२०८३ बैशाख ४
२०८३ बैशाख ४

 

काठमाडौं, २ वैशाख

नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आज चीनको राजधानी बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट भाग लिन उनी त्यसतर्फ प्रस्थान गरेको हुन् ।

कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ वटा कम्युनिस्ट पार्टीका नेताहरुले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ (लोकलाइजेसन एन्ड मोडर्नाइजेसन अफ थ्योरी) विषयमा आ–आफ्ना पार्टीहरुले अंगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए ।

नेकपा (एमाले) का तर्फबाट नेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

 

पोखरा, २ वैशाख

सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।

 

दार्चुला, २ वैशाख

दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको ज्यान गएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर ज्यान गएको हो ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ ।

 

काठमाडौं, २ चैत

नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् ।

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् ।

 

वैशाख, २ दाङ

दाङमा बसको ठक्करले एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसको ठक्करले घोराही उपमहानगरपालिका-१२ हापुरका १८ वर्षका बसन्त केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ र

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारित बैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लाको बौद्धीमाइ नगरपालिकामा चौतारीको बैठक बसेको थियो । चौतारीका जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा मिसन ग्रासरुट अभियानका प्रतिनिधी गौर नगरपालिकाका पूर्व मेयर अजय गुप्ता रह्नु भएको थियो ।

बैठकमा मुख्यतया तीन वटा विषयमा छलफल भएको थियो । प्रेस चौतारीका मधेश प्रदेश अध्यक्ष फणि महतको उपचरार्थ आर्थिक सहयोग सम्बन्धमा,नेपाल पत्रकार महासंघमा चौतारीका सदस्यहरुलाइ सदस्यता तथा शुद्धिकरण सम्बन्धमा,नेपाल पत्रकार महासंघको आगामी चुनावी रणनिती सम्बन्धमा छलफल गरिएको थियो ।

छलफल पछि महतको उपचारको लागि चौतारीको तर्फ बाट ५१ हजार नगद सहयोग गर्ने,सदस्यता र शुद्धिकरणको लागि अवाज उठाउने,चौतारीका सदस्यहरु क्रियाशील रहि महासंघमा आफनो प्रतिनिधीत्व गर्नेगरी आगामी कदम चाल्ने सर्वसहमती बाट निर्णय गरिएको चौतारीका जिल्ला सचिव मुकेश कुमार साहले जानकारी गराउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथी गुप्ताले प्रेस चौतारीमा आवद्ध पत्रकारहरुले एमाले सरकारका पालामा भएका राम्रा र महत्वपूर्ण कामहरुको प्रचार गर्दै अहिले पनि स्थानीय तहमा रहेका एमालेका जनप्रतिनिधीले गरेका महत्वपूर्ण कामको समाचार बाहिर ल्याउनुपर्ने बताउनुभयो । साथै वहाँले सदरमुकाम गौरमा प्रेस चौतारी रौतहट शाखाको कार्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वक्ताहरुले प्रेस चौतारीलाई उत्कृष्ट, ससक्त र व्यावसायीक पत्रकारहरुको संस्था बनाउनका लागि सबैले लाग्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रिय सचिव कमल कुमार उपाध्याय,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने,महासंघका प्रदेश महासचिव श्याम बन्जरा,प्रेस चौतारीका केन्द्रिय सदस्य

अच्यूत पौडेल,महासंघका प्रदेश कमिटि सदस्य शैलेन्द्र झा,चौतारी मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ ,केन्द्रीय सदस्य संजय मिश्र,प्रदेश सदस्य अशोक पहाडीसहित चौतारीमा आबद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला सचिव मुकेश कुमार साहले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारीका रौतहट ईन्चार्ज रमेश तिमल्सिनाले राख्नु भएको थियो ।

 

आरके श्रीवास्तव,गरुडा,०२ गते वैशाख

रौतहट जिल्लाको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ धोबिनियामा बाटो फराकिलो बनाउने क्रममा दुई पक्षबीच विवाद हुँदा झडप भइ गोली चलेको छ ।

गोली लागेर सोही ठाउँ बस्ने राजकुमार राय यादवको मृत्यु भएको स्थानियले बताएका छन् । गोली लागेका यादवलाई उपचारका लागि वीरगञ्ज पठाइएकोमा बाटोमा नै मृत्यु भएको स्रोतको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर यादवका अनुसार मृत्युको पुष्टि भइ नसकेको बताए । स्थानिय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विरगंज पठाइएको उनले बताए । सो घटनामा परी स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

उनीहरुको रौतहट स्थित ग्राण्डी हस्पिटलमा उपचार भइरहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको आशंकामा ८÷९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । घटना स्थलबाट हतियार र केही कार्तुस प्रहरीले बरामद गरेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् । घटनाको विस्तृत विवरण बुझन इप्रका गरुडा बाट डिएसपी छेदीलाल कामतीको टोली त्यहाँ पुगेको उनले बताए ।

 

 

कास्की, २ चैत

पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो । पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

 

काठमाडौं, २ चैत

सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्टसंघीय बाल अधिकार सम्वन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उदघाटन गर्दै यो विषयम जोड दिएका हुन् ।

सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँंदा भोलिका कर्णधार बालवालिकाहरुको भविष्यसँंग जोडेर हेर्नुपर्छ’, उनले भने ।

कार्यशालामा नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौंले बालबालिकाहरुबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइयो ।

यसका लागि देशभरका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्युनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरु मिलेर प्रतिवेदन तयारीको कामहरु भइरहेको छ ।

कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतरभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । यसपछि बालबालिकाहरुबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो, उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरु आआफनो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । अहिले सातवटै प्रदेशका बालबालिहरुले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँं प्रतिवेदन तयार हुन्छ, उनले भने ।

संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरुले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरुको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरु प्रतिवेदन लिएर काठमाडौं आएका हुन् ।

यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।

 

काठमाडौं, २ वैशाख 

नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

उनले भोली ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।