२०८३ मंसिर १३
२०८३ मंसिर १३

काठमाडौँ । एफए कपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा खेलको ७१औं मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो म्यानचेस्टर सिटीले जितेको आठौ एफए कप उपाधि हो । एफए कपको उपाधि सबै भन्दा बढी पटक जित्ने किर्तिमान भने आर्सनलको नाममा रहेको छ । आर्सनलले १४ पटक यो उपाधि जितेको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडले १३ पटक एफए कपको उपाधि जितेको छ ।

त्यस्तै चेल्सीले पनि आठ पटक यो उपाधि जितेको छ । पछिल्लो पटक चेल्सीले २०१८ मा यो उपाधि जितेको थियो ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल, किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले गुजरातलाई २९ रनले पराजित गरेको हो ।

कोलकताले दिएको २४८ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन बनाएको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ८५ रन बनाएका थिए भने जोस बटलरले ५७ र साइ सुदर्शनले ५३ रन बनाएका थिए ।

यस अघिटस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा २ विकेट गुमाएर २४७ रन बनाएको थियो । कोलकोताका लागि फिन एलेनले सर्बाधिक ९३ रन बनाए भने अंगकृश रघुबंशीले ८२, क्यामरुन ग्रीनले ५२ रन बनाएका थिए ।

यो जितपछि कोलकोताको १२ खेलमा ११ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै गुजरातको भने १३ खेलमा १६ अंक रहेको छ ।र दोस्रो स्थानमा रहेको छ ।

जारि आइपिएल अन्तर्गत आज पञ्जाव किंग्स र रोयल च्यालेंजर्स बैंगलुरु तथा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुदैछ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । आज विश्व दूरसञ्चार दिवस मनाइदैछ । सञ्चार प्रविधिबारे नागरिकहरुलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापनाका लागि आधार तयार गरेको थियो । त्यहि दिनको सम्झनामा सन् २००५ देखि विश्वभर दूरसञ्चार दिवस मनाउन थालिएको हो । यस दिवसलाई सूचना समाज दिवसका रुपमा समेत मनाइदैछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत विश्वभर रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । एक दशक अघिसम्म यो दिवस विश्वभर दूरसञ्चारको विस्तारमा बढी केन्द्रित हुने गरेको थियो ।

सन् २००० अर्थात् १९ वर्षअघि नेपालमा १५ हजार व्यक्ति मात्रै टेलिफोनको पहुँचमा थिए । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । परिस्थिति अहिले अपत्यारिलो भइदिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो त गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ ।

नेपालमा २०४७ सालमा प्रजातन्त्रको पुनरागमन पश्चात सबैभन्दा छिटो प्रगति भएका क्षेत्रहरू मध्ये सूचना प्रविधिको क्षेत्र प्रमुख हो । आधारभूत टेलिफोन सेवा, आधुनिक मोवाइल सेवा र इन्टरनेट सेवाको तिब्र विकास भएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस मनाइदैछ । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर विश्वभर आज यो दिवस मनाइदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो ।

पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको छ । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । खानपान र जीवनशैलीका कारण रक्तचापको समस्या बढेको भन्दै चिकित्सकहरुले यसप्रति सचेत गराउदै आएका छन् ।

२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । डाक्टरहरुका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी र तनावका कारणले उच्च रक्तचाप बढिरहेको हो ।एभरेष्ट न्यूज एजेन्सी

रसुवा । रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा विशेष मेला आजदेखि सुरूआत भएको छ ।

गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहेको किम्वदन्ती छ ।  निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।

उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताइन्छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको  सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागको  थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

आजको राशिफल बिस २०८३ जेठ ३ गते आईतवार ईस २०२६ मे १७ नेपाल सम्बत ११४६ अनालाथ्व पारु , रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल प्रतिपदा , चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, शोभज योग, किंस्तुघ्न करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४७ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ३७ मिनेट देखि १० बजेर १८ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

