शिवनाथ कुशवाहा,रौतहट, असार ५ — कटहरिया नगरपालिकामा ‘कुपोषण मुक्त मधेश प्रदेश अभियान’ अन्तर्गत पालिका स्तरीय अन्तरक्रिया तथा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार कटहरिया नगरपालिका–५ स्थित श्री जनता माध्यमिक विद्यालय, कटहरियामा आयोजना गरिएको हो।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय गौर, रौतहटको आयोजनामा सम्पन्न कार्यक्रममा कुपोषण न्यूनीकरण, बालबालिकाको स्वास्थ्य संरक्षण तथा पोषणयुक्त खानपानको महत्वबारे जन स्वास्थ्य कार्यालयका संयोजक सञ्जीव कुमार यादवले जानकारी दिनुभयो ।
कार्यक्रममा वक्ताहरूले बालबालिकालाई कुपोषणबाट जोगाउन सन्तुलित र पोषणयुक्त आहारको आवश्यकता, नियमित स्वास्थ्य परीक्षण तथा अभिभावकको भूमिकाबारे प्रकाश पारे। उनीहरूले कुपोषणको प्रमुख कारणमध्ये कम उमेरमा हुने विवाह पनि एक रहेको उल्लेख गर्दै कानुनी उमेर नपुगी विवाह नगर्न तथा समाजमा बालविवाहका घटना भए सम्बन्धित निकायमा उजुरी गर्न कटहरिया नगरपालिका का स्वास्थ्य संयोजक दिनेश यादवले आग्रह गरे ।
सहभागीहरूलाई कुपोषणका कारण, असर तथा यसको रोकथामका उपायबारे जानकारी दिँदै स्वस्थ र समृद्ध समाज निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा पत्रकार आर.के. श्रीवास्तव, सागर संगम, रामअधार यादव, शिवनाथ कुशवाहा, रुपेश यादव, कृष्ण तिवारी लगायत बुद्धिजीवी, समाजसेवी, स्वास्थ्यकर्मी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार कुपोषणमुक्त मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेशका विभिन्न स्थानीय तहमा यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। कार्यक्रमले समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न तथा बालबालिकाको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ओम प्रकाश यादव लहान, ५ असार।
सिरहाको भगवानपुर गाउँपालिका–५ लालपुरमा एक महिलामाथि उनकै जेठाजुले निर्घात कुटपिट गरेको आरोप लागेको छ। उक्त घटनामा महिला र उनका दुई नाबालक छोरासमेत घाइते भएका छन्। घाइतेहरू विगत पाँच दिनदेखि लहानस्थित एक निजी अस्पतालमा उपचाररत छन्।
घटनापछि पीडित बबिता देवी यादवले अस्पतालको शैय्याबाटै पत्रकार सम्मेलन गरी आफू र आफ्ना छोरामाथि भएको कुटपिटबारे सार्वजनिक गरेकी हुन्। शरीरका विभिन्न भागमा चोटपटक र निलडाम देखाउँदै उनले आफूलाई न्याय दिलाउन तथा परिवारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरिन्।
पीडितका अनुसार उनका श्रीमान रोजगारीका लागि भारतमा रहेका बेला जेठाजु रामलोचन यादवले उनीमाथि आक्रमण गरेका हुन्। बबिताले रामलोचनले विगतदेखि नै आफू र आफ्नी सासूमाथि दुव्र्यवहार तथा कुटपिट गर्दै आएको आरोप लगाएकी छन्।
“यसअघि पनि पटक–पटक कुटपिट भएको थियो। तर यसपटक त मेरा दुई साना छोरालाई समेत छाडिएन। हामीलाई निर्घात कुटपिट गरेर अस्पताल पुर्याइयो,” उनले पत्रकार सम्मेलनमा भनिन्।
बबिताका अनुसार घटना गाउँबाहिर चौरीको खेतमा बाख्रा चराउने क्रममा भएको थियो। सामान्य विवादबाट सुरु भएको झगडा अचानक हिंसात्मक बनेपछि जेठाजुले आफूमाथि आक्रमण गरेको उनको दाबी छ। उनले आफूलाई लामो समयदेखि ‘बोक्सी’ को आरोप लगाएर मानसिक यातना दिने, सामाजिक रूपमा अपमानित गर्ने र शारीरिक दुव्र्यवहार गर्ने गरिएको पनि बताइन्।
पीडितले आफ्नो परिवारमाथि यो तेस्रो पटकको सांघातिक आक्रमण भएको दाबी गर्दै भनिन्, “हामीमाथि बारम्बार हमला भइरहेको छ। प्रहरीमा उजुरी दिँदा पनि उचित सुनुवाइ र कारबाही नहुँदा झन् असुरक्षित महसुस गरेका छौं।”
उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय लहानमा लिखित उजुरी दर्ता गराइसकिएको छ। तर घटना भएको पाँच दिन बितिसक्दा समेत आरोपितमाथि प्रभावकारी कारबाही नभएको भन्दै उनले गम्भीर चिन्ता व्यक्त गरिन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउनसमेत कठिनाइ भइरहेको बबिताले बताइन्। हाल उनी आफ्ना आमाबुवाको सहयोगमा उपचार गराइरहेकी छन्। “उपचार खर्च तिर्न नै समस्या भइरहेको छ। राज्यले पीडितको रूपमा सहयोग गरोस्,” उनले आग्रह गरिन्।
