२०८३ बैशाख १
२०८३ बैशाख १
प्रदीप कुमार दास,बारा, बैशाख ३० गते ।
राष्ट्रिय तत्मा समाज नेपालको प्रथम जिल्ला अधिवेशन बाराको खुल्ला सत्र भव्यताका साथ समापन भई बन्द सत्र सुरु भएको छ । कार्यक्रम बारा जिल्लाको फेटा गाउँपालिका वडा नं – १ भलुहि भल्वरिया स्थित खैरा माई मन्दिर परिसरको प्रांगणमा भव्यताका साथ खुल्ला सत्र सम्पन्न भई बन्द सत्र सुरु भएको हो ।
कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश सचेतक मा. लखन दास तत्मा को प्रमुख आतिथ्यता तथा फेटा गाउँपालिका वडा नं- १ को वडाध्यक्ष बिगन दास तत्मा को सभाध्यक्षतामा भव्य रूपमा सभाको समापन गरिएको हो ।
उक्त जिल्ला अधिवेशन कार्यक्रममा विशिष्ठ अतिथि राष्ट्रिय तत्मा समाज नेपालको पूर्व अध्यक्ष राज कुमार दास तत्मा ,रौतहट जिल्ला अध्यक्ष रामबाबु दास, बरिष्ठ उपाध्यक्ष झगरु दास तत्मा,महासचिव शंकर दास तत्मा, उपाध्यक्ष सिकेन्द्र दास तत्मा,राम ईश्वर दास,केन्द्रीय सदस्य राम बिनोद दास,पूर्व केन्द्रीय सदस्य रामदरेश दास तत्मा लगायत विभिन्न पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

मधेस प्रदेशमा पिछडिएको समुदायमा रहेको तत्मा जाति पछिल्लो समय आफ्नो माग सम्बोधन र राज्यबाट पाउनु पर्ने अधिकारको लागि संगठित हुन थालेका छन् ।
पहिचान र राज्यको मुलधारमा प्रतिनिधित्व गराउने लगायत छुवाछुत, गरिबी, दाइजो, विपन्नता जस्ता कुरितिलाई निर्मुल पार्न सवलीकरण र सशक्तीकरण सहित शिक्षा, स्वास्थ्य र रोजगारीको लागि सरकार समक्ष आफ्ना मुद्दा उठाउन र पूरा गराउन भुमिका खेल्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य राजकुमार दासले बताउँनु भयो ।
उक्त अधिवेशनबाट चयन हुने पदधिकारीहरुको नाम बन्दसत्र पछि सर्वजनिक गर्ने पु्र्वअध्यक्ष एवम् मधेश प्रदेश दलित आयोग समितिका सदस्य दासले बताए ।

त्यस्तै , कार्यक्रममा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी,राजनीतिक समिति जसपाका सदस्य रामकिशोर यादव ,प्रसौनी गाउँपालिका अध्यक्ष विनोद पटेल ,स्थानीय मदन साह लगायत भरभलादमीहरुले पनि आ – आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशनमा बारा जिल्ला भरिका तत्मा स्वजातिय बन्धुहरुको भव्य उपस्थितिमा खुल्ला सत्र सम्पन्न भएको हो र बन्द सत्र सुरु भएको राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय उपाध्यक्ष सीकेन्द्र दास तत्माले बताएका हुन् ।

 

आरके श्रीवास्तव,गरूडा,वैशाख ३० गते ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना तथा व्यवस्थापन गरेको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” २०८० बाट राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झा पुरस्कृत हुने हुनु भएको छ ।

रौतहटबाट प्रसारण हुने रेडियो मधेश मसला १०६.४ मेगाहर्जका स्टेशन म्यानेजर तथा जनकपुर टुडे पत्रिकाका संवाददाता पत्रकार मनोजकुमार चौधरीको कोरोना संक्रमणका कारण ४१ बर्षको अल्पायुमै नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा २०७८ बैशाख २८ गते निधन भएको थियो ।

उनको निधन पश्चात नेपाल पत्रकार महासंघ रौतहट शाखाले पत्रकार चौधरीको सम्झनामा “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार”को स्थापना गरेको थियो । यस बर्षको “मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार” आगामी २०८० जेठ २० गते शनिबारका दिन प्रदान गरिने भएकाे छ ।

पच्चीस हजार रूपैयाँ पुरस्कार राशी रहेको सो पुरस्कार राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई दिइने नेपाल पत्रकार महासंघ रौतहटका सचिव मदन ठाकुर (धनन्जय ) द्वारा हस्तान्तरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गतवर्ष उक्त पुरस्कार बाट गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएकाे नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकारी गराउनु भएको हाे ।

 

