स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैसाथ गराउन संविधान नै बाधक, संविधानविद् ज्ञवालीको तर्क
बज्जिकाञ्चल खबर | कटहरिया, रौतहट।
काठमाडौं । आगामी वर्ष २०८४ मा हुने स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैसाथ गराउने विषयमा राजनीतिक वृत्तमा बहस चर्किरहेका बेला संविधानविद् भीमार्जुन ज्ञवालीले त्यसका लागि संवैधानिक तथा कानुनी जटिलता रहेको औँल्याएका छन् ।स्थानीय तह र प्रदेशसभाको निर्वाचन एउटै समयमा गराउने प्रस्ताव अघि सारिए पनि संविधानमा व्यवस्था गरिएको जनप्रतिनिधिहरूको कार्यकाल र निर्वाचनसम्बन्धी कानुनी प्रावधानका कारण यो विषय सहज नरहेको उनको तर्क छ ।
आगामी वर्ष स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल समाप्त हुँदैछ भने प्रदेशसभा सदस्यहरूको कार्यकाल पनि त्यसको करिब छ महिनापछि पूरा हुनेछ । स्थानीय तहको निर्वाचन २०७९ वैशाखमा भएको थियो भने प्रदेशसभा निर्वाचन सोही वर्ष मंसिरमा सम्पन्न भएको थियो ।नेपालको संविधानको धारा २२५ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ । त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ । तर स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा गाउँसभा वा नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

यसले स्थानीय तहको निर्वाचनको मिति निर्धारणमा संवैधानिक र कानुनी अन्योल सिर्जना गरेको छ । अर्कोतर्फ संविधानको धारा १७७ ले प्रदेशसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरेको छ । प्रदेशसभाको कार्यकाल पूरा नहुँदै निर्वाचन गराउने वा कार्यकाल लम्ब्याउने विषयमा पनि संवैधानिक प्रश्न उठ्न सक्छ ।स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने पक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस देखिएका छन् । निर्वाचन पटकपटक गर्दा राज्यकोषमा आर्थिक भार बढ्ने, सुरक्षा व्यवस्थापनमा दोहोरो खर्च हुने र निर्वाचन आचारसंहिताका कारण सरकारका नियमित काम प्रभावित हुने उनीहरूको तर्क छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आवश्यक कानुनी सुधार र राजनीतिक सहमति भए दुवै निर्वाचन प्राविधिक रूपमा एकैसाथ गराउन सकिने धारणा राखेका छन् । पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कानुनी व्यवस्था मिलाएर दुवै निर्वाचन एकैपटक गर्न सकिने बताएका छन् ।अलग-अलग निर्वाचन गराउँदा प्रत्येक निर्वाचनमा राज्यले करिब ३० देखि ३५ अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको बताइएको छ । त्यसैले दुवै निर्वाचन एकैसाथ गराउँदा खर्च घट्नुका साथै प्रशासनिक तथा सुरक्षा व्यवस्थापनमा समेत सहजता आउने पक्षधरहरूको भनाइ छ ।
तर नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले भने संविधान र प्रचलित कानुनअनुसार स्थानीय तह र प्रदेशसभाको निर्वाचन छुट्टाछुट्टै समयमा गर्नुपर्ने धारणा राख्दै आएका छन् ।निर्वाचन आयोगले पनि संविधान र कानुनको मर्मअनुसार निर्वाचन सम्पन्न गराउने विषयमा राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । आयोगका अनुसार निर्वाचनको मिति तय गर्ने अधिकार सरकारसँग भए पनि त्यसअघि निर्वाचन आयोगसँग परामर्श गर्नुपर्ने कानुनी व्यवस्था छ ।यसरी निर्वाचन एकैसाथ गराउने विषयमा राजनीतिक सहमति, संवैधानिक व्यवस्था र कानुनी संशोधनको प्रश्न महत्वपूर्ण बनेको छ । सरकारले आवश्यक कानुनी तथा संवैधानिक जटिलता समाधान नगरेसम्म दुवै निर्वाचन एउटै मितिमा गराउने प्रस्ताव कार्यान्वयनमा चुनौती देखिनेछ ।
स्रोत : कान्तिपुर दैनिक।







