बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता चन्देश्वर बैठाको आज करेन्ट लागेर निधन भएको छ । बैठाको निधनले स्थानीय तहका जनप्रतिनिधि, शुभचिन्तक र नगरवासीहरू शोकमा डुबेका छन् ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै विद्युत प्राधिकरणको लापरवाहीका कारण यो दुर्घटना भएको बताएका छन् । उनले दोषीमाथि कानुनी कारबाही हुनु पर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
“मौलापुर नगरपालिकाको प्रवक्ता एवं मेरो प्रिय मित्र चन्देश्वर बैठाको आज करेण्ट लागेर भएको दुःखद निधनको खबरले मर्माहत भएको छु,” सांसद साहले लेखेका छन्।
“विद्युत प्राधिकरणको लापरवाहीले भएको यस दुःखद घटनाको दोषीलाई कानुन बमोजिम कारबाही सहित पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दछु । साथै मृतकप्रति भावपुर्ण श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु।”
यस्तै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकामा शोकको वातावरण छ ।
चन्देश्वर बैठा मौलापुर नगरपालिकामा जनप्रतिनिधिको भूमिकामा सक्रिय थिए र जनसमस्या समाधानमा अग्रसर व्यक्तित्वका रूपमा चिनिन्थे ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले रौतहट न्यूजका पत्रकार राजकुमार यादवमाथि साउन ५ गते भएको सशस्त्र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा निन्दा गरेको छ । पूर्वमन्त्री प्रभु साहका छोरा विवेक साह संलग्न रहेको आरोप लगाइएको विज्ञप्तिमा घटनाले स्वतन्त्र पत्रकारितामाथि प्रहार भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।

यस्तै पत्रकार यादवमाथिको कुटपिट घटनाप्रति श्रमजीवी पत्रकार संघ, रौतहटले गम्भीर आपत्ति जनाउँदै घटनालाई पत्रकारिता माथिको आक्रमण भनेको छ । संघले विवेक साहसहित चारजनामाथि आक्रमणको आरोप लगाउँदै पत्रकारको स्वास्थ्य उपचार र दोषीउपर कडा कारबाहीको माग गरेको छ ।

यसैगरी पत्रकार महासंघको विज्ञप्तिमा लगाइएको आरोपलाई अस्वीकार गर्दै विवेक साहले उक्त दाबीलाई “पूर्वनियोजित चरित्र हत्या” को संज्ञा दिएका छन् । उनले घटनास्थल सुरक्षाकर्मीको निगरानीमा रहेको भन्दै पत्रकार यादवले निषेधित क्षेत्रमा प्रवेश गरी झुटो प्रचार गरेको आरोप लगाए । साथै, सत्यतथ्य छानबिनको माग गर्दै प्रेस काउन्सिल नेपाललाई संलग्न गरिनुपर्ने बताएका छन् ।

यस विषयमा भने नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे भने अहिलेसम्म आधिकारिक धारणा आउन सकेको छैन् ।
काठमाण्डौं, साउन ८ – पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ संयुक्त राज्य अमेरिकाको दुई साता लामो भ्रमण सम्पन्न गरी साउन ७ गते राति नेपाल फर्किएका छन्।
श्रेष्ठ २०८२ असार २० गते राति काठमाडौंबाट अमेरिका प्रस्थान गरेका थिए। यसपटकको भ्रमणबारे जानकारी दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्। उनले भारतबाहेक अन्य मुलुकमा यसअघि व्यक्तिगत हैसियतमा भ्रमण नगरेको उल्लेख गर्दै यो भ्रमण पहिलोपटक भएको जनाएका छन्।