यता घटनाबारे आरोपित रामलोचन यादवको प्रतिक्रिया लिन सञ्चारकर्मीहरूले पटक–पटक सम्पर्क गर्ने प्रयास गरे पनि समाचार तयार पार्दासम्म उनको भनाइ प्राप्त हुन सकेको छैन। त्यसैले घटनाको अर्को पक्ष सार्वजनिक हुन बाँकी रहेको छ।
स्थानीयवासीहरूका अनुसार आफ्नै परिवारभित्र हुने हिंसाका घटनाले समाजमा नकारात्मक सन्देश प्रवाह गरिरहेको छ। मिथिला समाजमा जेठाजु र भाइबुहारीबीच सम्मान र मर्यादाको सम्बन्ध रहने मान्यता भए पनि यस्तो घटनाले सामाजिक मूल्य र पारिवारिक सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको उनीहरूको भनाइ छ।
स्थानीय अधिकारकर्मी तथा सरोकारवालाहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न, पीडित परिवारको सुरक्षा सुनिश्चित गर्न तथा आवश्यक उपचार र राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, घटनाको सत्यतथ्य बाहिर ल्याउन दुवै पक्षको भनाइ र अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनीहरूको धारणा छ।
रौतहट । गौर नगरपालिका–२ मा अवस्थित श्री राम लखन हरि साह गुरुकुल विद्यापीठ ले प्राक् शास्त्री कक्षा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको छ। संस्कृत शिक्षा तथा अध्ययनको प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन हुन लागेको उक्त कक्षामा विद्यार्थीहरूलाई संस्कृत भाषाको आधारभूत तथा उच्च अध्ययनका लागि आवश्यक ज्ञान प्रदान गरिने विद्यालयले जनाएको छ।
प्राक् शास्त्री संस्कृत अध्ययनको क्षेत्रमा उच्च शिक्षा अर्थात् शास्त्री वा बी.ए. तहमा प्रवेश गर्नुअघि लिइने ६ महिने वा १ वर्षे ब्रिज कोर्स (संस्कृत भाषा प्रशिक्षण) हो। यस पाठ्यक्रमले संस्कृत भाषा, व्याकरण तथा शास्त्रीय विषयहरूको आधार निर्माण गर्दै उच्च अध्ययनका लागि विद्यार्थीलाई तयार पार्ने विश्वास गरिएको छ।
विद्यालयका अनुसार प्राक् शास्त्री तहमा दुई वटा अनिवार्य विषय समावेश गरिएको छ। ती विषयहरूमा अनिवार्य संस्कृत व्याकरणम् र अनिवार्य संस्कृतभाषा वाङ्मयम् रहेका छन्।
त्यसैगरी विद्यार्थीहरूले आफ्नो रुचिअनुसार ऐच्छिक विषय छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। ऐच्छिक विषयहरूमा संस्कृत व्याकरणम्, न्याय, ज्योतिषम् तथा वेद रहेका छन्।
गुरुकुल विद्यापीठले प्राक् शास्त्री कक्षा सञ्चालनको अनुमति प्राप्त भएसँगै रौतहट तथा आसपासका क्षेत्रका संस्कृत अध्ययनमा रुचि राख्ने विद्यार्थीहरूलाई स्थानीय स्तरमै गुणस्तरीय संस्कृत शिक्षा हासिल गर्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। विद्यालय प्रशासनले चाँडै नै भर्ना प्रक्रिया तथा कक्षा सञ्चालन सम्बन्धी थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।
चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चपुरमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार साँझ करिब ६:३० बजे चन्द्रपुर–६ डावरीटोलमा खानतलासी गरेको थियो। सो क्रममा स्थानीय बलराम सापकोटाका २६ वर्षीय छोरा निराश कुमार सापकोटाको शरीर तथा साथमा रहेको पर्स जाँच गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको बताइएको छ। साथै सापकोटाको साथबाट नगद रु. ३२ हजार २९० समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गर्ने व्यक्तिका रूपमा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी खडानन्द न्यौपानेका ३० वर्षीय छोरा विकास न्यौपानेको संलग्नता खुलेपछि उनलाई पनि रु. २२ हजार ३९० नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय चपुरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटना स्थल इलाका प्रहरी कार्यालय चपुरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।
अशोक यादव,रौतहट, जेठ २५ ।
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी साधनको ठक्करबाट ज्यान गुमाएका प्रमोद सहनीलाई न्यायको माग गर्दै सोमबार स्थानीयवासी तथा आफन्तहरूले प्रदर्शन गरेका छन् ।
गरुडा नगरपालिका–९ मलाहीटोल निवासी ४३ वर्षीय प्रमोद सहनीको आइतबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको थियो ।
घटनापछि दोषी सवारी चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।
