२०८३ असार ३०
२०८३ असार ३०

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर्न विभिन्न ढंगले हिलो छ्यापेको बताएका छन् ।

कसैको नाम नलिइकन उनले भने, ‘कहिले हामीमाथी सहकारीको कुरा उठाएर प्रहार गरिन्छ त कहिले के विषय उठाएर प्रहार गरिन्छ । तपाईंहरुले बुझ्नु होला जनताको पक्षमा काम गरेकै कारण यी प्रहार भएका हुन ।’ इलाम उपनिर्वाचनको पूर्वसंध्यामा रास्वपाले इलामको दउमाई नगरपालिकाको मंगलबारेमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेले त्यस्तो बताएका हुन् ।

रास्वपाका सभापति लामिछानेले भने, ‘पार्टीको सटर बन्द गर्न परे गर्छु तर कुनै लुटेराको पैसा र चन्दा लिएर पार्टी चलाउने छैन । पैसाको बलमा लोकतन्त्र किन्नेहरुलाई खबरदारी गर्न तपाईंहरुले बैशाख १५ मा घण्टीमा भोट हाल्नु पर्नेछ ।’

०८४ को निर्वाचनसम्म आफूहरुलाई पुराना शक्तिहरुले थिलथिलो बनाउने बताउँदै उनले भने, ‘०८४ सम्म हामीलाई थिलथिलो पार्नेछन् हेर्नु होला । जनताको पक्षमा काम गर्नेहरुलाई झुठा मुद्दा लाग्छन्, उनीहरुको विषयमा अनर्गल प्रचार गरिन्छ । तपाईंहरु त्यसले आत्तिनु पर्दैन ।’

नेपाली काँग्रेसले सहकारीको मुद्दा उठाएको बारे सांकेतमा कुरा गर्दै उनले राजनीतिक षडयन्त्रमा आफूलाई फसाईएको बताए । त्यसैको फलस्वरुप आफ्नो पुत्लासमेत जलाईएको उनको कुरा थियो । उनले भने, ‘अहिले धेरै ठाउँमा मेरो पुत्ला जलाउन थालिएको छ, मैले पुत्ला जलाउने साथीहरुलाई अलिक राम्रो फोटो राखेर पुत्ला बनाउनु भनेको छु ।’

यसका साथै उनले जनताबाट प्रत्येक दिन भ्रष्टाचारीलाई पक्रने दबाब भए पनि प्रत्येक दिन धेरै मानिस पक्राउ गर्न नसकिने बताए । ‘मैले प्रत्येक महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु तर तपाईंहरु प्रत्येक दिन भ्रष्टाचारीलाई थुन्नु पर्यो भन्नु हुन्छ । तपाईंहरु धेरै आत्तिनु हुँदैन । तपाईंहरु अर्को महिना सप्राइज कुरेर बस्नु होला आउँदैछ ।’

सरकारले अर्को महिना कसलाई पक्रन लागेको र उनीमाथी के आरोप छ भन्नेबारे गृहमन्त्री लामिछानेले केही पनि खुलाएनन् । तर उनले ठूलै सप्राइज आउने बताए ।

उनले आफूहरु देश बनाउने अभियानमा आएको बताउँदै व्यक्तिगत रुपमा त्यसले कसैलाई फाइदा नगरे पनि देशका लागि फाइदाजनक भएको बताए । कार्यक्रममा रास्वपा उपसभापति तथा तनहुँका सांसद स्वर्णीम वाग्ले, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले मन्तब्य राखेका थिए ।न्युज कारखाना

काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जानकारी गराएको छ ।

आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको  निगरानी तथा नियन्त्रणका लागि सुक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने विशेष संयन्त्रमार्फत सुक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ ।

आयोगले प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा  उम्मेदवारको पक्ष या विपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सन्जालबाट समेत मत माग्न निषेध गरिसकेकोले  सोको पालना गर्न गराउन सम्बन्धित सबैमा पुनःस्मरण गराएको छ ।

साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता र निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निषेध अवधिको अनुगमन र  निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देशन दिएको छ-

१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।

२. उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, संचारकर्मी, तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसंग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवान्छित आवागमन र अनधिकृत गतिविधिलाई निगरानी गरी निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कानूनबमोजिम कारवाही प्रक्रिया अघि बढाउने ।

३. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेवापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र  मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीं कतै भए गरेको पाइएमा कानुनबमोजिम तत्काल कारवाही गर्ने ।
न्युज कारखाना

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

रणसिंह नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विनाविभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

बिहीबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादी केन्द्रसँग मन्त्रालय भागबण्डामा कुरा नमिले पछि उनले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।न्युज कारखाना

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन्  ।

मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए  ।

त्यसपछि बुधबार बिहान अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वान टू वान र त्यसपछि द्विपक्षिय प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । द्विपक्षिय भेटवार्तापछि नेपाल र कतारबीच बिभिन्न क्षेत्रमा सहमति र सम्झौता गरिएको थियो  ।

नेपाल कतारबीच कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै  युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका थिए ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए । न्युज कारखाना

काठमाडौँ।  नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ ।  कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर गरिएको हो ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्यस्तै  युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।

कतारका अमिर थानी आजै प्रधानमन्त्री दाहालले आयोजना गरेको दिवा भोजमा सहभागी भएपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।     न्युज कारखाना

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउदै छन् ।

विहिबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् ।

माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुदै छन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत नसक्दा उनको आलोचना भइरहेको छ ।न्युज कारखाना

इलाम । इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ ।

आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले दलहरुले आज विभिन्न ठाउमा चुनावी सभा गरेर आफ्नो प्रचार प्रसार अभियानको अन्त्य गर्दै छन् ।

नेपाली कांग्रेसले आज माङसेवुङ र देउमाईसहित निर्वाचन हुने ६ स्थानीय तहका ४२ वटै वडामा घरदैलो र मतदाता भेटघाटको कार्यक्रम गरिरहेको छ भने एमालेले चुलाचुलीमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा  चुनावीसभा गर्दैछ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देउमाई नगरपालिका केन्द्र मङगलबारे र इलाम गरी २ ठाँउमा सभा गर्ने जानकारी दिएको छ । चुनावी प्रचारमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने केहि दिनदेखि इलाममै रहेका छन् भने आजका सभामा उनले सम्बोधन गर्दैछन् ।

पहिचान पक्षधर उम्मेद्‍वार डकेन्द्रसिंह थेगिमको पनि चुलाचुलीमै आमसभा रहेको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहेका छन् । जसमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् ।

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

उम्मेदवारहरुले चैत २८ देखि वैशाख १२ गते सम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता शुरु भएको हो । यस अघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।

द्विपक्षिय भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।

सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।  न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।