मुकेश कुमार यादव
सिरहा, १ वैशाख । प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात् १ वैशाखका दिनमात्र फूल्ने फूलको दर्शन गर्न शुक्रबार बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ । लहान नगरपालीकाकाको १२ र २२ नम्वर वडाको पूर्व–पश्चिम राजमार्गसँगै रहेको सलहेश फूलवारीमा एक दिन मात्र फूल्ने फूल दर्शन गर्न हजारौंको संख्यामा भक्तजनहरु जम्मा भएका हुन् । राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारी मन्दिरमा नेपाल तथा भारतबाट हजारौं दर्शनार्थीहरु बिहानैदेखि आउने गरेका छन् ।

राजा सलहेश र उनकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा लहानदेखि चार किलोमिटर पश्चिममा रहेको करिब ५ हेक्टर जमिनमा फैलिएको फुलबारीको मध्यभागमा हारमको एउटै रुखमा दुईवटा हाङ्गामा पुस्तौ पुस्तादेखि प्रत्येक वर्षको १ वैशाखमा एक जोडी माला देखिने गरेको जनविश्वास छ । ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन् ।
सलहेश फुलबारी संरक्षणको पर्खाइमा
पर्यटकीय महत्व बोकेका सलहेश फुलबारीमा स्थानीय तहले संरक्षण नगर्दा वर्षभरी नै पर्यटक भित्राउन सकेका छैनन् । पुस्तौँदेखि पर्यटकीय महत्व बोकेका जिल्लाको विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलबारी एक हो, तर यहाँका स्थानीय तहले बेवास्था गरी संरक्षणतिर ध्यान नदिँदा यहाँको अवस्था दिनदिनै खस्किँदै गइरहेको स्थानीयले आरोप लगाएका छन् ।
पालिकाको क्षेत्रभित्र पर्ने पर्यटकिय स्थललाइ संवद्र्धन र संरक्षण गर्ने दायित्व नगरको रहे पनि जनप्रतिनिधिहरु मौन भएर बसेको स्थानीयहरुको आरोप छ । सल्हेस फुलबारीको संरक्षणमा न त विगतका जनप्रतिनिधिले चासो देखाए, न त वर्तमान जनप्रतिनिधिहरुले पनि कुनै चासो नदेखाएको पुजारी वीरदेव धामीले दुखेसो पोखे ।
उनले भने, ‘विगतका जनप्रतिनिधिले सल्हेस फुलबारीको समृद्धिका लागि केही गरेन, नयाँ जनप्रतिनिधि आयो अब केही हुन्छ कि आशा पलाएको थियो तर भएन ।’ पर्यटकीय महत्व बोकेका सलहेश फुलबारी वरिपरिका स्थानीयहरु यस क्षेत्रको सम्वद्र्धन र संरक्षणको पखाईमा रहेका छन् । हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ ।

यो फूल नयाँ वर्षका अवसरमा मात्र फूल्ने भएकाले नयाँ वर्ष मनाउन आउने पर्यटकहरुको ठूलो भिड लाग्ने गरेको छ । सलहेश फूलवारी मेलाको उचित संरक्षण व्यवस्थापन पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कुनै पहल नभएकोमा स्थानीयहरु गुनासो गर्न थालेका छन् । सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोकनायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास रहेको छ । फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्या आउने गर्दछन् ।
हरेक वर्षको १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला लाग्ने गर्दछ । सलहेश र मालिनीबीच प्रगाढ पे्रम सम्बन्ध रहेको र पे्रम सफल नहुँदा मालिनीले सलहेशको प्रतिक्षा गर्दै हरेक वैशाख १ गते फूलको माला लिएर देखा पर्ने जनविश्वास रहिआएको छ ।
नयाँ वर्षको पहिलो दिन मात्र फूल फूल्ने यो चमत्कारलाई सलहेश महोत्सवका रुपमा मनाउने भनिए पनि त्यो भनाइमै सिमित रहेको छ । फूलबारीको मध्यभागमा रहेको मालिनी मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फूल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।
मन्दिरका पुजारी वीरदेव धामीका अनुसार हरेक नयाँ वर्षको दिन फूल्ने यो फूललाई राजा जयवद्र्धन सलहेश र दौना मालिनीको पे्रम प्रतिकका रुपमा लिइन्छ । अचम्म के छ भने साँझपख यो फूल ओइलाएर जान्छ । युवायुवतीहरु उक्त फूललाई साक्षी राखी प्रणयसूत्रमा बाँधिने गर्दछन् ।
