काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ ।
महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो ।
यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी भइरहेको महानगर प्रहरीले जनाएको छ ।
‘विद्यालयमा राजनीति गर्न नदिने भन्ने विषयलाई विद्यार्थी संगठनको नाममा लगाएको ताला हामीले फोर्दै छौं’ महानगर प्रहरी प्रमुख राजु पाण्डेले भने ।
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८०मा काठमाडौं महानगरपालिकाको खर्चको दर गत वर्षभन्दा खस्किएको छ । महानरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च हुन नसक्ने देखेपछि महानगरपालिकाले २२ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
संशोधित अनुमानअनुसार साउन यता ९ महिनाको कुल खर्च जम्मा २४ दशमलव १४ प्रतिशत मात्रै भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चैतसम्ममा ५ अर्ब ४४ करोड ५ लाख रुपैयाँ मात्रै खर्च गर्न भएको छ । महानगरपालिकाले अझै १७ अर्ब ९ करोड २८ लाख रुपैयाँ खर्च गर्न बाँकी छ ।
गत आर्थिक वर्ष २०७८/०७९को पहिलो ९ महिनामा महानगरले ३० दशमलव ३४ प्रतिशत खर्च गरिसकेको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अन्तिम बजेट रुपमा आएको १८ अर्ब १५ करोड ७७ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
पछि उनले संशोधन गराएर १६ अर्ब ५१ करोड ६८ लाख रुपैयाँमा झारेका थिए । गत वर्ष चैत मसान्तसम्म ५ अर्ब १ करोड १३ लाख रुपैयाँ खर्च भएको थियो । ४३ करोड रुपैयाँको खर्च रकम भने केही बढेपनि चालु आवको बजेटको तुलनामा ९ महिनामा महागरको खर्चदर ६ प्रतिशतले कम छ ।
शिक्षामा बाहेक अन्यमा छैन प्रगति
काठमाडौं महानगरपालिकाले ५ वटा क्षेत्रगत रुपमा बजेट विनियोजन गरेको थियो । जसमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाहेक अन्य खर्चहरु न्यून देखिएका छन् । प्रशासनिक खर्चमा काठमाडौं महानगरपालिकाले ३ अर्ब ५३ करोड ८१ लाख छुट्याएकोमा १ अर्ब ८८ करोड ५० लाख खर्च गरेको हो, जुन विनियोजनको ५३ दशमलव २८ प्रतिशत हो ।
आर्थिक विकासको क्षेत्रमा महानगरले राखेको २२ करोड ९२ लाख रुपैयाँमध्ये १ करोड ७१ लाख रुपैयाँ अर्थात ७.४७ प्रतिशत मात्रै खर्च गरेको छ । सामाजिक विकासतर्फ ३ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बजेटमध्ये ३५.५१ प्रतिशत अर्थात् १ अर्ब ३० करोड रुपैयाँ, ८७ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।
सबैभन्दा धेरै बजेट भएको पूर्वाधार विकास क्षेत्रतर्फ खर्च भने १५ प्रतिशत मात्रै भएको छ । पूर्वाधार विकास १३ अर्ब ६ करोड ८४ लाख रुपैयाँमध्ये १ अर्ब ९८ करोड ३० लाख रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ पनि महानगरको खर्च न्यून रहेको छ । यो क्षेत्रमा महानगरले २ अर्ब १ करोड १६ लाख छुट्याएकोमा २४ करोड ६६ लाख ३४ रुपैयाँ हजार अर्थात् १२.२६ प्रतिशत मात्रै खर्च गरेको हो ।
काठमाडौंले सबैभन्दा धेरै खर्च चालु आवमा सामाजिक विकासको क्षेत्रगत बजेट अन्तर्गत शिक्षामा गरेको छ । शिक्षातर्फ १ अर्ब ७८ करोड ३२ लाख रुपैयाँ बजेट रहेकोमा १ अर्ब ८ करोड २१ लाख खर्च गरेको छ । जुन विनियोजित रकमको ६० दशमलव ५९ प्रतिशत हो ।
३ शीर्षकमा शून्य खर्च
आगामी आर्थिक वर्षको बजेटको लागि तयारी सुरु गर्ने समय भइसक्दा पनि काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ३ वटा शीर्षकमा अझै खर्च गर्न सकेको छैन । जलस्रोत र सिँचाइको लागि छुट्याएको ८ लाखमध्ये एक लाख रुपैयाँ पनि खर्च गर्न सकेको छैन । यस्तै वन शीर्षकमा छुट्याएको १० लाख पनि महानगरले चलाउन सकेको छैन ।