“मूलतः अमेरिका बसोबासमा रहनुभएका नेपाली मित्रहरू एवं दिदीबहिनी दाजुभाइहरूसँग भेट्घाट तथा छलफल गर्ने उद्देश्य राखिएको थियो,” श्रेष्ठले उल्लेख गरेका छन्, “यो भ्रमण सार्थक र उपलब्धिमूलक भएको छ भन्ने निष्कर्षमा पुगेको छु।”
उनका अनुसार, अमेरिकामा करिब १० राज्यका विभिन्न शहरमा उनले भ्रमण गरेका थिए। ती शहरहरूमा गैर आवासीय नेपाली संघ, स्थानीय नेपाली संस्था तथा नेपाली समुदायद्वारा स्वागत तथा अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरिएको थियो।
भर्जिनियामा विशेषगरी एनआरएनए अमेरिका र नेपाली बौद्धिक समुदायद्वारा आयोजित गोलमेच छलफलमा श्रेष्ठ सहभागी भएका थिए। सो कार्यक्रममा अमेरिकी तथा अन्तर्राष्ट्रिय स्तरमा सक्रिय नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, इन्जिनियर तथा बौद्धिक वर्गको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त छलफल र अन्तरक्रिया कार्यक्रमहरूमा नेपालको विकास, वैदेशिक अनुभव, ज्ञान, सीप र पूँजीलाई उपयोग गर्ने उपाय, गैर आवासीय नेपाली नागरिकताको औचित्य तथा मातृभूमिसँगको निरन्तर सम्बन्ध जस्ता विषयमा गम्भीर छलफल भएको श्रेष्ठले जानकारी दिएका छन्।
श्रेष्ठले अमेरिकामा रहेका नेपाली समुदायप्रति कृतज्ञता व्यक्त गर्दै विचार, आस्था र संलग्नता भन्दा माथि उठेर प्राप्त भएको सद्भाव र सम्मानबाट आफू अत्यन्त प्रेरित भएको उल्लेख गरेका छन्।
“तपाईंहरूको सद्भाव र विश्वासले देश र जनताको हितमा समर्पित हुने ऊर्जा थपिएको महसुस गरेको छु,” श्रेष्ठको भनाइ छ, “मैले व्यक्त गरेका प्रतिबद्धताहरूको शीघ्र कार्यान्वयनमा दृढतापूर्वक लाग्ने विश्वास दिलाउन चाहन्छु।”
भ्रमण सफल बनाउन साथ र सहयोग गर्ने सम्पूर्णप्रति श्रेष्ठले हार्दिक आभारसमेत व्यक्त गरेका छन्।
काठमाडौं, ८ साउन ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक श्रीरामको जन्म नेपालमै भएको भन्दै झुठको खेती गरी जनतामा भ्रम फैलाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले नेपालका आदीवासी जनजातीको इतिहास मेटाउने गरी झुठ र भ्रमको खेती गरिरहेको बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामजी नेपालमै जन्मेको कुरा पटक पटक भन्दैहुनुहुन्छ । उहाँ (ओली)ले भन्नुहुन्छ राम चितवनमा जन्मेका हुन । चतरा विश्वामित्रको आश्रमस्थल हो । म सोध्न चाहन्छु, नेपालको भूभागको असली वारिस आदीबासी जनजाती हो की क्षेत्री बाहुन हो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘रामायण भनेको क्षेत्रीबाहुनको पौराणिक कथा हो । यदी क्षेत्रीबाहुन यस भूभागका वारिस हो भने यहाँको थारुहरु के हुन भन्ने प्रश्न गर्न चाहन्छु । के चितवनका आदीबासी थारु होईनन ? के चतराका आदीबासी किराँती होइनन ?’
