२०८३ बैशाख २
२०८३ बैशाख २

 

काठमाडौं, २१ बैशाख  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री र ओलीबिच भेटवार्ता भएको हो ।

 

सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।

 

काठमाडौं, २१ वैशाख ।

पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ रुपैयाँ असुल गरेको आरोपमा पक्राउ परेका सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

बुटवलमा बुधबार पक्राउ परेका उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो । उनलाई बिहीबार नै बुटवलबाट काठमाडौं ल्याइएको थियो ।

सोही घटनामा पूर्वमन्त्री रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

 

काठमाडौं, २१ वैशाख ।

परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् । उनी  बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बेलायतमा रहँदा मन्त्री साउद वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिंघक दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री साउद २६ वैशाखमा स्वदेश फर्कने कार्यक्रम छ ।

 

काठमाडौं, २१ वैशाख ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडान प्रभावित भएको छ । केही दिनयता भइरहेको वर्षाका कारण भएको प्रतिकूल मौसमका कारण बिहीबार उडान प्रभावित भएको हो ।

 

प्रतिकूल मौसमका कारण भिजिबिलिटी कमजोर भएकाले विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

 

जसकारण अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमै होल्ड भएका छन्  भने अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विमानको समयमै उडान हुन सकेको छैन ।

विमानस्थल कार्यालयका अनुसार लुक्ला, सिमिकोटलगायत हिमाली क्षेत्र र दुर्गम क्षेत्रका विमाननस्थलमा उडान बन्द गरिएको छ ।

 

दार्चुला, २१ वैशाख ।

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीनजनाको शव सदरमुकाम खलंगा ल्याइँदै छ ।

मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको  शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो  ।

यार्सा टिप्न जानेक्रममा उनीहरु हिमपहिरोमा परेका थिए ।  लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन नसकिने भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो ।

साथै सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २१ वैशाख ।

गोरखाको अजिरकोट गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

 

बिहीबार अजिरकोटले सार्वजनिक सूचना जारी गरेर  सार्वजनिक पद धारण गरेका व्यक्ति सबैको बालबालिका सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।

‘सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्यले २० वैशाखको अजिरकोट गाउँ कार्यपालिकाबाट सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबलिकाहरुलाई बाल कक्षादेखि कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्यण भएको हुँदा सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।

 

काठमाडौं, २१ वैशाख ।

निजामती कर्मचारीहरूले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारअगाडि धर्ना दिएका छन्।

 

संघीय निजामती सेवा ऐनको माग गर्दै उनीहरुले बिहीबार सिंहदरवारअगाडि धर्ना दिएका हुन् । कर्मचारी संगठनले सरकारले तत्काल संघीय निजामति सेवा ऐन ल्याउनुपर्ने माग गर्दै धर्ना दिएको हो ।

तर, निजामती कर्मचारीका अन्य संगठनले भने सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन गरेकोले आन्दोलन कार्यक्रम फिर्ता लिएका छन् ।

 

काठमाडाैं, २१ वैशाख ।

देशका विभिन्‍न स्थानबाट पाँचजना लागुऔषधसहित पक्राउ परेका छन् ।  बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ बुलबुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्रामसहित सुर्खेत भेरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीय विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, लुपिजेशिक ५ एम्पुल र फेनारागन ४ एम्पुलसहित झापा गौरादह नगरपालिका-७ बस्ने ३५ वर्षीय अशोक विकलाई  प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ अटोभिलेजबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-२१ पार्वतीपुर बस्ने ३३ वर्षीय सबिन घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

झापाकाे दमक नगरपालिका-९ बरगाछी नजिकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कृष्ण मन्दिर बस्ने ३० वर्षीय रोशन विश्वकर्मा र ३० वर्षीय कैलाश कुर्मी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

 

काठमाडौं, २१ वैशाख ।

काठमाडौं महानगरपालिका-९ देबकोटा मार्गस्थित स्टिकर पसलमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार ७ सय रूपैयाँ  र १५ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