सोमबार दिउँसो प्रदर्शनकारीहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका थिए । प्रदर्शनका कारण केही समय उक्त सडकखण्डमा यातायात सेवा प्रभावित बनेको थियो।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार मृतक सहनीको शव गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित सडकमा साइकलसहित फेला परेको थियो ।
उनको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अज्ञात सवारी साधनले ठक्कर दिएको प्रारम्भिक अनुमान गर्दै घटनामा संलग्न सवारी साधन र चालकको खोजी कार्य जारी रहेको जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको थियो । स्थानीयवासीहरूले पीडित परिवारलाई न्याय नदिइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
यता प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीको पहिचान तथा पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट,२२ गते जेठ ।
विश्व वातावरण दिवसको अवसरमा रौतहटको कटहरियामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बाल कल्याण विद्या मन्दिरका विद्यार्थीहरूले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण गरेका हुन् । विद्यालयका संस्थापक (फाउण्डर) बैजु दास बानियाँका अनुसार कटहरियास्थित इलाका प्रहरी कार्यालय, बौधीमाता मन्दिर परिसर लगायतका सार्वजनिक स्थानहरूमा विद्यार्थीहरूको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको हो ।
यस अवसरमा विद्यालयका विद्यार्थीहरूले कटहरिया नगर क्षेत्रको परिक्रमा गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाएका थिए । उनीहरूले “हरियो वन, नेपालको धन”, “वृक्ष रोपौं, वातावरण जोगाऔं”, “स्वच्छ वातावरण, स्वस्थ जीवन” जस्ता नारासहितका प्लेकार्ड बोकेर नगरवासीलाई वातावरण संरक्षणमा सचेत गराउने प्रयास गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डर बैजु दास बानियाँले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताए । उनले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “वातावरण संरक्षणको जिम्मेवारी सरकार वा कुनै एक निकायको मात्र होइन, हामी सबैको साझा दायित्व हो। विद्यार्थीहरूलाई सानैदेखि प्रकृतिप्रति जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
एउटा बिरुवाले भविष्यमा समाजलाई अक्सिजन, हरियाली र स्वच्छ वातावरण प्रदान गर्छ, त्यसैले प्रत्येक व्यक्तिले कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्छ । ” उनले जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा वन विनाशका कारण वातावरणीय चुनौतीहरू बढ्दै गइरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
वृक्षारोपण तथा जनचेतनामूलक ¥यालीमा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले कटहरिया क्षेत्रमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट,२२ गते जेठ ।
रौतहटको फतुवा विजयपुर–२ सितलपुरमा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनाको निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ । आयोजना सम्पन्न भएपछि ५ हजारभन्दा बढी स्थानीय बासिन्दाले शुद्ध तथा सुरक्षित खानेपानीको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिकिशोर राय यादव (परमानन्द) का अनुसार मधेश प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटको ९० लाख रुपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत सुमित आरपी जेबीले निर्माण कार्य गरिरहेको छ । हालसम्म खानेपानी ट्यांकीका लागि आवश्यक पिलर निर्माण सम्पन्न भइसकेको छ भने अब ओभरहेड ट्यांकी निर्माणको काम सुरु गरिने तयारी गरिएको उनले जानकारी दिए ।

हालसम्म अधिकांश स्थानीयवासी ह्याण्डपाइपको भरमा खानेपानी उपभोग गर्न बाध्य रहेका छन् । आयोजना सम्पन्न भएपछि घरघरमा शुद्ध खानेपानी पुग्ने भएकाले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । यसैबीच, वडा नं. २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) ले आफू निर्वाचित भएदेखि नै वडाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र परेकाले यसलाई सम्पन्न गराउन सम्बन्धित निकायसँग निरन्तर पहल र समन्वय गरेको उल्लेख गरे ।