यदी किराँती, थारुहरु नै आदीबासी जनजाती हुन भने प्रधानमन्त्री ओलीले यहाँ बाहुन क्षेत्रीलाई घुसाएर के प्रमाणित गर्न खोजेका हुन भन्ने संसदलाई जानकारी गराउन उनले माग गरे । राजनीतिक स्टण्डका लागि जे पनि गर्ने, प्रधानमन्त्रीले नै झुठको खेती गर्न मिल्छ कि मिल्दै भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, देशलाई सही दिशा निर्देशन गर्नुको साटो जनतामा भ्रम फैलाउँने, विभाजन गर्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्ने उनले बताए ।
‘सबैलाई थाहा छ, सत्यको बाटो हिड्यो भने समाजले सही दिशा लिन्छ । झुठले समाजलाई अन्धाकारमा धकेल्छ, द्धन्द्धमा धकेल्छ र बिनाश तिर लान्छ । क्यान्सरको रोगलाई तपाईले टिवि लेख्दिनुहुन्छ भने त्यो विरामीले कहिल्यै पनि उपचार प्राप्त गर्न सक्दैन,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रो समाजको वास्तविकता देखाउनुपर्ने हो । नेपाल कहिल्यै पनि गुलाम भएन । त्यो सबैको एउटै कारण हो यहाँको जनजाती आदीबासी । यहाँको मुलबासिन्दा कै कारणले हो जसको कारण हामी कहिल्यै पनि गुलाम भएनौँ ।’
नेपालको एकीकरण भन्दा पहिला पनि स–साना राज्यहरु भए पनि कहिल्यै पनि कसैको गुलाम नभएको बताउदै उनले जनजाती, आदीबासीले त्यसको अस्तित जोगाएको बताए । प्रधानमन्त्रीले ति इतिहासको खोतलेर स्थापित गर्नुको साटो गुमराह बनाइदिने, तोडमतोड गर्ने कार्य गर्नु ठिक नभएको साहले बताए ।
‘आदीबासी जनजातीको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र आज उनीहरुको इतिहासमाथि छेडछाड गर्ने काम भईरहेको छ । इतिहास मेटाउने काम भइरहेको छ । नेपाललाई कता लान खोजिएको छ भन्ने प्रश्न उठछ । प्रधानमन्त्री जस्तो व्यक्तिले किराँतीको इतिहास खोतल्नुपथ्र्यो । किराँतीहरु कस्ता राजा थिए कि कसैको गुलाम भएन् । त्यस्ता कुरा उजागर गर्नुको साटो राजीतिक स्टण्ड गर्ने, भ्रमको खेती गर्ने, गुमराह बनाउँने काम बन्द गर्न म विशेष आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको कुरा मिडियाबाट थाहा भएको बताउदै उनले भारत जाँदा भारतीय सरकारसंग यस बारेमा सत्य, तथ्य कुरा गर्न र पुरातात्विक विभागको प्रमाणको आधारमा वार्ता गर्न आग्रह गरे । र आफैले बोल्दै आएको कुरा स्थापित गर्न प्रधानमन्त्री ओलीलाई आजपा अध्यक्ष साहले चुनौति समेत दिए ।
‘नेपालको राष्ट्रिय विभुति सीता । दुनियाले स्वीकारेको यो कुरा त प्रधानमन्त्रीले स्वीकार गर्नुहुन्न । म उहाँको क्याबिनेटको एउटा मन्त्रि थिए । सीता जयन्ती क्यालेन्डरमा राख्न भन्दै गर्दा, अडान लिदैगर्दा उहाँ मान्नु भएन । घण्टौ अडान लिदा समेत क्यालेन्डरमा सीता जयन्ती राख्न नमान्ने प्रधानमन्त्रीले राम नेपालमै जन्मेको विवादस्पद अभिव्यक्ति दिएर के सन्देश दिन खोज्नुभएको हो ? नेपाललाई गुमराह बनाउने अधिकार कसैलाई छैन् । प्रधानमन्त्री जस्तो गरिमामा बसेर आमलाई इमिलि भन्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
नेपाललाई अन्धाकारमा धकेल्ने अधिकार कोहीकसैसंग नभएको भन्दै उनले सत्य, तथ्यको आधारमा अभिव्यक्ति दिनुपर्ने बताए । यदी उहाँले सत्य, तथ्य नै बोलेको हो भने त्यसबारेमा संसदमा बहस गराउनुपर्ने उनले बताए । तर झुठको खेती गर्ने, भ्रम फैलाउने काम नगर्न प्रधानमन्त्री ओलीलाई उनले ध्यानाकर्षण गराए । यसबारेमा सभामुखले समेत रुलिङ गर्नुपर्ने माग गरे ।