भैरहवा, २१ वैशाख । 

लुम्बिनी विकास कोषले बिहीबार परेको २५६७औं बुद्धजयन्ती तथा एवं लुम्बिनी दिवस–२०८० को अवसरमा साताभरि विविध कार्यक्रमसहित मनाउन जनाएको छ ।  बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वारणको नियोग परेको दिन वैशाख पूर्णिमाको अवसरमा कोषले विशेष महत्वका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मुल समारोह कार्यक्रम गर्न लागेको हो ।

दिवसको पूर्व सन्ध्यामा वैैशाख १९ गते देवदहमा देवह सूत/नारी शक्ति प्रवचन गरिएको र वैशाख २१ गते मायादेवी परिसरमा दीप प्रज्वलन तथा महापरित्राण, बुद्धपूर्णिमाका दिन पूर्णिमा पूजा पाठ, शोभा यात्रा, मुल समारोह सहित भोजनदानको कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

 

‘विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभा सदस्यहरु, स्थानीय सरकार प्रमुखसहित उच्चस्तरीय पदाधिकारी, कुटनीतिक नियोग, विदेशी पाहुनाहरुकोसमेत सहभागीता रहने,’ भट्टराईले भने ।

 

प्रधानमन्त्री प्रचण्डको सम्बोधन पश्चात सांस्कृतिक संस्थानका कलाकारहरुले पटाचारा नामक नाटक प्रदर्शन र स्थानीय कलाकारहरुबाट भेषभूषामा सास्कृतिक कार्यक्रम, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा र वैशाख २३ गते लुम्बिनीबाट कपिलवस्तु सम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रासँगै तिलौराकोटमा विशेष समारोह गर्ने उनले बताए ।

 

त्यस्तै रामग्राम र देवदह नगरपालिका र लुम्बिनी विकास कोषका संयुक्त आयोजनामा २२ वैशाखमा देवदहको भवानीपुर, बडिमाई, कन्यामाई जस्ता पवित्रस्थलहरुमा शान्तिदीप प्रज्वलन कार्यक्रम नगरप्रमुख, उपप्रमुख तथा वडाअध्यक्षहरुको अगुवाइमा कार्यक्रम हुनेछ ।

यस वर्षदेखि भगवान बुद्धको महत्व दर्शाउनका लागि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित वृहत्तर लुम्बिनी क्षेत्रका बासिन्दाहरुलाई बुद्धजउन्तीको अवसरमा दीप प्रज्ज्वलन गर्न अपील गर्दछौैं, ’उनले भने ।

 

लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन १ करोड रुपैयाँ बजेट छुट्टाएको छ । दिवसको अवसरमा ‘क्लिन लुम्बिनी, ग्रिन लुम्बिनी’ भन्ने नारासहित लुम्बिनी सरसफाई अभियान सुरुवात गरिएको कोषाध्यक्ष भट्टराईले जानकारी दिए ।

 

लुम्बिनी विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रसमेत भएकाले यसलाई सफा र स्वच्छ राख्ने दायित्व पर्यटकदेखि यहाँको स्थानीय र होटल व्यवसायीसमेतको हो भन्ने भावना जागृत गराउन अभियानको सुरुवात गरिएको उनले बताए । वैशाख ९ गतेबाट यो अभियान सुरु भएको र जारी रहने उनले बताए ।

 

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी परिसरभित्र चल्ने कुनै पनि सवारीसाधनहरुले हर्न निषेध गर्ने निर्णय भएको छ । यसाले शान्ति क्षेत्र लुम्बिनी शान्तिपूर्ण वातावरण कायम गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । समग्रमा तयारी अन्तिम चरणमा छ । विशेष समारोह भव्यताका साथ सफल बनाउनका लागि मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप–समितिहरु गठन गरिएको शाक्यले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।