रौतहट, २३ वैशाख
स्रोत नखुलेको रकमसहित रौतहटबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–२, ब्यारियलबाट स्रोत नखुलेको तीन लाख १२ हजार नेपाली रुपैयाँ र २२ हजार भारुसहित शुक्रबार राति उनीहरू नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार, सीतामणिका २६ वर्षीय सुजितकुमार महतो समेत दुईजना छन् । चेकजाँच गर्ने क्रममा बीआर ३० एडी ३६८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
विशाल बस्नेत/ २३ बैसाख, महोत्तरी
महोत्तरीमा शिक्षिका नै घरेलु हिंसाको सिकार बनेकी छिन् ।

बर्दिबास-३ बस्ने सीता माझी आफ्नै श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलवाट घरेलु हिंसाको सिकार बनेकी हुन ।
बर्दिबास कै भब्सी आधारभुत विद्यालयमा अध्यापन गराउने शिक्षिका माझीलाइ १९ बैसाखको राति निर्ममतापुर्वक कुटपिट गरि सख्त घाइते बनाइएको छ भने यसअघि पनि निक्कै प्रताडित बन्दै आएको पिडितले वताएकी छन । श्रीमान चन्द्रे माझी र कान्छी श्रीमती अनिता भुजेलले ज्यानै लिने उदेश्यले घरेलु हतियार समेत प्रयोग गरिएको भेटिएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार लाइन अफ गरेर अध्याँराेमा विभिन्न घरेलु हतियार प्रयोग गर्दै उनिहरुले आक्रमण गरेका थिए । पटक पटक यस्ता घटना दोहोर्याइ रहे तापनी समाजले सहजीकरण गर्दै आएका थिए ।

राहत कोटामा आफै कमाउदै स्वालम्बन बनेकी माझी किन हिंसाको सिकार वनिन भन्ने बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पिडित माझीले श्रीमानविरुद्ध वहुविवाह र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेकी छिन् ।
पिडक भनिएका चन्द्रे माझीलाइ भने प्रहरीले पक्राउ गरेको छ । माझीलाइ पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख विजय यादवले वताए ।
पिडितले अहिलेसम्म जाहेरी ल्याइ नसकेको पनि प्रहरीले जनाएको छ । जाहेरी ल्याए पछी मुद्दा प्रक्रिया अगाडि बढाइने प्रमुख यादवले जानकारी दिए ।

यता शिक्षिका नै घरेलु हिंसाको सिकार भएको भन्दै एक प्रेस बिज्ञप्ति निकालेर शिक्षक संगठनहरुले ध्यानाकर्षण भएकाे जनाएका छन् । साघंतिक आक्रमणसहित ज्यान नै लिने कुकृत्य गर्ने दोषीलाइ कडा कारवाहीको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन बर्दिबासले घटनाप्रती आपत्ती जनाएको छ ।
नगर कमिटीका संयोजक सुर्यनारायण दास र सचिव टंकप्रसाद पोखरेलले दोषीलाइ कारवाहीको दायरामा नल्याए आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन ।
काठमाडौं, २३ बैशाख ।
अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ ।
रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमिला सुवेदीको निधन भएको हो । उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन ।
रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमिलाले आफैले चलाएको कारलाइ बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करवाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएकाे छ ।
दुई दशकदेखि सुवेदी दम्पति अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरुको सन्तानको रुपमा दुई छोराहरु रहेका छन्।
मुम्बई, २३ बैशाख ।
पठानको ठूलो सफलतापछि दर्शकको नजर शाहरुख खानको आगामी फिल्म ‘जवान’ र ‘डंकी’ मा परेको छ ।
हालै सेयर भएको टिजरमा एक्सन फिल्म जवान आगामी २ जुनमा रिलिज हुने बताइएको थियो । तर, अहिले भिएफएक्समा कामका कारण एट्ली निर्देशित जवानको रिलिज मिति पर सर्ने देखिएको छ ।
