२०८३ मंसिर १२
२०८३ मंसिर १२

नारायणगढ–मुग्लिन सडकमा दैनिक ५ घण्टा ‘ब्रेक’, आइतबारदेखि यात्रुलाई सास्ती

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दैनिक ५ घण्टा बन्द, कम्तीमा १५ दिनसम्म प्रभावित हुन सक्ने

बज्जिकाञ्चल खबर | कटहरिया, रौतहट।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकका लागि महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । तुइनखोला क्षेत्रमा निरन्तर पहिरो खस्ने समस्या देखिएपछि पहिरो नियन्त्रण तथा रोकथामको काम गर्न आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले मंसिर १३ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको काम गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।तुइनखोला क्षेत्रमा वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि प्रयोग गरेर काम अघि बढाउन लागेको हो ।

पहिरो नियन्त्रणका लागि भिरमा रहेका ठूला ढुङ्गा हटाउने, पहिरो प्रभावित भिरलाई मजबुत बनाउन फलामे रड प्रयोग गरी ‘नेलिङ’ प्रविधि अपनाउने तयारी गरिएको छ । त्यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास प्रणाली र जैविक प्रविधि (बायोइन्जिनियरिङ) समेत प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार तुइनखोला क्षेत्रमा गत असोजदेखि रोकिएको पहिरो नियन्त्रणको काम पुनः सुरु गर्न लागिएको हो । सडकको वर्तमान अवस्थालाई हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने अवस्था देखिएको उनले बताएका छन् ।

यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिने र तत्कालका लागि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द रहनेछ ।यसैबीच, मुग्लिननजिक पृथ्वी राजमार्गको घोप्टेभीर क्षेत्रमा भइरहेको काम आइतबारसम्म सम्पन्न हुने र सोमबारदेखि उक्त सडक सञ्चालनमा आउने जनाइएको छ । त्यसपछि तुइनखोला क्षेत्रमा पहिरो रोकथामको कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।तर, काठमाडौं–मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने नियमित रूपमा सञ्चालनमा रहने प्रशासनले स्पष्ट पारेको छ ।सडक बन्द हुँदा यात्रु तथा सवारी चालकलाई पर्न सक्ने असुविधाप्रति प्रशासनले दुःख व्यक्त गर्दै यात्रा गर्नुअघि नै समय व्यवस्थापन गर्न र वैकल्पिक मार्ग तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

स्रोत : कान्तिपुर दैनिक तथा रासस।

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।