फुलवारीमा प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने गरेकाले त्यस भेगका मानिसहरुलाई मात्रै होइन, भाकल गर्ने जो सुकैको मनोकामना पुरा हुने गरेकोले भारतीय पर्यटक भक्तजनहरु आउने गरेका छन् । मेलामा आउने लाखौं भक्तजनहरुमध्ये तीस प्रतिशत भारतीय दर्शक रहने गरेको पुजारी धामीको भनाइ छ । सलहेश फूलवारीमा हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलवारीको शितल जल ग्रहण गरेपछि जस्तो सुकै रिस क्रोध शान्त हुने गरेको जानकारहरु बताउँछन् ।
विगतको तुल्नामा मेलामा व्यापार पनि बढेको र व्यावसायी गर्न पहिले भन्दा अहिले सहज भएको जनकपुरका माला,सिन्दुरको व्यपारी भोला दास बताउँछन् । उनका अनुसार मेलामा व्यवसायी सँगै शान्ति सुरक्षा पनि सुधार भएको छ । यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फुलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलवारीको पानी औषधी मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । निःसन्तान महिलाहरुले सलहेश फूलबारीमा दर्शन गरेर सन्तान माग गर्दा सन्तान पाउने गरेकोले प्राप्त सन्तानको मुण्डन गराउन आउने गरेका छन् ।
काठमाडौं, १ वैशाख । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।
चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो । सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, “प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो चलचित्रले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।” निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर चलचित्र हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।
यो प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्छ । “‘जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैन’ भन्ने ट्यागलाईनमा बसेर चलचित्रको कथा बुनिएको छ । मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानूपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । चलचित्रले यस्तै यस्तै कुराहरु बोल्न खोजेको छ”, निर्देशक सेनले प्रष्ट पारे ।
यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।
सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टिभिमा विश्वभर उपलब्ध छ ।
काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने जनाएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले ११ वैशाखबाट समाज र राजनीतिक दलभित्र व्याप्त बेथितिविरुद्ध राष्ट्रव्यापी पदयात्रा सुरु गर्ने बताएका हुन् । यसबारे ७ वैशाखभित्र विस्तृत रुपमा सार्वजनिक गर्ने उनको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत घिमिरेले भनेका छन् :
देश बिदेशमा रहनुभएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुमा नवबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना छ । केही दिन अघि मैंले नयाँ बर्षबाट परम्परागत राजनीतिको अन्त्य,नयाँ शिराबाट नयाँ राजनीतिक निर्णय भन्ने बिचार सम्प्रेषण गरेको थिएँ।नयाँ बर्ष आजबाट प्रारम्भ भयो।मैंले देश र राजनीतिक दलभित्रका बेथितिहरुका बारेमा बोल्दै र लेख्दै आएको छु ।
