बज्जिकाञ्चल,संवाददाता,राैतहट,१९ गते कार्तिक ।
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवाली कार्यालयमा हाजिर भएको दुई दिन नबित्दै सम्पर्कविहीन भएपछि नगरपालिका पुनः प्रशासनिक संकटमा परेको छ ।
गत कार्तिक १६ गते सोमबार कार्यालयमा हाजिर भएका उपसचिव ज्ञवालीले लामो समयदेखि कर्मचारीले गरेको तालाबन्दी खुलाउन पहल गर्दै समस्या समाधान गर्ने र नगरपालिका नियमित रूपमा सञ्चालन गर्ने आश्वासन दिएका थिए ।

उनको आश्वासनपछि नगर प्रमुख अजय प्रकाश जयसवालले कर्मचारीहरू सँग समन्वय गरि कार्यालयको तालाबन्दी खुलाएका थिए ।
तर, बुधबार नगर कार्यपालिकाको बैठक बसेपछि बिहीबारदेखि उनी कार्यालयमा उपस्थित नभएको र मोबाइल फोनसमेत स्विच अफ रहेको नगर प्रमुखको भनाइ छ । पटक–पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि कार्यालय प्रमुखको अनुपस्थितिले नगरपालिकाको प्रशासनिक कामकाज अन्योलमा परेको छ ।
नगरप्रमुख अजयप्रकाश जयसवालले नयाँ उपसचिवको आगमनसँगै नगरपालिका व्यवस्थित हुने र कर्मचारी तथा जनप्रतिनिधिका समस्या समाधान हुने अपेक्षा गरिएको बताएका छन् । नियम, विधि र प्रणालीअनुसार कार्यालय सञ्चालन गर्न आफूहरू तयार रहे पनि कार्यालय प्रमुख नै सम्पर्कविहीन हुनु दुःखद भएको सरोकारवालाहरूको गुनासो छ ।

दीपावली तथा छठजस्ता महत्वपूर्ण पर्व नजिकिँदै गर्दा कर्मचारीहरू तलब, सेवा–सुविधा तथा प्रशासनिक निकासको समस्याले थप चिन्तित बनेका छन् । कार्यालय प्रमुखको अनुपस्थितिले कर्मचारी मात्र नभई नगरपालिकाबाट सेवा लिन आउने सर्वसाधारणसमेत प्रभावित हुने अवस्था सिर्जना भएको छ ।

यस घटनाप्रति कर्मचारी तथा स्थानीय सरोकारवालाहरूले आक्रोश व्यक्त गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग तत्काल छानबिन गरी कार्यालय सञ्चालन र सेवा प्रवाह नियमित बनाउन माग गरेका छन् ।