राजेश निर्माणी,वृन्दावन, साउन ८ गते — पानी नपरेका कारण किसानहरू चिन्तित भइरहेका बेला वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले किसानहरूको समस्यालाई मध्यनजर गर्दै तत्काल समाधानको पहल गरेका छन् । नगर प्रमुख कुर्मीले वडा नम्बर ६, कमलपटीमा नयाँ कुलो निर्माण गराएर नहरमार्फत सिंचाइको व्यवस्था मिलाएका छन् ।
धेरै किसानले समयमा धान रोप्न नपाएको र लगातारको खडेरीका कारण उत्पादनमा भारी असर पर्ने चिन्ताले सताइरहेका बेला नगर प्रमुखको यो कदमले किसानहरूमा केही आशा जगाएको छ। उनले किसानहरूका समस्यालाई प्राथमिकतामा राख्दै अन्य वडाहरूमा पनि पानीको व्यवस्था मिलाउने कार्य अघि बढाएका छन्।
नगर प्रमुख कुर्मीले मधेस प्रदेशभरि नै पानीको अभाव भएको भन्दै प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि, आफूले पनि पालिकाभित्रका सबै वडाहरूमा पानीको अवस्थाको अनुगमन थालेको बताएका छन्। उनले हरेक वडामा पुगेर समस्या बुझ्ने र समाधान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
कृषि मुख्य पेशा रहेको वृन्दावन नगरपालिकाका किसानहरूका लागि यो पहलले ठूलो राहत दिएको छ। अब नगरपालिकाको अन्य वडाहरूमा पनि यस्तो किसिमको कार्य अघि बढाइने नगर प्रमुखको भनाइ छ।
स्थानीय किसानहरूले नगर प्रमुखको यो कदमको प्रशंसा गर्दै अन्य स्थानमा पनि यस्ता तत्कालीन समाधान ल्याउन आग्रह गरेका छन्।
आरके श्रीवास्तव, रौतहट ०८ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार महाेत्तरीका विकास कुमार मण्डललाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माले मनोनयनको जानकारी दिँदै उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मण्डललाई मनोनीत गरिएको विषयमा संघका अध्यक्ष वर्माले पठाएको पत्रमा देश, मधेश, पत्रकारिता क्षेत्र तथा पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत भएपछि मण्डलले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतान्त्रिक पत्रकार संघले पत्रकारिता क्षेत्रमा सक्रियरूपमा लागिरहेका व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गर्दै आएको छ। संघको यो कदमले संगठनात्मक सुदृढीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं, साउन ७ — पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुई साताको संयुक्त राज्य अमेरिका भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
भ्रमणका क्रममा श्रेष्ठले (क्यालिफोर्निया) लस एन्जेल्स, सान फ्रान्सिस्को, यूटा, सिकागो, टेक्सास, बोस्टन, वासिङ्टन डिसी, भर्जिनिया, बाल्टिमोर (मेरिल्यान्ड), कनेक्टिकट, न्यूयोर्क लगायतका विभिन्न स्थानहरूमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए।

उनले प्रवासमा सक्रिय विभिन्न संघ–संस्था, गैरआवासीय नेपाली संघ (एनआरएनए), बुद्धिजीवी, प्राध्यापक, इन्जिनियर, चिकित्सक, व्यवसायी लगायतका व्यक्तिहरूसँग भेटघाट गर्दै समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा छलफल गरेका थिए।
श्रेष्ठले कार्यक्रमहरूमा शुभकामना आदान–प्रदान गर्दै प्रवासी नेपालीहरूको विचार, सुझाव र समर्थनप्रति आभार व्यक्त गरेका थिए।
उनको भ्रमणले नेपालप्रति प्रवासी नेपाली समुदायको चासो, सहयोग र सहभागिता अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