गैरजिम्मेवार र स्वेच्छाचारी राजनीतिज्ञ,कुलिनतन्त्रको चरित्र ग्रहण गरेको लोकतन्त्र र दास राजनीतिक कार्यकर्ताहरुका कारण नेपाली समाज पतनोन्मुख छ।कुनैं न कुनैं दिन केही न केही त पाइहालिएला भनेर दिन गनेर नेताको दैलो ढुकेर बस्ने पार्टी सदस्य र हाम्रो भाग्य यस्तै रहेछ भनेर बिधातालाई दोष दिएर बस्ने जनताको ईमानबाट फाइदा उठाईरहेका समाजका धुर्त व्यक्तिहरुका कारण हाम्रो समाजले आफ्नो प्रतिष्ठा र आत्मसम्मान गुमाउँदै गएको छ।देश चलाउने जिम्मा पाएका व्यक्तिहरु चरम राष्ट्र दोहनमा लिप्त छन्।यसबाट मुक्तिको कुनैं लक्षण छैन।दिनानुदिन देश दलदलमा जाकिदै छ।यस्तो स्थितिमा एउटा राष्ट्रप्रेमी नागरिक मुकदर्शक रहन सक्दैन ।
तसर्थ, आगामी बैशाख ११बाट समाजमा व्याप्त बेथितिका बिरुद्ध राष्ट्रव्यापि(सतहत्तरै जिल्ला) अभियान अर्थात् पदयात्रा चलाईने छ।यस अभियानका क्रममा सबै प्रकारका बिसंगतिहरुलाई उजागर गरिनेछ,जसअन्तर्गत दलभित्र र बाहिरका सम्पूर्ण गतिविधि समेटिने छन्।यस बिषयको बिस्तृत कार्ययोजना वैशाख ७ गतेभित्र सार्वजनिक गरिनेछ।
काठमाडौं, १ वैशाख । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो ।
शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ ।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।
आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौहतटको देवाही गोनाही नगरपालिकाको उचिडिहमा सडक ढलान भइरहेको छ । फतेपुर सडकमा जोड्ने यस सडकखण्ड अन्तर्गत नगरपालिकाको वडा नम्बर ७ उचिडिहमा ४ सय ५० मिटर बाटो ढलान गर्न लागिएको हो । नगर प्रमुख प्रेमलाल साहको विशेष पहलमा सो सडक पक्कि हुन लागेको हो । नगर स्तरीय योजना बाट रु ७५ लाखको लागतमा ढलान गर्न लागिएको उपभोक्त समितिका सचिव संजय महतोले जानकारी गराउनु भयो ।

उक्त ढलानको मोटाइ भने ८ इन्च र चौडाइ २० फिट हुने सचिव महतोले बताउनुभयो । उहाँका अनुसार यसै आर्थिक वर्ष सम्म सम्पन्न गर्ने समझौता भएको छ । हालसम्म यस सडकखण्डको कार्य केही प्रतिशत मात्र सकिएको छ ।

सडक ढलान हुन लागेपछि स्थानीयवासिन्दा हर्षित भएका छन् । ग्रामीण कच्ची सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयवासीलाई सहज हुनाका साथै यात्राको समयसमेत छोटिने भएको छ । सो ढलान कार्य स्थानिय बिरबल महतो,जयनारायण महतो,अच्छेलाल महतो,भोला ठाकुर,शम्भु महतो लगायत स्थानियहरुको सहयोगमा भइरहेको छ ।

आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र ‘सुप्रबल जनसेवा’ र नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कान्तिपुर दैनिकका रौतहट संवाददाता शिवपुरीलाई राष्ट्रपति रामचन्द्र पौडेल बाट ‘जनसेवाश्री’ मानपदवीबाट विभूषित गरिएको छ ।
कपिलबस्तुमा प्रशासनिक सेवामा उत्कृष्ट योगदान पुर्याउने सिडियो मिश्र र पत्रकारिता क्षेत्र बाट पुर्याउनु भएको योगदानको कदर स्वरूप पुरीलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा गरिएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाइ विभूषण प्रदान गर्ने क्रममा यी दुइ जनालाइ विभूषित गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।
नेपाल सरकारबाट यो सम्मान पाउँदा आफ्नो काँधमा थप जिम्मेवारी आएको माग्ने पत्रकार पुरीको भनाई छ । प्रवलजनशेवाश्री पदकका लागि आफूलाई योग्य ठानेर सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई दुवैजना व्यक्तीत्वहरुले धन्यवाद ज्ञापन गरेका छन् । यता नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभापती प्रेमचन्द्र झाले हार्दिक बधाई ज्ञापन तथा उतरोतर प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौहतटको गौर नगरपालिकाको वडा नम्बर ४ मा राम जानकि सामुदायिक भवन को नवनिर्मित भवनको समुद्धघाटन गरिएको छ । एक कार्यत्रमका बिच नगर प्रमुख शम्भु साहले आज उदघाटन गर्नु भएको हो ।