पिंकभिल्लाको रिपोर्ट अनुसार फिल्मसँग सम्बन्धित एक स्रोतले भन्यो, ‘जवान’ अब जुन २, २०२३ मा रिलिज हुँदैन किनभने सो टोलीलाई फिल्म पूरा गर्न अझै केही समय चाहिने देखिएको छ ।’ किनभने तिनीहरू देशको उत्कृष्ट अन्य फिल्मसँग प्रतिस्पर्धा गर्न सक्ने उत्पादनको साथ आउन चाहन्छन्।
जवान फिल्म टोलीले धेरै मितिहरू पुर्नविचार गरिरहेको रिपोर्टहरू आएका छन्, जसमा जुन २९वा अगस्त २५ लाई फाइनल गर्ने भनिएको छ। यद्यपि, आधिकारिक घोषणा भने अझै भएको छैन । रिपोर्टलाई विश्वास गर्ने हो भने ११ अगस्टमा रिलिज हुने गदर र जुन २ मा रिलिज हुने प्रभासको आदिपुरुष जवानको रिलिजका कारण प्रभावित हुन सक्छ ।
सो फिल्ममा शाहरुख खानका साथै नयनतारा, सान्या मल्होत्रा र प्रियमणी मुख्य भूमिकामा रहेका छन्।
यसै क्रममा किङ खान यो फिल्मको सुटिङमा अझै व्यस्त रहेका छन् ।
मुम्बई, २३ बैशाख ।
प्रियंका चोपडा ग्लोबल स्टार बनेकी छिन् । उनको वेब सिरिज सिटाडेल अमेजन प्राइम भिडियोमा विश्वव्यापी रूपमा रिलिज भएको छ, अब उनको हलिउड फिल्म ‘लभ अगेन’ रिलिजको लागि तयार छ। देसी गर्लले यो फिल्मको प्रचार गरिरहेकी छिन् ।
यसरी कुनै समय भारतमा दर्शकको रोजाइमा परेकी प्रियंका चोपडा आज विश्वभर नाम कमाइरहेकी छिन् । हरेक अभिनेताको जीवनमा यस्ता धेरै कम अवसर आउँछन्, जब उसले आफ्नो कुनै बाध्यताका कारण केही प्रोजेक्टलाई छाडनु पर्ने हुन्छ ।
प्रियंका चोपडासँग पनि यस्तै भएको छ । उनले आफ्नो करियरमा धेरै फिल्म अस्वीकार गरेकी छिन् । तर यहाँ हामी ती तीन फिल्मको बारेमा कुरा गर्न जाँदैछौं, जुन भाइजान सलमान खानसँग थिए र रिलिज पछि ब्लकबस्टर पनि हुन पुगे ।
पहिले सलमान खानको फिल्म भारत (२०१९) को बारेमा कुरा गरौं। यस फिल्मका लागि प्रियंका चोपडालाई फाइनल गरिएको थियो । फिल्मका लागि सबै कुरा तय भइसकेको थियो । तर प्रियंका चोपडाले विवाहको कारण फिल्म छोड्नु पर्ने जनाइन । उनले फिल्मबाट अलग भएको जनाए पछि निकै हंगामा भएको थियो । तर प्रियंकाले प्रायः आफ्नो मनको कुरा सुन्छिन्, र उनले निक जोनससँग आफ्नो जीवन बिताउने आफ्नो निर्णयमा अगाडि बढ्नु उचित ठानिन्।
यति मात्र होइन, साजिद नाडियाडवालाको फिल्म किक (२०१४) मा सलमान खानको अपोजिटमा प्रियंका चोपडा पनि देखिने बताइएको थियो । तर, प्रियंका चोपडाले यो प्रस्ताव अस्वीकार गरिन् । यसको कुनै कारण पत्ता लाग्न सकेको छैन । फिल्ममा प्रियंकाको स्थानमा ज्याकलिन फर्नान्डिसलाई फेरि कास्ट गरिएको थियो र जुन फिल्म पछि आएर ब्लकबस्टर हुन पुग्यो ।
अब कुरा गरौं सलमान खानको फिल्मको जसमा उनी पहलवानको भूमिकामा देखिए र दर्शकको मन जितेका थिए । यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुल्तान’ थियो । यसअघि यो फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने तयारी भइरहेको थियो । तर उनले यो फिल्मलाई अस्वीकार गरिन् । र, सो फिल्ममा अनुष्का शर्मालाई कास्ट गरिएको थियो । यसरी प्रियंकाले सलमान खानसँग अस्वीकार गरेका फिल्महरु ब्लकबस्टर साबित भए ।
तर, यसैबीच प्रियंका पनि ग्लोबल स्टार भइन् ।
लन्डन, २३ बैशाख ।
वेस्टमिन्स्टर एबेमा भव्य धार्मिक समारोहमा बिचमा बेलायतका राजा चार्ल्स तृतियाको राज्याभिषेक गरिएको छ।
राजा चाल्र्सको जारी राज्यभिषेकमा उनले राजमुकुट पहिरिएका छन् । सो समारोहमा सहभागी हुनका लागिविश्वभरका प्रतिष्ठित व्यक्तिहरूले भाग लिइरहेका छन् । र, हजारौं मानिसहरू लन्डनमा भेला भएका छन्। यो ७० वर्षमा बेलायतको पहिलो राज्याभिषेक हो।
मुम्बई, २३ बैशाख ।
भारतीय २५ करोड रुपैयाको बजेटमा निमार्ण र ८० करोडको आम्दानी, यो सही आंकडा हो। यो आंकडा कायम राखिएको तेलेगु चलचित्र बिरुपाक्ष आज हिन्दी भाषामा पनि रिलिज भएको छ ।