वडा अध्यक्ष यादवले भने, “स्थानीय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो पहिलो दायित्व हो । खानेपानी आयोजना सम्पन्न भएपछि हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले जनस्वास्थ्य सुधारका साथै दैनिक जीवनलाई सहज बनाउनेछ ।” उनले आफ्नो कार्यकालमा खानेपानी मात्र नभई शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा समेत उल्लेखनीय काम भएको दाबी गरे।
विद्यालयको शैक्षिक वातावरण सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा निरन्तर पहल भइरहेको उनले बताए । स्थानीयवासीले पनि लामो समयदेखि रोकिएको आयोजना पुनः निर्माण चरणमा प्रवेश गरेपछि खुसी व्यक्त गरेका छन् । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा सितलपुरका हजारौं नागरिकले पहिलो पटक व्यवस्थित खानेपानी सेवा प्राप्त गर्नेछन् ।
बज्जिकाञ्चल एफएम,रौतहट,जेठ २० गते ।
रौतहटको कटहरिया बजारस्थित पुरानो नेपाल बैंकको भवनमा सञ्चालनमा रहेको न्यूरो पोलिक्लिनिकले सर्वसाधारणका लागि विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । क्लिनिकका सञ्चालक गोविन्द प्रसाद कुशवाहाका अनुसार क्लिनिकमा इमर्जेन्सी, फार्मेसी, एक्स–रे, अक्सिजन, बिरामी निगरानी (मोनिटर), भिडियो एक्स–रे तथा प्रयोगशाला (ल्याब) सेवाको सुविधा उपलब्ध छ ।
उनले विशेषगरी सामान्य रोगहरूको उपचार, ज्वरो, साना–ठूला चोटपटक तथा हड्डी भाँचिएको अवस्थामा प्लास्टर लगाउने सेवा यहीँबाट उपलब्ध हुने भएकाले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने बताए । कुशवाहाका अनुसार आगामी दिनमा बाहिरी विशेषज्ञ चिकित्सकहरूलाई साप्ताहिक रूपमा क्लिनिकमा ल्याई थप विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
साथै हरेक शनिबार गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना समेत क्लिनिकले बनाएको छ । एक महिनाभन्दा बढी समयदेखि सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थाले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको दाबी गरेको छ । सञ्चालक कुशवाहाले आफ्नै क्षेत्रमा उपलब्ध यस्तो स्वास्थ्य संस्थाबाट लाभ लिन स्थानीयवासीलाई आग्रह गर्दै एकपटक सेवा लिने अवसर दिन अनुरोध गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,२० गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका–४ स्थित श्री आधारभूत स्वास्थ्य केन्द्र कटहरियामा कडा शिघ्र कुपोषणबाट प्रभावित बालबालिकाका लागि खाद्य, पूरक पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ । स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्णनन्दन साहका अनुसार संरक्षण नेपाल रौतहटद्वारा सञ्चालित पोषण परियोजनाको सहयोग तथा रौतहटसँगको सहकार्यमा सञ्चालन भइरहेको पोषण अवस्था लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ४३ जना लाभग्राहीलाई सामग्री वितरण गरिएको हो ।
वितरण कार्यक्रममा रातो कार्ड र पहेँलो कार्डधारी कुपोषित बालबालिकाका परिवारलाई प्राथमिकतामा राखिएको थियो । प्रत्येक लाभग्राहीलाई करिब रु. ३,००० बराबरको पोषणयुक्त खाद्य सामग्री तथा सरसफाइ सामग्री८८ उपलब्ध गराइएको इन्चार्ज साहले जानकारी दिए । वितरण गरिएका सामग्रीमा अण्डा, सुपर सिरियल, चना, मुंग दाल लगायतका पोषणयुक्त खाद्य वस्तु समावेश रहेका थिए । साथै बालबालिकाको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै आवश्यक सरसफाइ सामग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा संरक्षण नेपालका प्रतिनिधिहरू रेखा साह र धर्मेन्द्र महतोको सहभागिता रहेको थियो ।
उनीहरूले कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि तथा पोषण सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता कार्यक्रमले कुपोषणको जोखिममा रहेका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममार्फत कुपोषित बालबालिकाको नियमित अनुगमन तथा आवश्यक पोषण व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको जनाइएको छ ।