शहरी बिकास तथा भवन कार्यालय पर्सा द्धारा टिकुलियामा २६ लाख ८० हजार १५० रुपैया ८४ पैसाको लागतमा निर्माण भएको सो भवनको शुक्रवार उदघाटन गरिएको छ ।
उदघाटन पछि प्रतिक्रिया दिदै नगर प्रमुख साहले नगरबासीको हितलाई मध्यनजर गरी समस्या पहिचान गरी विशेष प्राथमिकतामा राखेर सामाधानको प्रयासमा निरन्तर रुपमा अघि बढिरहेको बताएका छन् ।
सो अवसरमा शहरी बिकास तथा भवन कार्यालय पर्सा कार्यालयका प्रमुख मदन राय यादव, वडा अध्यक्ष संजय गिरी सहित स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा खानेपानी योजनाको आज शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ७ मा खानेपानीको सुविधा विस्तारका लागि खानेपानी योजना शिलान्यास गरिएको हो ।
शुक्रवार नगर प्रमुख बैजनाथ प्रसाद यादवले विधिवत रुपमा खानेपानी योजना शिलान्यास गरेका हुन् । मधेश प्रदेश सरकारको खानेपानी तथा ऊर्जा विकास मन्त्रालय जनकपुरधाम मार्फत सो खानेपानी निर्माण हुन लागेको हो ।
मन्त्राललयले चालु आर्थिक वर्षमा रु १५ लाख छुट्टयाएको वडा अध्यक्ष दिलिप यादवले जानकारी गराउनु भयो । पञ्च वर्र्षीय योजना अन्तर्गत निर्माण हुन गइरहेको खानेपानीमा प्रत्येक वर्ष मन्त्रालय बाट बजेट थप गर्ने उनले बताए ।
शिलान्यास भएसँगै आजैदेखि काम सुरु गरिएको जनाइएको छ । खानेपानी निर्माण भइ सञ्चालनमा आएपछि उक्त टोलका हजारौं उपभोक्ता लाभान्वित हुनेछन् । वर्षौदेखि उक्त टोलका आमजन्नताहरु शुद्धखानेपानी पिउन बाट बञ्चित हुँदै आएका थिए ।
खानेपानी शिलान्यासको अवसरमा माधवनारायण नगरपालिकाकी उपमेयर निर्मला देवी रमण,पूर्व मेयर विरेन्द्र यादव,मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी यादव लगायत स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,०१ गते वैशाख
रौतहटमा माटोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाको गढिमाइ नगरपालिका वडा नम्बर ३ मलाही टोल स्थित लक्ष्मीपुर घाटमा माटोको ढिस्कोमा पुरिएर एकजना बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार माटोको ढिस्कोमा पुरिएर गढिमाइ नगरपालिका वडा नम्बर ३ का रसीद अन्सारीको अन्दाजी वर्ष ९ की अफरिदा नेसाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर नेसाको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएपी छेदीलाल कामतीका अनुसार सो घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा सोही ठाउँ बस्ने ४२ वर्षीय नासीबुन खातुन,११ वर्षीय रहना खातुन र ११ वर्षिय इसरफ खातुन रहेकी छिन् ।
उनीहरुको उपचार स्थानिय अस्पतालमा सम्भवः नभएपछि थप उपचारको लागि विरगंज पठाइएको डिएसपी कामतीले जानकारी गराएका हुन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाको छ ।
काठमाडौं,१ वैशाख ।
राप्रपासँग आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गरेका छन्। अध्यक्ष लिङ्देनले शुक्रबार ८४ औं पटक रक्तदान गरेका हुन् ।
रक्तदान जस्तो पवित्र कार्यबाट वर्षको शुरुआत गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष लिङ्देनले नयाँ वर्षको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना समेत व्यक्त गरे ।

युवा संगठनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देन, महामन्त्री डा.धवल शमशेर राणा, प्रवक्ता मोहन श्रेष्ठ, सांसद बिना लामा, सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुष, युवा संगठन अध्यक्ष सुजित केसी, युवा मोर्चा अध्यक्ष कैलाश कटुवाल लगायत ५७ जनाले रक्तदान गरेको संगठनका संयोजक सुजित केसीले जानकारी दिएका छन् ।