२०८३ कार्तिक २
२०८३ कार्तिक २

  काठमाडौँ । इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि  एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

इलाममा एमाले र कांग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुबासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र  सुबास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । यस अघि पनि ११४ मात्र मतले जितेको एमालेलाई यो सिट जोगाउन ठुलो चुनौती देखिएको छ ।

अर्कोतर्फ कांग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम- २ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा कांग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउमा राख्ने चुनौतिको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडी बढेको रास्वपा तथा पहिचानवादीको आक्रमकताका बीचमा आफ्नो भोट जोगाउने लडाईमा कांग्रेस देखिएको छ ।

त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडी बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति रवि लामिछानेको सहकारी ठगि प्रकरणले इलाममा रास्वपालाई अस्वाभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरुले गरिरहेको देखिएको छ । मतदाताले सिधै सहकारी ठगिको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाई समेत प्रश्न गरेका छन् । त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनौटलाई समेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बु चुनाव अघि मात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घन्टीबाहकको रुपमा स्वीकार गर्न हिचकिचाएको देखिएको छ ।

त्यसैगरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने संकेत समेत देखिएको छ । उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै  पहिचानवादीहरुको अन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरुको लागि ठुलो अग्निपरिक्षा भएको छ ।

इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्धा नै हावी भएपछि एमाले- कांग्रेसले सहजता महसुस गरेपनि यसको ठुलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरु शहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेको समेत विषय आएको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । नेम्वाङसँग कांग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए ।

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना

काठमाडौँ ।

सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सबै राजनीतिक शक्ति देशको समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

सभामुख घिमिरले लोकतन्त्र दिवसको शुभकामना दिदै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सभामुखको सन्देश:

लोकतन्त्र दिवस– २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु । नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

२०६२-६३ सालको आन्दोलनपछि राजाको प्रत्यक्ष र निरकुंश शासनको अन्त्य भएको दिनको सम्झनामा नेपालले २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरेको हो । लोकतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्दतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको छ । नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीन वटै तहका निर्वाचन सम्पन्न भएका छन् ।

लोकतन्त्रपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थता हामीसँग छ । लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन । यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।

लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासको लागि आधार प्रदान गर्छ । जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्नु जरुरी छ । नेपालको लोकतन्त्रको रक्षा र प्रवद्र्धनमा नेपालको संसदले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

अन्त्यमा, लोकतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गर्ने विश्वास सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउदा सार्बजनिक बिदा दिएको भन्दै तपाइँ र अरु नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्-

माननीय रवि लामिछानेज्यु,  हिजोका दिनहरुमा तपाईंले जनताकोआवाज उठाउदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईं र अरु नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? बिदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस कति गुलामी गर्छौ हो बिदेशीको ?न्युज कारखाना

काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको हो ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस  गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता  अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने बताइएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । न्युज कारखाना

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका छन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।

सरकारले अमिर थानीको भ्रमणको अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।ं कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।न्युज कारखाना

काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कतारका अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई आज अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।

अमिर थानीले भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्न छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
न्युज कारखाना

काठमाडौं ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकाल एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।

नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै आइतबार रिट दायर गरेका थिए ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए । नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबिलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दाबि गर्न आव्हान गरेका थिए ।

त्यसपछि सोडारीले यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिदै एमाले, माओवादी, नाउपाको रन्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उनलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना

काठमाडौं ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

यस प्रकरणमा हाल थुनामा रहेका  १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो ।

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ ।

तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाई भएको थियो ।

आजको सुनुवाई नसकिएपछि यस रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।

मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ ।

आयोगले इलाम- २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारीचालक अनुमतिपत्रको सक्‍कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।