२०८३ असार २८
२०८३ असार २८

रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिए ।

“देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”

उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।

प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे ।

विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए ।

“विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”न्युज कारखाना

काठमाडौँ । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन स्थगित गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा चालकका मागको बारेमा अध्ययन गर्न एक समिति बनाउने निर्णय भए पछि आन्दोलन स्थगित भएको हो ।

चालकले सोमबारबाटै पेट्रोलियम पदार्थको ढुवानी सुरु गर्ने नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताए । दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर ढुवानी नगरेपछि आइतबारदेखि उपत्यकाका पेट्रोल पम्पमा डिजेल र पेट्रोलको अभाव भएको हो । सामान्य अवस्थामा निगमको थानकोट डिपोबाट पेट्रोल दैनिक सात सय किलोलिटर र डिजेल आठ सय ५० किलोलिटर बिक्री हुँदै आएकोमा आइतबार पेट्रोल एक सय ३० किलोलिटर र डिजेल ६० किलोलिटर मात्र बिक्री भएको थियो ।

चालक तथा सहचालकले मजदुरहरूको श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सरेर आन्दोलन गरेका थिए ।
न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन् ।

असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २: १५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन् । बैठक सम्पन्न गरेर उहाँ असार ८ गते स्वदेश फर्किने छन् । प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहेका छन् ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य रहेका छन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।

सहरी आवास र भवनहरुको विषय यस पटक छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्ने छन् ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्ने छन् ।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।

बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ । न्युज कारखाना

रामपुर (चितवन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरेका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभइ देशको भविष्यमा ध्यान दिन अपिल गरे ।

“राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपील गर्छु– राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधिहरू व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।”

उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरहरूको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि र सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे ।

नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधामन्त्रीले यस वर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रम र सूचना–प्रविधिमा स्टार्टअप कार्यक्रमका निम्ति पर्याप्त बजेटको बिनियोजन गरिएको जानकारी दिए ।

“आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ र ‘सूचना–प्रविधि दशक’ घोषणा गरी यस क्षेत्रमा लगानी केन्द्रित गर्ने, लगानी आकर्षित गर्ने, कृषि र प्रविधिमा पुँजी, प्रविधि र जनशक्तिलाई केन्द्रित गरी रोजगारी सिर्जना एवं सूचना प्रविधिमा वस्तु तथा सेवाको निर्यात गर्ने लक्ष्य राखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसबाट हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण फड्को हान्नेछ ।”

सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, देशभक्तिपूर्ण भावना, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने बताए ।

“भूमण्डलीकृत विश्वासमा अनेकौँ अवसरहरू हुन्छन् । तर, हामीले अवसरलाई मात्रै हेरेर पुग्दैन, हाम्रो राष्ट्रियता, देशभक्तिपूर्ण भावना र भावी पुस्ताको भविष्यबारे पनि गहिरो गरी विचार गर्नुपर्ने हुन्छ,” प्रधानमन्त्रीले भने, “आज विकसित भनिएका सबै मुलुकहरू इतिहासको विभिन्न कालखण्डमा ठूलठूला चुनौतीहरूको सामना गरेर यहाँसम्म आएका छन् । तसर्थ, हामीले विकसित मुलुकहरूको प्रगतिको कुरा गर्दा उनीहरूको विगत, समृद्धिका लागि गरेको सङ्घर्ष र ती देशका नागरिकमा जागृत देशभक्तिपूर्ण भावनाको समेत अध्ययन गर्नुपर्दछ ।” उनले विकसित देशका  उदाहरण र अनुभवहरूबाट सिकेर देशको विकास र समृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सकिने विश्वास व्यक्त गरे । न्युज कारखाना

वर्लिन ( जर्मनी )  । मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष  स्वागत समारोह आयोजना गरेको छ।

राष्ट्रपति पौडेलको  सम्मानमा आयोजित समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित  नेपालीको  सहभागिता थियो।  साे अवसरमा राष्ट्रपति पाैडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त  गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटाे र  मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरे।

‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयाेगबाट नेपालकाे आर्थिक विकासमा याेगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु’, राष्ट्रपति पाैडेलले भने। उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनकाे सम्मेलनलाई सम्बाेधन गर्दै श्रम र सामाजिक न्यायकाे सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे। उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वकाे साझा चुनाैति रहेकाे बताउदै खासगरी यसका कारक नरहेका विकाससील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जाेड दिए।

सो अवसरमा राष्ट्रपति पौडेललाई  जर्मनका लागि नेपालका राजदूत  रामकाजी खड्का तथा यहास्थित  नेपालीहरूले स्वागत गरेका थिए।