आजदेखि  गोसाईकुण्ड स्नान आरम्भ भएको छ । त्यस्तै आज विश्व उच्च रक्तचाप दिवस र विश्व दूरसञ्चार दिवस परेको छ ।

मेष राशि

आज घरपरिवारका जिम्मेवारी अलि बढ्ने देखिन्छ। बिहानैदेखि घरायसी काम वा पारिवारिक निर्णयमा समय दिनुपर्ने अवस्था आउन सक्छ। मनमा केही अस्थिरता वा चिन्ता देखिए पनि परिस्थिति नियन्त्रणमा रहनेछ। आर्थिक रूपमा ठूला उतारचढाव नदेखिए पनि सानो-सानो खर्च बढ्न सक्छ, त्यसैले अनावश्यक किनमेलमा ध्यान दिनु राम्रो हुन्छ। कामको सिलसिलामा अरूको सल्लाह उपयोगी बन्न सक्छ।

वृष राशि

आजको दिन कामकाजमा स्थिरता र क्रमिक सुधार ल्याउने खालको छ। रोकिएका वा ढिला भएका कामहरू फेरि अघि बढ्ने संकेत छन्। व्यापार गर्नेहरूका लागि नयाँ अवसर देखिन सक्छ। घरपरिवारमा सानो खुसी वा राम्रो खबरले वातावरण रमाइलो बन्न सक्छ। प्रेम सम्बन्धमा आपसी विश्वास बढ्नेछ, तर भावनामा बगेर कुनै ठूलो निर्णय लिनु उपयुक्त हुँदैन।

मिथुन राशि

आज बोली व्यवहारमा विशेष नियन्त्रण राख्नुपर्ने दिन हो। सानो असावधानीले पनि सम्बन्धमा दूरी ल्याउन सक्छ। कामको चाप भए पनि ध्यान केन्द्रित गर्न नसक्दा साना गल्ती हुन सक्छन्, त्यसैले हतार नगरी योजनाबद्ध रूपमा अघि बढ्नु राम्रो हुन्छ। साथी वा सहकर्मीसँग सामान्य मतभेद हुन सक्छ तर दिनको अन्त्यतिर स्थिति सहज बन्दै जानेछ।

कर्कट राशि

आजको दिन विगतका प्रयासहरू सफलतामा बदलिन थालेको महसुस हुनेछ। पढाइ, काम वा व्यापारमा राम्रो प्रगति देखिन्छ। परिवारको साथ र समर्थनले आत्मबल मजबुत बनाउनेछ। मानसिक रूपमा शान्ति र सन्तुलन कायम रहने समय हो। नयाँ योजना बनाउन वा भविष्यको तयारी गर्न यो दिन अनुकूल देखिन्छ।

सिंह राशि

आज प्रतिस्पर्धा र चुनौती दुवै बढ्न सक्छन्। काममा थप मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, तर आत्मविश्वास कायम राखे राम्रो नतिजा मिल्नेछ। यात्रा वा बाहिरको कामसँग सम्बन्धित अवसर बन्न सक्छ। आफ्नो काम र प्रतिष्ठा बचाउन सावधानी अपनाउनु राम्रो हुन्छ। धैर्य र संयम आज मुख्य आधार हुनेछ।

कन्या राशि

आज अल्छीपन वा ढिलासुस्तीले महत्वपूर्ण अवसर गुम्ने खतरा छ। त्यसैले सक्रिय भएर काममा लाग्नु आवश्यक छ। जिम्मेवारी बढे पनि मेहनत अनुसार राम्रो नतिजा आउने संकेत छ। स्वास्थ्यमा सामान्य कमजोरी, थकान वा पेटसम्बन्धी समस्या देखिन सक्छ, त्यसैले खानपान र आराममा ध्यान दिनु राम्रो हुन्छ।