यस्तै प्रशासनिक सुशासनको लागि छुट्याएको ७५ लाख पनि महानगरले एक रुपैयाँ पनि खर्च गर्न नसकेको हो । यस्तै काठमाडौंको २ वटा शिर्षकमा एक प्रतिशत भन्दा कम खर्च गरेको छ । विज्ञान प्रविधिको लागि छुट्याएको बजेटमा ०.२१ प्रतिशत मात्रै खर्च गरेको छ भने सामाजिक सुरक्षा तथा संरक्षणमा ०.७८ प्रतिशत मात्रै खर्च गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरका वित्त विभागका निर्देशक बुद्धरत्न मानन्धरले धेरै योजनाहरुको बजेट भुक्तानी पाइपलाइनमै रहेकोले खर्च प्रतिशत कम देखिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा खर्च प्रतिशत कम भएपनि भुक्तानी हुँदा असारसम्म बढ्ने छ, यो वर्ष अघिल्लो आर्थिक वर्षको तुलनामा बजेट खर्च प्रतिशत बढ्दैछ,’ उनले भने ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो ।
काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक एकगरी १५ वटा सवारीसाधनका चालक कारबाहीमा परेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार दुबै निकायका संयुक्त रुपमा खटिएको टोलीले २५ वटा सवारीसाधनमा जाँच गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १५ वटा सवारीसाधन फेला पारी कारबाही गरेको हो ।
कारबाहीमा परेका सवारी साधनका चालकले मर्मतपश्चात् तोकिएको जरिवाना तिरेसँगै नियन्त्रणमा लिइएका उनीहरुका कागजपत्र फिर्ता गरिनेछ । पछिल्लो समय उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडीको सङ्ख्या बढेकाले त्यस्ता सवारी साधनको प्रदूषण जाँच हुँदै आएको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले यस आर्थिक वर्षको ९ महिनामा २४ दशमलव ६७ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । यस्तै अदालतले पाँच वर्ष नाघेका ३७ दशमलव ९१ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यस आर्थिक वर्षको सुरुवातदेखि हालसम्म कुल ९ हजार १ सय ३ थान मुद्दाको किनारा लागेको छ । गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षको हालसम्मको अवधिमा ५ प्रतिशतभन्दा बढी प्रतिशतको फर्स्यौट प्रगति भएको हो ।
गत आर्थिक वर्षको १२ महिनाको अवधिमा कुल ७ हजार ५८ थान थान मुद्दा फर्स्यौट भएको थियो । कुल ३७ हजार १५४ थान मुद्दामा १९ प्रतिशत फर्स्यौट प्रगति भएको थियो । गत आर्थिक वर्षमा दुई वर्ष नाघेको २१ हजार ६१ थान मुद्दामध्ये ३ हजार ८३९ थान अर्थात् कुल मुद्दाको १८ दशमलव २३ प्रतिशत मुद्दा फर्स्यौट भएको थियो । गत आर्थिक वर्षमा पाँच वर्ष नाघेका ६ हजार २२ थान मुद्दामध्ये १ हजार २१६ थान अर्थात् २० दशमलव १९ प्रतिशत मुद्दा किनारा लगाएको थियो ।
यस आर्थिक वर्षको सुरुवातदेखि साढे ९ महिनाको अवधिमा सर्वोच्चमा दर्ता भएका वा जिम्मेवारी सरी आएका कुल ३० हजार ९६ थान मुद्दा र यस वर्ष दर्ता भएका कुल ७ हजार ६०९ गरी कुल ३७ हजार ७०५ थान मुद्दामध्ये हालसम्म ९ हजार ३०२ थान मुद्दा फर्स्यौट भइसकेको पौडेलको भनाइ छ । प्रतिशतमा हेर्ने हो भने चालु आर्थिक वर्षको साढे ९ महिनाको अवधिमा कुल ३७ दशमलव ९७ प्रतिशत मुद्दा फर्स्यौट भएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था रहेको छ । तर हाल सर्वोच्च अदालतमा १६ जना मात्रै न्यायाधीश रहेका छन् । न्यायाधीशको सङ्ख्या कम रहेको भए पनि हालसम्म भएको फर्स्यौटको अवस्था हेर्दा भने सन्तोषजनक नै रहेको प्रवक्ता पौडेलले बताए । यही गतिमा काम हुन सके आर्थिक वर्षको अन्तिमसम्म करिब १२ हजार थान मुद्दा फर्स्यौट हुने प्रवक्ता पौडेलले बताए ।