काठमाडौं, ३० वैशाख

तीन दिनसम्म चलेको एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ । बैठक केही महत्वपूर्ण निर्णय गर्दै सकिएको हो ।

एमालेले वर्षैभरि केन्द्रीय सदस्यलाई मिसन ग्रासरूटकै भूगोलमा खटाउने निर्णय गरेको छ । पार्टी गतिविधिलाई थप रचनात्मक, सिर्जनात्मक बनाउने र मातहतका कमिटीको अधिवेशन गराउँदै एमालेलाई क्रियाशील बनाउन केन्द्रीय सदस्यलाई ग्रासरुटमापठाउने भएको उपमहासचिव पृथ्वी सुब्बा गुरूङले बताए ।

केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीमा युवाको आकर्षण कमजोर बनेको निष्कर्ष निकालेका थिए । कतिपय केन्द्रीय सदस्यले छोराछोरीलाई समेत सम्झाउन नसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नवोदित पार्टीमा मत गएको बताएका थिए ।

पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको एमाले जनाएको छ ।

 

धनगढी, ३० वैशाख

भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् ।

भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।

मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ ।

व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।

 

काठमाडौं, ३० वैशाख

नेकपा एमालेले सूचना पाएर पनि लगातार तीनवटा पार्टी बैठकमा उपस्थित नहुने सदस्यलाई कमिटीबाटै हटाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले लगातार तीन बैठकमा उपस्थित नहुने सदस्यलाई हटाउने निर्णय गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।

ठूलो कमिटीलाई छरितो बनाउनका लागि पदाधिकारीबाहेकको नयाँ सदस्य नथप्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

 

धनगढी, ३० वैशाख

दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भिरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

भक्तपुर, ३० वैशाख

शिक्षा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले यही उद्देश्यलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको नवआगन्तुक विद्यार्थीको स्वागतमा शनिबार गरेको कार्यक्रमका वक्ताहरुले शिक्षालाई व्यापार बनाउन नहुने बताए ।


राष्टिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला)ले शैक्षिक संस्थाहरु व्यापार गर्ने थलो नभएको बताए । प्रमुख अतिथि माइलाले शैक्षिक संस्थाहरु नै इमान्दार नभएपछि अरु क्षेत्रहरु इमान्दार हुन नसक्ने बताए । कति शैक्षिक संस्थाहरु शिक्षा दिनुभन्दा पनि धन कमाउने उद्देश्यले खोलिएको चर्चा गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । यही कारण आफना नानीहरु भर्ना गर्दा स्कुलको बोली होइन, व्यवहार हेर्न उनले अनुरोध गरे ।


भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले नयाँंवर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरी त्यही अनुसारको वार्षिक शैक्षिक योजना सार्वजनिक गरिसकेको जनाए । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) का प्रमुख रमेशप्रसाद मैनालीले ससाना नानीहरुको पहिलो शिक्षा स्कुलबाट नै पाउने भएकोले संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले असल बन, असल गर भन्ने मूल नारालाई आत्मसाथ गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । साथै अन्य विभिन्न खेलहरु पनि देखाइएको थियो ।

 

बेंसीसहर, ३० वैशाख

लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका-८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् ।

शुक्रबार राति करिब १०:३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चुक्कु प्रहार गरी घाइते बनाएका थिए ।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ ।

 

बाँके, ३० वैशाख

बाँकेको कोहलपुरमा नदीमा डुबेर एक पुरुषको ज्यान गएको छ । बैजनाथ गाउँपालिका–४ बोरिङका ३६ वर्षीय कमल साहानीको जेठीनाला नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएकोमा उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, ३० वैशाख

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा संयुक्त रुपमा लिखित पुस्तक ‘नेपाल भारत फर्नलेयर डिप्लाेमेसी इन रिफ्रेन्स टु काली रिभर : पर्सपेक्टिभ अफ इन्टरनेसनल ल’को विमोचन कार्यक्रममा बोल्दै उनले उक्त भूभाग नेपालको भएको र भारतले सेता फिर्ता लिनुपर्ने धारणा राखेका हुन् ।

नेपाली भूभाग कुनै पनि हालतमा नेपालले फिर्ता लिनैपर्ने उनको भनाइ थियो । भारतले नेपालको धेरै भूगोल मिचेको उल्लेख गर्दै उनले त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तराष्ट्रिय कानुनले पनि सहयोग गर्ने उनले स्पष्ट पारे ।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्शामा समावेश गरेको कुरा विश्वलाई नै जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताए ।

नेपाल ४ हजार वर्षदेखि स्थापित रहेकाे तर भारत १९४७ बाट बनेको उल्लेख गर्दै उनले त्यो भन्दाअघि किम्वदन्ती र पुराणमा उल्लेख भएको भारत भएको बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।