तुला राशि

आर्थिक रूपमा सुधार आउने संकेत बलियो छ। अड्किएका रकम फिर्ता हुन सक्छ वा नयाँ आम्दानीको स्रोत खुल्न सक्छ। पारिवारिक सम्बन्धमा मिठास बढ्नेछ र घरमा खुसीको वातावरण बन्नेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्ने सम्भावना छ। पुराना समस्या समाधान हुँदै जाने समय हो।

वृश्चिक राशि

आज कामको दबाब बढ्न सक्छ, तर परिणाम पनि त्यही अनुसार राम्रो आउनेछ। व्यापार वा काममा फाइदा हुने सम्भावना छ। निर्णय गर्दा हतार नगरी सोचविचार गर्नु आवश्यक छ। मानसिक तनाव वा थकान महसुस हुन सक्छ, त्यसैले आराम र सन्तुलनमा ध्यान दिनु राम्रो हुन्छ।

धनु राशि

नयाँ अवसरहरू खुल्ने दिन हो। आत्मविश्वास बढ्नेछ र रोकिएका काम अघि बढ्ने सम्भावना बलियो छ। नयाँ योजना सुरु गर्न वा भविष्यको तयारी गर्न अनुकूल समय हो। यात्रा वा भेटघाटबाट लाभ मिल्ने संकेत छ। सकारात्मक सोचले आजको दिनलाई अझ सफल बनाउन सक्छ।

मकर राशि

आज जिम्मेवारी बढ्नेछ, तर त्यसअनुसार उपलब्धि पनि प्राप्त हुनेछ। कामको दबाब भए पनि धैर्य र निरन्तर प्रयासले राम्रो परिणाम ल्याउनेछ। परिवारको साथ र समर्थनले मनोबल बढ्नेछ। आर्थिक रूपमा स्थिरता रहनेछ, तर ठूलो लगानीमा सावधानी आवश्यक छ।

कुम्भ राशि

आज निर्णय गर्दा निकै सोचविचार गर्नुपर्ने दिन हो। खर्च बढ्ने सम्भावना भएकाले आर्थिक योजना आवश्यक छ। साथीभाइ वा सहकर्मीबाट सहयोग मिल्न सक्छ। नयाँ काम सुरु गर्नु अघि राम्रोसँग बुझेर मात्र अघि बढ्नु उपयुक्त हुनेछ।

मीन राशि

दिन सामान्य भए पनि स्थिर प्रगति हुने संकेत छ। काममा केही ढिलाइ भए पनि निरन्तर प्रयासले सफलता दिलाउनेछ। मानसिक रूपमा शान्त रहन प्रयास गर्नु राम्रो हुन्छ। परिवारसँग समय बिताउँदा तनाव कम हुनेछ र आत्मविश्वास बढ्नेछ। एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ ।

आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले ४३.३ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।

अमेरिकाका लागि स्मित पटेलले सर्बाधिक ८३ रन बनाएका थिए भने शेहान जयसूर्याले ५० र मिलिंद कुमारले २८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुलशन झाले एक एक विकेट लिएका थिए ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । लखनउ सुपर जाईन्टले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लखनउले चेन्नईलाई ७ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १८८ रनको लक्ष्य पछाएको लखनउले १६.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

लखनउको जितमा मिचेल मार्शले ९० रन बनाएका थिए भने जोस इंगलिसले ३६ र निकोलस पुरनले ३२ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १८७ रन बनाएको थियो । चेन्नईका लागि कार्तिक शर्माले सर्बाधिक ७१ रन बनाए भने डेवाल्ड ब्रेभिसले २५, शिभम दुबेले ३२ र संजु सामसनले २० रन बनाएका थिए ।

त्यस्तै लखनउका आकाश सिंहले ३ विकेट लिएका थिए ।

यो लखनउको यस सिजनमा चौथो जित हो ।१२ खेलमा ८ अंक रहेको लखनउ अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै चेन्नईलाई भने यो हारले ठुलो धक्का लागेको छ । चेन्नईको १२ खेलमा १२ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ । यो हारपछि चेन्नईको प्लेअफको बाटो मुश्किल बनेको छ । एभरेष्ट न्यूज एजेन्सी

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।