हामी तेलुगु हरर फिल्म ‘विरुपाक्ष’ को बारेमा कुरा गर्दैछौं। यो एक डरलाग्दो चलचित्र हो, जुन तेलुगुमा २१ अप्रिलमा रिलिज भएको थियो। फिल्मले अहिलेसम्म ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ । जबकि यसको निमार्णको बजेट करिब २५ करोड रुपैयाँ रहेको बताइएको छ ।
यस्तो अवस्थामा फिल्मले लागतभन्दा तीन गुणा बढी कमाइ गरेको हो । आज अर्थात मे ५ मा हिन्दीमा पनि रिलिज भएको छ । यसरी यसको सङ्कलन आगामी दिनमा अझै बढ्नेछ । यसरी कथा राम्रो छ, कलाकार जीवन्त छन् र बजेटलाई नियन्त्रणमा राख्ने हो भने मध्यम बजेटमा पनि राम्रो फिल्म बन्न सकिन्छ भन्ने प्रष्ट हुन्छ ।
विरुपाक्षको कथा एउटा गाउँको हो। गाउँका मानिसहरूले केही न केही गर्छन, जसको कारणले श्राप पाउँछन्। त्यसपछि यो घटनाको लामो समयपछि गाउँमा अनौठो घटना हुन थाल्छ । साई धर्म तेज यस गाउँमा आउँछन् र उनी संयुक्त मेननसँग प्रेममा पर्छन्। तर यी सबैको बीचमा, डरलाग्दो घटनाहरू हुन्छन् र केही मानिसहरूको मृत्यु हुन्छ। साई धर्मले मात्र यो रहस्य सुल्झाउने प्रयास गर्दछ। कथा रोचक छ, उपचार पनि राम्रो छ । केवल रोमान्टिक भाग र अन्त्य अलि बरालिएको देखिन्छ।
साई धरम तेज एक राम्रो अभिनेता हुन । दुई वर्षअघि उनी दुर्घटनाको सिकार भएका थिए । त्यसपछि उनको यो पहिलो फिल्म हो । उनले हरर थ्रिलर विषय रोजे। उनले यो पात्रलाई राम्रोसँग निभाएका छन् र अभिनय पनि सहज छ । गाउँकी केटीको भूमिकामा संयुक्ता मेनन पनि राम्रोसँग सुहाएकी छिन् । समग्रमा अभिनयका हिसाबले फिल्मले निराश बनाएको छैन ।
काठमाडौं, २३ वैशाख
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणले विभिन्न सञ्चारमाध्यममा आफूबारे भ्रामक समाचार आएको भन्दै त्यस खण्डन गरेका छन्।

एक विज्ञप्ति जारी गर्दै खाणले नेपाली नागरिकलाई नक्कली भुटानी श्रणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका हुन्।
‘आधारहिन, तथ्यहिन र संलग्न हुँदै नभएका घटनामा संलग्न भएको भन्दै जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्र हत्या हुने हुँदा त्यस्ता समाचार सम्प्रेशित नगर्ने अनुरोध गर्दछु,’ उनले भनेका छन्।
बर्दिया, २३ वैशाख
बर्दिया राजापुर नगरपालिका-९ जोगीपुरकी १३ वर्षीया बालिकालाई बुधबार बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुख्य आरोपित र एक सहयोगी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई प्रहरीले बिहीबार पक्राउ गरेको आज जनाएको छ । पीडित बालिकाका आमाबाबु भारत गएको समय हजुरबुबासँग कच्ची घरमा बस्दै आएकोमा राति करिब ११ देखि १२ बजेको बीचमा कच्ची घर पछाडिको भित्ता फोडेर २७ वर्षीया शनिराम चौधरीले बलात्कार गरेको इलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
अर्का एक सहयोगी २६ वर्षीय राधेश्याम चौधरी पनि बिहीबार पक्राउ परेको प्रहरीको भनाइ छ । राधेश्यामले घर बाहिर बसेर निगरानी गरेको र दुवै जनाविरुद्ध पीडित बालिकाले बलत्कारको किटानी जाहेरी दिएकोले आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
काठमाडौं, २३ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु कुनै दबाबमा नपर्ने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्ने जनाउँदै प्रधानमन्त्री दाहालले आफु कुनै दबाबमा नपर्ने जनाएका हुन् ।
‘अब भ्रष्टचारीको फाईल खोलिन्छ, कसैलाई छाडिन्न । यो ट्रेलर मात्रै हो, अब सिंगै फिल्म देखिन्छ,’ नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘उत्पीडित जनसमुदायको साथ भयो भने जुनसुकै घेराबन्दी र धम्कीको सामना गरिनेछ, भ्रष्टचारीलाई कारबाही गरिनेछ ।’