२७ वर्षपछि फेरि क्रिकेटको मैदानमा आमिर खान! ‘लगान’ को इतिहास दोहोर्याउने तयारी, नयाँ फिल्म ‘ललकारा’ ले बढायो दर्शकको उत्सुकता
काठमाडौं । बलिउड अभिनेता आमिर खान फेरि क्रिकेटको मैदानमा उत्रिएका छन् । चर्चित फिल्म ‘लगान’ मार्फत क्रिकेट र सिनेमाको दुनियाँमा नयाँ इतिहास बनाएका आमिर अब २७ वर्षपछि अर्को क्रिकेटमा आधारित फिल्ममार्फत दर्शकमाझ आउन तयारीमा जुटेका छन् ।निर्देशक आशुतोष गोवारिकरसँग आमिरको पुनः सहकार्य हुन लागेको नयाँ फिल्मको नाम ‘ललकारा’ राखिएको छ । फिल्मको चर्चा सुरु भएसँगै आमिरका प्रशंसकमा उत्साह बढेको छ ।

आफ्नो भूमिकालाई जीवन्त बनाउन विशेष मेहनत गर्ने आमिरले यसपटक पनि क्रिकेटको विशेष प्रशिक्षण सुरु गरिसकेका छन् । फिल्ममा उनी स्वतन्त्र भारतका पहिलो क्रिकेट कप्तान लाला अमरनाथको भूमिकामा देखिनेछन् ।

सन् १९५२ को ऐतिहासिक भारत–पाकिस्तान क्रिकेट भिडन्त
फिल्मको कथा सन् १९५२ मा भारत र पाकिस्तानबीच भएको ऐतिहासिक टेस्ट क्रिकेट शृङ्खलामा आधारित छ । सन् १९४७ मा भारत विभाजन भएपछि दुई देशबीच भएको यो पहिलो औपचारिक टेस्ट शृङ्खला थियो ।त्यस ऐतिहासिक शृङ्खलामा लाला अमरनाथको कप्तानीमा भारतीय टोलीले पाकिस्तानलाई २–१ ले पराजित गरेको थियो । यही ऐतिहासिक क्रिकेट विजय र त्यसबेलाको भावनात्मक परिवेशलाई फिल्ममा प्रस्तुत गरिनेछ ।
सहकलाकारसँगै मैदानमा आमिरको कडा अभ्यास
आमिर खान अहिले दक्षिण मुम्बईस्थित क्रिकेट क्लबमा आफ्ना सहकलाकार विक्रान्त मेस्सी, जितेन्द्र कुमार र धैर्य कर्वासँग नियमित अभ्यास गरिरहेका छन् ।कलाकारलाई क्रिकेटका विभिन्न सीप सिकाउन भारतीय राष्ट्रिय टोलीका दुई पूर्वक्रिकेटरलाई प्रशिक्षकका रूपमा नियुक्त गरिएको छ । रोचक कुरा, यी प्रशिक्षकले यसअघि फिल्म ‘८३’ का लागि रणवीर सिंह र उनको टोलीलाई पनि क्रिकेट प्रशिक्षण दिएका थिए ।भूमिकामा पूर्ण रूपमा ढल्न आमिरले आफ्नो खानपान र शारीरिक तन्दुरुस्तीमा समेत विशेष ध्यान दिएका छन् । उनले पोषणविद्को सल्लाहअनुसार विशेष शाकाहारी खानपान योजना अपनाएका छन् ।

‘लगान’सँग जोडियो जनवरी ४ को विशेष संयोग
नयाँ फिल्म ‘ललकारा’ को छायांकन सन् २०२७ जनवरी ४ देखि सुरु हुने बताइएको छ । यस मितिको आमिर र निर्देशक आशुतोष गोवारिकरसँग विशेष सम्बन्ध छ ।ठीक २७ वर्षअघि अर्थात् सन् २००० जनवरी ४ मै यी दुईले चर्चित फिल्म ‘लगान’ को छायांकन सुरु गरेका थिए । ‘लगान’ ले बलिउडमा ऐतिहासिक सफलता हासिल गर्नुका साथै ओस्कार अवार्डमा समेत आफ्नो उपस्थिति जनाएको थियो ।त्यही ऐतिहासिक मितिमा नयाँ क्रिकेट फिल्मको छायांकन सुरु गर्ने तयारीले फिल्मप्रेमीको चासो थप बढाएको छ ।
फिल्मको प्रदर्शन मिति भने निर्माण पक्षले औपचारिक रूपमा घोषणा गरेको छैन । फिल्म क्षेत्रका अनुमानअनुसार सन् २०२७ को डिसेम्बरमा क्रिसमसको अवसर पारेर फिल्म प्रदर्शन हुन सक्ने चर्चा छ ।२७ वर्षपछि आमिर र आशुतोषको जोडीले फेरि क्रिकेटको कथा पर्दामा उतार्न लागेको खबरले ‘लगान’ का पुराना दर्शकलाई समेत पुरानो याद ताजा गराएको छ ।
बज्जिकाञ्चल खबर







