवत जावत गर्न सजिलो हुने उद्देश्यले सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुलको अनुमानित लागत १ करोड २८ लाख रुपैयाँ रहेको भएको नगरप्रमुख जयसवालले बताए ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारण सहभागी भएका थिए । शिलान्यास पछि पत्रकारहरु सँग कुराकानी गर्दै नगर प्रमुख जयसवालले डुमरिया गाउँका स्थानियवासीहरु लाइ नदी वारीपारी गर्न सहज होस् भन्ने उदेश्यले झोलुङ्गे पुल निर्माण हुन लागेको बताए ।
नदी पारी पनि बस्ती भएकोले यो झोलुङ्गे पुलको आवश्यकता पर्न गएको बताए । उनले भने अन्य ठाउँमा पक्की पुलको लागि पहल गरेको जानकारी गराए । शिलान्यास सँगै आजदेखि सुरु भएको पुल निर्माणको काम अब तिन महिना सकिने उनले जनाकारी गराए ।
काठमाडौं, ४ जेठ ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
काठमाडौं, ४ जेठ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।