अदालतले यस आर्थिक वर्षमा करिब ५० प्रतिशत मुद्दा फर्स्यौट गर्ने लक्ष्य लिएको थियो । यद्यपि लक्ष्य अनुसार कुनै पनि अदालतमा फर्स्यौट हुन सकेको छैन ।
काठमाडौं । प्रहरी नायव महानिरीक्षक कुबेर कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ । नेपाल हरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उनी प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । प्रहरी नायव महानिरीक्षक कडायतलाई ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यसअघि पनि कडायत वरिष्ठ उपरीक्षक हुँदा प्रवक्ताको भूमिकामा रहेका दिए ।
काठमाडौँ । विविध माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका युवा कृषक श्रीराम घिमिरेको माग सम्बोधन गरी जीवन रक्षा गर्न अखिल किसान महासंघले सरकारसँग माग गरेको छ । बिहीबार आन्दोलनरत घिमिरे अनशन बसेकै स्थान भूगोलपार्कमा उपस्थित हुँदै महासंघले यस्तो माग गरेको हो ।
ककनी गाउँपालिका– २ सिउडेनीका ३२ वर्षका युवा किसान वैशाख ५ गतेदेखि किसानका समस्या समाधानका ६ बुँदे माग राख्दै काठमाडौँको भूगोलपार्कमा आमरण अनशनमा बसिरहेका छन् । तर, एक युवा किसान जायज माग राख्दै १० दिनदेखि आमरण अनशनमा बस्दा समेत राज्य बेखबर भएको महासंघको आरोप छ ।
अनशनरत किसान श्रीराम घिमिरेको मागप्रति ऐक्यबद्धता जनाउँदै किसान हकहितमा समर्थन रहेको समेत महासंघले जनाएको छ । समाचार रातो पार्टी अनलाइनबाट साभार
चन्द्रपुर १४ बैसाख । रौतहटमा पुराना दल छाडेर नयाँ दल रोज्नेहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
गत निर्वाचनमा छोटो समयमा सफलता हासिल गरेको रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) प्रति युवाहरु आशावादी हुँदै प्रबेश गरिरहेका छन् ।
हालसम्म रौतहट क्षेत्र नम्बर ४ मा २६ सय भन्दा बढी जनाले रास्वपाको सदस्यता लिएको रास्वपा केन्द्रिय कार्यालयले जानकारी दिएको छ । यो संख्या दिनानुदिन बढ्दै गएको रास्वापाका सदस्य उदय नारायण सापकोटाले बताए ।
पुराना दलहरु कांग्रेस,एमाले र माओवादीका कार्यकर्ता पार्टीपंक्तिको काम देखेर दिक्क मान्दै विकल्प खोज्न बाध्य भएको रास्वपा प्रवेश गरेका व्यक्तिहरु बताउछन ।
रास्वपा नेपाली जनतामा निहीत राष्ट्रिय सार्वभौमिकतालाई आत्मसात् गर्दै, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानी जनउत्तरदायी, जनसहभागितामूलक लोकतान्त्रिक राज्य शासन व्यवस्था प्रवर्द्धन गर्दै नेपालको संविधानले परिकल्पना गरेअनुसार दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गरी नेपाली जनताले महसुस गर्ने गरी जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धतासहित राष्ट्रिय स्वतन्त्र पार्टीको गठन गरी, असार ७, २०७९ मा सार्वजनिक घोषणा गरेसँगै, असार १७, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको नेपाली राजनीतिक दल हो ।
रौतहट १४ बैसाख ।
देश क्रमशः भ्रष्टाचार, बेथिति, कुशासन, आर्थिक, सामाजिक र राजनीतिक रुपमा संकटग्रस्त बन्दै गएको भन्दै आम जनता पार्टीले जागरण यात्रा गर्ने भएको छ ।
विषम परिस्थितिलाई आत्मसात गर्दै “देशलाई संकटबाट जोगाउन जागरण यात्रा” जेठ १८ गतेदेखि पश्चिम नेपालको महेन्द्रनगरबाट शुभारम्भ गर्ने आजपाले जनाएको छ ।

आम जनता पार्टीको काठमाडौं स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले विभिन्न निर्णय समेत गरेको छ ।