- अभिमनु कुमार पटेल, रौतहट, ७ गते साउन । सीमावर्ती क्षेत्रको सुरक्षामा चौबीसै घण्टा तत्पर सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले सुरक्षा मात्र होइन, मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
भर्खरैको घटनामा, रौतहट माधवनारायण नपा वडा नं ४ विषनपुरवाकी २८ वर्षीया लक्ष्मीनिया देवीलाई डेलिभरीको समयमा A+ve ब्लडको आपतकालीन आवश्यकता परेको थियो। यस्तो संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बलमा कार्यरत हबल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौर पुगेर तुरुन्तै रक्तदान गरे।

सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणका प्रहरी उपरीक्षक संतोष बस्नेतका अनुसार, चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेका छन्। “हाम्रो टोली मात्र सुरक्षा कार्यमा सीमित छैन, जब समाजलाई रक्तको आवश्यकता पर्छ, हामी त्यहाँ पनि उपस्थित हुन्छौं,” एसपी बस्नेतले बताए।
सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।
एसपी बस्नेतका अनुसार, “प्रादेशिक अस्पताल गौरमा होस् वा पर्सा जिल्लाको वीरगंजमा, जब कहिले रक्तको खाँचो पर्दछ, सिधै हामीलाई सम्झिने चलन बनेको छ। आवश्यकता अनुसार रौतहटबाट प्रहरी जवान पठाएर रक्तदान गराउने काम हामीले गर्दै आएका छौं।”
एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार अभिव्यक्तिको रूपमा रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा परेको उनले स्पष्ट पारे।
“हामीले प्रत्येक समस्यालाई राज्यको तर्फबाट सेवा गर्ने अवसरको रूपमा लिन्छौं। रगत होस्, विपत होस्, अपराध नियन्त्रण होस् वा जनताको विश्वास, सशस्त्र प्रहरी बल एक परिवार हो जसले राष्ट्र र जनताको सेवा नै धर्म ठानेको छ,” उनले बताए।
देशको दक्षिणी सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने रौतहट, जहाँ अवैध क्रियाकलाप, तस्करी, आपराधिक गतिविधिहरूको जोखिम उच्च छ, त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट कानून पालन, शान्ति सुरक्षा र सीमा निगरानीमा बलियो गढको रूपमा परिचित छ। तर, यति मात्र होइन, यो गण सामाजिक सेवा, सद्भाव र मानवीय भावनामा समेत जिम्मेवार संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
- रक्तदान जस्ता संवेदनशील कार्यमा निरन्तरता दिँदै, संकटमा परेका नागरिकको साहारा बनेको यो गण रौतहट जिल्लामा पहिलो संस्थाको रूपमा यथार्थ सेवाको उदाहरण बनिरहेको छ। यसरी, सुरक्षा र सेवा दुबै मोर्चामा क्रियाशील सशस्त्र प्रहरी बल, नेपाल नं. ११ हे.क्वा. रौतहट आज एक प्रेरणादायी संस्थाको रूपमा जिल्लामा स्थापित बन्दै गएको छ।
प्रेमचन्द्र झा,साउन ७ गते
रौतहट । जिल्लामा दुई दिनको अन्तरालमै सिचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
बुधबार बिहान ७ बजेतिर रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका करिब ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्न मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको तारले छोएपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्यादा पनि बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिजो मंगलबार दिउँसो १ बजे रौतहटको कटहरिया नगरपालिका–२ जमुनियाका करिब ५२ वर्षीय मोक्तार देवानको पनि त्यस्तै घटनामा ज्यान गएको थियो। उनी पनि आफ्नै खेत सिचाइ गर्नका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। खेत सिचाइका क्रममा सुरक्षाका मापदण्ड नअपनाउँदा करेन्ट लाग्ने घटनाहरू बढिरहेका छन्। स्थानीय प्रशासनले यसप्रकारका दुर्घटना न्यूनीकरण गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन।