सो  अवसरमा राजदूत खड्काले जर्मन  नेपालबीच लामो  समयदेखिकाे सम्बन्ध, विकास र सहयाेगका बहुआयामिक  पक्षबारे जानकारी गराएका थिए। साथै, जर्मनमा रहेका नेपालीकाे अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेकाे सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

जर्मनमा रहेको गैर आवासीय नेपाली संघका तर्फका राष्ट्रपति पाैडेललाई अभिनन्दन गरिएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो  जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा  विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए। राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हु्न्।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा  राष्ट्रपति पाैडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका हुन्। राष्ट्रपति पाैडेल र उहाँका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयरबीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ।न्युज कारखाना

काठमाडौँ । आम जनता पार्टीको आइटी आर्मीले बैदेशिक रोजगारीमा जाने युवाहरु सँग बिना रसीद लिएको अवैध रकम फिर्ता गराउन माग गर्दै बिशेष प्रदर्शनसहित आन्दोलनको शुरूवात गरेको छ ।

‘ठग मेनपावर र एजेण्टलाई करवायी ग़र, बेरोजगारको व्यापार बन्द गर, पीड़ितलाई न्याय देऊ, अलपत्र परेका नेपालीलाई उद्धार गर !’ जस्ता नारा सहित काठमाण्डौको कालीमाटीबाट निस्केको जुलुस प्रहरीको घेराबन्दी एवं अवरुद्धको कारण सोल्टीमोड़मा समापन भएको थियो ।

बैदेशिक रोजगार पीड़ितलाई न्याय दिन तत्परता देखाउनुको सट्टा वर्तमान सरकार ठग मेनपावरहरुसँग मिलेर बेरोजगारको व्यापार गर्ने दिशामैं अग्रसर देखिएको भन्दै आइटी आर्मी प्रदर्शनमा उत्रिएको छ ।

आइटी आर्मीले सरकारको यस गलत रवैयाको विरुद्ध संघर्ष एवं भण्डाफोर बिना बैदेशिक रोजगार पीड़ितहरुले न्याय नपाउने भन्दै तसर्थ पीड़ितलाई न्याय दिलाउन शुरू भएको यस आन्दोलनमा बिशेष सहयोगको अपील गरेको छ ।न्युज कारखाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५ औं अधिवेशनको दोस्रो बैठक स्थगित भएको छ ।

आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ महानगर प्रमुख बालेन शाह (बालेन्द्र)ले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए । त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरेका हुन् ।

बैठक स्थगित भएपनि मेयर शाहले एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ३ जना नेताले गर्दा , १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको समेत उल्लेख गरे ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्धेश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौती पूर्ण रहेको बताएका हुन् ।

मन्त्रालयगत छलफलमा भाग लिदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए ।

उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताए ।

डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।न्युज कारखाना

 काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उर्जा क्षेत्रमा  विदेशीलाई सहज हुने नीति बनाउदै गएको आरोप लगाएका छन्।

आईतवारको प्रतिनिधि सभाको बेठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले नेपाली लगानीकर्तालाई प्रेरित गर्ने बजेट नआएको बताएका हुन् ।

उनले बजेटमा उर्जा क्षेत्रमा विशेष नीति ल्याउनुपर्नेमा विदेशीलाई मात्र लक्षित गरिएको भन्दै नेपाली लगानीमा उर्जा क्षेत्रमा आयोजना बन्नुपर्नेमा जोड दिए । उनले नेपाली लागानी कर्तालाई अप्ठ्यारो हुने किसिमका नीति बनाइएको र विदेशीलाई सहज हुने नीति बनाएको बताए ।

उनले बुढी गण्डकी जस्तो बहुउद्धेश्यीय आयोजनाका लागि प्रयाप्त बजेट नछुट्याएको आरोप लगाउदै बुढी गण्डकी आयोजना कसरी अगाडी बढ्छ भन्ने स्पष्ट नभएको बताए ।

अर्थमन्त्री र मन्त्रीहरुले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुशी बनाउने गरी बजेट ल्याएको बताउदै उनले आफुले यो बजेट परिवर्तन नहुने र संसदमा रेकर्डको लागि बजेटमाथि असहमति राखेको बताए ।न्युज कारखाना

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ ।

आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध गराएपछि गृहमन्त्री रबि लामिछाने बैठक शुरु नहुदै बाहिरिएका थिए ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल ’ गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री लामिछानेले बैठकमा मंहगो मूल्यका खाजा ल्यायेको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि लामिछानेले बैठक शुरु नहुदै बाहिरिएका थिए । खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु आदि रहेको बैठकमा उपस्थित एक सांसदले न्यूज कारखानालाई बताए ।

गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर बैठक नगर्ने भन्दै समितिका सभापति रामहरि खतिवडालाई प्रश्न गरेका थिए । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।