उपनिर्वाचनमा घोषित अघोषित गठबंन्धन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सत्ता र शक्तिको प्रत्यक्ष टकरावको बाबजूद पनि बिना कुनै गठबन्धन एक्लै निर्भिकता पूर्वक चुनाव लडेर सहाशिक प्रदर्शन गरी संगठनको विजारोपन गर्न सफल हुनु सराहनीय विषय रहेको ठहर गर्दै यस्तो विषमरसंवेदनशील परिस्थितिमा आजपाप्रति विश्वास गरी मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति आभार व्यक्त गरेको छ ।
१८ मे मा अन्तर्राष्ट्रीय मजदूर दिवसलाई पार्टीको केन्द्रीय कार्यालयमा एक औपचारिक कार्यक्रम गरि मनाउने निर्णय गरेको छ । पार्टी र जनसंगठनका कार्यहरुलाई व्यवस्थित गर्ने, निर्णय भएको आजपा केन्द्रीय कार्यालयले जनाएको छ ।
रविन्द्र प्रजापती,वैशाख १३ गते
रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियामा बुधबार करेन्ट लाग्दा एक यूवकको ज्यान गएको प्रहरीले जनाको छ ।
डुमरीया बस्ने राम विश्वास पासवानको छोरा अ. वर्ष १५ को चन्दन कुमार पासवानको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
दुईसो आफ्नो खेतमा मोटरबाट पानी पटाउने क्रममा अचानक उनलाई दाहिने हातमा करेन्ट लागेको र उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई अशोक कुमार महतोले जानकारी दिए ।
आरके श्रीवास्तव,गरूडा,वैशाख १३ गते
रौतहट फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर २ भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खाली गराउने निर्णय गरिएको छ । सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खाली गराउन सूचनाजारी गरेको छ ।
मिति २०८० वैशाख १३ गते बुधबार जारी भएको सूचनामा १५ दिन भित्र वडा अन्तर्गत ऐलानी जग्गामा रहेको घर टहरा हटाउन भनिएको छ ।
आज बुधबार वडा कार्यालयमा सो वडामा वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयको अध्यक्षतामा बसेको बैठकले वडाभित्रको ऐलानी जग्गा खाली गराउने निर्णय गरेको हो ।
स्थानीयहरुले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन वडाले अभियानको रूपमा थालनी गर्ने भएको हो । स्थानियहरुले अतिक्रमण गरेर भोगचलन गर्दै आएको ऐलानी वडा क्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी वडा मातहतमा ल्याउन सो निर्णय भएको हो । अहिले वडासँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन् ।
तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले वडाले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको वडा अध्यक्ष यादवले बताउनुभयो ।

वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न वडाले खोजी अभियान अघि बढाएको पनि वडा अध्यक्ष यादवले बताउनुभयो । नेपाल सरकारको स्वामित्वमा रहेको एलानी जग्गाहरु दिनप्रतिदिन अतिक्रमण हुँदै व्यक्ती व्यक्तीगत रुपमा निजिकरण गरिदै गइरहेकोले सो जग्गाहरुको संरक्षण सम्बन्धी छलफल गर्न वडा समितिको प्रतिनिधी,गाउँका भद्रभलादमी,राजनितीक दलका प्रतिनिधी,कर्मचारी पत्रकार लगायतको व्यक्तीहरुको बैठकमा एलानी जग्गा खाली गर्ने गराउने,सम्बन्धीत निकायमा बोधार्थ गर्ने,छठ घाट निरको पोखरि तथा अन्य सार्वजनिक ठाउँमा रहेको पोखरि खाली गराउने र व्यवस्थापन गर्ने सहितका विषयमा छलफल गरिएको थियो । सो अवसरमा वडा सदस्य प्यारेलाल यादव,शेरबहादुर पटेल,राजकुमारी देवी,नैनपती देवी,वडा सचिव अजय राय यादव,अच्छेलाल राय यादव,रविन्द्र कुमार निधी,कन्हैया यादव सहित गाउँभरीका स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।