काठमाडौं, ७ गते साउन ।
सामाजिक सुरक्षा कोषले आ.व. २०८१/८२ मा उल्लेखनीय प्रगति गर्दै कुल २३ लाख ७४ हजार ४८६ जना श्रमिकलाई सामाजिक सुरक्षा योजना अन्तर्गत आवद्ध गराएको जनाएको छ । कोषले औपचारिक, वैदेशिक, अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकहरूलाई समेट्दै सामाजिक सुरक्षाको दायरा निरन्तर विस्तार गरिरहेको छ ।
प्रेस विज्ञप्ति अनुसार, कोषमा आवद्ध रोजगारदाता संख्या २० हजार ९५१ पुगेको छ भने यस आ.व. मा मात्रै ८ लाख ८२ हजार ९४६ जना नयाँ श्रमिक आवद्ध भएका छन् । औपचारिक क्षेत्रमा ६ लाख ०१ हजार ८२५, वैदेशिक क्षेत्रमा १७ लाख ७१ हजार ५३७ र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा १ हजार १२४ जना श्रमिक समावेश भएका छन् ।

कोषले यस आ.व. मा मात्रै रु २५ अर्ब ३६ करोड योगदान संकलन गरी कूल योगदान रकम रु ८३ अर्ब ६५ करोड पुर्याएको छ । सामाजिक सुरक्षा योजनाहरु अन्तर्गत औषधि उपचार, दुर्घटना, अशक्तता, आश्रित परिवार तथा वृद्ध अवस्था योजना मार्फत विभिन्न शीर्षकमा रु १५ अर्ब ७५ करोड भुक्तानी गरिएको छ ।
औषधि उपचार तथा मातृत्व सुरक्षा योजनामा १,१०,६९६ जनालाई २ अर्ब १५ करोड, दुर्घटना तथा अशक्तता योजनामा ५,९३३ जनालाई २० करोड, आश्रित परिवार योजनामा ७४५ जनालाई २६ करोड र वृद्ध अवस्था योजनामा १,१२,८६८ जनालाई १३ अर्ब १३ करोड भुक्तानी गरिएको कोषले जनाएको छ ।

यस आ.व. मा मात्रै ३ लाख ६२ हजार दावी भुक्तानीमार्फत रु ५ अर्ब ८७ करोड प्रदान गरिएको छ। विशेष सापटी, घर सापटी र शैक्षिक सापटी योजनाहरु मार्फत ३४ हजार ९७ जनालाई कुल ७ अर्ब ४ करोड भुक्तानी गरिएको उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस आ.व. मा २४ वटा नयाँ स्वास्थ्य संस्था स्वचालित प्रणालीमा आबद्ध गरिँदा हालसम्म १०७ संस्थामा ‘Dedicated Line’ मार्फत सेवा दिइएको छ। साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुविधाका लागि १२ वटा वित्तीय संस्थासँग सम्झौता गरिएको छ ।
सामाजिक सुरक्षा योजनाको दायरा व्यापक बनाउन औपचारिक क्षेत्रका श्रमिकहरुको परिवारमा समेत स्वास्थ्य सेवा विस्तार गरिएको छ । अस्पतालमा भर्ना भई उपचार गराउँदा अब १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा उपलब्ध हुने कोषले जनाएको छ ।
कोषका अनुसार आगामी चार वर्षमा श्रमिक र उनीहरूको परिवारको स्वास्थ्य जिम्मा कोषमार्फत लिने गरी योजना निर्माण भइरहेको छ । यस अभियानले राज्य प्रतिको अपनत्व भावना बढाउने र सामाजिक सुरक्षा कोषलाई राष्ट्रिय पुँजी परिचालनको माध्यम बनाउने विश्वास व्यक्त गरिएको छ ।
कोषले सामाजिक सुरक्षाका माध्यमबाट दिगो सामाजिक संरक्षण, समावेशी श्रम बजार र उत्पादनशीलता अभिवृद्धिमा योगदान पुर्याउने रणनीति अनुसार काम गरिरहेको छ । कोषको दायरा विस्तार र सबै नागरिकलाई समेट्ने उद्देश्यका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सबैका लागि बनाउने दृढता दोहोर्याइएको छ ।